स्कुले झोला धान्न धौ पर्ने कम्मरमा जिम्मेवारीको पहाडै बोक्न तयार भइन्। श्रीमान र देवर पढिरहेको घरमा उनी अर्की थपिएकी थिइन्। त्यसमाथि घरधन्दा धान्नु त छँदैथियो, जग्गा जमिन भइकन पनि बिहान साँझ मुखमा चार औँला पसाउन कठिन थियो। जग्गा जमिन गर्ने मान्छे थिएन। त्यही अन्न दिएर कामदार चलाउनुपर्ने थियो। त्यसैले कतिखेर अभाव हुन्छ थाहै हुँदैनथ्यो।
जुम्लाको तातोपानी गाउँपालिका–५ को उबडखाबड पहाडी बस्तीमा जब सूर्यको पहिलो किरणले हिमालका टाकुराहरूलाई चुम्छ, त्यहाँको शान्त वातावरणमा एउटा असाधारण ऊर्जा जाग्छ। त्यो ऊर्जाको स्रोत हुन्—नारायणी चौलागाईं, ३८ वर्षीया एक महिला, जसले आफ्नो परिश्रम, लगनशीलता र सपनाहरूको बलमा एउटा सानो गाउँलाई उद्यमको नक्सामा चिनाएकी छन्।
यो व्यक्तिगत सफलताको कथा होइन, यो त एउटा यस्तो गाथा हो जसले सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको बीज रोप्छ। हिमालको कठोर जीवनशैलीमा हुर्किएकी नारायणीले आफ्नो हातले बनाएको बाटोबाट न केवल आफ्नो पहिचान फराकिलो बनाइन्, बल्कि सयौं स्थानीयका लागि रोजगारीको ढोका पनि खोलिदिइन्।
जब उनले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय, विरेन्द्रनगर सुर्खेतबाट “उत्कृष्ट महिला उद्यमी पुरस्कार २०८१” प्राप्त गरिन्, तब उनको यो यात्रा केवल जुम्लाको सिमानामा सीमित रहेन, बरु देशभरका महिला उद्यमीहरूका लागि प्रेरणाको उज्यालो बन्यो। नगद एक लाख रुपैयाँ र सम्मानपत्रसहितको यो पुरस्कार उनको लागि मात्र होइन, उनले स्थापना गरेको “सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योग” को सफलताको पनि पहिचान थियो।
यो उद्योगले स्थानीय स्रोत र साधनको प्रयोगबाट जुम्लाको स्याउ, ओखर र अन्य फलफूललाई प्रशोधन गरेर बजारसम्म पुर्याउँछ। जसले गाउँको आर्थिक समृद्धिलाई नयाँ उचाइ दिएको छ। अनि उजले चोतोको अचारलाई समेत ब्रान्डिङ गर्दै गएकी छन्।
नारायणी चौलागाईंको जीवनको पहिलो अध्याय जुम्लाको तातोपानी-४ को हाँकु गाउँमा लेखिएको थियो। हिमाली क्षेत्रको यो गाउँ सुन्दर भए पनि यहाँको जीवन सहज थिएन। चिसो हावाले अनुहार छुने बिहानदेखि साँझको थकानसम्म, यहाँ हरेक दिन एउटा संघर्ष थियो।
नारायणी सानै छँदा उनको परिवारको आर्थिक अवस्था सामान्य थियो। बुवा–आमाले खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्थे। तर, जुम्लाको माटोमा सुन फल्दैन भन्ने उखानजस्तै, यहाँको खेतीले परिवारको आधारभूत आवश्यकता पनि पूरा गर्न गाह्रो थियो।
