खण्डीकरण गरेर मूल्य ह्वात्तै बढाइयो । पैसा कमाउनका लागि डाँडाकाँडा पनि खोताल्ने काम भयो । जसको असर आज समग्र मुलुकले खेपिरहनुपरेको छ । राजधानी अस्तव्यस्त छ भने जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेको छ । ३५ वर्षअघि १० हजार रुपैयाँ रोपनीमा नबिक्ने जग्गालाई दलालले ११ करोड २० लाख पुर्यायो ।
नेपालमा ७७ वटा जिल्ला छन् । जिल्ला त्यति भए तापनि दोब्बर संख्यामा मालपोत कार्यालय छन् । हाल देशभर १३४ वटा मालपोत कार्यालय छन् । जग्गा किनबेच गर्दा अनिवार्य रूपमा मालपोतमा गएर नामसारी गर्नुपर्छ । त्यसबापत सरकारलाई राजस्व तिर्नुपर्ने व्यवस्था छ ।
भदौ महिनामा जग्गा नामसारीबाट जम्मा तीन करोड १२ लाख रुपैयाँ राजस्व उठेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकमा उल्लेख छ । देशभरका मालपोत कार्यालयबाट त्यति राजस्व उठेको हो । त्यति राजस्वले कर्मचारीलाई तलब पनि खुवाउन पुग्दैन । सो तथ्यांकले घरजग्गा किनबेच पानी बराबर भइसकेको देखाउँछ । घरजग्गा किनबेच भएको भए, सर्वसाधारण राजस्व तिर्न जान्थे ।
राज्यको ढुकुटीमा राजस्व आउँथ्यो । तर, सरकारकै तथ्यांकले घरजग्गा कारोबारमा व्यापक संकट आएको देखाएको छ । दलालहरूले खेतबारी, डाँडाकाँडामा डोजर लगाएर टुक्राटुक्रा बनाए । एक हजार रुपैयाँ आना नपर्ने जग्गालाई टुक्र्याएर आनाकै ठाउँअनुसार लाखदेखि करोडसम्म बेचिरहेका छन् ।
जग्गाको नाममा दलालहरूले सीधासाधा नागरिकलाई चंगुलमा पारेका छन् । अहिले पनि थानकोट, कपन एरिया, नारायणथान, डाँची थली, भक्तपुरको राधेराधेमा रोपनीको १० देखि १५ हजारमा जग्गा दिँदा पनि कसैले नकिन्ने भन्नेहरू अहिले पनि भेटिन्छन् । २०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गर्यो ।
७४ जिल्लाका नागरिक भागेर काठमाडौं उपत्यका छिरे । माओवादीले गाउँमा बस्न नदिएपछि उनीहरूले आफ्नो जग्गा बाँझो राखेर र घरमा ताल्चा लगाएर आएका थिए । ज्यान बचाउन उपत्यका आएका उनीहरूले जग्गा दलालीको काम सुरु गरे । मिटरब्याजमा पैसा लगाउने, सामन्ती, शोषक माओवादीको नजरमा थिए ।
माओवादीले त्यस्ता व्यक्तिलाई कारबाही गर्दै आएको थियो । गाउँमा ठगी पेशा चलाउँदै आएका उनीहरूले उपत्यका आएपछि पनि त्यस्तै ठगी धन्दा सुरु गरे । उपत्यका आएर जग्गा दलाली गरे । जग्गाको नाममा सीधासाधालाई फसाइयो । खेतीपाती हुँदै आएको जग्गालाई व्यापार बनाइयो ।
