आँखा चिम्लेर लाखदेखि करोडौं लगानी गर्दा आज धेरै सर्वसाधारण चुलुम्म भएका छन् । किनकि सुनको मूल्य बढेपनि किन्ने कोही छैनन् । सुन व्यापारीहरु सुन बेच्नमात्र आएपछि पसल बन्द गरेर बसेका छन् ।
बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत कम्पनीले एक सय रुपैयाँ प्रतिकित्तामा सेयर निकाष्शन गर्ने गर्छन् । केही वर्षअघि त्यही सेयर प्रतिकित्ता ३२ सयसम्ममा बेचबिखन भयो । दलालहरुले बढाएको कृत्रिम मूल्यमा सर्वसाधारणले सेयर किने । अहिले त्यही सेयर २५ सयमा झपरिसकेको छ । पछिल्लो समय सेयरको मूल्य दिनानुदिन घटिरहेको छ ।
सेयरमा करोडौं सर्वसाधारणले लगानी गरेका छन् । एउटै व्यक्तिले ५० हजारदेखि अर्बौ रकम सेयरमा लगानी गरेको पाइन्छ । दुर्भाग्य, दलालीको लहैलहैमा लागेर उनीहरु नराम्ररी डुबेका छन् । एकातिर सेयरको मूल्य घट्दो छ, अर्कोतिर किनबेच ठप्प । घरजग्गा, गाडी र सुनमा पनि उस्तै छ । रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिन भूमाफियाहरुले प्लटिङ अर्थात् टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि करोडौंमा बेचे ।
एक रोपनीमा १६ आना हुन्छ । छिमेक भारत र चीनबाट ५० हजारदेखि पाँच लाखमा ल्याइएको सवारीसाधन अटो शोरुमहरुले डेढ लाखदेखि करोडौंमा बेचे । गाडीमा प्रयोग भएका सामान दुई रुपैयाँ किलोमा समेत कवाडी लग्दैन । फलाम, प्लास्टिक, रबर, सिसा, फर्म, कपडालगायतबाट गाडी बन्छ । जुन कवाडीले सित्तैमा लैजान पनि मान्दैन ।
सुन वि.सं. २०२२ सालसम्म प्रतितोला ८० रुपैयाँ थियो । चाँदी त सित्तैमा पनि कसैले लग्दैन थिए भन्नेहरु अझै भेटिन्छन् । तर, केही महिनाअघि त्यही सुन तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो । बनाउने ज्यालासहित तीन लाख ८० हजार । चाँदी ज्यालासहित दश हजार पुग्यो । सुन धातु हो । यी विलासित वस्तु हुन् ।
अनि यस्तो वस्तुमा आँखा चिम्लेर लाखदेखि करोडौं लगानी गर्दा आज धेरै सर्वसाधारण चुलुम्म भएका छन् । किनकि सुनको मूल्य बढेपनि किन्ने कोही छैनन् । सुन व्यापारीहरु सुन बेच्नमात्र आएपछि पसल बन्द गरेर बसेका छन् । अनि मूल्य करोडमै पुगेपनि किन्ने कोही नभएपनि के महत्त्व ? रोचक कुरा चाँहि के हो भन्दा घरजग्गा, गाडी, सेयर र सुनमा लगानी गर्ने अधिकांश शिक्षित वर्ग छन् ।
यी वस्तु विलासित हुन् भनेर थाहा हुँदाहुँदै लगानी गर्दा उनीहरु डुबेका छन् । अनि मान्छेले पढेरमात्र सबैथोक जान्दो रहेछ त ? यता, सहकारी डुबेको वर्षौ बितिसकेको छ । बढी ब्याजको प्रलोभनमा परेर मानिसहरुले सहकारीमा रकम राखेका थिए । एउटै व्यक्तिले ५० हजारदेखि १२ करोडसम्म निक्षेप सहकारीमा राखेको पाइन्छ । उनीहरुको आज रुवाबासी चलेको छ । देशभरका सहकारी डुबेका छन् ।
सहकारी डुब्दा करोडौं बचतकर्ता डुबेका छन् । उनीहरुको खर्बौ रकम डुबेको छ । सरकारले सहकारीका १३ हजार ऋणीको सम्पत्ति जफत गर्ने तयारी गरिरहेको छ । तर, यसबाट पनि बचतकर्ताको निक्षेप फिर्ता गर्न सकिने देखिँदैन । सहकारीले मुख्यतया घरजग्गा, गाडी र सेयर धितो राखेर कर्जा दिएको छ । यी वस्तुको किनबेच ठप्प छ ।
अर्कोतिर मूल्य पनि निरन्तर घट्दो छ । यसले ऋणीको धितो जफत गरेपनि त्यसबाट बचतकर्ताको निक्षेप फिर्ता गर्न निकै गाह्रो छ । बुढोपाकाले भन्थे, ‘चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी ।’ सहकारीका बचतकर्ताको हकमा यही भएको देखिन्छ । बढी ब्याज र अनेकौं प्रलोभनमा परेर सर्वसाधारणले सहकारीमा निक्षेप जम्मा गरेका थिए । विडम्बना, थोरै ब्याजको प्रलोभनमा पर्दा साँवा नै गुमाउनुपर्यो ।
सहकारीसँगै लघुवित्त, फाइनान्स पनि डुबिसके । बैंकमा समेत संकट आइसकेको छ । यसको जिम्मेवार सरकार पनि हो । बैंक, वित्तिय संस्था सञ्चालनका निम्ति सरकारले लाइसेन्स दिएको हो । लाइसेन्स दिएपछि नियमन गर्नु सरकारको दायित्व हो । तर, सरकारले बेवास्ता गर्यो । बैंक, वित्तिय संस्थालाई मनलाग्दी कर्जा प्रवाह गर्न दियो । घरजग्गा, गाडी, सेयर, सुनजस्ता विलासित वस्तुमा लगानी गर्नबाट सरकारले रोकेन ।
उल्टै यसबाट राजस्व थुप्रिएको देखेपछि सरकार मख्ख पर्यो । यिनै क्षेत्रलाई सरकारले राजस्वको स्रोत बनायो । जसका कारण आज मुलुककै अर्थतन्त्र धरापमा परेको छ । सरकारले उद्योगधन्दा, कारखाना, कृषिमा लगानी गर्न प्रोत्साहन गरेन । बैंक, वित्तिय संस्थाले दलालीसँग मिलेर कमिशन खाई यी क्षेत्रमा लगानी गरे । जनताले पनि मूल्य अकासिएको देखेर यसैमा लगानी गरे । आज सरकार, बैंक, वित्तिय संस्था, जनता सबै डुबेका छन् ।
यदि घरजग्गा, गाडी, सेयर र सुनमा लगानी गर्नुको साटो उद्योग, कारखाना, कृषिमा गरिएको भए आज नेपाली रोजगारीका लागि विदेशिनुपर्ने थिएन । सँगै मुलुकको अर्थतन्त्र पनि मजबुत हुने थियो । हामी हरेक वस्तुमा आत्मनिर्भर हुने थियौं । अहिले नुनदेखि गुन्द्रकसम्मका लागि हामी विदेशीमा भर पर्नुपरेको छ । विदेशीले खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था आउनसक्छ ।
अर्कोतर्फ, विदेशीले पठाएको खाद्यान्नका कारण नेपाली जनता रोगको सिकार बनिरहेका छन् । आफ्नो फाइदाका निम्ति विदेशीले विषादी हालेर खाद्यान्न उत्पादन गर्छन् । तर, हामी त्यो कुरा थाहा हुँदाहुँदै खान्छन् । किनकि हामीसँग अरु विकल्प छैन । यदि हामी ंखाद्यान्नमा आत्मनिर्भर हुन्थ्यौं भने विषादी हालिएको खाद्यान्न चर्को मूल्य हालेर किनी खान बाध्य हुने थिएनौं । खाद्यान्नमै हामीले खर्बौ रकम खर्चिनुपर्ने थिएन । तर, सही क्षेत्रमा लगानी नगरेकै कारण मुलुक र जनताले यत्रो क्षति व्यहोर्नुपरिरहेको छ । यो त एउटामात्र उदाहरण हो ।
अनुत्पादक र विलासित क्षेत्रमा लगानी गरेकै कारण धेरै क्षति हामीले खेपिरहेका छौं । अब यसबाट निस्कन धेरै गाह्रो छ । किनकि देशभरका जनताको लगानी नै यिनै वस्तुमा पाइन्छ । घरजग्गा, गाडी र सेयर धितो राखेर सहकारीबाट ६३ लाख, लघुवित्तबाट २७ लाख र बैंकबाट २२ लाखले कर्जा लिएका छन् । सँगै मीटरब्याजमा लाखौं सर्वसाधारणले ऋण लिएका छन् । उनीहरुको पनि धितो यिनै वस्तु हुन् ।
जनताले त बुझेनन्, जिम्मेवार संस्था बैंक, वित्तिय संस्थालाई समेत ज्ञान भएन । अझ भन्नुपर्दा यी संस्था घुसमा बिके । लाखौं घुस खाएर ऋण दिए । उनीहरुलाई त के मतलब किनकि बैंक, वित्तिय संस्थामा भएको पैसा जनताको हो, सञ्चालक, अध्यक्ष, कर्मचारीको होइन । आफ्नो स्वार्थका निम्ति बैंक, वित्तिय संस्थाका पदाधिकारीहरुले जनता डुबाए ।
सरकारले पनि आफ्नो मोजमस्तीका लागि विदेशीसँग ३२ खर्ब ऋण लिएको छ । यसको साँवाब्याजमात्र वर्षेनी खर्बौ तिर्नुपर्छ । राज्यको आम्दानी छैन । खर्च निरन्तर बढ्दो छ । विदेशी ऋण नतिरे नेपाल नेपाल रहनेछैन । विदेशीको कब्जामा जानेछ । त्यसमाथि अहिले मुलुक ग्रे लिष्टमा छ । एक वर्षभित्र यो लिष्टबाट ननिकाले कालोसूचीमा पर्नसक्छ ।
यसो भएमा अर्को संकट आउनेछ । विदेशीले ऋण र अनुदान दिँदैन त विदेशमा रहेका नेपालीलाई फिर्ता पठाइन्छ । मुलुक यतिठूलो संकटमा रहँदा सरकार र जनतालाई केही मतलब छैन । सरकार आफ्नै पारामा छ त जनता यो र त्यो पार्टी भनेर बसिरहेका छन् । अब जनताको आँखा खुलोस् । दलको कार्यकर्ता होइन, नेपाली नागरिक हुँ भनेर सोचौं र आवाज उठाऔं ।















