मंगलवार, १३ माघ, २०८२

जुम्लाका दिनेश खत्रीले सुरु गरे जलेको देश बनाउन राज्यलाई १०० रुपियाँ सहयोग अभियान

उनले सुरु गरेको अभियानको सन्देश सरल छ, प्रत्येक नेपालीले रु. १०० मात्र सहयोग गर्ने। रकम थोरै हो, तर जब सबैले हातेमालो गर्छन्, त्यो सानो थोरै ठूलो बल बन्न पुग्छ। सबै नेपालीले सहयोग गरे कम्तीमा ३ अर्व रुपैयाँ जुट्छ।

नेपालको इतिहासमा २०८२ साल भाद्र २४ गतेलाई सबैले कहिल्यै नबिर्सने दिनका रूपमा सम्झनेछन्। जेन-जी आन्दोलनको क्रममा देखिएको उग्र रूपले सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, विभिन्न मन्त्रालयहरू लगायत मुलुकका प्रमुख राष्ट्रिय सम्पदाहरूमा आगजनी भयो।

हजारौँ वर्षको इतिहास बोकेका ती संरचनाहरू एकैपटक ध्वस्त पारिँदा सम्पूर्ण नेपाली जनताले असह्य पीडा भोगे। तर, विनाशको त्यो कालो धुवाँभित्रै पनि पुनर्जन्मको उज्यालो खोज्ने मानवीय संकल्प भने कहिल्यै मर्दैन।

यही संकल्पलाई कर्ममा उतार्दै जुम्लाका दिनेश खत्रीले सुरु गरेका छन् “जनही रु. १०० सहयोग अभियान”। उनी पेशाले शिक्षक हुन्—जुम्लाको सम्भुनाथ ज्ञानकुञ्ज माविमा आफ्नो शिक्षण जीवन बिताइरहेका खत्रीले आफ्नो अभियानलाई कक्षा कोठाभित्र पढाइएका पाठ जस्तै सरल तर गहिरो बनाउने संंकल्प गरेका छन्।

“त्यो आगोले केवल भवन जलाएन, हाम्रा सपनासमेत खरानी बनायो। शिक्षक भएर मैले सिकाएको पठनपाठन अब किताबमा मात्रै होइन जीवनमै गर्नुपर्छ। त्यसैले मैले आफैंलाई भनें, अब समय पीडामाथि आँसु झार्ने होइन, पीडामाथि संकल्प खडा गर्ने हो,” दिनेश खत्री भन्छन्।

उनले सुरु गरेको अभियानको सन्देश सरल छ, प्रत्येक नेपालीले रु. १०० मात्र सहयोग गर्ने। रकम थोरै हो, तर जब सबैले हातेमालो गर्छन्, त्यो सानो थोरै ठूलो बल बन्न पुग्छ। सबै नेपालीले सहयोग गरे कम्तीमा ३ अर्व रुपैयाँ जुट्छ।

अभियान सुरु भएको तीन दिनमै रु. ३६,५०० संकलन भइसकेको छ। यो आँकडा पैसाको मात्र होइन, विश्वासको पनि हो।

“मलाई विश्वास छ, एक दिन यो अभियान टोलबाट गाउँमा, गाउँबाट शहरमा र शहरबाट सम्पूर्ण देशभरि फैलिन्छ। किनभने यो देश हाम्रो हो, यसलाई उठाउने पनि हामी आफैं हौं,” खत्री भावुक हुँदै भन्छन्।

शिक्षकको पेशामा रहँदा उनले बुझेका छन्, साना साना प्रयासहरू नै दीर्घकालीन परिवर्तनको जग बसाल्न सकिन्छ। विद्यार्थीलाई सिकाउँदा जस्तै उनले यो अभियानलाई पनि समावेशी र सहभागितामूलक बनाउन खोजेका छन्।

“एक विद्यार्थीले सानो प्रश्न गर्दा पनि कक्षाको माहोल बदलिन्छ। त्यस्तै, एकनागरिकले सानो सहयोग गर्दा पनि देशको भविष्य बदलिन्छ,” खत्रीको विचार छ।

यो अभियानले रकम संकलन मात्र नभई नागरिकलाई जिम्मेवार बनाउने र आगलागीले देखाएको विनाशलाई सरकारको कर्तव्य ठानेर पन्छिन नखोज्ने बनाउँछ।

“यदि हामीले आफ्नै आँसु पुछ्ने हिम्मत नगर्ने हो भने कोही आएर हाम्रो आँसु पुछ्दैन। राष्ट्र हाम्रो हो, यसलाई बनाउने पनि हामी आफै हौं भन्ने सन्देश फैलाउनु नै मेरो अभियानको आत्मा हो,” खत्री बताउँछन्।

यो पहलले नागरिकबीच सहयोग र सद्भावको नयाँ लहर ल्याउने उनको विश्वास छ। उनका अनुसार एउटै परिवारका सबै सदस्यले अलग-अलग रु. १०० दिन सक्ने व्यवस्था गरिएको छ। यसले पारदर्शिता मात्रै होइन, समावेशीताको पनि गहिरो अभ्यास गरिरहेको छ।

“सहभागिता भनेको ठूलो दान होइन, सानो-सानो योगदानको एकताबद्ध शक्ति हो। यही एकता नै हाम्रो ठूलो सम्पत्ति हो,” उनी थप्छन्।

आगजनीले ल्याएको पीडाले नेपालीको हृदयमा गहिरो चोट दिएको छ। तर खत्री भन्छन्, “मेरा विद्यार्थीहरूले मलाई सोधे ‘सर, यो देश अब कसरी उठ्छ?’ मैले जवाफ दिनुपर्‍यो, ‘तिमीहरूले उठाउने हो। हामी सबै मिलेर उठाउने हो।’ यही जवाफलाई जीवन्त बनाउन यो अभियान सुरु गरेको हुँ।”

यो अभियान केवल तत्कालीन पुनर्निर्माणका लागि होइन, दीर्घकालीन राष्ट्रिय चेतनाका लागि पनि हो। खत्रीको विश्वास छ, यो अभियानले भविष्यका पुस्तालाई राष्ट्रप्रतिको माया र जिम्मेवारी सिकाउनेछ।

“म चाहन्छु, भोलि इतिहास पढ्दा मेरो विद्यार्थीहरूले भन्न सकून् त्यो कठिन समयमा पनि हामीले हिक्मत हारेनौं, बरु एकजुट भएर देश उठायौं,” उनी दृढतासाथ भन्छन्।

अभियानले संकलित रकमलाई राज्यसँग सहकार्य गरेर पारदर्शी रूपमा प्रयोग गर्ने योजना बनाएको छ। सबैको सल्लाहमा आधारित भएर नेपाल सरकारलाई सहयोग पुर्‍याउने खत्रीको संकल्प छ। यसले अभियानलाई विश्वसनीय र दिगो बनाउन मद्दत गर्नेछ।

पुनर्निर्माण अब सरकारको जिम्मेवारी मात्रै होइन, यो सम्पूर्ण नागरिकको साझा यात्रा हो। यही यात्रामा दिनेश खत्रीले जुम्लाबाट सुरु गरेको सानो तर महत्त्वपूर्ण कदमले नयाँ ऊर्जा र प्रेरणा दिएको छ।

“देश जल्दा हामीले कराउँदै भन्थ्यौं, कसैले त केही गर्नुपर्छ। अब त्यो कसैले होइन, हामी सबैले गर्नुपर्छ। यो नै मेरो सन्देश हो,” उनी भन्छन्।

हामी उठ्नेछौं भनेर मात्रै हुँदैन आगजनीले खरानी बनेको देशलाई उठाउन हामी लाग्नै आवश्यक छ। खत्रीका अनुसार सामूहिक सहकार्य, दृढ संकल्प र पारदर्शी प्रयास भए सम्भव छ। उनले सुरु गरेको रु. १०० सहयोग अभियान यही सन्देशको जीवन्त उदाहरण हो।

जब एक नागरिकले हात बढाउँछ, अर्को नागरिकले पनि प्रेरणा पाउँछ। जब साना योगदानहरू जोडिन्छन्, ठूलो शक्ति जन्मिन्छ। यही शक्ति नै राष्ट्र निर्माणको आधार हो।

जुन देशलाई आगोले जलायो, त्यो देशलाई अब हामी सबै मिलेर पुनः उज्यालो बनाउन सकिने खत्रीको मत छ। उनले सबै गाउँ सहरका, टोल छिमेकका साथीहरुले आ-आफ्नो ठाउँबाट यो अभियान गर्न आव्हान गरेका छन्।

“यो देश हाम्रै हो, हामीले नै बनाउनुपर्छ,” खत्रीको यो दृढ आवाज जुम्लाको आवाज मात्र नभई सम्पूर्ण नेपालीको साझा स्वर हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार