बिहीबार, २१ फाल्गुन, २०८२

दशैंले छोएन मजदुरलाई, पेश्की न छुट्टी, बिहानदेखि रातिसम्म काममै !

फूलपातीदेखि त सम्पूर्ण सरकारी कार्यालय बन्द छ । जनताले तिरेको करबाट सरकारी कर्मचारीले दशैं पेश्की र तलब खाए । अहिले कर्मचारीहरू आफन्तसँग रमाइलो गरेर दशैं मनाइरहेका छन् । यता, सरकारी कार्यालय बन्द भए पनि गाडी चाहिँ बाटोमा गुडिरहेको देखिन्छ ।

२०८२ असोज ६ गते घटस्थापनाबाट यो वर्षको दशैं शुरु भएको हो । घटस्थापनासँगै प्रायःजसो सरकारी कार्यालय बन्द भए । कतिपय कर्मचारी दशैं मनाउन आफ्नो थातथलो पुगेका छन् भने कतिपय यतै दशैं मनाइरहेका छन् ।

फूलपातीदेखि त सम्पूर्ण सरकारी कार्यालय बन्द छ । जनताले तिरेको करबाट सरकारी कर्मचारीले दशैं पेश्की र तलब खाए । अहिले कर्मचारीहरू आफन्तसँग रमाइलो गरेर दशैं मनाइरहेका छन् । यता, सरकारी कार्यालय बन्द भए पनि गाडी चाहिँ बाटोमा गुडिरहेको देखिन्छ ।

सानालाई ऐन, ठूलाई चैन भने उक्ति सरकारी कर्मचारीसँग ठ्याक्कै मिल्छ । कानुनले भन्छ, आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन । तर, यो नियम मजदुरमा भने लागू भएको पाइँदैन । अहिले मासु पसलमा काम गर्नेहरू भन्छन्, ‘बिहान ३ बजेदेखि राति ८–१० बजेसम्म खसी, बोका, बाख्रा, राँगा, भैंसी, संगुर, भेडा, च्याङ्ग्रा र कुखुरा काट्छौं ।’

दशैंमा माछा–मासुको खपत अधिक हुन्छ । एउटै व्यापारीले एकै दिन लाखौँको व्यापार गरी लाखौँ नाफा कमाउँछ । तर, दशैंको मौका छोपेर धेरै व्यापारीले उपभोक्तालाई ठगिरहेका छन् । खसीको मासु भनेर बाख्रा बेचिरहेका छन् । त्यो पनि दशैंअघि १३ सय प्रतिकिलोमा पाइने खसीको मासु अहिले १४ सयदेखि १५ सयमा बेचिरहेका छन् । जबकि किसानसँग जीवित खसी प्रति किलो पाँच सयमा किनिन्छ ।

यस्तै, राँगाको मासु भनेर भैंसीको मासु बेचिरहेका व्यापारीहरूले अघिपछि प्रतिकेजी पाँच सयदेखि साढे पाँच सय पर्ने मासुको अहिले सात सयदेखि साढे सात सय असुलिरहेका छन् । जबकि त्यही भैंसी र राँगाको किसानले किलोको ६० देखि बढीमा ८० रुपैयाँ पाउँछन् ।

फर्मबाट मरेका कुखुरा ल्याएर बेचिरहेको अवस्था छ । त्यो पनि दशैंअघि प्रतिकेजी तीनदेखि साढे तीन सय रहेकोमा अहिले पाँच सय रुपैयाँमा बेचिरहेका छन् । किसानले भने किलोको एक सय रुपैयाँसमेत पाउँदैन । दशैंमा च्याङ्ग्रा र भेडा झनै खाइन्छ ।

व्यापारीहरूले किसानसँग प्रतिकेजी साढे चार सयमा जीवित च्याङ्ग्रा किनेर उपभोक्तालाई पहिले १३ सयमा बेचे भने अहिले चाहिँ ९ सयमा बेचिरहेका छन् । काटेको मासु पनि पहिले २७ सयमा बेचेकोमा अहिले २४ सयमा झारिएको छ । यता, संगुरको मासुलाई पनि बंगुर भनी बेचिरहेको अवस्था छ ।

यो पनि दोब्बर मूल्यमा बेचिरहेको छ । माछा दशैंअघि प्रतिकेजी साढे तीन सय रुपैयाँ रहेकोमा अहिले पाँच सयदेखि साढे पाँच सयमा बिक्री गरिरहेको छ । दही, दूध पसलमा पनि उस्तै ठगीधन्दा छ । किसानसँग प्रतिलिटर ५० रुपैयाँमा दूध किन्छन् ।

अनि त्यसमा पानी मिसाएर डेढ सय रुपैयाँमा दूध बेचिरहेका छन् । उपभोक्ताले दूध किन्दा दूध कम पानी बढी हुन्छ । किनभने पहिल्यै किसानले दुई लिटर दूधमा एक लिटर पानी मिसाएको हुन्छ भने डेरी पसलले थप एक लिटर पानी थप्छ । यसरी उपभोक्ताले दुई लिटर दूध किन्दा एक लिटर त पानी नै हुन्छ ।

दशैंमा मदिराको पनि अत्यधिक खपत हुन्छ । तर, मदिरा पसलहरूको पनि यही हो धन्दा । दशैंको मौका छोपेर गुणस्तरहीन, म्याद सकिएको मदिरा बेचिरहेको अवस्था छ, त्यो पनि मनलाग्दी पैसा असुलेर । यता, टीका लगाउन वा टीका लगाउन जाँदा फलफूल लिएर जाने चलन छ । यसैको फाइदा उठाएर व्यापारीहरूले फलफूलको मनलाग्दी पैसा असुलिरहेका छन् ।

दशैंमा नयाँ कपडा लगाउने गरिन्छ । चीन, भारतबाट भन्सार नै नतिरी काठमाडौंस्थित महाबौद्ध, न्यूरोड, असन, भोटाहिटी, इन्द्रचोकलगायतका व्यापारीले निकै सस्तोमा अर्थात् एक सय रुपैयाँमा कपडा ल्याउने गरेका छन् । उनीहरूले ती कपडा खुद्रा व्यापारीलाई तीन सयदेखि चार सयमा बेच्छन् । र, खुद्रा व्यापारीले उपभोक्तालाई १५ सयदेखि तीन हजारमा बेच्छन् ।

भाटभटेनी, सुपरमार्केट, बिगमार्टहरूमा पनि उस्तै लुटधन्दा छ । बाहिर सात सयमा पाइने जुत्ता भाटभटेनीमा पाँच हजार पर्ने सर्वसाधारण बताउँछन् । बाहिर तीन हजार पर्ने मदिरा त्यहाँ १५ हजार पर्ने पनि मानिसहरू बताउँछन् । त्यसमाथि भाटभटेनी, बिगमार्ट र सुपरमार्केटमा राखिएका धेरैजसो सामान म्याद गुज्रिएका, गुणस्तरहीन हुने गरेको छ ।

यी व्यापारिक केन्द्रहरू बिहान ७ बजेदेखि राति ११ बजेसम्म खुल्छन् । दशैं भए पनि यी व्यापारिक केन्द्र खुलिरहेका छन् । भाटभटेनीले दिनमै अर्बौँको व्यापार गर्छ र करोडौँ मात्रै नाफा कमाउँछ । तर, कामदार चाहिँ दशैंको बेलासमेत बिहान ७ बजेदेखि राति ११ बजेसम्म खटिरहेका छन् । उनीहरूले न बढी तलब पाउँछन् न दशैं मनाउन पाउँछन् ।

ती मजदुर पनि नेपाली हुन् । उसको पनि दशैं हुन्छ । तर, मजदुरहरूलाई दशैंले छोएको देखिँदैन । उनीहरू काममै खटिरहेका छन् । यी व्यापारिक केन्द्रहरूमा काम गर्नेहरूको मासिक तलब दश हजारदेखि बढीमा १५ हजार रुपैयाँ छ ।

अहिले भाटभटेनी साहु मीनबहादुर गुरुङलाई जनता सोध्छन्, ‘मजदुरहरूलाई यसरी शोषण गरेर, राज्यलाई राजस्व छलेर, उपभोक्ता ठगेर, सरकारी सम्पत्ति हिनामिना गरेर कतिञ्जेल मोटाउने ?’ उनले साढे चार अर्ब राजस्व छलेको सर्वोच्च अदालतले नै पुष्टि गरिसकेको छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पनि उनी दोषी ठहर भई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । यसरी मजदुर, उपभोक्ता, राज्यलाई ठग्ने गुरुङ समाजमा राम्रो भन्न भने राज्यले मागेको आफ्नो आधा सम्पत्ति दिने दाबी गर्छन् । राज्य भिकारी हो र उनीजस्तो ठग व्यक्तिसँग मागिरहन !

आफू राज्यलाई कर नतिर्ने अनि हावा हावा कुरा गर्ने । कानुनले भन्छ, ‘दशैंमा निजी कम्पनीहरूले पनि सरकारीसरह फूलपातीदेखि पूर्णिमासम्म कामदारलाई छुट्टी दिनुपर्छ । एक महिनाको तलब बराबर दशैं पेश्की दिनुपर्छ । तलब मासिक साढे १९ हजार रुपैयाँ दिनुपर्छ । सार्वजनिक बिदाका दिन काम लगाउन पाइँदैन । र, बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम लगाउन पाइन्छ ।’

तर, निजी कम्पनी, व्यापारिक केन्द्रहरूले न कामदारलाई बिदा दिएका छन् न पेश्की । उल्टै बढी काम लगाइरहेका छन् । यस्तै, घरायसी काम गर्नेहरूले पनि दशैंको बेला छुट्टी पाएका छैनन् । तीन हजारदेखि पाँच हजार तलबमा दशैंको बेलासमेत उनीहरू अर्काको घरमा झुठा भाँडा माझिरहेका छन् भने सहचालक, चालकहरू पनि दशैंको बेलासमेत गाडी चलाइरहेका छन् । उनीहरूलाई त महिनाको तीन हजारदेखि आठ हजार मात्र तलब दिइन्छ भने काम चाहिँ बिहान ५ बजेदेखि राति ९ बजेसम्म लगाइन्छ ।

गरिबको नाममा मुलुकमा धेरै चोटि आन्दोलन भयो । ती आन्दोलनले राजनीतिक परिवर्तन भयो । सबैले भनेका थिए, हामी गरिबको हितमा काम गर्छौं, शोषक, सामन्तीलाई कारबाही गर्छौं । तर, यो केवल भाषणमै सीमित हुन पुगेको छ ।

किनभने मुलुकमा जतिसुकै व्यवस्था परिवर्तन र ऐन, कानुन बने पनि गरिब शोषित भइरहेका छन् भने शोषक, सामन्तीहरू उनीहरूको रगत–पसिना चुसिरहेका छन् । यस वर्ष पनि गरिबलाई दशैंले छोएन ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार