हरेक वर्ष कोही न कोही त्यहीँ छुट्छन् सँधैको लागि। लाग्छ उनीहरु त्यो भन्दा पनि टाढाको सुदूर यात्रामा निस्किए। स-साना नानीहरू लेकमा बिलाउँदै गरेको हिउँजस्तै बिलाउँछन्। कति कक्षाकोटाका बेच्न वर्षभरिलाई खाली हुन्छन्। कतिको खबर गहिरो शोक बनेर आउँछ।
‘भाउअ (छोरा) राम्मो, पाठारो (सजिलो) गरि गएस।’ रातभर उसिनेका, दुई दिन सुकाएका- सिमी, मकैको पिठो, खाद्य संस्थानबाट पाँच घण्टे म्याराथनपछि घर भित्रिएका चामल, सिन्की आदि खानेकुरा र केही थान कपडा खाँदेर बनेको बडेमानको आफूभन्दा ठूलो भारी।
नाम्लोले घचक्क खिचेर घाँटीको आकार दुई इन्च घटाउँदा जिन्दगीले पहिलो पटक देख्यो, पहेँला घाम। आँखाबाट आगोका फिल्का नाच्नेबेला निस्किएका थिए संसारकै प्रिय वाक्य। आहा! आमाको बोली। एक मन भनिरहेथ्यो आमा छोडेर कही नजाउँ। अर्को मन हिड्ने बेला यस्तो के सोचेको? जा खुरुक्क।
मन यसरी कुँडियो कि खुलेर ‘आमै राम्मरी बस्या है’ भन्न सकिएन। गला अवरुद्ध थियो। बोल्यो भने हिक्का छोडिने डर। आमाको अनुहारमा आँखा डुलायो आँसु खस्ने डर।
कतै नहेरी सरासर ओरालो हिडेर जुम्ला खलंगा पुग्दासम्म केही भएन। टुँडिखेलहुँदै उकालो चड्दासम्म ठिकै थियो। चेरे चौर पुग्दा अनुहारमा लाली पोतिन सुरु भैसकेको थियो।
कुन चाहिँ बहुराष्ट्रिय कम्पनीको कमाल थियो त्यो त ठ्याक्कै भन्न सकिँदैन। तर, सुरुमा फिक्का रातो हुन्थ्यो। विस्तारै रंग बदलिएर गाढा रातो अनुहारभरी पोतिँदा छाला टनटन भरिएर फुट्ला झैं हुने।
डाँफे लेख काटेर ओराले लाग्दा फिक्का, भुलभुले उकालो चढ्दा गाढा रंगमा बसेको लाली उसैगरि पाँच दिनसम्म बस्यो। कैयौं पटक पसिनासँगै बगेको आँसुले पखाल्न सकेनन्।
२०६६ सालको जेठ महिनामा पहिलो पटक कतै टाढाको दूरी नापेका थिए खुट्टाले। सायद त्यो हजार माइलको यात्रा थियो। त्यसैले एक पाइलाबाटै सुरु भयो। ती पाइलाहरु पुगेका थिए मुगुका पाटन इमार, माजिनथान, नयाँ वन, अंग्री, छापाखोला, च्यार्कु, रिमार, ठूलोकोखी, स्यानकोखि, चाल्ने, टाँके, हङ्गदङ्ग खोला लगायत ठाउँ। जहाँ पाइन्थ्यो, -यार्सागुम्बा।
त्यहीँ पाईपाई खोजेथेँ, -यार्सागुम्बा। कक्षा छ। रोल नम्बर सात। उमेर १३ वर्ष। नाम गोर्ख बहादुर बोहोरा।
जिन्दगीको पहिलो कमाइ पन्ध्र हजार हातमा राखिदिँदा आमाको मुहार बलेको दियाजस्तो थियो। गोर्ख बहादुरको मन त झन् नालापानीमा युद्व जितेको बहादुर गोर्खालीको भन्दा बढी। घर खर्च र कापी किताबमा सकियो पहिलो वर्षको कमाई। दोस्रो र तेस्रो वर्षको कमाई पहिलाको हाराहारीमा भयो। तर, चौथो वर्ष समयले कोल्टो फेर्यो गोर्ख बहादुरले सात लाख कमाए।
कक्षा नौ पढ्दै गर्दा उनले यति धन कमाए सायद त्यतिबेला नेपाल सरकारको मुख्य सचिवले कमाएन्। बाँकी चार वर्ष चार, पाँच लाखको हाराहारीमा कमाए। असन्तोष केही थिएन। घर व्यवहार र पढाइ खर्चको लागि समस्या भएन। बाँकेको कोहलपुरमा थपियो एउटा मिलेको घडेरी। प्रमाणपत्र तह सकियो। वन रक्षकमा नाम निस्कियो। त्यसपछि पाटन आउजाउ रोकियो।
कलिलो उमेरमा नङमासु खियाउँदा, पैतालामा खाटा बस्दा जीवनले लय समात्यो। गोर्खले भने ‘आफूले सोचेको जस्तो भयो। अब सरकारी जागिरलाई निरन्तरता दिन्छु। मेहनत गर्छु। माथिल्लो तहमा पुग्ने कोशिस गर्छु।’
गोर्खको जस्तै सुखदुःख गर्न पुगेका थिए हजारौं बालबालिका। आज पनि पुगिरहेछन् निरन्तर।
हुनत मुगुबाट प्रधानमन्त्री ओली र उनकी पत्नी राधिकाका छोरीहरू ठिन्ले साङ्मु लामा र छिरिङ छोङजुम लामा पनि आठ नौ वर्षकै उमेरमा यार्सा खोज्न पाटन उक्लिन्छन्।
आफन्त र नातागोता सहित दुई, तीन महिना लेकको बाँस गर्न स्कुल छोडेर हिँडेका छन् उनीहरु र हिँडिरहेछन् जिन्दगीको लामो सफर।
हरेक वर्ष कोही न कोही त्यहीँ छुट्छन् सँधैको लागि। लाग्छ उनीहरु त्यो भन्दा पनि टाढाको सुदूर यात्रामा निस्किए। स-साना नानीहरू लेकमा बिलाउँदै गरेको हिउँजस्तै बिलाउँछन्। कति कक्षाकोटाका बेच्न वर्षभरिलाई खाली हुन्छन्। कतिको खबर गहिरो शोक बनेर आउँछ।
यार्सागुम्बा अहिले कर्णालीको उच्च हिमाली क्षेत्रमा बसोबासे गर्नेको मुख्य आम्दानी हो। यतिबेला कमाउन पाइएन भने वर्षभरिलाई छुकछुक हुन्छ। पछि छुकछुकाउने मानसिकतामा कोही हुन्नन्। अवसर छोप्न खोज्छन्।
कति पाटनबाट फर्किएपछि स्कुल जाँदैनन्। पैसा धेरै हुने हुनाले त्यसैमा भुल्छन्। रक्सी पिउन सिक्छन्। जुवाको लत बस्छ र बिग्रन्छन्। आफूले कमाएको सबै सकाउँछन्। त्यसका अलवा अरू ऋण लगाउँछन्। आउने वर्ष यार्सागुम्बाका ठेकेदारको लागि यार्सा संकलन गरिदिने सौदा गर्छन्। ठेकेदारका बँधुवा मजदुर बन्छन्। बेही हजारको लोभमा भविष्य बर्वाद हुन्छ।
घर ताला लगाए यार्सागुम्बा संकलन गर्न जाने जुम्ला चौधविस क्षेत्रका नागरिक बढी छन्। कतिको जीवनस्तर यर्सागुम्बाले बदल्यो। कति राम्रा व्यापारी भए। कतिले जुवा खेलाएर धन कमाउन जस्तो कार्य पनि गरिरहेका छन्। कतिले जुवातास खेलेर आफ्नो समय, श्रम र सम्पत्ति सकाइरहेका छन्। आर्जीत आम्दानी उपभोगमा खर्च भइरहेको छ।
महंगा इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा दुख गरेर कमाएको रकम विदेशसम्म पुग्छ र यहाँ केही रहँदैन। विदेश गई कमाएको रकम विदेश अनि स्वदेशमै कमाएको रकम पनि विदेश जान थालेपछि जिनेदगीले लय समाउने कुरै आएन।