रङको मूल्यमा पनि मनोमानी छ। छालालाई असर गर्न सक्ने रङहरू बजारमा छ्याप्छ्याप्ती भेटिन्छन्। तर, सरोकारवाला निकायले अनुगमनमा चासो देखाएको छैन।
आज र भोलि होली छ। रङको पर्व होली हर्षोल्लासका साथ मनाउने प्रचलन छ। तर, पछिल्लो समय होली मनाउने नाममा समाजमा व्यापक बेतिथि देखिएको छ। जबरजस्ती अबिर लगाइदिने, छतमा बसेर पैदलयात्रीलाई लोला हिर्काउने, पानी खन्याइदिने, मोबिल दलिदिने लगायतका अप्रिय कामहरू गर्न थालिएको छ।
अर्काको घरमा छिरेर समेत अबिर दलिदिन्छन्। देशका विभिन्न ठाउँमा होलीको कार्यक्रम आयोजना गरिन्छ। त्यस्ता कार्यक्रममा महिलामाथि दुर्व्यवहार हुने सम्भावना बढी हुन्छ र विगतका वर्षमा भएको पनि छ। रङ लगाउने भन्दै संवेदनशील अङ्गमा छुने गर्दछन्। सभ्य रूपमा खेलिनुपर्ने होली केही वर्षयता असभ्य भइदिएको छ।
मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्ने, जुवातास खेल्ने लगायतका कार्यले होलीमा प्राथमिकता पाएको छ। कतिपय छतबाट लडेर ज्यान गुमाएका घटनाहरू पनि छन्। यही मौका छोपेर व्यापारीहरूको ठगीधन्दा सुरु भएको छ। एक सय रुपैयाँ पर्ने टि–सर्टलाई पाँच सयमा बेच्छन्।
रङको मूल्यमा पनि मनोमानी छ। छालालाई असर गर्न सक्ने रङहरू बजारमा छ्याप्छ्याप्ती भेटिन्छन्। तर, सरोकारवाला निकायले अनुगमनमा चासो देखाएको छैन। उता, पिचकारी पनि मनलाग्दी भाउ राखेर बेचिरहेका छन्, व्यापारी। होली जमघटको पर्व हो। आफन्त, नातागोता एकै ठाउँमा भेला भएर होली मनाइन्छ।
यद्यपि, त्यहाँ पनि मादक पदार्थ सेवन गरिन्छ। उता, मादक पदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेहरू भोलि असंख्य हुन्छन्। बार्दली र छतमा बसेर पानी हान्दा कतिपय त्यहाँबाट लड्छन्। उनीहरू घाइते हुनुका साथै मृत्युसमेत हुन सक्छ। तर, यस्तो गम्भीर विषयलाई खेलाँची बनाइएको छ।
सरकारले सधैँ घटना घटेपछि मात्र चासो देखाउँछ। जब घटना घटेर मान्छे मरिसकेको हुन्छ, अनि मात्र प्रहरी पुग्छ। हरेक वर्ष घटना घट्छ, तैपनि सरकार सचेतना फैलाउँदैन। गृह मन्त्रालयले होलीलाई व्यवस्थित, मर्यादित बनाउन ७७ जिल्लाका सिडियोलाई परिपत्र गरेको पाइँदैन।
अहिले पनि धेरै सडकमा मागेर खाइरहेका छन्। अरूले दियो भने मात्र उनीहरूले खान पाउँछन्। आश्रममा बस्नेहरूले एक छाक मिठो खान पाएका छैनन्। कापी–किताब नभएर धेरै बालबालिका स्कुल जान पाएका छैनन्। विडम्बना, नेपालीमा त्यो सोचाइ छैन। जसरी हुन्छ, आफू रमाउनेमै नेपाली केन्द्रित छन्।
अबिर, लोला, पिचकारी फजुल खर्च हुन्। यी सामान खरिद गर्नु पैसाको सत्यानाश गर्नुबाहेक केही होइन। तर, नेपालीले त्यो कुरा बुझ्दैनन्। देशमा चौतर्फी मन्दी छ। बेरोजगारहरूलाई दुई छाक खान पनि समस्या छ। उपचार नपाएर धेरै छटपटाइरहेका छन्। फजुल खर्च गर्ने पैसाले आवश्यक परेकालाई सहयोग गर्ने हो भने कति धर्म हुन्छ!
आफू पनि बाँच्ने र अरू पनि नमर्ने तिर ध्यान दिनुपर्छ। तर, यस विषयमा कसैलाई चासो छैन। किताबको ज्ञान लिए पनि व्यवहारिक ज्ञान नहुँदा यो अवस्था सिर्जना भएको छ। सरकारले जनतालाई मानवीयताको पाठ पढाउन सकेन। अहिले पनि धनीहरू विवाह वा अन्य कार्यक्रममा जाँदा होस्, गला र हातभरि सुन बेरेर हिँडेका हुन्छन्।
केही वर्षअघि चाबहिलको सरस्वतीनगरमा एक व्यक्तिले सुनका लागि दिउँसै एक पसलेलाई मार्यो। गरिबले खान पाएका छैनन्, धनीहरू सुनको प्रचार गर्दै हिँडेका हुन्छन्। बूढापाकाले भन्छन्, ‘आफ्नो थैलीको मुख कसेर बन्द गर्नू, अरूलाई दोष नदिनू।’ यसको अर्थ आफ्नो सम्पत्तिको सुरक्षा आफैँ गरौँ भन्ने हो।
सुनको गरगहना लगाएर होली खेल्न गइरहेका हुन्छन्। त्यो चोरी भयो भने कसलाई दोष दिने? राज्यलाई? राज्यले त सुनको गहना लगाएर होली खेल्न जाऊँ भनेको थिएन। जनताहरू एकदम लापरबाही भए। खाडलमा नपरेपछि मात्र आँखा खुल्छ। लुट्ने, चोर्ने कार्य व्यापक बढेको छ, त्यसैले आफ्नो सम्पत्तिको सुरक्षा आफैँले गरौँ।
सरकारले पनि फजुल खर्च नगर, आवश्यक पर्नेलाई सहयोग गर भनेर सचेतना फैलाउनु पर्यो। हुन त सरकारलाई जनताको अवस्थाबारे थाहा नै छैन। दैनिक ७० हजारको विदेशी पानी खाने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता भोकै छन् कि टन्न छन्? के थाहा?
जनताले पनि त्यही सिको गरे। देश र अरूको विषयमा जनतालाई मतलब नै भएन। जसरी हुन्छ, आफैँ मिठो खाऊ, राम्रो लगाऊ। भोजभतेर लगाएर खाना डस्टबिनमा लगेर फाल्नेहरूलाई कसैलाई एक पेट खान दिनुपर्यो भने दाँतबाट पसिना आउँछ। कानुनले कसैलाई पनि इच्छा विपरीत अबिर लगाउन नपाइने र पानी खन्याउन नपाइने स्पष्ट उल्लेख छ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउन पाइँदैन। जुवातास खेल्न पनि कानुनले बन्देज गरेको छ। कानुन छ तर कसले टेर्ने? कसले कार्यान्वयन गर्ने? सरकार आफ्नै खेलमा रुमल्लिएको छ। कानुन त कागजको खोस्टो जस्तो मात्र भएको छ। कुनै पनि सामान उत्पादन मूल्यको २० प्रतिशतभन्दा बढी नाफा राखेर बेच्न पाइँदैन।
तर, व्यापारीहरूले एक सय रुपैयाँ पर्ने टि–सर्टलाई पाँच सयमा बेचिरहेका छन्। जबकि, बेच्नुपर्ने १२० रुपैयाँमा हो। अनि सरकार कहाँ छ यहाँ? सरकारले कहिल्यै जनतालाई राम्रो शिक्षा दिन सकेन। हुन त प्रधानमन्त्री ओलीलाई के सही? के गलत? भन्ने थाहा छैन। र्याप गीत गाउने र टिकटकरसँग भेटेर प्रधानमन्त्री ओली समय खेर फाल्छन्।
जनता पनि टिकटकमै मस्तमगन छन्। जुवातास खेलेर दिन कटाउँछन्। अनि जनताको अवस्था के हुन्छ? देश कुन बाटोमा जान्छ? नेता पनि काम नगर्ने, जनता पनि। अनि देश विकास कसरी हुन्छ? समाजमा बेतिथि बढ्दै गयो। प्रधानमन्त्रीजस्तो व्यक्तिले नै बेतिथिलाई हौसाए।
देशमा धनी र गरिबको खाडल बढ्दै गएको छ। भ्रष्टाचार गरेर हुन्छ कि राजस्व छलेर? धनी बन्नु छ। तर, सरकारलाई मतलब नै छैन। सरकारले जनताको जनधनको सुरक्षा गर्नुपर्छ। धन जहाँ त्यही खर्च गर्ने होइन, सदुपयोग हुनुपर्छ। जोसँग सम्पत्ति छ, उसैले समाजलाई भड्काउँछ।
राज्य उनीहरूकै अगाडि निरीह छ। देशको कानुन सानालाई जस्तो मात्र भएको छ। सरकारले होलीलाई सार्वजनिक बिदा दिन्छ। तर, सार्वजनिक बिदा किन दिनुपर्यो? वर्षभरि सार्वजनिक बिदा दिएको छ अनि देश पछाडि परेको पर्यै छ। काम नगर्ने, बिदा मात्रै मनाइराख्ने।
अन्य देशले रातदिन नभनिकन काम गरेका छन् र विकास भएको छ। तर, हामीकहाँ जतिबेला पनि बिदा मात्र दिइन्छ। नेपालीहरू कतिसम्म मानवताविहीन छन् कि के भन्ने। अघिपछि पानी तिर्खा लाग्यो, अलिकति दिनुस् न भन्दा दिँदैनन्। भोलि चाहिँ छतमा बसेर बाल्टिनभरि पानी खनाइन्छ।
अरूलाई दुःख दिएर कहाँ रमाइलो हुन्छ? कोही अस्पताल हिँडेको हुन सक्छ। कोही जरुरी काममा जान लागेका हुन्छन्। उनीहरूलाई पानी खन्याइँदा हतारमा भएको मान्छेको के अवस्था हुन्छ? त्यसैले नेपालीले आफ्नो आचरणमा सुधार गर्न निकै आवश्यक छ। अरूको सुख दिएर रमाउने व्यक्ति नै महान् हुन्छन्।
होली मनाउने नाममा कसैको ज्यान नजाओस्। भोलि मादक पदार्थ सेवन गरेर सवारी चलाउने यत्तिकै हुन्छन्। ट्राफिक प्रहरीले कडाइका साथ अनुगमन गरुन्। नत्र धेरै अप्रिय घटना घट्न सक्छ। होलीको चाड निराशामा बदलिन बेर लाग्दैन।