तातोपानी गाउँपालिका वडा नम्बर ४ का वडा तातोपानी गाउँपालिका–४ का वडा अध्यक्ष अमर बहादुर रोकाया जुम्लाको कर्णाली क्षेत्रमा रहेको गिडीदहको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि निरन्तर सक्रिय जनप्रतिनिधिका रूपमा परिचित छन्। २०७९ को स्थानीय तह निर्वाचनपछि उनले गिडीदहलाई जुम्ला, कर्णाली प्रदेश र समग्र नेपालको सम्भावित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अभियान थाले।
वर्षौंदेखि गिडीदहबारे फैलाइएका अन्धविश्वास र भ्रमलाई चिर्दै उनले पहिलोपटक सरकारी तहबाट गिडीदह सम्मेलन आयोजना गरे, जसले यस क्षेत्रलाई राष्ट्रिय चर्चा दिलाउन महत्वपूर्ण भूमिका खेल्यो। उनकै पहलमा गिडीदहको वैज्ञानिक नापजाँच सम्पन्न भई यो कर्णाली प्रदेशका नापजाँच गरिएका तालमध्ये तेस्रो गहिरो तथा समुद्री सतहबाट ३,४८५ मिटर उचाइमा अवस्थित महत्वपूर्ण उच्च हिमाली तालका रूपमा प्रमाणित भएको छ।
पदमार्ग निर्माण, धर्मशाला, खानेपानी, शौचालय, पुललगायत पूर्वाधार विकासमा उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै उल्लेखनीय योगदान पुर्याएका छन्। गिडीदह क्षेत्रको जैविक विविधता, रेडपाण्डा लगायत दुर्लभ वन्यजन्तु, जडीबुटी र प्राकृतिक सौन्दर्यलाई पर्यटनसँग जोड्दै स्थानीय आर्थिक विकासको आधार बनाउनुपर्ने उनको दृष्टिकोण छ।
गिडीदहलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउने अभियानमा अग्रपङ्क्तिमा रहेका रोकाया विकास, पर्यटन र प्राकृतिक सम्पदाको संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने पक्षमा दृढ छन्। उनीसँग कार्यक्रम सिंहावोकनका लागि कुटीरो डट कमका प्रतिनिधि महेश नेपालीले लिएको अन्तर्वाताको सम्पादित अंश यहाँ प्रस्तुत छ।

कार्यक्रम ‘सिंहावलोकन’को यो विशेष शृंखलामा यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
नमस्कार, धन्यवाद।
तपाईं निर्वाचित हुनु भन्दा अगाडि गिडीदहलाई मान्छेले विभिन्न काल्पनिक कथाहरुका माध्यमबाट सुनाउने गर्थे। त्यहाँ गयो भने भूतप्रेत लाग्छ, दुःख पाइन्छ, मान्छेको ज्यान जाने सम्भावना हुन्छ जस्ता ‘मिथ’हरु निर्माण गरिएका थिए। तर तपाईंले त्यो जोखिमयुक्त क्षेत्रलाई पर्यटकीय सम्भावना बोकेको क्षेत्र भनेर प्रचार-प्रसार सुरु गर्नुभयो। के कुराले तपाईलाई यसका लागि उत्प्रेरित गरायो?
धन्यवाद, यहाँले मलाई गिडीदहको विषय उठान गर्ने अवसर दिनुभयो। व्यक्तिगत रूपमा भन्नुहुन्छ भने, म कक्षा ८-१० मा पढ्दाखेरि नै गिडीदहको विषयमा थोरै चासो राख्थेँ, किनभने म त्यहाँकै स्थानीय पनि हुँ। त्यहाँ गयो भने भूत लाग्छ, मान्छे मर्छन्, खोलाले खाइदिन्छ भन्ने जस्ता नकारात्मक किंवदन्ती र भ्रमहरु व्याप्त थिए।
वास्तवमा यो भ्रम त्यहाँ सिकार गर्न जाने सिकारीहरुले फैलाएका हुन्। अरू मान्छे त्यहाँ गएभने आफूहरुले सिकार गर्न पाउँदैनौँ र समस्या हुन्छ भनेर “त्यहाँ गएपछि भूतले खान्छ” भन्ने डर देखाइएको रहेछ। मलाई यो भ्रमलाई चिरफार गर्न जरुरी छ भन्ने लागिरहेको थियो तर अवसर प्राप्त थिएन।
जब मतदाताहरुले माया गरेर हामीलाई विजयी गराउनुभयो, तब गाउँ कार्यपालिकाको पहिलो बैठकमै हामीले नीतिगत निर्णय गर्यौं। यो कार्यकालमा जनप्रतिनिधिले गर्ने ‘गौरवका दुई-तीन वटा कार्य’ मध्ये एउटा मुख्य बुँदा पर्यटन प्रवर्द्धनलाई बनायौँ। जुम्ला तातोपानी धारा, गिडीदह, नदै गुफा, ठाकुरज्यू हुँदै चन्दननाथ मन्दिरसम्म जोड्ने एउटा ट्रेलमार्क (पदमार्ग) बनाउनुपर्छ र गुमनाम रहेको गिडीदहलाई प्रचार गर्नुपर्छ भनेर हामी लाग्यौँ।
पहिलो पल्ट सरकारी तहबाट अभियान सुरु गर्दा कस्तो अनुभव रह्यो?
पहिलो वर्ष हामीले थोरै बजेट राख्यौँ र २०७९ साल असोज ४ देखि ६ गतेसम्म तातोपानी गाउँपालिका र वडा नम्बर ४ को आयोजनामा ‘गिडीदह सम्मेलन’ गर्यौं। हामीसँग जम्मा २ लाख रुपैयाँ मात्र बजेट थियो। त्यतिबेला धेरै डर मान्दै ८२-८४ जना जतिको उपस्थिति भयो।

मानिसहरु “कसो पो हुने हो, के पो हुने हो” भन्दै डरैडरले गएका थिए होइन?
हो, कतिले त “यो वडा अध्यक्षले हामीलाई यहाँ मार्न ल्याएको हो, केही षड्यन्त्र गरेको हो कि” सम्म पनि भने। टोलीमा गाउँपालिका उपाध्यक्ष, स्थानीय समाजसेवी नारायणी चौलागाई र पत्रकार दिलमाया शाही गरी तीन जना महिला हुनुहुन्थ्यो, बाँकी पुरुष थियौँ।
“महिलाहरुलाई कसरी बचाउने, भूत लाग्छ” भन्ने सम्मको सोच मान्छेमा थियो। तर हामीले केही हुन्न भनेर कन्भिन्स गरेर लियौँ। त्यहाँ बाटो थिएन, जंगल छिचोल्दै पहिलो पटक त्यो भ्रमलाई चिरेर हामी पुग्यौँ र सानो कार्यक्रम गर्यौं।
त्यसपछि जुम्लाका क्रियाशील पत्रकार साथीहरुले सामाजिक सञ्जालमा यसको व्यापक प्रचार-प्रसार गरिदिनुभयो। अनि मात्र संसारले थाहा पायो कि यो त निकै ठुलो र उचाइमा रहेको सुन्दर ताल रहेछ।
प्रचार त भयो, तर यसलाई पूर्णता दिन तालको आधिकारिक नापजाँच र पानीको स्वास्थ्य रिपोर्ट (Health Report) बुझ्न कसरी अगाडि बढ्नुभयो?
हामीले तातोपानी गाउँपालिका र वडा नं. ४ को सहजीकरणमा राष्ट्रिय ताल विकास बोर्डसँग समन्वय गरेर प्रस्ताव पेश गर्यौं। बोर्डले ५ लाख रुपैयाँ विनियोजन गरिदियो, बाँकी नपुग रकम गाउँपालिकाले बेहोर्यो।
काठमाडौँ युनिभर्सिटीका वातावरण एवं ताल विज्ञ डा. दीपनारायण शाह, रामदेवी शाह र विद्यार्थीहरुको टोली ल्याएर हामीले पहिलो पटक गिडीदहमा वैज्ञानिक नापजाँच गरायौँ।
त्यहाँ पहिलो पटक डुङ्गा सञ्चालन गर्दा सुरुमा म आफैँ पनि डराएको थिएँ। तर इतिहासमा एकपटक अभियान सुरु गरेपछि “मरे मरिन्छ” भन्ने सोचका साथ हामीले दिनभरि जोखिम मोलेर डुङ्गाबाट नापजाँच गर्यौं। हामीसँगै जडीबुटी कोर्न आमासँग गएको एउटा ७ वर्षको बालक र ताम्तीका गर्भवती महिलाहरुले समेत ढुङ्गा सयर गर्नुभयो। यसले त्यहाँको डरलाई पूर्ण रूपमा हटायो।

नापजाँचको रिपोर्ट अनुसार गिडीदहको वास्तविक अवस्था कस्तो पाइयो?
आधिकारिक रिपोर्ट अनुसार गिडीदह कर्णाली प्रदेशमा नापजाँच भएका तालहरु मध्ये तेस्रो गहिरो ताल प्रमाणित भएको छ। यो ताल समुद्र सतहदेखि ३,४८५ मिटर उचाइमा छ। जुन कर्णालीकै दोस्रो उचाइमा पर्छ। यसको गगहिराइ: ४२.८ मिटर छ। जुन रारा र फोक्सुण्डोपछि तेस्रो स्थानमा छ।
यो तालको लम्बाई १,५१० मिटर छ। बाहिरबाट हेर्दा ठ्याक्कै नेपालको झण्डा आकारको देखिन्छ। चौडाई ३१० मिटर। पानीको मौज्दात (Reservation) ७३ करोड ३० लाख ३२ हजार ३६९ क्युबिक मिटर छ।
गाउँपालिकाले यो आधिकारिक डकुमेन्ट तयार गरेर राजपत्रमा निकालिसकेको छ र वेबसाइटमा समेत प्रविष्ट गरिसकेको छ।
प्राकृतिक र वातावरणीय दृष्टिकोणले गिडीदह क्षेत्र कत्तिको समृद्ध छ?
यो निकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो। प्राकृतिक तालको वरिपरि घना जंगल छ। तालभन्दा २०० मिटर माथि गएपछि पाटन सुरु हुन्छ, जहाँ यार्सागुम्बा, पाँचऔँले जस्ता थुप्रै बहुमूल्य जडीबुटी पाइन्छन्।
वन क्षेत्रमा बाघ, भालु, कस्तुरी, थार, घोरल जस्ता जंगली जनावर र विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को मुख्य बासस्थान रहेको छ। साथै कालिज, डाँफे, भ्याकुर जस्ता चराचुरुङ्गी र भोजपत्र, लौठसल्ला जस्ता वनस्पतिको मनोरम दृश्य देख्न पाइन्छ।

तपाईं हिउँद, वर्षा सबै मौसममा त्यहाँ पुग्नुभएको छ। यो अवधिमा पूर्वाधार निर्माण (विशेषगरी बाटो र बस्ने ठाउँ) का कठिनाइहरु के-के रहे?
सुरुमा त बाटो केही थिएन, जंगल छिचोल्नुपर्थ्यो। पदमार्ग बनाउन गाउँपालिका, प्रदेश र संघीय सरकारसँग समन्वय गर्यौं। हाल गिडीदह पुग्न दुईवटा व्यवस्थित पदमार्ग (रुट) तयार गरिएका छन्।
एउटा छोटो रुट छ। वडा कार्यालय (हाकु) बाट फुलचाउँल्या पाटनसम्म साढे ७ किलोमिटर (उकालो भाग)। त्यहाँबाट छुपार्या भिर हुँदै सुपारी खोलामा भर्खरै झोलुङ्गे पुल बनेको छ। फुलचाउँल्यादेखि पुलसम्म ३ किमी र पुलदेखि गिडीदहसम्म ४ किमी गरी कुल साढे १४ देखि १५ किलोमिटरको छोटो बाटो छ।
दोस्रो थोरै लामो रुट छ। यो कर्णाली राजमार्गदेखि गिडीदहसम्म झन्डै २९ किलोमिटर छ। यो पाटनको बाटो हुँदै कालिका मन्दिर, लामाचौर, सानी काँध, डण्डा काँध हुँदै दूधबाढबाट ओर्लने ट्रेकिङ ट्रेल हो।
पूर्वाधारमा भएका मुख्य कामहरुमा धर्मशाला निर्माण भएको छ। प्रदेश सरकारको १० लाख रुपैयाँ बजेटबाट गिडीदहमा ३२ बाई १९ फिटको व्यवस्थित धर्मशाला बनाइएको छ, जहाँ ४०-५० जना बस्न सक्छन्। त्यहाँ खानेपानी, धारा र शौचालयको व्यवस्था छ।
गिडीदहबाट बग्ने खोला तर्न पहिले हामी सुकेको रुखबाट जोखिमपूर्ण यात्रा गर्थ्यौँ, अहिले काठे पुल बनाइएको छ। दुई दिने यात्रा हुने भएकाले बीच बाटोमा पर्ने फुलचाउँल्यामा प्रदेश सरकारको १५ लाख बजेटबाट कम्पाउन्ड, शौचालय र घेराबारसहितको धर्मशाला बनाइएको छ।
संघीय सरकारबाट आएको ९० लाख रुपैयाँको ठेक्का मार्फत फुलचाउँल्य-सुपारी खोला हुँदै गिडीदह जोड्ने पदमार्ग निर्माणको काम भएको छ। अहिले वन वातावरण मन्त्रालयको ३० लाख बजेटबाट एउटा अप्ठ्यारो भिरको बाटो काट्ने काम भइरहेको छ।

गाउँ देखि फुलचाउँल्यासम्म गाडी गुड्ने बाटो पुर्याउने प्रयास कहाँ पुग्यो? यसमा के कस्ता कानुनी झमेला छन्?
सधैँ मान्छे उकालो हिँड्न सक्दैनन् भनेर हामीले गाडी बाटोका लागि डिपिआर र वातावरणीय अध्ययन आईई गरायौँ। तर त्यहाँ ६ किलोमिटर वन क्षेत्र पर्छ।
वन क्षेत्रमा ‘आईई’ रिपोर्ट स्वीकृत गराउन मैले कर्णाली प्रदेशको वन मन्त्रालय र मुख्यमन्त्रीको टेबलसम्म पुगेर ३ महिना हारगुहार गरेपछि रिपोर्ट त पास भयो, तर फेरि ‘भोकअधिकार’ (जग्गाको भोगाधिकार) लिन क्याबिनेटको निर्णय चाहिने रहेछ। त्यहाँ हाम्रो पहुँच पुग्दैन।
दुःखको कुरा, संघीय र प्रदेश सरकारका मन्त्री तथा माननीयज्यूहरुको ध्यान यस्ता आकर्षक गन्तव्यमा पुगेकै छैन। बजेटमा जुम्लालाई सधैँ उपेक्षा गरिन्छ।
नीति ल्याउँदा सुर्खेतको काँक्रेविहार वा बाङ्गेसिमल मात्र देख्छन्, जुम्लाको गिडीदह देख्दैनन्। स्रोतको व्यवस्थापन भयो भने पूर्वाधार बनाउन गाह्रो छैन।

भर्खरै जेठ २९ देखि ३१ सम्म आयोजना गरिएको जलवायु सम्मेलनको अनुभव कस्तो रह्यो?
हामीले “प्रकृति हेरौँ, महसुस गरौँ, पर्या-पर्यटनको प्रबर्द्धन गरौँ” भन्ने मूल नाराका साथ ‘गिडीदह पर्या-पर्यटन प्रवर्द्धन र जलवायु सम्मेलन’ सम्पन्न गर्यौं। हामीले संघीय पर्यटन मन्त्रालय, प्रदेशका मुख्यमन्त्री, मन्त्री र माननीयज्यूहरुलाई निमन्त्रणा पठाएका थियौँ।
उहाँहरुले शुभकामना त पठाउनुभयो तर भौतिक रूपमा उपस्थित हुनुभएन। जुम्लाकै माननीय टेकराज पछाईले पनि शुभकामना दिनुभयो तर आउनुभएन। जुम्लाकै सरोकारवाला र विज्ञहरु पनि सोचे जस्तो सहभागी भइदिनुभएन, जुन दुखद् कुरा हो।
तर नेपाल सरकारका वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईंलाई हामीले एक दिन अगाडि मात्र खबर गर्दा पनि उहाँ रातारात गाडी चढेर आउनुभयो र प्रमुख आतिथ्यता ग्रहण गर्नुभयो।
जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य उमेरले बुढो भए पनि उकालो चढेर पुग्नुभयो। डीएसपी साब, सहायक सीडीओ साब लगायत पुग्नुभयो।
यो कार्यक्रममा २५० जना जति आउने अनुमान थियो तर झन्डै ६०० जना मानिस सहभागी भए। वडाको ४ लाख ५० हजार र गाउँपालिकाको २ लाख बजेट थियो। तर खर्च १५ लाखको हाराहारीमा पुग्यो।
यसमा विभिन्न संस्थाहरु जस्तै: अद्यान्त इन्भेस्टमेन्ट कर्णाली (विद्युत उत्पादन अध्ययन गरिरहेको कम्पनी) ले २ लाख, कर्डाक नेपालले खाजाको व्यवस्था, ल्याक प्रोजेक्ट, हातेमालो सेवा समाज, रेडपाण्डा नेटवर्क, आरएस नेपाल, गैसस महासंघ र प्राविधिक रूपमा सिम्पल इन्टेलिजेन्स तथा क्याट नेपाल लगायतले आर्थिक एवं व्यवस्थापकीय सहयोग गरेकै कारण कार्यक्रम सफल भयो।

गिडीदह जान चन्दननाथ नगरपालिका, गुठीचौर र भुलगाडबाट पनि सकिन्छ, तर वडा अध्यक्षले आफ्नै क्षेत्र (तातोपानी-४) बाट मात्र जान सकिन्छ भनेर प्रचार गरी संकीर्णता देखाउनुभयो भन्ने आलोचना छ नि?
“काँडाको आँखामा काँडै संसार, फूलको आँखामा फूलै संसार।” गिडीदह जान झूलगाड, सिलगढी, गुठीचौर, ताम्ती जहाँबाट पनि सकिन्छ। तर यो अभियानको सुरुवात तातोपानी वडा नं. ४ ले गरेको हो।
अब मेरो वडाले सुरु गरेको अभियानमा मैले सुरुमै मेरो बाटो नसिकाएर जाजरकोटको बाटो सिकाउने त होइन नि! अहिले प्रारम्भिक चरणमा यो बाटो सजिलो र स्थापित गराएका हौँ, भोलि विकास भएपछि त सबै ठाउँका लिंक रोड र ट्रेलहरु आपसमा जोडिइहाल्छन् नि।
तपाईं यसभन्दा अघि एनजीओमा काम गर्नुभएको र भोलि पनि गिडीदहको नाममा एनजीओ चलाउन खोजेकाले बढी चासो दिनुभएको हो भन्ने पनि टिप्पणी सुनिन्छ, यसलाई कसरी लिनुहुन्छ?
म हिजो एनजीओमा थिएँ, आज तातोपानी-४ को निर्वाचित वडा अध्यक्ष हुँ। मेरो कार्यक्षेत्र भित्र पर्ने नागरिक र प्राकृतिक सम्पदाको उजागर गर्नु मेरो प्रमुख दायित्व हो। भोलि मेरो कार्यकाल सकिएपछि म एनजीओमा जान्छु कि राजनीतिमा, त्यो आफ्नो ठाउँमा छ।
तर म के स्पष्ट पार्न चाहन्छु भने, भोलि आउने जनप्रतिनिधिले गिडीदहलाई चासो दिएनन् भने पनि म आफ्नो सामाजिक अनुभवका आधारमा कतैबाट प्रस्ताव हालेर भए पनि यसको प्रवर्द्धनमा लागिरहनेछु। हामी सबैले जन्माएको बच्चालाई कसले मार्न खोज्छ र?

गिडीदहको प्रचारबाट चर्चा कमाएर भोलि गाउँपालिकाको नेतृत्व हत्याउने वा माथिल्लो तहको राजनीतिमा स्थापित हुने ‘पपुलिष्ट’ नारा त होइन यो?
मान्छेको चाहना परिस्थित र परिवेश अनुसार हुन्छ। परिस्थिति अनुसार मान्छे ‘ब्याक’ पनि हुन सक्छ, ‘गो-अहेड’ (अगाडि) पनि बढ्न सक्छ। मतदाताले के भन्छन् र समयले के माग्छ, त्यो भविष्यकै कुरा हो। तर अहिले नै म यो पदका लागि लड्छु भनेर घोषणा गर्ने पक्षमा पनि छैन र ब्याक भएर डराउने अवस्थामा पनि छैन। जे पर्छ, सामना गरिन्छ।
व्यक्ति प्रधान भन्दा पनि जिम्मेवारी प्रधान ठानेर काम गर्नुभएका तपाईं र यस अभियानमा सहयोग गर्ने निकायहरुलाई कसरी सम्झिनुहुन्छ?
यो अमर रोकायाको व्यक्तिगत विषय होइन, यो मेरो वडाको भूगोलभित्र पर्ने भएकाले गाउँ कार्यपालिकाले मलाई दिएको जिम्मेवारी हो। जसरी तातोपानी धाराको नेतृत्व वडा नं. २ ले, नदै गुफाको वडा नं. ८ ले र चन्दननाथ मन्दिरको चन्दननाथ नगरपालिकाले गर्छ, त्यसैगरी मैले गरेको हुँ।
सहयोग गर्नेमा सबैभन्दा पहिलो पात्र दुःख-कष्ट सहेर, भोकभोकै पहिलो सम्मेलनमा गएर प्रचार गरिदिने पत्रकार साथीहरु हुनुहुन्छ।
त्यसपछि बजेट छुट्याउन पहल गरिदिने हाम्रा माननीय छिरिङ लामाज्यू (जसले ९० लाख विनियोजन गराउनुभयो), वन मन्त्री माधव प्रसाद चौलागाईज्यू र माथि उल्लिखित सम्पूर्ण सहयोगी दाता, कर्मचारी र स्थानीय दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ। गिडीदह जुम्ला र सिंगो देशकै आम्दानीको स्रोत बन्न सक्ने साझा सम्पत्ति हो, यसलाई सबैले अपनत्व ग्रहण गर्नुपर्छ।
आफ्नो महत्त्वपूर्ण समय दिएर यहाँ आइदिनुभयो, यसका लागि यहाँलाई धेरै-धेरै धन्यवाद।
यहाँलाई पनि गिडीदहको आवाज प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै-धेरै धन्यवाद।
















