तर एउटा प्रअले आफ्नो जीवनकालमा यस्ता कैयौँ काम गर्नु पर्छ, जुन नचाहेर भए पनि विद्यालयको उन्नतिका लागि गर्नै पर्ने बाध्यता आउँछ ।
हाल विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न धेरै प्रयास भइरहेका छन् । विशेषगरी प्रशासन चुस्त दुरुस्त भएका विद्यालयमा शैक्षिक अवस्था राम्रो देखिनु कुनै संयोग होइन । विगतका धेरै अध्ययन, अनुसन्धानहरूले पनि विद्यालयको सफलतासँग प्रधानाध्यापकको नेतृत्व क्षमता प्रत्यक्ष जोडिएको छ भन्ने निष्कर्ष दिएका छन् । यसै कारण, विद्यालय शिक्षाको गुणस्तर तथा शैक्षिक सुशासनको चर्चा गर्दा सबैभन्दा पहिला प्रधानाध्यापकको भूमिकालाई नै उल्लेख गरिन्छ ।
प्रधानाध्यापक विद्यालयको नेतृत्वदायी पद हो । यस पदमा बस्ने व्यक्तिमा विद्यालयको सम्पूर्ण क्रियाकलापमा सिर्जनात्मकता भित्र्याउने र विद्यालय परिवारलाई सहकार्यका साथ अघि बढाउने क्षमता अत्यन्त आवश्यक हुन्छ । शैक्षिक प्रशासन विद्यालयको मुख्य प्रशासन भएकाले प्रधानाध्यापकले कुन मोडेल वा व्यवस्थापन शैली अवलम्बन गर्ने भन्ने स्पष्ट दृष्टिकोण हुनु पर्दछ । यसबारे गहिरो अध्ययन र समझ नभए विद्यालय प्रशासनले गति लिन सक्दैन ।
विद्यालयको आर्थिक व्यवस्थापन पनि प्रअका लागि उत्तिकै संवेदनशील पक्ष हो । विद्यालय बजेटको ठूलो हिस्सा शिक्षक तलबमा जाने भए पनि बाँकी स्रोतको पारदर्शी व्यवस्थापन, विवरण सार्वजनिक गर्ने दायित्व र समाजमा विश्वास कायम राख्ने काम प्रधानाध्यापककै जिम्मेवारी हो । व्यवस्थापनमा पारदर्शिता नभए समाजले प्रश्न सोध्ने पहिलो व्यक्ति पनि प्रअ नै बन्छ ।
प्रधानाध्यापकको अर्को महत्वपूर्ण जिम्मेवारी विद्यालय विकासका स्पष्ट र व्यवहारिक योजनाहरू बनाउने हो । रणनीतिक योजना निर्माणमा दक्ष नेतृत्वले मात्र विद्यालयलाई सही दिशामा अघि बढाउन सक्छ । अभिभावक, शिक्षक र समुदायलाई विद्यालयको प्रगति देखाउन सक्ने पनि त्यही योजनाको प्रभावकारितामा निर्भर रहन्छ ।
शिक्षण–सिकाइ व्यवस्थापन पनि प्रधानाध्यापककै दायित्व भित्र पर्दछ । आफ्नै कक्षा लिने बाध्यता हुने हाम्रो जस्तो परिवेशमा, प्रअले शिक्षकहरूको कक्षा अवलोकन, अनुगमन र सुधार सुझाव प्रदान गर्नु आवश्यक छ । त्यसैले प्रअमा सुपरिवेक्षण कौशल अत्यावश्यक हुन्छ । विद्यालय व्यवस्थापन समिति र अभिभावक संघलाई प्रभावकारी रूपमा परिचालन गर्न सक्ने प्रअले विद्यालयको रूपरङ नै परिवर्तन गरेको प्रशस्तै उदाहरणहरू छन् । हाम्रै जुम्लाका पनि केही यस्ता विद्यालय छन् जुन नमुना बन्न सफल भएका छन् ।
प्रधानाध्यापक स्वायत्त विद्यालयभित्रको मुख्य प्रशासक हो । यो स्वायत्ततालाई सही रूपमा उपयोग गर्न सके विद्यालय तथा विद्यार्थी दुवैको विकास सम्भव हुन्छ । केन्द्र तथा प्रदेशबाट निर्देशन कम हुँदै जाने संघीय संरचनामा विद्यालयको स्वायत्तता अझै महत्वपूर्ण बन्दै गएको छ । संविधान २०७२ ले प्रत्येक बालबालिकाको शिक्षा अधिकार सुनिश्चित गर्न दिएको म्यान्डेटलाई पूर्ण गर्न प्रअ स्वयं तत्पर र सक्षम हुन आवश्यक छ । विद्यालय तथा समुदाय दुवैलाई शान्तिक्षेत्रका रूपमा स्थापित गर्न सक्ने नेतृत्व प्रधानाध्यापककै हो ।
यसले के देखाउँछ भने प्रधानाध्यापक केवल विद्यालयका मात्र होइन, समुदायका पनि अगुवा हुन् । उनी सक्षम, पारदर्शी, योजनाबद्ध र प्रविधिपरक नेतृत्वकर्ता हुन सके मात्रै विद्यालयले गुणस्तरीय शिक्षा दिन सक्छ । पाठ्यक्रमले अपेक्षा गरेको सिकाइ उपलब्धि सुनिश्चित गर्ने, विद्यार्थीको समग्र व्यक्तित्व विकासमा ध्यान पुर्याउने, २१औँ शताब्दीअनुरूप प्रविधिमैत्री पठन–पाठन विकास गर्ने र शिक्षक विकासमा निरन्तर अग्रसर रहने कार्य आजको विश्वका अनिवार्य आवश्यकता हुन् ।
यो अन्य पेशा भन्दा बिल्कुलै फरक जिम्मेवारी भएको पेशा हो । कोही कसैले अन्य पेशासँग तुलना गर्नु मुर्खता बाहेक केही होइन । प्रधानाध्यापक एक राजनीति कर्त्ता हो, एक ठेकेदार हो, एक शिक्षक हो, एक अगुवा नेतृत्वकर्ता हो । यी सबै भूमिका केवल विद्यालय र शैक्षिक स्तर बनाउनका लागि राखिएका हुन्छन् । तपाईंले अन्य कर्मचारीले आफ्नो कार्यालय भवन बनाउन, आफ्नो कार्यालयको भौतिक संरचना बनाउनका लागि कहीँ हारगुहार गरेको देख्नु भएको छ ? छैन होला ।
तर एउटा प्रअले आफ्नो जीवनकालमा यस्ता कैयौँ काम गर्नु पर्छ, जुन नचाहेर भए पनि विद्यालयको उन्नतिका लागि गर्नै पर्ने बाध्यता आउँछ । कति प्रअसँग गर्ने हुटहुटी हुँदा पनि विविध कारणले उसलाई एक्लो बनाइएको छ । जुम्लामा यस्ता कैयौँ विद्यालय छन्, जहाँ विद्यालयमा एक जना शिक्षक उहीँ प्रधानाध्यापक मात्र छन् । उही शिक्षक, उही प्रअ भएर विद्यालय हाँकिरहेका छन् । एक जना भएर पनि विद्यालय नमुना बनाएका उदाहरण पनि हामी देख्न सक्छौँ ।
अन्ततः, सक्षम र दूरदर्शी प्रधानाध्यापकले मात्र विद्यालयलाई विश्वस्तरसम्म पुग्ने यात्रामा अग्रसर गराउन सक्छ । यस्तै नेतृत्व नै गुणस्तरीय, प्रभावकारी र समयानुकूल विद्यालय शिक्षा निर्माणको आधारस्तम्भ कोर्नेछ । जसमा प्रधानाध्यापकको सफल नेतृत्व आवश्यक पर्दछ । एक्लो प्रअलाई सबैले साथ र सहयोग गर्ने हो भने पक्कै पनि हाम्रो जस्तो ठाउँमा रहेका सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उठ्ने छ ।
(लेखक जुम्लाको हिमा गाउँपालिकामा अवस्थित चर्चित हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ ।)














