अब बैंकले कहाँबाट जनताको पैसा फिर्ता गर्छ ? अझै पनि सञ्चारमाध्यम झुक्याउँछौं र जनता ठग्छौं भन्नेमा बैंक छ। तर, अब जनता धेरै सचेत बनिसके। बजारको अवस्था सबैले बुझिसकेका छन्। लिलामी गरेको सम्पत्ति किन्ने मान्छे छैनन्। मेडिकल व्यवसायी प्रसाईंले ‘मारवाडीहरूलाई भगाउनुपर्छ’ भन्थे।
नेकपा एमालेका नेता महेश बस्नेतले विभिन्न बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएको चर्चा यतिबेला बजारमा व्यापक चलिरहेको छ। उनका पार्टीका कार्यकर्ताहरू सार्वजनिक स्थलमा त्यसो भन्दै हिँडेका छन्। नेपाली काँग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्काले पनि बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएको बताइन्छ।
हाल प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकलाई नै जोखिममा पारेर ऋण लिएको विषय पटकपटक बाहिर आइसकेको छ। भाटभटेनी साहू मीनबहादुर गुरुङले ५३ अर्ब रुपैयाँ ऋण लिएको सर्वसाधारण बताउँछन्। उता, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सात लाखमा खरिद गरेको जग्गा धितो राखेर २८ करोड रुपैयाँ निकालेको जग्गाधनीले बताएका छन्।
यी त पात्र मात्र हुन्। बैंकबाट अर्बौं रुपैयाँ ऋण लिनेहरू हजारौंको संख्यामा छन्। बैंकमा भएको पैसा जनताको हो। बैंकले उनीहरूसँग के धितो राखेर यत्रो पैसा दियो ? एउटै व्यक्तिलाई यत्रो पैसा दिन कानुनले अनुमति दिन्छ ? यसको जवाफ अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले दिनुपर्छ।
अहिले बजारको अवस्था के छ ? सबैलाई थाहा छ। आर्थिक मन्दीले व्यापारीलाई सताएको छ। घरजग्गा कारोबार सुस्ताएको छ। जग्गा किन्ने मान्छे भेट्नै गाह्रो छ। गाडी र सेयर बजार पनि निराशाजनक नै छ। बैंकबाट व्यापारीहरूले लिएको ऋण यिनै क्षेत्रमा बढी लगानी भएको छ।
बैंकले सहकारीमाथि गरेको लगानी जोखिममा छ। कतिपय सञ्चालक ठगीको आरोपमा जेलमा छन्। कतिपय विदेश भागेका छन्। सहकारीहरू धमाधम बन्द भइरहेका छन्। बैंकले सहकारीमाथि गरेको लगानी अब कसरी उठाउँछ ? त्यो पैसा उठ्न असम्भवजस्तै छ। बैंकमा भएको बचत चोरी भइरहेको गुनासो पछिल्लो समय व्यापक आइरहेको छ।
तर, सरोकारवाला निकायलाई कुनै चासो छैन। बैंकहरूलाई अहिले पनि मनलाग्दी गर्न छुट दिइएको छ। बैंकले ऋणबाट करोडौं उठाउनुपर्छ, धितो बेच्दा लाख आउन मुस्किल छ। अब कसरी बैंकले साँवाब्याज उठाउँछ, कसरी बचतकर्ताको पैसा फिर्ता गर्छ ? बैंकहरू सहकारीकै बाटोमा जाने देखिएको छ।
यसमा अर्थ मन्त्रालय र राष्ट्र बैंक सजग नहुने हो भने धेरै बचतकर्ता डुब्छन्। बैंकमा कर्मचारी रहेका आफन्तहरू भन्छन्–महिनौंदेखि बैंकले तलब दिएको छैन। उता, सुरक्षा गार्डहरू पनि तलब नपाएको गुनासो पोख्छन्। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले केही दिनअगाडि भनिन्, ‘बैंक तथा वित्तीय संस्था खाली गर्नका लागि घरधनीबाट सबैभन्दा बढी निवेदन आएको छ।’
घरधनीहरू बरु घर खाली राख्छन्, तर बैंक तथा वित्तीय संस्थालाई भाडामा दिँदैनन्। सर्वसाधारणबाट बैंक तथा वित्तीय संस्था यति चाँडो नङ्गिन्छन् भन्ने कसैले सोचेका पनि थिएनन्। बैंकले धेरैलाई पीडा दिएको छ। करोडको सम्पत्ति लाखमा खाइदिन्थे। अर्कोतर्फ, घुस पनि लिन्थे।
ऋणीलाई टर्चर दिएर मर्न बाध्य बनाउँथे। अहिले यिनीहरूको धन्दाको पर्दाफास भइसकेको छ। घुस खाएर बैंकले आनाको एक हजार पर्ने जग्गामा लाखौं लगानी गरेको थियो। विभिन्न कम्पनीले निकासा गरेको एक सयको सेयरमा चार हजार रुपैयाँसम्म लगानी गरिएको थियो।
छिमेकी मुलुकमा एक हजार नपर्ने जग्गालाई लाखौं कर्जा दिइएको थियो। यो कुरा तबसम्म ढाकछोप भएको थियो, जबसम्म सञ्चारकर्मीलाई थाहा थिएन। अहिले त बैंकको सबै धन्दा पर्दाफास भइसकेको छ। लाखौं ऋणी यतिबेला कालोसूचीमा परिसकेका छन्। उनीहरूले धितो खाऊ, हामी ऋण तिर्दैनौं भन्न थालिसके।
अब बैंकले कहाँबाट जनताको पैसा फिर्ता गर्छ ? अझै पनि सञ्चारमाध्यम झुक्याउँछौं र जनता ठग्छौं भन्नेमा बैंक छ। तर, अब जनता धेरै सचेत बनिसके। बजारको अवस्था सबैले बुझिसकेका छन्। लिलामी गरेको सम्पत्ति किन्ने मान्छे छैनन्। मेडिकल व्यवसायी प्रसाईंले ‘मारवाडीहरूलाई भगाउनुपर्छ’ भन्थे।
उनीहरू आफैं भाग्ने भए। यता, बैंकहरू पनि डुब्ने भए। बजार सधैं एउटै गतिमा जाँदैन। कुनै बेला भाउ आकासिन्छ, कुनै बेला स्वाट्टै घट्छ। वर्षौंदेखि आर्थिक मन्दीमा रुमल्लिएको बजार अहिले पनि त्यसबाट निस्किन सकेको छैन। झन् बजार डामाडोल बन्दै गइरहेको छ। सरकारी, गुठी र ऐलानी जग्गा धितो राखेर बैंकले कर्जा दिएको छ।
अख्तियार ती जग्गा सरकारको नाममा फिर्ता ल्याउन तातेको छ। कसैले सरकारी सम्पत्ति खान पाउँछ ? अब अख्तियार र अदालतले ती जग्गा सरकारको नाममा ल्याउँछ। बैंकको लगानी जोखिममा पर्छ। सञ्चारकर्मीको काम जनतालाई सचेत बनाउने हो। अब उनीहरूले बैंकको अवस्था र लगानीबारे जनतासामु छर्लङ्ग पारिदिनुपर्छ।
जनतालाई ठगिनबाट जोगाउनु सञ्चारमाध्यमको दायित्वा हो। सञ्चारमाध्यमले सहकारीको सत्यतथ्य बाहिर ल्याएपछि बचतकर्ताहरू धमाधम रकम निकाल्नतर्फ लागे। जो मान्छे आफ्नो आफन्तको हो, हाम्रो सहकारी डुब्दैन भनेर बसे, उनीहरू चुलुम्मै डुबे। बैंकको हकमा त्यसो नहोस्।
मालपोत कार्यालयमा गएर बुझ्दा र त्यहाँका लेखापढीहरूले भनेको सुन्दा घरजग्गा किन्ने एक जना पनि भेटिँदैन। मान्छे जन्मेपछि सरकारले जन्मदर्ता दिन्छ। त्यसमा जन्मेको साल, महिना र गते खुलाइएको हुन्छ। जन्मदर्ताको आधारमा नागरिकता दिन्छ। र, ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता दिन्छ।
चार दशकअगाडि एक लाख रुपैयाँ रोपनीमा बिक्री नहुने जग्गा अहिले आनकै करोडौं छ। यो कसले बनायो ? भूमाफियाले, होइन ? जग्गा उति नै छ। बढेको छैन। यस्तो ठाउँमा बैंकले लगानी गरेको छ। अनि बैंक नडुबे को डुब्छ ? भनिन्छ नि–कहिले सासुको पालो, कहिले बुहारीको।
त्यस्तै भएको छ। सहकारी भाग्दा, लघुवित्त डुब्दा, बैंक खुसी भयो। ‘सौता भाग्यो, अब हामीले मात्र खान पायौं’ भनेर बैंक मख्ख परे। तर, सहकारी भागेको चार वर्षमै बैंक पनि त्यही बाटोमा गएको छ। ३५ हजार २३९ सहकारीले करोडौं बचतकर्ताको ४३ खर्ब रुपैयाँ खाइदियो।।
बैंकले कति कोको बिचल्ली बनाउने हो ? समयले बताउँछ। बीज रोपेपछि मल हाल्ने, पानी हाल्ने, गोडमेल गर्ने, सुरक्षा गर्ने गरियो भने मात्र फल खान पाइन्छ। तर, बैंकले त्यो बुझेन। रातारात धनी बन्ने उद्देश्यले बैंकले धेरै बचतकर्ताको बिचल्ली बनायो। अहिले तिनै बैंकको बिल्लीबाठ हुने अवस्था आएको छ।
अब बचतकर्ता मेरो पैसा बैंकमा सुरक्षित छ भनेर बस्नु हुँदैन। किनकि ब्याजको लोभमा साँवा नै गुम्न सक्छ। काँग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘नेपालले मान्छेबाहेक अरू केही निर्यात गर्न सकेन।’ यसको अर्थ नेपालमा केही उत्पादन भएन भन्ने हो। नेपाली काँग्रेसका नेता गणेशमान सिंहले नेपाली जनतालाई भेंडा भन्थे।
अहिले त्यस्तै भएको छ। खेतीयोग्य जमिन सबै मासेर घर बनाइयो। विदेशमा बसेर कमाएको पैसा पनि घरजग्गामा, रोजगारीमा कमाएको पैसा पनि घरजग्गामा। जो पनि घर बनाउने। अब के ईंट र सिमेन्ट टोक्ने ? अहिले कोहीसँग कमाइखाने जग्गा छैन। यसमा बैंकको पनि ठूलो हात छ।
आफ्नो घरको सपना देखाएर बैंकले जनता र देशलाई नै डुबाएको छ। पहिलेपहिले बुढापाकाले भन्थे, ‘दुःखले सुख खोज्यो, सुखले काल खोज्यो।’ घरजग्गा भन्दाभन्दै सबै डुबे। बैंकको पनि दुर्दशा सुरु भयो।















