शुक्रबार, २९ फाल्गुन, २०८२

दुर्गन्ध, फोहोर, धुँवाधुलोले डाकियो देशको राजधानी, धमाधम बढ्दैछन् बिरामी!

यहाँ बस्यो भने विभिन्न रोगले सताउँछ भन्ने प्रष्टै छ। छालासम्बन्धी रोगका बिरामी बढ्नुको प्रमुख कारण धुँवाधुलो नै हो। गाडीबाट निस्किने हानिकारक धुँवाधुलो, विकासको नाममा निस्किने धुँवाधुलोलगायतले मानिसलाई रोगी बनाइरहेको छ। त्यसैले पनि उपत्यका बस्नलायक ठाउँ होइन भन्ने धेरैमा परिसकेको छ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ। उपत्यकाको वायु प्रदूषणले अस्वस्थकर रेखा काटिसकेको छ। वायु प्रदूषणका कारण केही दिनयता काठमाडौं धुम्म छ। न घाम लाग्न सकेको छ, न पानी पर्न। धुँवाधुलोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्किन पनि धौधौ परेको छ।

आँखा चिलाउने, पोल्ने, श्वास फेर्न गाह्रो हुने, छालाजन्य रोग देखिने समस्याबाट सर्वसाधारण पीडित बनेका छन्। यता, सडक तातेर पनि हाल बेहाल भएको अवस्था छ। पहिलेपहिले तराईमा गर्मी हुन्थ्यो। गर्मी मौसममा तराईमा बस्न सकिँदैन, पानी पर्दा डुबानमा पर्छ।

अहिले काठमाडौं तराईभन्दा पनि तातो छ। हावा पनि तातो चल्छ। एकछिन पानी पर्दा उपत्यका जलमग्न हुन्छ। तराईमा सर्पको डर हुन्छ, उपत्यकामा सवारी ठक्करको। अस्तव्यस्त शहरका कारण काठमाडौं उपत्यकामा बस्नै गाह्रो पर्न थालिसकेको छ। सबैतिर घरैघर भएकाले हावा छिर्ने ठाउँ छैन। प्रदूषण कम गर्नका लागि रुखविरुवा कतै छन्।

एउटा घरमा दर्जनौं कोठा भाडामा लगाइएको छ। मान्छे नै मान्छे भएपछि ताप बढ्नु स्वाभाविकै हो। अहिले पनि २० वर्ष पुराना थोत्रा सवारी साधन बाटोमा धुँवाको मुस्लो फालेर दौडिरहेका छन्। इट्टाभट्टाहरूले उत्तिकै प्रदूषण गरेको छ। बाटोको छेउछाउ मकै पोल्ने काम चलिरहेको छ।

फोहोरजन्य पदार्थहरू व्यवस्थापनको नाममा जलाउने गरिएको छ। यसले कति हानिकारक धुँवाधुलो उत्पादन गरिरहेको छ? सरोकारवालालाई कुनै मतलब छैन। उपत्यकाभित्रको ठाउँ कस्ता छन्? यसको राम्रो नमूना भक्तपुर नगरपालिका वडा नम्बर १, सिर्जनानगरस्थित पिपलबोट हेर्नुपर्छ।

जतिबेला पनि सो स्थान धुलाम्मे हुन्छ। धुलोका कारण हिँड्न पनि गाह्रो छ। बुद्धबुद्धा आराम गर्ने ठाउँ धुँलोले डाकिएको छ। त्यही छेउमा मकै पोल्छिन्, एक महिलाले। उनले मकै पोलेर सकिसकेपछि आगो त्यत्तिकै छोडिदिन्छिन्। त्यहाँ कुनै मान्छे पर्यो भने कसले जिम्मेवारी लिने?

भक्तपुरका जनप्रतिनिधि के हेरेर बस्छन्? आफ्नो नगरपालिका सरसफाइ गर्ने, वृद्धवृद्धालाई बस्ने ठाउँको उचित व्यवस्थापन गर्ने काम स्थानीय पालिकाको होइन? तर, जनप्रतिनिधिहरू कहाँबाट कमिशन आउँछ भनेर हिँड्छन्, अनि कहाँबाट स्थानीय पालिका सफा हुन्छ?

भक्तपुर नगरपालिका आफ्नो नगरपालिकालाई सबैभन्दा स्वच्छ, सफा भएको दाबी गर्छ। यस्तो पनि सरसफाइ हुन्छ? फुटपाथमा मकै पोल्न दिइएको छ। नीतिनियम, थितिमिति भनेको नै छैन। आफ्नो पार्टीको मान्छेले जे गर्दा पनि नगरपालिका केही बोल्दैन। उपत्यका अब बस्नलायक छैन।

यहाँ बस्यो भने विभिन्न रोगले सताउँछ भन्ने प्रष्टै छ। छालासम्बन्धी रोगका बिरामी बढ्नुको प्रमुख कारण धुँवाधुलो नै हो। गाडीबाट निस्किने हानिकारक धुँवाधुलो, विकासको नाममा निस्किने धुँवाधुलोलगायतले मानिसलाई रोगी बनाइरहेको छ। त्यसैले पनि उपत्यका बस्नलायक ठाउँ होइन भन्ने धेरैमा परिसकेको छ।

यहाँ बस्नु धेरैको बाध्यता हो। पछिल्लो समय घरधनीहरू आफ्नो घर बेचेर उपत्यका छोड्ने तयारी गरिरहेका छन्। तर, घर बिक्री नहुँदा उनीहरू समस्यामा परेका छन्। वायु प्रदूषण मात्र होइन, उपत्यका अन्य हिसाबले पनि जोखिमपूर्ण साबित भइसकेको छ। २०७२ वैशाख १२ गते भूकम्प गयो।

सबैभन्दा बढी क्षति उपत्यकामै भयो। मुलुकमा कोरोना महामारी भित्रिएपछि सरकारले २०७६ चैत ११ गते र २०७८ वैशाख १६ गते लकडाउन गर्यो। कोरोनाले पनि उपत्यकालाई नै बढी आक्रमण गर्यो। ज्यान गुमाउनेमा उपत्यकाबासी नै धेरै थिए। गत असोज १०, ११ र १२ गते तीन दिन लगातार वर्षा भयो।

उपत्यका त्यतिबेला चुलुम्मै भएको थियो। घरभित्र स्विमिङ पुल नै बनेको थियो। उपत्यकाभित्र दैनिक सवारी साधन दुर्घटनामा ११ जनाभन्दा बढीले ज्यान गुमाउँछन्। उपत्यका कुनैपनि हिसाबले बस्नलायक छैन। यस्तो ठाउँलाई देशको राजधानी भनिएको छ। यहाँ केही पनि व्यवस्थित छैन।

विकासको नाममा ठूल्ठूला खाल्डा खन्छन्, त्यत्तिकै छोडिदिन्छन्। त्यसमै परेर मान्छे मरिरहेका छन्। सरकारले २०७० सालमा इट्टाभट्टा र प्रदूषण गर्ने उद्योगहरू उपत्यकाबाहिर सार्ने निर्णय गरेको थियो। २०७१ सालमा एमालेका नेता महेश बस्नेत उद्योगमन्त्री भए।

उनले आर्थिक लेनदेन गरेर १० वर्षको म्याद थपिदिए। १० वर्ष बितिसक्यो, तैपनि इट्टाभट्टा र धुँवाधुलो गर्ने उद्योगहरू अहिलेसम्म पनि हटेका छैनन्। देशमा वन तथा वातावरण मन्त्रालय छ। प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्न सरोकारवाला निकायले तदारुकता देखाउनुपर्ने हो कि होइन?

२० वर्षे सवारी साधन धुँवाको मुस्लो फ्यालेर खुलेआम दौडिरहँदा सरकार रमिता हेरेर बसेको छ। ट्राफिक प्रहरीले अनुगमन गरेर कारबाही गरेको पाइँदैन। सरकार आफ्नो काम गर्न नसक्ने अनि त्यसको मार जनताले खेपिदिनुपर्ने? काठमाडौं उपत्यकामा पछिल्लो समय खोला नै छैन।

पहिलेका खोला अहिलेका ढल हुन्। खोला वरपरबाट हिँड्न सकिँदैन। नाक छोप्दा र मास्क लगाउँदा पनि दुर्गन्ध आइहाल्छ। बुढापाकाले भन्थे, ‘स्याललाई काल आयो भने शहर छिर्छ।’ काठमाडौं उपत्यकामा बस्नुपनि त्यस्तै भएको छ। निरोगी व्यक्तिहरू रोग निम्त्याउनका लागि काठमाडौं आएकोजस्तै भएको छ।

घरभित्र बस्यो गर्मीले हाहाकार बनाउँछ। बाहिर गयो गाडीले किचेर मार्ला भन्ने डर। अर्कोतिर धुँवाधुलोले चिलाएर बस्न सकिँदैन। सरकारले शहरलाई व्यवस्थित गर्न खोज्दैन, खोजेन। बेलैमा व्यवस्थित शहरको योजना बनाएको भए आज उपत्यका यस्तो अस्तव्यस्त हुँदैनथ्यो।

काठमाडौं देशको राजधानी होइन, रोग निम्त्याउने र ज्यान गुमाउने ठाउँ हो। निरोगीहरू यहाँ बसेपछि रोगी बन्छन् नै। काठमाडौंका मेयर बालेन्द्र साहले काठमाडौंलाई सफासुग्घर र व्यवस्थित बनाउन खोजे। तर, वडाध्यक्षहरू अवरोध बने। उपमेयर सुनिता डंगोल बालेनको बाटो छेकेर बसेकी छन्।

काम गर्न लाग्यो कि विवाद निकाल्छन्। ललितपुर महानगरपालिका र भक्तपुरका चार वटा नगरपालिकाले त कामै गर्न चाहेनन्। शहर अस्तव्यस्त होस् कि फोहोर, जनप्रतिनिधिलाई कुनै मतलब छैन। सरकारी कर्मचारीहरूलाई तलब भए पुग्यो। न काम गर्ने ढंग छ, न काम गर्न मनै लाग्छ उनीहरूलाई।

सूर्यविनायक नगरपालिकाका कर्मचारीहरू जतिबेला पनि फोटो खिचाइरहेको मात्र भेटिन्छन्। कम्पाउण्डमा उभिन्छन्, फोटो खिच्छन्। नगरपालिकाको नगरप्रहरीहरू दिनभरि घाम तापेर बस्छन्। आजसम्म उनीहरूलाई सडकमा देखिएको छैन। जनप्रतिनिधिहरू कहाँबाट कमिशन आउँछ भनेर खोजेर हिँड्छन्।

अनि जनताले के सुविधा पाउँछन्? काठमाडौं उपत्यकामा पढेका मान्छे बसेपनि उनीहरू व्यवहारमा अनपढ छन्। आफूले फोहोर गर्छन्, सडकमा ल्याएर फ्याक्छन्। फोहोर गर्ने मान्छेले होइन? कसूरदार त मान्छे हो। काठमाडौं उपत्यकाभन्दा कालिकोट, डोल्पा, हुम्ला धेरै राम्रो छ।

दुर्गम ठाउँ भनेर अपहेलना गरियो, अहिले त्यही ठाउँ सफासुग्घर र बस्नलायक छ। विकासको नाममा विनाश निम्त्याउने काम भयो। शहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, वन मन्त्रालय, विभाग, यातायात मन्त्रालय, विभाग बजेट सकाउनका लागि स्थापना गरिएको हो भन्ने प्रष्टै भइसकेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार