उपत्यकाजति जोखिमपूर्ण ठाउँ देशभर नै कतै छैन । यहाँ सरकार र जनता नै दलाली भए । राज्यको कारणले जनता आफ्नो गाउँठाउँ छोडेर यहाँ आएर बस्न बाध्य छन् ।
मुलुकमा जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बिरामी हुनेको संख्या पनि निरन्तर उकालो लाग्दै गएको छ । बढ्दो जाडो र प्रदूषणले दमका रोगीलाई झन् बढी च्यापेको छ । उनीहरूलाई श्वास फेर्नसमेत समस्या भइरहेको छ । कोही अस्पतालमा अक्सिजन मास्क लगाएर उपचार गराइरहेका छन् भने कोही घरमै ।
पछिल्लो समय सबै घर ढुंगा, माटोको हुन्थ्यो, जुन तात्थ्यो । अहिले घर सिमेन्ट, वालुवा, डन्डीको प्रयोग भएर बनेको छ । सिमेन्टले छिट्टै चिसो लाग्छ । घरभित्र बसौँ, चिसो छ । बाहिर जाऔँ, धुवाधुलो, प्रदूषण छ । आखिर सर्वसाधारण गएर बस्नेचाहिँ कहाँ ? हिउँदमा वायु प्रदूषण बढ्दै जान्छ ।
पानी नपर्ने भएकाले प्रदूषण हट्नै पाउँदैन । यतिबेलै फेरि इँट्टाभट्टा सञ्चालन गरिन्छ, जसले सबैभन्दा धेरै वायु प्रदूषण गर्छ । अर्कोतिर, २० वर्ष पुराना गाडी धुवाको मुस्लो फालेर गुडिरहेका छन्, जसले वायु प्रदूषण गराउन मद्दत पुर्याइरहेका छन् । अहिले नै श्वासप्रश्वासका बिरामीलाई गाह्रो भइरहँदा अब झन् च्याप्ने देखिन्छ ।
किनकि, प्रदूषण अब बढ्दै जान्छ । काठमाडौं उपत्यकामा खुला ठाउँ छैन । कतै गएर बसौँ, घाम तापौँ भन्ने स्थिति नै छैन । जताततै घर नै घर छ । घर तीनतिर जोडेर बनाइएको छ, जसका कारण घामको मुख देख्नै पाइँदैन । काठमाडौंमा पहिले धेरै सार्वजनिक खाली चौर थियो ।
सिफल चौर, चाबहिल गणेशस्थान पछाडिको चौर कब्जा गरिसकिएको छ । पहिले चौर भएको ठाउँमा अहिले घर बनेको छ । कतै स्थायी संरचना बनाइएको छ, कतै अस्थायी । टहरा बनाएर व्यापार गरिरहेको अवस्था छ । अनि कहाँ गएर घाम ताप्ने ? स्थानीय सरकारले सार्वजनिक चौरहरू संरक्षण गर्नुपर्थ्यो ।
तर, स्थानीय सरकारले आँखा चिम्लिदिँदा भूमाफियाहरूले सार्वजनिक सम्पत्तिहरू कब्जा गरेका छन् । काठमाडौं उपत्यकामा खाली चौर नै छैन । घाम ताप्न मात्र होइन, बालबालिकालाई खेल्न, एकापसमा बसेर गफ गर्न चौर नै भेटिँदैन । अनि जतिबेला पनि घरभित्रै कोचिनुपर्ने बाध्यता छ ।
जाडो भए पनि, गर्मी भए पनि घरभित्रै बस्नुपर्छ । उपत्यकामा ७७ जिल्लाका नागरिकको बसोबास छ । कसैले घर बनाएका छन्, कोही भाडामा बस्छन् । तर, घाम त सबैलाई चाहिन्छ । घाम नपाउँदा उनीहरू रोगी बनिरहेका छन् । हातखुट्टा दुख्ने, हड्डी खियने, निमोनिया लाग्ने, श्वासप्रश्वासमा समस्या हुनेलगायतका रोग उनीहरूमा देखिइरहेका छन् ।
पहिले उपत्यकामै प्रशस्त पार्टीपौवा, चौतारा, वर-पीपलको रुख थियो । सर्वसाधारण त्यहाँ बसेर गफिन्थे, थकाइ मेटाउँथे । बालबालिका खेल्थे । तर, संरक्षण नहुँदा त्यो पनि मासियो । स्थानीय सरकारले विकास भनेको घर बनाउने मात्रै हो भनेर बुझ्दा आज उपत्यका अव्यवस्थित शहर बनेको छ ।
व्यवस्थित शहरमा आवास, पार्क, चौतारो, पार्टीपौवा, धारा, खोलानाला हुन्छ । तर, हामीकहाँ घरैघर छ । एउटाले अर्कोसँग जोडेर घर बनाएको छ, अर्कोले फेरि अर्कोसँग । दिउँसै बत्ती बालेर बस्नुपर्ने बाध्यता उपत्यकामा छ । बत्ती बाल्यो अनि सिरकभित्र बसिरह्यो । काठमाडौंमा धान्न नसक्ने जनसंख्या भइसकेको छ ।
तैपनि, सरकारले जनतालाई यहीँ कोचिरहेको छ । जनतालाई रोगी बनाइरहेको छ । जनताको जनधनको सुरक्षा गर्नु सरकारको दायित्व हो । विडम्बना, सरकार आफ्नो दायित्व निर्वाहमा चुकिरहेको छ । अहिले उपत्यकामा एक तलादेखि १९ तलासम्मको घर छ । त्यहाँ एकएक वटा कोठा लिएर सर्वसाधारण बसिरहेका छन् ।
उनीहरू आफ्नो ज्यान नै जोखिममा छन् । कोठामा बस्नेहरूले हिटर बाल्छन् । हिटरको कारणले आगजनी भयो भने त्यहाँ सर्वस्व सिद्धिन्छ । अर्कोतिर, केही कारण बस घर भत्कियो भने त्यहाँ अकल्पनीय मानवीय क्षति हुन्छ । पछिल्लो समय उपत्यका भरिँदै गएको छ भने गाउँ रित्तिँदै ।
सरकारले ‘जहाँ छौँ, त्यहीँ बस, आफ्नो गरेर खाऊ’ भनेर सिकाउने हो । जनता आ–आफ्नो जिल्लामा बसे भने त्यहाँ पनि विकास हुन्छ । उनीहरूले खेतीपाती गरेर खान्छन्, खेतबारी बाँझो बस्दैन । उपत्यकामा यस्तो भीड पनि हुँदैन । उपत्यकामा जता हेर्यो त्यतै मान्छे देखिन्छन् ।
मान्छे धेरै भएकाले उपत्यका फोहोर बन्दै गएको छ । खोलानाला दूषित भएको छ । पानीको अभाव उस्तै छ । यहाँ उब्जनी नभएकाले सबै सामान बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । ती विषालु सामान खाएर जनताले आफ्नो पैसा पनि सकाइरहेका छन्, ज्यान पनि । घरमा त घाम ताप्ने ठाउँ छैन, स्कुलको हालत पनि उस्तै छ ।
अधिकांश स्कुल भाडाको घरमा छन् । साँघुरो जग्गामा अग्लो भवन बनाएर स्कुल बनाइएको छ । स्कुल खुला ठाउँमा हुनुपर्छ । तर, घरैघरको बीच एउटा भवन लिएर स्कुल सञ्चालन गरिएको छ । न त्यहाँ घाम आउँछ न भुइँचालो आयो भने भाग्ने ठाउँ छ । स्कुलले चिसोमा पढाएर जनताका छोराछोरी रोगी बनाइरहेको छ ।
जनताले महँगो शुल्क तिरितिरि बिरामी बनाउन आफ्नो छोराछोरी स्कुल पठाएका त होइनन् । तर, स्कुल कमाउनतर्फ मात्र केन्द्रित छ । पहिले मन्दिरको जग्गा ठूलो र फराकिलो हुन्थ्यो । सर्वसाधारण त्यहाँ गएर बस्थे । तर, त्यो पनि हडपिसकेको अवस्था छ । मठमन्दिर साँघुरो बनाइएको छ ।
मठमन्दिरको चारैतिर मन्दिरभन्दा अग्लो घर निर्माण गरिएको छ, जसका कारण मन्दिरमा आउने घाम छेकिएको छ भने पूजाआजा गर्न आउनेलाई पनि ठाउँ सानो हुँदा समस्या भएको छ । सरकारले नेपाल भनेको उपत्यकाको तीन जिल्ला मात्र होजस्तो गर्यो । बाटोघाटो, सडक, अस्पताल यहीँ बनायो ।
दुर्गम जिल्लामा त अहिले पनि सिटामोल पाइँदैन, जसका कारण सर्वसाधारण यहाँ आएर थुप्रिन बाध्य भए । कतिपयको यहाँ आएर बस्नु रहर हो भने धेरैको बाध्यता । सरकारले सबै जिल्लालाई बराबर ठानेर विकास गरिदिएको भए, आज काठमाडौंमा यत्रो भीडभाड हुँदै हुँदैनथ्यो ।
न काठमाडौं यति फोहोर हुन्थ्यो । जनता आफ्नै जिल्लामा बसिरहेका हुन्थे । सरकारको कमीकमजोरीले गर्दा भूमाफिया र घरधनीलाई मात्र फाइदा भएको छ । भूमाफियाले एक हजार रुपैयाँ आनामा बिक्री नहुने जग्गा टुक्राटुक्रा पारेर लाखौँमा बेचे । यता, घरधनीले चिसो, घाम नछिर्ने दुलोजत्रो कोठाको ठाउँ हेरेर पाँच हजारदेखि २५ हजारसम्म लिइरहेका छन् ।
अनि त्यस्तो घरमा बसेर जनता रोगी भइरहेका छन् । अहिले धेरैलाई दम, बाथको रोग छ । त्यो रोग लाग्नुको प्रमुख कारण नै चिसो छ । जनता ‘यहाँ उपचार पाइन्छ’ भनेर आउँछन् । तर, रोग लागेको देख्दैनन् । काठमाडौं आउनु भनेको आफ्नो आयु घटाउनु हो । घरभित्र बस्यो, रोगले च्याप्छ; बाहिर गयो, गाडीले हानेर मार्छ ।
उपत्यकाजति जोखिमपूर्ण ठाउँ देशभर नै कतै छैन । यहाँ सरकार र जनता नै दलाली भए । राज्यको कारणले जनता आफ्नो गाउँठाउँ छोडेर यहाँ आएर बस्न बाध्य छन् । जनताले जनतालाई नै रोगी बनाएर कमाइरहेका छन् । तर, यो कुरा सीधासाधा जनताले बुझ्न सकेनन् ।
जनता रोगी हुँदा अस्पताललाई फाइदा भएको होला, यद्यपि जनता गरिब बन्दै गएका छन् । देश बनाउन चाहिने जनता सबै बिरामी परिरहेका छन् । तर, सरकारलाई मतलब छैन ।