नारायणीको बाल्यकालको सम्झना उनको लागि एउटा कठोर पाठशाला थियो। बिहान सबेरै उठेर घरको काममा जुट्नुपर्थ्यो—दाउरा ल्याउने, पानी बोक्ने, गाईवस्तुलाई घाँस काट्ने। त्यसपछि स्कूल जानको लागि लामो बाटो हिँड्नुपर्थ्यो।
त्यही समयमा उनको बिहे भयो। बाल विवाह गरेकी उनउनलाई सानै देखि केही गरौं लाग्थ्यो। “मलाई सानैदेखि लाग्थ्यो, यो जीवनमा केही गर्नुछ। यो कठिनाइ मेरो भाग्य होइन, मेरो बल हो,” उनले आफ्नो कथा सुनाउँदै भनिन्, “सानै उमेरमा विवाह गरेँ। सानै उमेरमा विवाहको सोच कसरी पलायो? कसैले यो प्रश्न गरिदिँदा उनलाई एकान्तमा बसेर टोलाउन मन लाग्छ।”
“सोच नै कस्तो भयो भयो। एक हिसाबले भन्ने हो भने अवस्था पनि त्यस्तै थियो। साथीसंगीको बिहे सानै उमेरमा भयो। म पनि लहलहैमा लागेँ। उमेरको उन्मादले थेग्न नसेकेर भएको गल्ती हो। जसका कारण जीवन भोगाइ नै फरक बनिदियो,” उनले विगत सम्झिन्।
त्यतिबेला उनी आठ कक्षामा पढ्थिन्। बिहे गरेर घरमा आउँदा पनि पढ्ने हुटहुटी भने घटेको थिएन। तर, पोइली घरको पारिवारिक अवस्था गतिलो थिएन। घरमा श्रीमान र देवर पढिरहेका थिए। सासु काम गर्न नसक्ने, निकै बुढो उमेरकी थिइन्। अन्न उत्पादन भएको खण्डमा त्यसैले खान लाउन पुग्ने। तर, श्रीमान् र देवरको पढाइ-लेखाइका लागि चाहिने कापी कलम किन्न पैसा नपुग्ने।
कठिन परिश्रम गरेर परिवार चलाउनुपर्ने घरमा हुँदा पनि एक न एक दिन सबै व्यवस्थापन गरेर राजनीतिमा आउनुपर्छ भन्ने सोच राखिरहेकी थिइन्। राजनीतिको घोडा उनको मनमा उहिल्यै सवार भइसकेको थियो।
कहालीलाग्दो कथा बोकेर जिन्दगीको गोरेटोमा उकाली-ओराली गरिरहकी नारायणीलाई आफ्नो अर्को जीवन बिहेपछि सुरु भएको लाग्छ। ओठ निचोरेपछि दूध आउने उमेरमा उनले हजार माइल पूरा गर्नुपर्ने यात्राको लागि पहिलो पाइला चालेकी थिइन्। जसका लागि बाटोमा फिल्ममा बिहे हुँदा, माया बस्दा देखाइने दृश्यजस्तो फूलहरु बिच्छ्याइएको थिएन। त्यहाँ काँडाहरु थिए। बारम्बार तीनको तिखो घोचाइ सहनु पर्थ्यो।
२०५९ सालको कुरा हो। बिहे गरेर आउँदा श्रीमानले भर्खर एसएलसी दिएका थिए। देवर पढ्दै थिए। पैसा नभई पढाइ अगाडि बढ्ने थिएन। फाराम लाउने पैसा नहुँदा घरमा कयौँपटक नैरास्यताले बास गरेको हुन्थ्यो। आफ्नो पढाइलाई निरन्तरता दिने सोचसहित बिहे गर्न राजी भएकी नारायणीले घरमा श्रीमान र देवरको समेत पढाइ खर्च जुटाउने अवस्था आइलाग्यो।
स्कुले झोला धान्न धौ पर्ने कम्मरमा जिम्मेवारीको पहाडै बोक्न तयार भइन्। श्रीमान र देवर पढिरहेको घरमा उनी अर्की थपिएकी थिइन्। त्यसमाथि घरधन्दा धान्नु त छँदैथियो, जग्गा जमिन भइकन पनि बिहान साँझ मुखमा चार औँला पसाउन कठिन थियो। जग्गा जमिन गर्ने मान्छे थिएन। त्यही अन्न दिएर कामदार चलाउनुपर्ने थियो। त्यसैले कतिखेर अभाव हुन्छ थाहै हुँदैनथ्यो।
पढाइका लागि पैसा जुटाउने काममा नारायणी धेरै सक्रिय हुनुपर्ने थियो। त्यसका लागि उनले सुरु गरिन, प्रौढ शिक्षा दिन। प्रौढ शिक्षा दिनलाई तीन जनाले तालिम लिएका थिए। कक्षा लिनुपर्ने समयमा साथीहरुले नजिकका गाउँ रोजे। उनलाई नजिक भइदिए सजिलो हुन्थ्यो। तर, बाध्यताले टाढाको गाउँ हियाखोलामा जानुपर्ने भयो। पैसाका लागि उनले टाढा जान्न भनेर भन्न सकिनन्।
बिहान घरको काम, दिउँसो शिक्षा लिन स्कुल र साँझ शिक्षा दिन हियाखोला, बिहेपछि उनको दैनिकी थियो। हारिएर जानुपरेको हियाखोलामा दलित जनसंख्या बढी छ। दलित महिलाले आफ्नाे नाम आफैँ लेख्न सकेमात्रै पनि ठुलै उपलब्धि हुने थियो। स्टाम प्याट र ल्याप्चे चिनारीबाट सही गर्न सक्ने परिचयले सिंगो हियाखोलाका महिलाको मुहारमा मुस्कान छायो। दिउँसै अँध्यारो लाग्ने गाउँमा राति पनि उज्यालो देखियो। त्यसपछि नारायणी आफूले जितेको महसुस गर्न थालिन्।

आफ्नो परिचय हातको बुढी औँलामा कैद गरेका महिलाको मुहारमा खुसी देख्दा उनको अनुहारमा दियो बलेजस्तो भयो। सँगै दिमागी चेतनाको बिर्को खुलेजस्तो लाग्यो।
आठ कक्षा पढिरहेकी उनले गाउँमा नपढेका तमाम महिला देखिन। उनीहरु थोरै मात्रै शिक्षित भएको खण्डमा परिवार शिक्षित हुने अड्कल काछ्न लागिन। तर, यो गरिदिने कसले? राज्यसत्ताले गर्ने भए यत्रो समयसम्म किन गरेन त? त्यसैले आफू तयार हुने उनको सोच बन्याे। सानैदेखि राजनीतिमा लाग्ने भनेर बनाएको धारणा फराकिलो बन्यो।
घरधन्दा, आफ्नो पढाइका साथसाथै उनले बालशिक्षा पढाउन थालिन्। नजिकका महिलालाई केही सिकाउन थालिन्। वडा-वडामा बालविकास केन्द्रको स्थापना भयो। उनले दलित बस्तीमा रहेको बालविकास केन्द्रमा पढाउन थालिन। निम्न वर्गसम्म पुग्नुपर्छ र सेवा त्यहीँबाट सुरु गर्नुपर्छ भन्ने उनको सोच बलियो बन्दै गयाे। पढेर कम्युनिस्ट विचारसँग परिचित भइनसकेको अवस्थामा उनले वर्गीय समाज चिनिसकेकी थिइन्। यिनै कारणले उनलाई राजनीतिप्रति आकर्षित गराइरह्याे।
उनी खाली कहिल्यै बसिनन्। पढ्ने, पढाउने र आय-आर्जनका गतिविधिमा सरिक भइरहने बानीका कारण उनले दु:खका दिन पार गर्दै गइन्। छोराछोरी हुर्काउँदै उनले पढाइलाई निरन्तरता र प्रमाणपत्र तहसम्मको शिक्षासमेत आर्जन गरिन्। त्यसपछि भने उनलाई पढ्न मन लागेन। बालविकासमार्फत् दलित बालबालिकाको पढाइमा रुचि बढ्दै थियो। त्यहीबेला उनले आफ्नाे विगत सम्झिँदै वर्तमानमा कमजोर आर्थिक अवस्था भएकी महिलालाई बालविकास केन्द्रको जिम्मेवारी दिएर आफू सहकारीतिर लागिन्।
थप आय-आर्जनका काममार्फत् पैसा जुगाड गरेर श्रीमान् पढाउने सोच पलायो। घरधन्दामा व्यस्त महिलाले आफू पढेर पुरुषलाई काममा लगाएको खण्डमा गाउँमा अनेकथरि कुरा चल्थे। त्यसैले उनले श्रीमान पढाइन्। श्रीमानले लोक सेवा आयोग पास गरे। उनले जिन्दगीमा अर्को सफलता हात पारिन्। घरको आर्थिक अवस्था सुध्रिदै गयो। उनलाई राजनीतिमा आउने बाटो खुला भयो।
पितृसत्तात्मक समाजमा महिला अगाडि लाग्नुका अनेक कठिनाइहरु छन्। ‘स्वास्नी मुखेनी, बाख्रो बटालो’, ‘पोथी बाँसेको सुहाउँदैन’ भनेर खुलेआम भन्ने समाजमा उनले राजनीतिमार्फत् समाजसेवामा लाग्छु भनेर हिँडिन्।
यो यात्राले उनलाई जनप्रतिनिधि हुने अवसर अहिलेसम्म दिएको छैन। व्यापक जनताले चुनेका छैनन्। कम्युनिस्ट पार्टीको राजनीतिमा वैचारिक स्पष्टता र क्रियाशीलतालाई महत्वका साथ हेरिन्छ। सोही अनुरुपको जिम्मेवारी पाइरहेकी छन्। हाल उनी नेकपा (एमाले)को कर्णाली प्रदेश समिति सदस्य हुन्।
यतिले मात्रै नारायणीको परिचय पूरा हुँदैन। राजनीतिमार्फत् समाजसेवा गर्न उतिसहज छैन। हरेक पाइला-पाइलामा पैसा आवश्यक पर्छ। सँधैभरि श्रीमानकाे भर पर्नु परनिर्भर हुनु हो। त्यसैले उनले उद्यमशीलतालाई जोड दिएकी छन्। स्थानीय उत्पादन कच्चा पदार्थ बन्ने गरी खोलिएको उद्याेगमा उनले ३० लाख लगानी गरेकी छन्।
त्यसमध्ये चोताेको अचार उनको विशिष्टता हो। संघीय सांसदको उम्मेदवार हुँदै गर्दा ज्ञानेन्द्र शाहीले जुम्ली चोतो र चोतोका परिकारहरु बनाएर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने चुनावी घोषणा गरेका थिए। सांसद शाहीले चोतो ब्रान्डिङ गर्नलाई हालसम्म प्रक्रिया अगाडि बढाएका छैनन्। यता नारायणीले भने उनको सोचलाई हकिकतमा बदलेकी छन्।
यो काम हाल आएर देखाउनलाई वा सोखका लागि मात्रै होइन। मनग्य आम्दानी लिन र कारोबारको दायरा फराकिलो बनाउन हो। उद्योगको वार्षिक कारोबारमात्रै २० लाख बराबर भइरहेको छ। उनले भनिन्, “आम्दानी पाँच लाखसम्म भइरहेको छ। अहिले चोतोको अचारसँगै लसुनको अचार पनि बनाउने गरेकी छु। त्यस अलवा स्याउका चाना, सिमी र मार्सी चामलको व्यापार पनि गरिरहेकी छु। मेरो आम्दानीको मुख्य स्रोत यही हो।”
उनी स्याउको चाना बनाउने सिजनमा महिनादिन जति १०-१२ जना महिलालाई रोजगारी दिन्छिन्। अचार भने उनी आफैँ बनाउने गरिरहेकी छन्। अचारका लागि चार क्विन्टल जती चोतो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ भने एक क्विन्टल बराबरको लसुन। चोतो र लसुन गरी दुईथरिको अचार बन्छ। दिनभरजसो राजनीतिक गतिविधिमा संलग्न हुने उनी राति अबेरसम्म एक्लै बसेर प्याकिङ र लेभलिङको काम गरिरहेकी हुन्छिन्।
अभावका कारण पैसा र यसको महत्त्व बुझेकी नारायणी पुग्दो कमाइ गरिरहेकी छन्। श्रीमान सरकारी जागिरे छन्। घरमा सामान्य खेतीपातीबाट पनि गुजारा चल्ने थियो। केही नगरी आरामाले बस्दा पनि हन्थ्यो। तर, महिला आत्मनिर्भर भएको खण्डमा वा महिला आय-आर्जनमा लागेको खण्डमा आर्थिक स्वतन्त्रता हुने उनको बुझाइ छ। जसका कारण पनि उनी राजनीति सँगसँगै उद्यमशीलालाई पनि जोड दिइरहेकी छिन्।
यसरी नारायणीको उद्यमशीलताको सुरुवात एउटा सानो विचारबाट भएको थियो। उनको उद्यमशीलताले जुम्लाको लाम्रा गाउँमा एउटा सानो क्रान्ति ल्याएको छ। उनको उद्योगमा काम गर्ने अधिकांश महिला हुन्, जसले पहिले घरको चार दिवारभित्र सीमित जीवन बिताउँथे। आज ती महिलाहरू आफ्नो परिवारको आर्थिक आधार बनेका छन्। उनको यो प्रयासले गाउँको आर्थिक चहलपहल बढाएको छ। पहिले स्याउ बेचेर वर्षमा मुश्किलले १०–१५ हजार कमाउने किसानहरूले अहिले प्रशोधित उत्पादनको माध्यमबाट दोब्बरभन्दा बढी आम्दानी गर्न थालेका छन्। यो परिवर्तनले गाउँमा नयाँ आशा जगाएको छ।
यही आशाको बीचमा उनलाई उत्साहित बनाउने गरि ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसमा “उत्कृष्ट महिला उद्यमी पुरस्कार २०८१” प्राप्त गरिन्। यो नारायणीको लागि ठूलो सम्मान थियो। यो पुरस्कारले उनको मेहनत र योगदानको पहिचान मात्र गरेन, उनलाई थप जिम्मेवारी पनि थप्यो। “यो सम्मानले मलाई झन् धेरै गर्नुपर्छ भन्ने ऊर्जा दिएको छ,” उनले पुरस्कार ग्रहणपछि भनेकी थिइन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उनको प्रशंसा गर्दै भने, “नारायणीले जुम्लाको सम्भावनालाई विश्वसामु चिनाइन्। उनको यो योगदान हाम्रो लागि गर्वको विषय हो।”
नारायणीको भविष्यको योजना ठूलो छ। उनले आफ्नो उद्योगलाई देशव्यापी बनाउने सपना देखेकी छन्। “म जुम्लाको स्याउलाई विश्व बजारमा पुर्याउन चाहन्छु। हाम्रो उत्पादन जैविक र मौलिक छ, यो संसारले चिन्नुपर्छ,” उनले भनिन्। उनले उद्योग विस्तारको लागि नयाँ प्रविधि भित्र्याउने र थप रोजगारी सिर्जना गर्ने योजना बनाएकी छन्। साथै, उनले गाउँका युवा र महिलाहरूलाई उद्यमशीलताको तालिम दिएर स्वरोजगार बनाउने अभियान पनि चलाउँदैछिन्।
नारायणीको यो सफलताको पछाडि उनको परिवारको ठूलो योगदान छ। उनका श्रीमान् र दुई छोराछोरीले उनलाई सधैं साथ दिएका छन्। “मेरो श्रीमान् मेरो सबैभन्दा ठूलो प्रेरणा हुनुहुन्छ। उनले मलाई सधैं अगाडि बढ्न हौसला दिए,” उनले भनिन्। उनको सासू–ससुराले पनि घरको जिम्मेवारी सम्हालेर उनलाई उद्यममा ध्यान दिन सहयोग गरे। यो पारिवारिक समर्थनले उनलाई कठिन समयमा पनि डगमगाउन दिएन।