खण्डीकरण गरेर मूल्य ह्वात्तै बढाइयो । पैसा कमाउनका लागि डाँडाकाँडा पनि खोताल्ने काम भयो । जसको असर आज समग्र मुलुकले खेपिरहनुपरेको छ । राजधानी अस्तव्यस्त छ भने जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेको छ । ३५ वर्षअघि १० हजार रुपैयाँ रोपनीमा नबिक्ने जग्गालाई दलालले ११ करोड २० लाख पुर्यायो ।
एउटै जग्गा एक महिनामा १० पटकसम्म किनबेच भयो । १० पटक नामसारी हुँदा राज्यको ढुकुटीमा नसोचेको राजस्व बढ्दै गयो । दिन दुई गुणा र रात चौगुणाको दरले जग्गा बढ्यो । जग्गाको निरन्तर बढ्दो मूल्यपछि सार्वजनिक, सरकारी, खोला किनार, ताल, पोखरी, ढुंगेधारा, वनजंगल, गुठी, आर्यघाटको जग्गा कब्जा गर्न थालियो ।
धमाधम दर्ता गर्दै व्यक्तिलाई बिक्री गरियो । जसको पनि दाउ एउटै भयो–जग्गा किन्ने, पाँचदेखि १९ तलासम्मको घर बनाउने अनि भाडामा लगाउने । सरकारले कोठा भाडा नतोकिएकाले घरधनीलाई मनलाग्दी भाडा उठाउन छुट छ । भाडाबाट उनीहरूले राम्रो आम्दानी गर्दै आएका छन् ।
एउटा कोठाको ठाउँ हेरेर पाँच हजारदेखि २० हजार रुपैयाँसम्म लिइन्छ । फ्ल्याट २५ हजारदेखि लाखौँसम्मका छन् । सटरको ३० हजारदेखि २० लाख रुपैयाँसम्म भाडा छ । खाली सटर २० लाखसम्म बिक्री भइरहेको छ । एउटै व्यक्तिको उपत्यकाभित्र ६५ वटा घर छन् । भाडा खानका लागि त्यत्रो घर बनाइएको हो ।
भाडाको १० प्रतिशत बहाल कर सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ । तर, घरधनीहरूले घरबहाल कर छल्दै आएका छन् । अर्कोतिर, घरजग्गाको मूल्य पनि निरन्तर बढ्दा घरधनीको भुइँमा खुट्टा थिएन । एक करोडमा किनेको जग्गाको मूल्य बढेर पचासौँ करोड पुगेपछि कसको भुइँमा खुट्टा रहन्छ ?
जसका कारण घरजग्गा खरिदतर्फ धेरै आकर्षित भए । न जग्गाको लम्बाइ बढेको छ, न चौडाइ । सरकारले जग्गाको भाउ पनि बढाएको छैन । दलालीले भाउ बढाइदिए, त्यसैअनुसार बजार चल्दै गयो । उपत्यकामा एउटा सानो टुक्रा जग्गा भयो भने पूँजीपूत् । खेती गर्यो भने एक महिना खान पुग्दैन, त्यति जग्गा हुने व्यक्ति करोडौँको मालिक ।
तराईमा बिघाका बिघा जमिन भएकाहरू आफूलाई धनी भन्दैनन् । उनीहरू सुकुम्बासीझैँ हिँड्छन् । जग्गा त आखिर जग्गा नै हो । उपत्यकाबासीकोभन्दा बढी जग्गा उनीहरूको छ । त्यो जग्गामा कमायो भने वर्षदिन खान पुग्छ । तर, उनीहरू चाहिँ गरिब । यसको मूल कारण दलाल हुन् ।
उपत्यकाको होस् या तराईको — त्यो नेपालकै भूमि हो । सबै जग्गालाई सरकारले मान्यता दिएको छ । तर, जहाँ दलालको नजर पुग्यो, त्यहीँको भाउ बढ्यो । नेपाललाई कृषिप्रधान देश भनिन्छ । २०३९ सालसम्म नेपालले अन्य देशलाई खाद्यान्न बेच्थ्यो, अनुदानमा दिन्थ्यो । अहिले त अब अरू देशले पठाएनन् भने यहाँका जनता भोकभोकै मर्छन् ।
कारण हो — दीर्घकालीन सोचको अभाव र अव्यवस्थित बसोबास । गाउँको सबै जग्गा बाँझो छ । गाउँका बसोबासी सुविधा खोज्दै राजधानी छिरेका छन् । घर भाडामा लगाएर कमाउनका लागि काठमाडौं उपत्यकाभर घरैघर बनाइएको छ । जता हेरे पनि घर मात्र देखिन्छ ।
गाउँको जग्गा खाली भयो, उपत्यकाको खण्डीकरण गरेरै सिद्धियो । पाँच वर्षअघि करोड भनेको घरजग्गा अहिले लाखमा झरिसकेको छ । सटर, कोठा, फ्ल्याटहरू पनि आधाभन्दा बढी खाली भइसकेका छन् । घरबाट आम्दानी नभएपछि घरधनीलाई टोक्नु न बोक्नु भएको छ । हिजो घरभाडा खानका लागि आँखा चिम्लेर घर बनाए ।
घरमा भाडामा बस्ने नआएपछि घरधनीहरूलाई तनाव भएको छ । मुलुकमा बेरोजगारी बढेको छ । काम छैन, अनि कहाँबाट घरभाडा तिर्नु ? गाउँमा घरजग्गा भएकाहरू धमाधम उतै फर्किरहेका छन् । युवायुवती विदेश गइरहेका छन् । अनि काठमाडौंमा बस्ने को ? भदौ २३ र २४ गतेको आन्दोलनपछि निजी अफिसमा काम गर्ने ५० हजारभन्दा बढी बेरोजगार भएका छन् ।
यता, त्यसले राजस्वमा पनि प्रभाव परेको छ । जेनजी आन्दोलनमा ठूलो क्षति भएको छ । जुन पुनर्निर्माणमै खर्बौँ रुपैयाँ लाग्छ । सरकारसँग यतिबेला पैसा छैन । एकातिर वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब पुगेको छ भने अर्कोतिर सोच्दै नसोचेको क्षति भएको छ । जसका कारण सरकारले करार र ज्यालादारीका कर्मचारी हटाउने निर्णय गरेको छ ।
आम्दानी नै नभएपछि कहाँबाट ल्याएर उनीहरूलाई पाल्नु ? सरकारले केही दिनअघि सेयरमा लगाइएको २५ करोडको सीमा हटायो । हिजो ७८ प्रतिशतले सेयरको मूल्य घट्यो । सर्वसाधारण भन्छन् — सेयर १२, १३ सय कित्तामा आउँछ । बैंक तथा संघसंस्थाले प्रतिकित्ता एक सय रुपैयाँमा निकालेकोमा ३२ सय रुपैयाँसम्म लगानी गरेका छन् ।
उनीहरूले पानी समेत भन्न पाएनन् । दलालीको पछि लागेर आँखा चिम्लेर लगानी गर्दा सेयर लगानीकर्ताहरू चुलुम्मै डुबेका छन् । सुनको मूल्य प्रतितोला झण्डै तीन लाख रुपैयाँ पुगेको छ । नयाँ सुन खरिदकर्ता छैनन् भने पसलेले पुराना सुन किन्दैनन् । २०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ थियो ।
विस्तारै सुन बजार पनि पुरानै अवस्थामा फर्किने देखिन्छ । अटो शोरूमले छिमेकी देशमा दुई लाखमा पाउने गाडी ल्याएर लाखौँमा बेच्यो । अहिले ५० लाखमा किनेको गाडी पाँचदेखि १० लाखमा बेच्छु भन्दापनि किन्ने मान्छे छैनन् । बजार डामाडोल अवस्थामा जानुमा दलालीको हात छ । उनीहरूले बढाएको कीर्ते मूल्यमा सर्वसाधारण फसे ।
अहिले डुबिसकेपछि मात्र उनीहरूको आँखा खुलेको छ ।














