मंगलवार, १३ माघ, २०८२

आफ्नो व्यवहार, नीति र सोचमा अपाङ्गता मैत्री दृष्टिकोण राखौं

म सबैलाई अनुरोध गर्छु, समावेशिताको पक्षमा बोलौँ, समान अवसरका लागि हातेमालो गरौँ र आफ्नो व्यवहार, नीति र सोचमा अपाङ्गता मैत्री दृष्टिकोणलाई अपनाऔँ।

आज हामी एक महत्वपूर्ण दिन मनाइरहेका छौँ। अपाङ्गता भएका हाम्रा दाजुभाइ, दिदीबहिनी र साथीहरूको अधिकार, सम्मान र समावेशिताको पक्षमा आवाज उठाउने दिन।

प्रत्येक वर्षको ३ डिसेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको रूपमा मनाइन्छ। यस वर्षको नारा छ, ‘समावेशी अपाङ्गता मैत्री समाज निर्माण गरी सामाजिक प्रगति अघि बढाऔँ।’

यो नारा शब्द मात्रै नभई हाम्रो समाजलाई समावेशी, न्यायपूर्ण र सबैका लागि सुरक्षित बनाउन एकैसाथ अघि बढ्ने प्रतिबद्धता हो।

हाम्रो राज्य र समाजले सबै नागरिकलाई समान अवसरको आश्वासन दिन्छ। तर वास्तविकता फरक छ, शिक्षा, रोजगारी, यातायात, स्वास्थ्य सेवा र सार्वजनिक संरचना अझै पनि धेरै अपाङ्गता भएका व्यक्तिका लागि पूर्ण रूपमा सहज छैनन्।

भौतिक संरचनामा कमजोरी, सामाजिक सोचमा पूर्वाग्रह र मानसिक रूपमा अलिकति पनि ‘सहज’ नठान्ने दृष्टिले उनीहरूको दैनिकी अझ चुनौतीपूर्ण बनाइरहेको छ।

यस्तो अवरोध हटाउन नसकेसम्म हाम्रो सामाजिक विकास अधुरो रहन्छ। समावेशी समाज निर्माण हाम्रो सबैको साझा दायित्व हो।

सार्वजनिक भवन, सडक, पार्क, कार्यालय, विद्यालय र यातायातका साधन सबै व्यक्तिले सहजै प्रयोग गर्न सक्ने बनाउनुपर्छ।

शिक्षा र रोजगारीमा अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर र आवश्यक सुविधा उपलब्ध गराउन राज्य, संस्था र हामी सबै प्रतिवद्ध हुनुपर्छ।

स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र सेवा उपभोगमा उनीहरूको अधिकार सम्मानित हुनैपर्छ। साथै, समाजमा सकारात्मक सोच, संवेदनशीलता र सम्मानको भावना फैलाउन पनि हामी नै अगाडि बढ्नुपर्छ।

हामी सबै समान रूपमा मूल्यवान् छौँ, चाहे जो जहाँबाट आएको होस् वा जस्तो भएको होस्। अपाङ्गता कुनै कमजोरी होइन, यो विविधता हो।

यही विविधता हाम्रो समाजको सुन्दरता र शक्ति दुवै हो, यदि हामीले यसलाई खुला मनले स्वीकार्न र सम्मान गर्न सक्यौँ भने।

म सबैलाई अनुरोध गर्छु, समावेशिताको पक्षमा बोलौँ, समान अवसरका लागि हातेमालो गरौँ र आफ्नो व्यवहार, नीति र सोचमा अपाङ्गता मैत्री दृष्टिकोणलाई अपनाऔँ।

जब समाजका सबै सदस्यले समान सम्मान, समान सुनेर पाउने अधिकार र समान अवसर प्राप्त गर्छन्, तब मात्र हाम्रो देश वास्तवमै प्रगतिशील, न्यायपूर्ण र मानवअधिकारमैत्री बन्छ।

त्यसैले आज म यहाँ प्रतिबद्धता जनाउन चाहन्छ, ‘म एउटा समावेशी समाज निर्माणका लागि निरन्तर काम गर्नेछु, जहाँ सबैले सम्मान, स्वीकार्यता र समान अवसर पाउँछन्।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार