सोमबार, ९ भाद्र, २०८२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको आशा र प्रगतिको प्रतीक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तपाईंलाई अभिभावकत्व प्रदान गर्दै  गुणस्तरीय शिक्षा प्रदान गरी रास्ट्रिय र अन्तरास्ट्रिय स्तरको  योग्य र विज्ञ नागरिक बनाउनमा सधै तल्लिन  रहने छ, भन्ने विश्वास दिलाउन चाहान्छु।

विद्यार्थी भाइबहिनीहरू, अभिभावकज्यूहरू,
नमस्कार!

आज यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पवित्र प्राङ्गणमा तपाईंहरूलाई स्वागत गर्न पाउँदा म अत्यन्त हर्षित छु।

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो व्यावसायिक यात्राको पहिलो पाइला यस प्रतिष्ठानबाट सुरु गर्नु भएका तपाईंहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिन चाहन्छु।

तपाईंहरू विभिन्न सहरका शैक्षिक संस्थाहरू छाडेर, कर्णालीको यो उकाली–ओराली, हिमाल–पहाडपारिको जमिनलाई भविष्यको जगको रूपमा रोज्दै, हामीसँग परिवार बन्न आउनुभएको छ। यसप्रति गहिरो आभार व्यक्त गर्दछु।

त्यस्तै, आफ्ना सन्तानको उज्ज्वल भविष्यको कल्पना गर्दै हामीलाई विश्वास गरी पठाउनु भएका अभिभावकज्यूहरूलाई नमन गर्दछु। तपाईंहरूका सन्तानप्रति अब हाम्रो जिम्मेवारी सुरु भएको छ। उनीहरूलाई गुणस्तरीय शिक्षा, नैतिक मूल्य र व्यावसायिक दक्षतासहित राष्ट्र तथा अन्तरराष्ट्रिय स्तरका सक्षम नागरिक बनाउन प्रतिष्ठान सदैव समर्पित रहनेछ।

अभिभावकज्यूहरू,
आजदेखि तपाईंका छोराछोरी अब हाम्रा पनि छोराछोरी हुन्। उनीहरू अब यो प्रतिष्ठानको इज्जत र प्रतिष्ठाका संवाहक हुन्। अब उनीहरूको जिम्मा हामीले लिएका छौँ। तपाईंहरू ढुक्क भएर घर फर्किनुहोस्।

हामी बुझ्दछौं—जुम्ला आउनको यात्रा सजिलो थिएन। उकाली–ओरालीका लामो बाटाहरू, चिसो मौसम, अपरिचित भूगोल र बासस्थानले तपाईंको मनमा पीडा र द्विविधा उत्पन्न गरेको हुन सक्छ। तर, कृपया यति सम्झनुहोस्—यी सबै क्षणिक हुन्। केही वर्षपछि यही पाखा–पहाड, यही खोला–नाला तपाईंका लागि आत्मीय बन्नेछन्। यी सुख्खा र उजाड लाग्ने भेगहरू पनि तपाईंको छोराछोरीको प्रगतिको साक्षी बनेर हरियाली अनुभूत हुनेछन्।

साथीहरू,
बाटोमा आउँदा तपाईंले स्याउका बोटहरू देख्नुभएको होला। अहिले ती नाङ्गा छन्—पातबिना, फुलबिना। हेर्दा मरुभूमि झैं लाग्ने ती बोटहरू केही महिनापछि फुल्नेछन्, फल्नेछन्—लटरम्म स्याउले भरिनेछन्।

ठीक त्यसरी नै तपाईंका सन्तान पनि आजको दिनदेखि ज्ञान, शील र दक्षताले लटरम्म फल्नेछन्।

त्यो दिन, तपाईंहरू गर्वले मुस्कुराउनु हुनेछ, हामी पनि अभिभावक भएर सन्तुष्टि महसुस गर्नेछौं। अनि, यो डाँडा, खोला, जाडो, उकालो, सबै मीठो सम्झनामा परिणत हुनेछ।

प्रतिष्ठानको वर्तमान अवस्थाः
काठमाडौंबाट टाढा भए तापनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामी एक अत्याधुनिक प्रविधिसम्पन्न शैक्षिक संस्था बनाउँदैछौं।
यहाँ चारवटा महाविद्यालयहरू सञ्चालनमा छन्:

१. चिकित्सा महाविद्यालय
२. नर्सिङ्ग महाविद्यालय
३. फार्मेसी महाविद्यालय
४. जनस्वास्थ्य महाविद्यालय

हामीकहाँ MBBS, BSc Nursing, BNS, BMS, BPH, MPH, BPharma, MPharma, MD/MS लगायतका कार्यक्रमहरू सञ्चालनमा छन्। हाल ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ५८ जना विद्यार्थी दीक्षित भइसकेका छन्।

३०० बेडको अस्पताल, अत्याधुनिक स्किल ल्याब, समृद्ध पुस्तकालय, पर्याप्त कक्षा कोठा, अनुसन्धानमैत्री वातावरण, र अनुभवी संकाय सदस्यहरू हाम्रो गर्वका आधार हुन्।

नेपाल मेडिकल काउन्सिल, हेल्थ प्रोफेसनल काउन्सिल, र फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षामा हाम्रो सफलता शतप्रतिशत रहँदै आएको छ—यो हाम्रो प्रतिबद्धताको प्रमाण हो।

प्राध्यापकहरूप्रति आभार:
देश-विदेशका अवसरहरू छाडेर, सेवाभावसहित यहाँ सेवा गरिरहनु भएका प्राध्यापक तथा चिकित्सकज्यूहरूलाई म हृदयदेखि आभार प्रकट गर्न चाहन्छु। तपाईंहरूको निःस्वार्थ योगदानले नै प्रतिष्ठान आजको अवस्थामा पुगेको हो।

विद्यार्थी भाइबहिनीहरू,
अनुशासन, आत्म-सम्मान, सम्मानभाव, र मेहनत—यी नै तपाईंहरूको यात्राका मूल मन्त्र हुन्। गुरुजन र सिनियरहरूप्रति आदर, जुनियरहरूप्रति स्नेह राख्नुहोस्। कर्णालीका खेत–बारी, खोला–नाला, पाखा–पखेरा तपाईंका लागि अध्ययनस्थल मात्रै होइन, जीवन बुझ्ने प्रयोगशाला पनि बनून्।

यहाँको अर्गानिक मार्सी चामल, कोदो–फापरको रोटी, सिमी, स्याउ र ओखरसँगको घुलमिल तपाईंको अनुभवलाई अझ समृद्ध बनाओस्। हामी अझै पूर्ण छैनौं—हामीसँग आफ्नै छात्रावास छैन, केही भौतिक सुविधा अपुग छन्। तर, तपाईँ–हामी मिलेर त्यही भविष्य निर्माण गर्दैछौं।

सम्पूर्ण जुम्लाबासी, सरोकारवाला, पत्रकार साथीहरू,
हामी जुम्ला बजारलाई एउटा साझा होस्टेलको रूपमा हेर्छौं।
देशभरिबाट आएका यी पाहुना विद्यार्थीलाई स्नेह, सम्मान र सौहार्दपूर्ण वातावरण दिनुहोस्। म जिल्ला समन्वय समिति, नगर प्रमुखज्यू, पत्रकार मित्रहरू र प्रमुख जिल्ला अधिकारीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु—यी सन्तानहरूलाई सुरक्षित, आत्मीय र प्रेरणादायी वातावरण प्रदान गर्नुहोस्।

अन्त्यमा,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको “आशा र प्रगतिको प्रतीक” हो। यो संस्थाले “प्याराडाइम सिफ्ट” को उदाहरण प्रस्तुत गर्दै मानव विकास सूचकांकमा योगदान पुर्‍याएको छ।

मातृ तथा शिशु मृत्युदर घटाएको छ। गरीब नागरिकको उपचारको पहुँच विस्तार गरेको छ।शहरका गगनचुम्बी टावरहरूले भन्दा हजारौं गुणा मूल्यवान कार्य यो प्रतिष्ठानले गरेको छ।

संकल्प गरौं, गुणस्तर र उत्कृष्टता हाम्रो परिचय बनोस्। कुनै कमजोरी, बेइमानी र लापरवाहीको स्थान नहोस्। देशले हामीलाई हेरेको छ, विदेशले हामीलाई नियालेको छ। अब, हाम्रो प्रत्येक पाइलाले संस्थाको गौरव बढाओस्।

धन्यवाद!
जय कर्णाली, जय नेपाल!

(कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नयाँ विद्यार्थी अभिमुखिकरण कार्यक्रममा निमित्त उपकुलपतिबाट व्यक्त स्वागत मन्तव्यको सार।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार