बिहीबार, ३१ बैशाख, २०८३

सुर्खेतमा ब्राउनसुगर, सुन–चाँदी र ५ लाख नगदसहित दुई जना पक्राउ

सुर्खेत प्रहरीले लागूऔषध (ब्राउनसुगर), स्रोत नखुलेको सुन–चाँदी तथा नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८३ वैशाख २९ गते अपराह्न करिब ४ बजे जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ मा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले शंकास्पद अवस्थामा फेला परेका वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ४८ वर्षीय यकेन्द्र सुनार र वीरेन्द्रनगर–१४ बस्ने २० वर्षीय प्रशान्त सुनारलाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरूको शरीर तथा घर कोठा खानतलासी गर्दा प्लास्टिकसहित ७ ग्राम ८७० मिलिग्राम (१०९ पुडिया) लागूऔषध ब्राउनसुगर तथा प्लास्टिकबाहेक शुद्ध ३ ग्राम ७२० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अम्बरजँङ बुढथापाले जानकारी दिनुभयो ।

त्यसैगरी स्रोत नखुलेको नेपाली नगद ५ लाख १५ हजार ५ सय ५० रुपैयाँ, बिल भरपाई नभएका सुन तथा चाँदीजस्ता देखिने विभिन्न गरगहनासमेत बरामद गरिएको छ।

बरामद गरिएका सुनजस्ता देखिने गरगहनामा माइली तिलहरी ५ थान, चन्द्रमा ५ थान, औंठी ३२ थान, चन्द्रमा हार १ थान, काँटा ८ थान, पाइप ४ थान, जुली ६ थान, टप ४ थान, नथिया २ थान, बुलाकी १ थान, फुली १ थान, मँडरी २ थान, माला १ थान र औंठी १ थान रहेका छन्।

यस्तै चाँदीजस्ता देखिने गरगहनामा सिक्री ३ थान, पाउजु ३० थान, औंठी ३२ थान, बिछिया ४ थान, सिक्का २ थान, पाउजु अड्काउने २८ थान तथा बाला १० थान बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार