आईतवार, १० जेष्ठ, २०८३

इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवाबाट कर्णालीका बिरामी लाभान्वित

जुम्लामा इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेपछि कर्णाली प्रदेशका बिरामीहरू लाभान्वित हुन थालेका छन्। स्थानीय स्तरमै सेवा उपलब्ध भएपछि बिरामीहरूको समय, खर्च तथा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घट्दै गएको छ।

जेनरल तथा ल्याप्रोस्कोपिक सर्जन एवं इन्डोस्कोपिस्ट डा. निर्मल थापाको सक्रियतामा सञ्चालन गरिएको विशेष उपचार कार्यक्रम अन्तर्गत २०८३ साल जेठ ३ गतेदेखि ८ गतेसम्म १४ जनाको इन्डोस्कोपी र ८ जनाको कोलोनोस्कोपी जाँच गरिएको थियो।

जाँचका क्रममा केही बिरामीमा अल्सरेटिभ कोलाइटिस, पोलिप तथा आन्द्रामा मासु पलाउनेजस्ता जटिल समस्या पहिचान गरिएको डा. थापाले जानकारी दिए। उहाँका अनुसार केही बिरामीको बायोप्सीसमेत निकालिएको छ भने आवश्यक औषधोपचार सुरु गरिएको छ।

कार्यक्रममा जर्मनीबाट आएका विशेषज्ञ चिकित्सक डा. माइकल गर्ग गोगेनबर्गरको समेत सहभागिता रहेको थियो। उनले इन्डोस्कोपी तथा कोलोनोस्कोपीमा प्रयोग हुने आवश्यक उपकरण ल्याएर उपचारमा सहयोग गरेको अस्पतालले जनाएको छ। भविष्यमा पनि सेवा निरन्तर सञ्चालन होस् भन्ने उद्देश्यले केही उपकरण अस्पतालमै छोडिएको बताइएको छ।

डा. थापाका अनुसार करिब एक वर्षदेखि अवरुद्ध रहेको सेवा अहिले पुनः नियमित रूपमा सञ्चालन भइरहेको छ। हाल प्रत्येक मङ्गलबार र शुक्रबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सेवा सञ्चालन हुँदै आएको छ।

अस्पताल प्रमुख डा. बिनम्र बिष्टका अनुसार यसअघि सामान्य इन्डोस्कोपी जाँचका लागि समेत बिरामीहरूलाई नेपालगञ्ज जानुपर्ने बाध्यता थियो। जुम्लामै करिब एक हजार रुपैयाँमा हुने जाँचका लागि नेपालगञ्ज पुग्दा बिरामीले ५० हजारदेखि ८० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको उहाँले बताए।

‘स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा बिरामीहरूको आर्थिक भार कम भएको छ भने उपचारका लागि बाहिर जानुपर्ने दुःख पनि घटेको छ,’ डा. बिष्टले भने।

यसैबीच, हड्डी विभागमा उपचाररत जयधन भण्डारीको आन्द्रा बटारिएर बन्द भएको अवस्थामा कोलोनोस्कोपीमार्फत सफल उपचार गरिएको अस्पतालले जनाएको छ। सुरुमा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिए पनि सर्जरी टोली र विदेशी विशेषज्ञ चिकित्सकको संयुक्त प्रयासमा अप्रेसन नगरी सफल उपचार गरिएको बताइएको छ।

अस्पताल प्रमुख डा. बिष्टले चिकित्सक तथा नर्सहरूलाई थप तालिम र अनुभव आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा एमआरआई लगायतका अत्याधुनिक सेवा थप गर्न सके कर्णालीका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार