आईतवार, १४ असार, २०८३

हिमाको पढाई मेलाले समग्र शैक्षिक रूपान्तरणमा एउटा इँटा थप्नेछ

आज हिमाको ऐतिहासिक र यो पवित्र स्थल कालिका मावि, तलिकुको यो प्राङ्गणमा हामीले चौथो पढाई मेला कार्यक्रम सञ्चालन गरेका छौँ। त्यो ऐतिहासिक कार्यक्रम सञ्चालन गर्नका लागि अहोरात्र खट्नुहुने यो विद्यालय परिवार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय केवल बहादुर शाही, प्रधानाध्यापक, सम्पूर्ण शिक्षकहरू, सम्पूर्ण विद्यार्थीहरू र सम्पूर्ण अभिभावकज्यूहरू धन्यवादको पात्र हुनुहुन्छ। तपाईँहरूलाई हिमा गाउँपालिका परिवार हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छ।

उचित व्यवस्थापन र समग्र व्यवस्थापनमा सहयोग पुर्‍याउनु भएकोमा कृतज्ञता व्यक्त गर्दछु। हाम्रो निम्तोलाई सहर्ष रूपमा स्वीकार गरेर हिमा गाउँपालिकास्थित सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र सम्पूर्ण महानुभावहरूलाई हिमा गाउँपालिका परिवार हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ।

यो पढाई मेलाले हिमाको समग्र शैक्षिक रूपान्तरणमा एउटा इँटा थप्नेछ। हिमाका सम्पूर्ण सामुदायिक विद्यालयका बीचमा विद्यार्थी भाइबहिनीहरूको प्रतिस्पर्धाको भावना विकास होस्, सामुदायिक विद्यालयहरूका बीचमा, विद्यालय-विद्यालयका बीचमा पनि प्रतिस्पर्धाको भावना विकास होस् भन्ने हाम्रो चाहना हो। सम्पूर्ण अभिभावकहरू, शिक्षकहरू, कर्मचारीहरू, बुद्धिजीवीहरू, प्राज्ञिक व्यक्तित्वहरू सबै बसेर समग्र हिमाको शैक्षिक गतिविधिका सन्दर्भमा हामी समीक्षा गर्छौँ, चिन्तन गर्छौँ, मनन गर्छौँ र समग्रतामा वर्षभरि भएका गतिविधिको समीक्षा गर्छौँ। यसले खास गरी हिमा गाउँपालिकाको समग्र शैक्षिक रूपान्तरणमा हामीले गर्न खोजेको पठनपाठनका सन्दर्भमा निखारता ल्याउनेछ।

हामीले समग्र विधाहरूमा गर्न खोजेको प्रतिस्पर्धा र समग्र विद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्यका लागि, सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको सिर्जनशील हातहरूलाई, तपाईँले देखेको सपना र दृष्टिकोणलाई पूरा गर्नका लागि एउटा स्थानीय सरकारको प्रमुखका हिसाबले हामी समग्र शैक्षिक गतिविधिलाई वर्षभरिको मन्थन, चिन्तन र समीक्षा गर्छौँ। भोलिका दिनमा आउने एउटा मार्गदर्शनका हिसाबले पनि कसरी अगाडि बढ्नुपर्छ भनी हामी मार्गदर्शन गर्छौँ।

यस हिसाबले समग्र शिक्षामा, हिमा गाउँपालिकामा २०७९ सालको स्थानीय निर्वाचनमा म तपाईँको गाउँ, बस्ती र टोलमा आउँदै गर्दाखेरि मैले आफ्नो घोषणापत्रमार्फत, आफ्नो वाचापत्रमार्फत जे प्रतिबद्धता व्यक्त गरेँ, तपाईँका माझमा तपाईँ सम्पूर्ण आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरूले मलाई माया गर्नुभयो, ममता गर्नुभयो, तपाईँले मत दिनुभयो। मत दिन नसक्ने आदरणीय महानुभावहरूले मन बिसाउनुभयो। तपाईँहरूको माया, ममता, स्नेह र आशीर्वादबाट म एउटा गरिबको छोरा, एउटा किसानको छोरा आज हिमा गाउँपालिका सरकारको प्रमुखका रूपमा निर्वाचित छु। म तपाईँ सबैलाई हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु।

तपाईँहरू सबैको मायाले, ममताले र आशीर्वादले आज हिमा गाउँपालिकाको निरन्तर रूपमा हाम्रा तर्फबाट व्यक्तिगत रूपमा र संस्थागत रूपमा पनि के-के गर्न सकिन्छ, निरन्तर रूपमा मन, वचन र कर्मलाई साक्षी राखेर इमानदारीपूर्वक लागिराखेको कुरा पनि तपाईँ सबैका माझमा व्यक्त गर्न चाहन्छौँ। हामीले थुप्रै प्रतिबद्धता व्यक्त गर्दै गर्दा पनि सरकारमा जाँदै गर्दा सरकारका सीमारेखाहरू छन्। हामीले थुप्रै कामहरू गर्न सकेका छैनौँ होला।

हामी हिँड्दै गर्दा, डुल्दै गर्दा, बोल्दै गर्दा हाम्रो बोलीबाट, हाम्रो व्यवहारबाट, हाम्रा गतिविधिहरूबाट समग्र हिमाका दाजुभाइ, दिदीबहिनीहरूलाई कहिँ कतै चोट पुगेको छ, तपाईँहरूको मनमा कहिँ असर पुगेको छ र हाम्रा कार्यसम्पादनबाट केही गल्ती-कमजोरी भएका छन् भने पनि आजको यो विशाल कार्यक्रममार्फत तपाईँको स्थानीय सरकारको प्रमुखका नाताले म क्षमायाचना पनि गर्न चाहन्छु। साच्चिकै तपाईँको घरदैलोको सरकार, स्थानीय सरकार, तपाईँको चुलो-चौकोको सरकार, जनताका वास्तविक समस्याको पहिचान गरेर त्यसलाई सल्टाउने सरकार हो। जसले हिमा गाउँपालिकाको समग्र विकासमा अग्रणी भूमिका खेल्नुपर्ने, तपाईँ समग्र हिमा गाउँपालिकाका दाजुभाइ, दिदीबहिनीहरूको वास्तविक समस्याको पहिचान गरेर त्यसलाई ठिक ढङ्गले समाधान गर्ने नैतिक जिम्मेवारी हाम्रो काँधमा छ।

हामीलाई हाम्रो बल, बुद्धि र क्षमताले भ्याएसम्म समग्र हिमाका शैक्षिक रूपान्तरणका लागि, यहाँको भौतिक संरचना निर्माणका लागि, यहाँका बाटोघाटोको निर्माण, सडकहरूको निर्माणका लागि, यहाँका सिँचाइहरूको निर्माणका लागि, पुलपुलेसा लगायत समग्र कृषिमा रूपान्तरण गर्नका लागि र समग्र दाजुभाइको जीवनस्तरलाई माथि उठाउनका लागि हामी लागिरहेका छौँ। गरिबीको रेखामुनि रहेका तमाम जातजाति, भाषाभाषी, धर्म, लिङ्ग, समुदायका दाजुभाइलाई सभ्य समाज निर्माण गर्नका लागि, हिमालाई व्यवस्थित, अनुशासित र मर्यादित गाउँहरू तथा बस्तीहरू निर्माण गर्नका लागि हामीले निरन्तर रूपमा हाम्रो सेवामा, हाम्रो कार्यसम्पादनमा निखारता ल्याउँदै निष्पक्षता, तटस्थता, पारदर्शिता, जवाफदेहिता र सुशासनका मूल मन्त्रहरूलाई आधारस्तम्भ बनाएर हामी, हाम्रो सरकार र हाम्रो सरकारको मातहतमा रहेका सम्पूर्ण निकायहरूलाई त्यही ढङ्गले निर्देशन गरेका छौँ र तपाईँका माझमा त्यही प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। भोलिका दिनमा अझ जोशिलो ढङ्गले, अझ जागरिलो ढङ्गले, अझ प्रभावकारी ढङ्गले र कार्यसम्पादनमा अझ फराकिलो प्रभावकारिताका साथ तपाईँका माझमा उपस्थित हुने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।

आजको समयसम्म आइपुग्दै गर्दा सात समुद्र पारि रहेका थुप्रै हाम्रा हिमाका दाजुभाइहरूले, हाम्रा युवाहरूले, नौजवान युवाहरूले आज त्यहाँको विकासलाई हेरेर हामीसँग तुलना गर्ने गर्नुहुन्छ। हाम्रो भूगोल, हाम्रो विकटता, हाम्रो समस्या, हाम्रो आर्थिक सीमारेखा, हाम्रो आन्तरिक राजस्वको स्रोत, यी सबै कुरालाई पनि बुझिदिनका लागि शिक्षाविद्हरू, हाम्रा बौद्धिक व्यक्तित्वहरू, हाम्रा प्राज्ञिक व्यक्तित्वहरू, सम्पूर्ण कर्मचारी साथीहरू र समग्र हिमा गाउँपालिकाका बुद्धिजीवीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। हाम्रा प्राकृतिक स्रोतहरू, हाम्रा धार्मिक मठ-मन्दिर र पाटी-पौवाहरू, हाम्रा नदीनालाहरू, हाम्रा पानीका मुहानहरू सबैलाई आजका दिनमा बचाइराख्नका लागि, जल, जङ्गल र जमिनलाई सुव्यवस्थित राख्नका लागि, जलवायु परिवर्तन, जलवायु अनुकूलन (क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङ) लाई पनि ध्यानमा दिएर हामी सबैले हाम्रा गतिविधिहरू सञ्चालन गर्नुपर्ने आवश्यकता छ। यसलाई मध्यनजर गरेर त्यही ढङ्गले आफ्ना विद्यार्थी भाइबहिनीहरूलाई प्रशिक्षित गर्नका लागि पनि सबै गुरुवर्गलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु।

तपाईँ सबैले साँच्चिकै आजका दिनमा हामीले पढाउँदै गर्दा हाम्रो जीवनयापन गर्ने, हाम्रो अनुशासनको मापदण्डलाई कायम राख्ने, हाम्रा विद्यार्थी भाइबहिनीहरूलाई आज गाउँबाट विद्यालयसम्म झिकाउने, झिकाउने मात्र होइन हामीले गाउँबाट विद्यालयसम्म झिकाएका विद्यार्थी भाइबहिनीहरूलाई आजको युग सुहाउँदो, आजको समय सुहाउँदो, आजको टेक्नोलोजी सुहाउँदो ढङ्गले सिकाउने, विद्यार्थीलाई राम्रोसँग सिकाउने र उनीहरूलाई विद्यालयमा टिकाइराख्ने, झिकाउने, सिकाउने, टिकाउने र अन्तर्राष्ट्रिय बजारमा बिकाउने प्रतिस्पर्धी शिक्षाको आवश्यकता छ। त्यसलाई हामी सबैले गम्भीर ढङ्गले आत्ममूल्याङ्कन गर्न जरुरी छ।

हामी सबै अभिभावकहरूले पनि आजका दिनमा बुझ्न जरुरी छ; हाम्रा विद्यार्थी, हाम्रा नानीबाबु, हाम्रा बालबच्चा, हाम्रा छोराछोरीहरू किन पढाइमा कमजोर भए? हामीले विद्यालयमा गएर हाम्रा नानीबाबुहरूको पढाइको स्तरलाई बुझ्छौँ कि बुझ्दैनौँ? सरहरूको अनुगमन हामीले गर्छौँ कि गर्दैनौँ? शिक्षा शाखाले मात्र होइन, स्थानीय सरकारले मात्र होइन, वडा सरकारले मात्र होइन, अभिभावकले पनि समयमा आएर विद्यार्थीहरूसँग संवाद गर्ने, शिक्षकहरूसँग संवाद गर्ने, छलफल गर्ने र समग्र विद्यालयको भौतिक संरचना मात्रै होइन पठनपाठनको प्रक्रियालाई पनि अगाडि बढाउनका लागि, शैक्षिक गुणस्तरलाई कायम राख्नका लागि एक-आपसमा संवाद गर्ने, आफ्ना तर्फबाट, समुदायका तर्फबाट, शिक्षकका तर्फबाट र समग्र विद्यार्थीका तर्फबाट गर्नुपर्ने असल क्रियाकलापमा पनि हामी सबै जुट्नुपर्छ, हामी सबै लाग्नुपर्छ।

हामी सबैले आफ्ना असल कर्महरू गर्नुपर्छ र हामी सबै यसरी नै अगाडि बढ्यौँ भने मात्रै समग्र शिक्षामा रूपान्तरण हुन्छ। हामीले स्थानीय सरकारले गर्न खोजेको शैक्षिक रूपान्तरणमा सम्पूर्ण अभिभावकहरूको पनि साथ, सहयोग र समर्थन हुनेछ भन्ने विश्वास व्यक्त गरेका छौँ।

आजका दिनमा मैले तपाईँहरूका माझमा भनेँ, थुप्रै अभिभावकहरूले, थुप्रै विद्यार्थीहरूले हामी अनुगमनमा आउँदै गर्दा भन्नुहुन्छ, यो विद्यालयमा शौचालयको आवश्यकता छ, यो विद्यालयमा खानेपानीको आवश्यकता छ, यो विद्यालयमा भौतिक संरचना भवनको आवश्यकता छ, यो विद्यालयमा खेलमैदानको आवश्यकता छ। मैले पर डाँडाबाट हेर्दै गर्दा माथि आचार्यसम्मका सबै सामुदायिक विद्यालयहरूलाई एउटा स्थानीय सरकारले न्यायको सिद्धान्तमा आधारित भएर आफ्ना रकमकलमहरू, आफ्ना योजना र कार्यक्रमहरू, आफ्ना निर्णयहरू गर्नुपर्ने हाम्रा बाध्यतालाई भने तपाईँ सबैले बुझिदिनुहुनेछ। मैले विनम्रतापूर्वक तपाईँ सबैलाई अनुरोध गरेँ। यो विद्यालय, कालिका मावि तलिकु, सबैभन्दा हिमा गाउँपालिकाको ज्येष्ठ विद्यालय हो।

यो विद्यालयको उन्नति, प्रगति र समृद्धिका लागि हिमा गाउँपालिका सदैव दत्तचित्त भएर लाग्नेछ। हामी निर्वाचित भएर आइसकेपछि यो विद्यालयमा हामी सुरुवातमा आउँदै गर्दा खानेपानी र शौचालयको आवश्यकता थियो। मलाई लाग्छ ‘सुस्वा’ परियोजना र हिमा गाउँपालिकाको आर्थिक सहयोगमा खानेपानी र शौचालय निर्माण गरेका थियौँ। पछि आएपछि आजका प्रमुख अतिथि आदरणीय दीप बहादुर शाहीको आग्रहमा, हाम्रो विद्यालय व्यवस्थापन समितिको सम्पूर्ण टिमले आग्रह गर्दै गर्दा माथिपट्टि बनिरहेको ठुलो विद्यालयको भवन हाम्रै पालामा बनेको देख्नुभएको छ।

माथि यो मञ्चको पछाडिपट्टि एउटा भवन बनिरहेको ६७ लाखको भवन बनिरहेको छ, देख्नुभएको छ, त्यो हामीले निर्माण गर्न लागिराखेको स्थिति छ। त्यसो भएर अझै पनि यहाँ थुप्रै आवश्यकताहरू छन्। थुप्रै अध्यक्षज्यूहरूले, प्रधानाध्यापकज्यूहरूले भन्ने गर्नुहुन्छ यहाँ आउँदै गर्दाखेरि टेबल, बेन्चको आवश्यकता छ, खेलमैदानको आवश्यकता छ, यहाँ प्याराफिटको आवश्यकता छ। यसका सन्दर्भमा म भोलि समापन समारोहमा बोल्नेछु।

आज मैले भन्दै गर्दा, परको डाँडाको विद्यालयमा हामीले अहिलेको वर्ष राष्ट्रिय योजना आयोगबाट ठुलो विद्यालय भवन निर्माणका लागि योजना हालेका छौँ। डाँडाबाट आदरणीय महानुभाव यहीँ हुनुहुन्छ, ७ लाख रुपैयाँ आएको छ त्यो विद्यालयमा, हाम्रो गाउँपालिकाको सिफारिसमा त्यो विद्यालयमा आएको छ। तल भानु माविमा हामी निर्वाचित भइसकेपछि कर्णाली प्रदेश सरकारबाट नमुना विद्यालय कार्यक्रम अन्तर्गत ५ लाख रुपैयाँ आएको छ।

हाम्रै सिफारिसमा ‘पेस नेपाल’ले त्यहाँ विज्ञान प्रयोगशाला र अन्य फर्निचर, टेबल लगायतका सरसामानहरू दिएको छ। हामी निर्वाचित भएर आइसकेपछि माथिको महादेव आधारभूत विद्यालयमा शौचालय निर्माण गरेका छौँ, विद्यालय भवन निर्माण गरेका छौँ, घेराबारा निर्माण गरेका छौँ। हामी निर्वाचित भएर आइसकेपछि कैलाश आवि, जार्जीमा हामीले ठुलो भवन निर्माण गरेका छौँ, देख्नुभएको छ। हामी आइसकेपछि त्यहाँ एउटा अत्यन्तै राम्रो शौचालय निर्माण गरेका छौँ, खानेपानीको निर्माण गरेका छौँ र यो वर्ष घेराबारा गर्ने भनेर गाउँपालिकाका तर्फबाट कैलाश आविलाई हामीले २० लाख रुपैयाँ प्रदान गरेका छौँ। र तल अन्नपूर्ण मावि, मस्टामाडुङमा आइसकेपछि हाम्रै पालामा ठुलो भवन बनेको छ, आदरणीय नवराज शाही विद्यालय व्यवस्थापन समितिको अध्यक्ष यहीँ हुनुहुन्छ, ठुलो भवन निर्माण भएको छ। यो वर्ष फेरि भवन निर्माण गर्ने भनेर हामीले ५ लाखको भवन त्यहाँ निर्माण गरिरहेका छौँ।

हामीले यहाँका हाम्रा नानीबाबुहरूको भविष्यलाई अझ सुन्दर बनाउनका लागि, गरिब, दुःखी र किसान आदरणीय महानुभावहरूले ट्युसन पढ्नका लागि, एसईईको ट्युसन पढ्नका लागि तल सुर्खेतमा, नेपालगन्जमा, काठमाडौँमा गएर तपाईँहरूले आफ्नो घरबाट २०, ४०, ५० हजार रुपैयाँ खर्च गर्नुुपर्छ र समयको पनि खर्च हुन्छ भनेर हामीले गाउँपालिकाको शिक्षा समितिको निर्णयमार्फत यस वर्ष एसईई कक्षाको तयारीका लागि, कोचिङ कक्षाका लागि अन्नपूर्ण मावि मस्ताबाडुङ, भानु मावि पात्रखोला, कालिका मावि तलिकु र अन्नपूर्ण मावि ढाचुगाउँलाई समेटेर अन्नपूर्ण माविमा सेन्टर बनाई सम्पूर्ण एसईई दिने विद्यार्थी भाइबहिनीका लागि त्यहाँ हामीले कोचिङ सेन्टर सञ्चालन गरेका थियौँ। सङ्घीय अनुदानको दुईवटा कोटा हामीले अन्नपूर्ण माविलाई दिएका छौँ र यो वर्ष १ करोड ५० लाखको आईसीटी ल्याब र विज्ञान उपकरण निर्माण गर्ने भनेर मलाई लाग्छ चार-पाँच दिनमा त्यो अन्नपूर्णमा सामग्री पनि आउँदै छ।

​तल आएपछि रूपल्ली देवीमा हामीले विद्यालयको मर्मत गरेका छौँ। त्यो विद्यालयसम्म आउने बाटो, यो वर्ष मर्ची गाउँदेखि विद्यालयसम्म आउने बाटो निर्माण गरेका छौँ। मर्ची गाउँमा ‘एक घर एक धारा’ खानेपानी निर्माण गरेका छौँ। बाग्बजारमा हामीले ‘एक घर एक धारा’ खानेपानी निर्माण गरेका छौँ। बाग्बजारदेखि माथि भाँचुगाउँ, जार्जी, सिम्तली र कुडुसम्मका लागि २ करोड ३८ लाखको अहिले यो सडक बनिरहेको छ।

म तपाईँका माझमा यसो किन भन्दै छु भने तपाईँ सबैले बाटोमा, घाटोमा, चियाचौतारीमा र घरमा गएर भन्नुहुन्छ, हामीले निर्वाचित गरेको जनप्रतिनिधिले आज के काम गरिरहेको छ? तपाईँले विकास निर्माण ठिक ढङ्गले भएको छ कि छैन, समान ढङ्गले विकास निर्माणका योजनाहरू वितरण भएका छन् कि छैनन् भनेर तपाईँहरूले प्रश्न गर्नुहुन्छ। त्यसकारणले हामीले तपाईँका माझमा उपस्थित भएर विनम्रतापूर्वक तपाईँका माझमा जवाफ दिने नैतिक कर्तव्य हाम्रो हो, त्यसकारणले मैले तपाईँलाई विनम्रतापूर्वक यो कुरा भनिरहेको छु।

​तल आएपछि हाम्रो कुलदेवतामा एउटा भवन निर्माण भएको छ, त्यहाँ शौचालयको आवश्यकता छ, मैले त्यहाँको प्रधानाध्यापकलाई भनेको छु अब हामी शौचालय निर्माण गर्छौँ। उता बान्जाघाटमा गएपछि बान्जाघाटका प्रधानाध्यापक अत्यन्तै महिला, लगनशील र सिर्जनशील हुनुहुन्छ, उहाँको दौडधुप अत्यन्तै राम्रो छ। त्यहाँ बनेका दुवै भवनहरू हामी निर्वाचित भएर आएपछि निर्माण भएका हुन्। त्यहाँ खानेपानीको पनि समस्या थियो, हामी आएपछि खानेपानी बनेको छ।

घेराबारा देखिराख्नुभएको छ, त्यो पुरै घेराबारा र गेट हाम्रै पालामा बनेको हो। पर हरियाल्लादेखि गाउँसम्म आउने सडक निर्माण भएको छ, सडकका सन्दर्भमा आदरणीय अमराज शाही यहाँ हुनुहुन्छ, अमराज शाही र मेरो संयुक्त पहलमा, हाम्रो सिफारिसमा र उहाँको पहलमा त्यो बाटो निर्माण भएको हो। त्यो गाउँमा, बान्जाघाटको गाउँमा ‘एक घर एक धारा’ खानेपानी हामीले निर्माण गरेका छौँ। त्यहाँ सिँचाइका ट्याङ्कीहरू निर्माण भएका छन्। पर विद्युतको पावरहाउस भत्किएको थियो, विद्युत निर्माण गरेका छौँ, विद्युतका पोलहरू त्यहाँ निर्माण गरेका छौँ। बान्जाघाटमा विद्यालयको विवाद थियो, त्यो विद्यालयको विवादलाई हामीले समाधान गरेका छौँ।

​हाम्रो हिमाको ६ कोइरेलीको विद्यालय, जो विद्यालयमा आदरणीय महेश सर अत्यन्तै लगनशील, सिर्जनशील र जुझारु प्रधानाध्यापक हुनुहुन्छ, त्यहाँ हामीले पहिलो पढाई मेला कार्यक्रम पनि सञ्चालन गरेका थियौँ। त्यहाँबाटै हामीले पढाई मेला कार्यक्रमलाई बृहत् रूप दिएर आजको चौथो पढाई मेलासम्म पुगेका छौँ। त्यहाँ पढाई मेला सञ्चालन भइसकेपछि विद्यालयको आन्तरिक व्यवस्थापनका लागि पनि हामीले सहयोग गरेका थियौँ।

त्यहाँ शौचालयका लागि पनि हामीले सहयोग गरेका थियौँ, अत्यन्तै सुविधासम्पन्न शौचालय निर्माण भएको छ। कोइरेलीको विद्यालयका लागि तल राजमार्गदेखि कोइरेलीको विद्यालयसम्म सिँढी बनाउनका लागि हामीले १० लाख रुपैयाँ छुट्याएका थियौँ र अत्यन्तै राम्रो सिँढी बनेको छ। कोइरेली गाउँको लागि ‘एक घर एक धारा’ खानेपानी निर्माणका लागि हामीले लाखौँ रुपैयाँ खर्च गरेर कोइरेली गाउँमा ‘एक घर एक धारा’ खानेपानी निर्माण भएको छ।

​यसरी नै बड्की विद्यालयमा जाँदै गर्दा बड्की विद्यालयको प्रधानाध्यापक यहाँ हुनुहुन्छ, दिनरात लागिराख्नुभएको छ, अत्यन्तै बढी मेहनत गरिराख्नुभएको छ। बारम्बार रूपमा त्यहाँको शैक्षिक प्रगति, उन्नयन र त्यसको वृद्धि विकासका लागि निरन्तर चिन्ता गर्नुहुन्छ। त्यो विद्यालयको माथिपट्टिको भवन हामी आएर बनाएको हो, तलको भवन पहिलाकै आदरणीय सरकारले निर्माण गरेको थियो, त्यसको माथि हामीले तला थपेका थियौँ। यतापट्टिको साइडको विद्यालय भवन पनि हाम्रै पालामा निर्माण भएको हो, त्यहाँको फिल्ड पनि हाम्रै पालामा निर्माण भएको छ र त्यहाँको घेराबारा पनि हाम्रै पालामा निर्माण भएको हो।

​माथि गएपछि नेत्रज्योति ओदीको विद्यालयले आजसम्म एउटा रेकर्ड राख्न सफल भएको छ मलाई लाग्छ। तेस्रो पढाई मेलासम्म समग्र विधामा ओदीले, नेत्रज्योति आधारभूत प्राविधिक धार भएको ओदीले आफूलाई सधैँभरि प्रथम हुन सबै विद्यालयलाई उछिन्दै अगाडि ल्याएको छ। त्यहाँको प्रधानाध्यापक आदरणीय रङ्गम रोकाया निरन्तर रूपमा लागिराख्नुभएको छ समग्र विद्यालयको हितका लागि। हामीले हाम्रो सिफारिसमा त्यहाँ धेरै सहयोग गर्न सकेका छैनौँ, सानो गेट बनाइदिएका छौँ ५ लाखको र यो वर्ष हाम्रै सिफारिसमा ४० लाखको विद्यालय घेराबारा र शौचालय निर्माण भनेर बजेट आएको छ। ओदीको गाउँको त्यो बाटो हामीले बारम्बार रूपमा धेरै पटक मर्मत गरेका छौँ, ओदीको खानेपानीलाई पनि हामीले मर्मत गरेका छौँ।

​पर ऋखिदेउ देख्नुभएको छ तपाईँले, ऋखिदेउ पनि दुई नम्बर वडामा पर्छ, त्यहाँ हामीले आधारभूत स्वास्थ्य युनिट निर्माण गरेका छौँ, जसका लागि हामीले ४० लाखको स्वास्थ्य युनिट निर्माण गरेका छौँ र त्यो स्वास्थ्य केन्द्रको घेराबाराको लागि हामीले २० लाख रुपैयाँ अझ थप हालेर घेराबारा निर्माण भएको छ। त्यो ऋखिदेउलाई हामीले अहिले ‘एक घर एक धारा’ खानेपानी सञ्चालन गर्नका लागि बजेट छुट्याएका छौँ र यस्तै-यस्तै थुप्रै गतिविधिहरू त्यहाँ भएका छन्, बाटो निर्माण भएको छ, हिलोमुक्तका लागि काम गरेका छौँ।

​मैले विनम्रतापूर्वक अनुरोध गरेँ, परपट्टि गएपछि जोगबेडाको विद्यालय देख्नुभएको छ, लाल योगी त्यहाँको प्रधानाध्यापक हुनुहुन्छ। त्यहाँ विद्यालय निर्माणका लागि हामीले चार कोठाको एउटा विद्यालय भवन निर्माण गरेका छौँ, शौचालय निर्माण गरेका छौँ, खानेपानी निर्माण गरेका छौँ र त्यो विद्यालय भवन अहिले निर्माणाधीन अवस्थामा छ, त्यो घेराबारा पनि हाम्रै पालामा निर्माण भएको हो। बडो दुःखका साथ भन्नुपर्छ, हामी निर्वाचित भएर आइसकेपछि चेको विद्यालयलाई हामीले केही गर्न सकेका छैनौँ।

यो वर्ष बजेट वितरणको हामी पूर्वसन्ध्यामा छौँ, यो वर्ष चेको विद्यालयका लागि हामी केही न केही गर्छौँ। र चेमा हामीले सार्वजनिक खानेपानी र सडक त्यहाँसम्म पुर्‍याएका छौँ। चेको गाउँलाई हामीले अन्य ढङ्गले पनि सहयोग गरेका छौँ। मोफला जाँदै गर्दाखेरि मोफलामा हामीले थान निर्माण गर्नेदेखि लिएर यो वर्ष मोफलाको पुरै गाउँलाई ‘एक घर एक धारा’ खानेपानी सञ्चालन गरेका छौँ। माथि कुडाडीबाट तलसम्म मोफलाको बाटो जोड्नका लागि हामीले अघिल्लो वर्ष मात्रै ३३ लाख रुपैयाँ लगाएर उताबाट काम भएको थियो।

मोफ्लाको विद्यालय नमुना विद्यालय हो जसलाई सङ्घीय सरकारबाट पैसा आइरहेको छ र त्यसको कार्यान्वयन हिमा गाउँपालिकाले नै गरिरहेको छ, त्यसकारणले त्यहाँ सुविधासम्पन्न भवन निर्माण भएको छ। पोहधर साल हामीले विद्यालयको फिल्ड निर्माणका लागि ८ लाख रुपैयाँ हालेका थियौँ, यो वर्ष फिल्ड निर्माणका लागि १० लाख रुपैयाँ हालेका छौँ र ‘सुस्वा’ परियोजना र हिमा गाउँपालिकाको सहयोगमा एउटा शौचालय पनि त्यहाँ निर्माण गरेका छौँ मोफलाको विद्यालयका लागि।

यता आएपछि हामी देगाउँको कालिका आवि, देवारगाउँ जसको प्रधानाध्यापक प्रेम बहादुर हमाल हुनुहुन्छ, सधैँभरि निरन्तर रूपमा विद्यालयको समग्र हितका लागि लागिराख्ने प्रधानाध्यापक हुनुहुन्छ। त्यो विद्यालयको घेराबारादेखि फिल्ड, खानेपानी र शौचालयदेखि लिएर विद्यालय भवन पनि हाम्रै पालामा निर्माण भएको हो र अघिल्लो वर्षको हाम्रो तेस्रो पढाई मेला सञ्चालन पनि कालिका आवि, देवारगाउँले गरेको थियो।

कालिका आवि, देवारगाउँले पढाई मेला सञ्चालन गरेबापत पाएको १५ लाख रुपैयाँले तल राजमार्गदेखि कालिका आविसम्म आरसीसी बाटो पनि निर्माण भइरहेको छ। देगाउँमा हामीले ‘एक घर एक धारा’ खानेपानी पनि निर्माण गरेका छौँ र अन्य थुप्रै साना-तिना खुद्रा कामहरू गरेका छौँ।

हामीले लक्ष्मी देवल आवि, आचार्यलिहिमा जाँदै गर्दाखेरि लक्ष्मी देवलको भित्ता पट्टि लागेको ठुलो भवन देख्नुभएको छ, सुविधासम्पन्न भवन, त्यो हाम्रै पालामा बनेको हो, त्यहाँको खानेपानी मर्मत गरेका छौँ र अन्य विकास निर्माण पनि गरेका छौँ।

मैले सारसङ्क्षेपमा भनेँ, थुप्रै विकास निर्माणका काम भएका छन्, थुप्रै राम्रा कामहरू भएका छन्, थुप्रै सकारात्मक कामहरू भएका छन्। ज्योति आवि, तलिकुडु छ, हामीले यो वर्ष केही बजेट छुट्याउने निर्णय गरेका छौँ र ज्योति आविको त्यहाँको गुरु मष्टोको थान निर्माणका लागि, त्यहाँको बाटो निर्माणका लागि हामीले केही काम गरेका छौँ। ज्योति आवि छुटेको थियो, यस वर्ष हामीले केही बजेटमा समेट्नेछौँ।

​हामीले गरेका थुप्रै कामहरूलाई सारसङ्क्षेपमा मैले भनेँ, हामीले भन्न छुटाएका थुप्रै कामहरू छन्। त्यसो भएर मैले यो किन भन्दै छु भने थुप्रै मान्छेहरूलाई यो विषयमा चासो भयो होला, सरकारले केही गर्दैन, गाउँपालिका अध्यक्षले केही गर्नुहुन्न, हाम्रा जनप्रतिनिधिले केही गर्नुहुन्न, हाम्रा वडाध्यक्षहरूले केही गर्नुहुन्न भन्ने प्रश्न छ। त्यसकारणले मैले शिक्षामा भएका केही असल अभ्यासहरू, शिक्षामा भएका केही विकासहरू, शिक्षामा भएका केही गतिविधिहरूका सन्दर्भमा भनेँ।

​हिमा गाउँपालिकाले जुम्लामा सञ्चालित हाजिरीजवाफ प्रतियोगितामा, नेपाली सेनाले पृथ्वी जयन्तीका अवसरमा सञ्चालन गरेको हाजिरीजवाफ प्रतियोगितामा हिमा गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ, त्यसका लागि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु। अन्तर-जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा भानु मावि, पात्रखोला प्रथम स्थान हासिल गर्न सफल भएको छ, त्यसका लागि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

र साक्षर गाउँपालिका घोषणा गर्ने सन्दर्भमा हिमा गाउँपालिका साविकको कर्णाली अञ्चलको पहिलो गाउँपालिका हो, त्यसका लागि पनि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। गएको सालको एसईईको रिजल्टमा जुम्ला जिल्लाकै राधे मावि, मोफला जुम्ला जिल्लाकै प्रथम स्थान हासिल गरेर सफल भएको हो, त्यसका लागि पनि विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु।

गत वर्षको कक्षा ८ को परीक्षामा जुम्ला जिल्लाकै तृतीय स्थान हासिल गर्न सफल भएकोमा भानु मावि, पात्रखोलालाई हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु। हामी जुम्लाको मात्रै नभएर नेपालको दोस्रो बालविवाह मुक्त गर्ने गाउँपालिकाका हिसाबले हिमा गाउँपालिका नेपालकै दोस्रो गाउँपालिका हो, त्यसका लागि सबैलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

हिमा गाउँपालिका समग्र विकास बजेटको शिक्षामा ४३.३७ प्रतिशत लगानी गर्ने जुम्ला जिल्लाकै पहिलो गाउँपालिका हो, त्यसकारणले तपाईँ सबैलाई म हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु। हिमा गाउँपालिका विद्यालयभन्दा बाहिर रहेका शतप्रतिशत विद्यार्थीहरूलाई विद्यालयमा भर्ना गर्ने पहिलो गाउँपालिका हो, त्यसकारणले तपाईँ सबैलाई म हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु।

जुम्ला जिल्लाको इतिहासमा वीरेन्द्र रनिङशिल्डदेखि राष्ट्रपति रनिङशिल्डसम्म आउँदै गर्दा सधैँभरि चन्दननाथ प्रथम हुन्थ्यो। म निर्वाचित भएर आइसकेपछि एक पटक दोस्रो भएको छ र दुई पटक हिमा गाउँपालिकाले जुम्ला जिल्लामै राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद छ, शिक्षा शाखालाई हार्दिक धन्यवाद छ र हाम्रा खेलकुद उपाध्यक्ष धीरेन्द्र रोकायालाई पनि धन्यवाद छ।

हाम्रा खेल प्रशिक्षकका रूपमा सधैँभरि खेलमा जोस दिने, जाँगर दिने र सिर्जना दिने डुगल शाही लगायत सम्पूर्ण खेलप्रेमीहरूलाई पनि हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु। म निर्वाचित भएको चार वर्ष भयो; एक वर्ष राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भएन, एक वर्ष हामी सेकेन्ड आयौँ, दुई वर्ष हामी प्रथम आयौँ र जुम्ला जिल्लाकै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हामीले आयोजना गरेर त्यसलाई सफलतापूर्वक सम्पन्न गर्ने पालिका पनि यही हो। त्यसका लागि हामी सबै हिमा गाउँपालिकाका बुद्धिजीवी, शिक्षक, कर्मचारी, अभिभावक हामी सबै धन्यवादका पात्र छौँ।

नेपालका पहाडी र हिमाली जिल्लाहरूमा चार वर्षमा १६६८ घरमा ‘एक घर एक धारा’ स्वच्छ खानेपानी पुर्‍याउने नेपालकै पहिलो गाउँपालिका हिमा गाउँपालिका हो। पहाडी र हिमाली जिल्लाहरूमा त्यसकारणले तपाईँ सबैका माझमा उपस्थित भएर मैले यी सबै घोषणाहरू गर्दै गर्दा मैले व्यक्तिगत रूपमा भनेको होइन, हिमाली र पहाडी जिल्लामा हिमा गाउँपालिका ‘एक घर एक धारा’ पुर्‍याउने गाउँपालिका हो भनी खानेपानी मन्त्रालयले भनेको हो।

हामी नेपालको दोस्रो बालविवाह मुक्त गर्ने गाउँपालिका हौँ, यो मैले भनेको होइन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, सङ्घीय मन्त्री नवलकिशोर यादव आएर हाम्रो रुपाको आवि, बान्जाघाटमा उहाँले घोषणा गर्नुभएको हो। र यस्तै-यस्तै गतिविधिमा हामीले स्वयं घोषणा गरेका हैनौँ, यसका सूचकहरू छन्; कहिले जिल्लाले घोषणा गर्छ, कहिले प्रदेशले घोषणा गर्छ, कहिले सङ्घले घोषणा गर्छ।

​तपाईँ सबैको लगनशीलताले, तपाईँ सबैको सिर्जनशीलताले, तपाईँ सबैको जोस, जाँगर र उत्साहले समग्र हिमा गाउँपालिकाको रूपान्तरणका लागि, हिमा गाउँपालिकाको उन्नति, प्रगति र समृद्धिका लागि, हिमा गाउँपालिकाको विकासका लागि, यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुख-समृद्धिका लागि निरन्तर रूपमा हिमा गाउँपालिकामा तपाईँको भाइ, तपाईँको छोरा, तपाईँको इमानदार जनप्रतिनिधि निरन्तर रूपमा लागिराख्ने तपाईँका माझमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। म तपाईँका माझमा विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु।

​मैले हाँस्दै गर्दा, डुल्दै गर्दा, बोल्दै गर्दा मेरा कार्यसम्पादनबाट, मेरा बोलीबाट, मेरा वचनबाट, हाम्रा गतिविधिहरूबाट कहिँ कतै तपाईँ सबै आदरणीय महानुभावहरूलाई ठेस पुगेको छ, चोट पुगेको छ र केही कमिकमजोरी भएका छन् भने, हामीले कार्यसम्पादन गर्दा हाम्रा कुराहरू मात्रै भएका छैनन्। केही गल्तीहरू पनि भएका छन्। हाम्रा तर्फबाट केही समस्याहरू पनि सिर्जना भएका छन्। हाम्रा तर्फबाट थुप्रै गर्नुपर्ने कामहरू थिए ती गर्न नसकेका कुराहरू पनि छन् त्यसका लागि तपाईँका माझमा तपाईँको जनप्रतिनिधि क्षमायाचना गर्न चाहन्छ, माफी माग्न चाहन्छ।

तपाईँका तर्फबाट मैले सबै दाजुभाइका अगाडि भन्नुपर्छ, मैले गल्ती गरेको कुरामा म आत्मआलोचित हुँदै भोलिका दिनमा परिष्कृत ढङ्गबाट, नयाँ बिन्दुबाट, नयाँ सिराबाट, नयाँ उत्साहका साथ, नयाँ जोसका साथ, नयाँ जाँगरका साथ अझ अगाडि बढेर वास्तविक समस्यालाई पहिचान गरेर जनताको हितमा, जनताको मन, वचन र कर्मलाई साक्षी राखेर साच्चिकै समग्र हिमाको विकासका लागि लाग्ने तपाईँका माझमा प्रतिबद्धता व्यक्त गर्दछु।

​आजको कार्यक्रमलाई, आजको निमन्त्रणालाई सम्पूर्ण सामुदायिक विद्यालयहरूले सहर्ष रूपमा स्वीकार गरेर आइदिनुभएकोमा तपाईँ सबैलाई हिमा गाउँपालिका परिवारका तर्फबाट, हिमा गाउँपालिका सरकारका तर्फबाट हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्दै, अन्तमा पनि सम्पूर्ण व्यवस्थापकीय हिसाबले खट्नुहुने यो कालिका मावि विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र सम्पूर्ण परिवारलाई हिमा गाउँपालिका धन्यवाद र कृतज्ञता व्यक्त गर्दछ। तपाईँ सबैको जय होस्, सम्पूर्ण हिमाको उन्नति होस्, प्रगति होस् र समग्र हिमाको शैक्षिक रूपान्तरणमा हामी सबै लाग्नेछौँ भन्ने वचनबद्धता व्यक्त गर्दै आजको यो उद्घाटन सत्र यहीँ समापन भएको र भोलि हामी समयमै उपस्थित हुने वचनबद्धताका साथ म बिदा हुन चाहन्छु।

धन्यवाद, नमस्कार।

(हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीद्वारा कालिका माध्यमिक विद्यालय, तलिकुको प्राङ्गणमा आयोजित चौथो पढाई मेलाको उद्घाटन समारोहमा व्यक्त गरिएको मन्तव्यको सम्पादित, शुद्ध र परिमार्जित रूप)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार