सोमबार, १२ माघ, २०८२

आँखामा नाचिरहेको मुस्ताङ यात्रा

बाल्यकालदेखि मेरो मन मुटु र मस्तिष्कमा गढेको ठाउँमध्ये एक ठाउँ थियो, कालीगण्डकीको शिरमा अवस्थित धौलागिरी हिमाल अनि धौलागिरी हिमालको काखमा विराजमान धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले मनोरम मानिएको मुस्ताङ र पवित्र एवं पुण्यभूमि धार्मिक स्थल कागवेनीको तट अनि कागवेनीको शिरानमा रहेको भगवान विष्णु स्वरुप मुक्तिनाथको मन्दिर।

मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम घुम्ने धेरैचोटी कोसिस गर्दागर्दै गत भाद्र महिनाको कृष्णपक्षको चतुर्दशी रऔँशी तिथिको संयोगमा मिलेको थियो। यतिखेर स्वर्गवासी आमाबुवा लगायत आफ्ना पुर्खाको मोक्ष र मुक्तिको लागि श्राद्ध तर्पण गर्न एवं आफैलाई पनि भगवान विष्णुको दर्शन गर्न आश्विन ५ गते औँशी तिथि परेकाले यसैदिन पिण्डप्रदान गर्न साइत बनाएको थिएँ। यसैपनि यस पुण्यभूमिमा आउन मन चञ्चल भैरहेको थियो। धर्मपत्नी पूर्णलक्ष्मी देवकोटाले यसपलि मौसम र समयले साथ दिएको छ जाउँ भनेपछि यहाँ पुग्न मन आकर्षित भयो।

छिमेकीको रूपमा रहने, नाताले ससुरा सासु पर्ने दत्तराज हमाल र उहाँकै पत्नी दीपा हमाल साथमा जाने भएपछि गत असोज ३ गते बिहानै मुक्तिनाथधामतर्फ जान कोहलपुरबाट पूर्णलक्ष्मी म्याम समेतले यात्रा प्रारम्भ गरे। म भने प्युठान खलङ्गा देखि भालुवाङमा उहाँहरू चढेको गाडीलाई पछ्याउन आएको थिएँ।

३ गते बिहानको मौसम त्यति राम्रो थिएन। तैपनि बिहान परेको पानी दिनभरि झरी लाग्दैन होला भन्ने विश्वासले यात्रा प्रारम्भ गरिहाल्यौँ। एकचित्तले यात्रा तय गरेकाले दिनभर मौसम सफा रह्यो, बाटोमा कतै अवरोध भएन। वर्षात प्युठानको खलङ्गा, बिजुवारमा मात्र नभई कोहलपुर लगायत देशका विभिन्न भागमा भएछ।

वर्षातको बीचमा यात्रा थाल्दा दुःख पाइन्छ कि भन्ने पिर पनि उत्तिकै थियो। अर्कोतिर आकाश र धर्ती एवं बादलका गुच्छा र डाँडाकाँडाबीच हुने वर्षातको लुकामारीले यात्रामा छुट्टै रमाइलोको अनुभूति भराएको थियो। स्कार्पियो गाडीको व्यवस्था प्युठानदेखि गरेको थिएँ। गाडी व्यवस्थापन प्युठान उद्योग बाणिज्य सङ्गठनका अध्यक्ष शन्देश आचार्यले गरिदिनुभयो। डिजेल भर्ने र ड्राइभरलाई खानपिन र बसाई व्यवस्था मैले गरेहुने भयो। चालक हनुमान चौधरीको आफ्नै गाडी रहेछ, झन् राम्रो भयो।

झिम्रुक र माण्डवी मिलेर बनेको राप्ती नदी जो प्युठानको गौमुखी र माण्डवीलेखबाट शुरुवात भई प्युठानको सरुमारानीमा आएर मिल्दछन्। सरुमारानी र दर्भानको किनारै किनार भएर भालुवाङ, बुटवल, तिनाउ नदीको किनारै किनार पाल्पाको राम्दी, स्याङ्जा स्थित कालीगण्डकी करिडोर हुँदै कालीगण्डकी हेर्दै पोखरामा बास बस्न राति साढे नौ बजे आइपुगेका थियौँ।

बाटोमा स्याङ्जा घर भएका सहायक जिल्ला न्यायाधिवक्ता मदन शर्माले राम्दी नदी, कालीगण्डकी करिडोर, वालिङ बजार पुतली बजारबारे जानकारी गराउँदै स्याङ्जाको सिमाना सम्म पुर्‍याएका थिए।

मृदु र सभ्य व्यवहार, हाँसीहाँसी मिठो स्वरमा बोल्ने मदन शर्मा वास्तमा मुक्तिनाथसम्म गइदिए हुन्थ्यो, भन्ने मनमा लागि रहेको थियो। बुटवललाई चिनाउने तिनाउ नदीको मुहान राम्दी र पाल्पानै हुन्। पाल्पाबाट गएको तिनाउ नदी बटौली/बुटवलले एक सभ्यताको विकास गरेको थियो। बटौली एकातिर मेला लाग्ने ठाउँको रूपमा र अर्को पोखरा कास्की गुल्मी पर्वत म्याग्दी पाल्पा अर्घाखाँचीको हाटबजार लाग्ने ठाउँ भएको कारणले पनि बटौली नाम रहन गएको किंवदन्ती सुन्न पाइन्छ।

राम्दी नदी वास्तमा राम र नदी यी दुई शब्दको संयोजनबाट बनेको र पछिल्लो समय मानिसहरू रामनदी भन्दाभन्दै राम्दी भन्न गएका र काली गण्डकी नदीको आसपासमा बस्नेहरू बिस्तारै राम्दी पुल छेउकिनारमा बस्दै बजारको विकास हुँदै गएकाले यो ठाउँ राम्दी धेरै प्रख्यात भएको रहेछ। धार्मिक कार्यदेखि मृत्यु पर्यन्त मानिस जोडिरहने भएकोले राम्दी पुल एक सभ्यताको रूपमा पनि विकास भएको देखिन्छ। पाल्पाली स्याङ्जाली गुल्मेली पर्वतेली र पोखरेलीको एक मुटु बस्ती मानिन्छ।

हामी स्याङ्जा हुँदै पोखरा लेकसाइडको फेवाताल नजिक पर्ने अल्पाइन शुभकामना होटलमा बास बस्न पुग्यौँ। एकजना पन्त भाइले त्यो होटलमा पुर्‍याएका थिए। भोलिपल्ट ४ गते बिहान पनि भारी वर्षात भैरहेको थियो। हामी अलि वर्षात कम भएपछि चिया पिएर पोखरालाई वाई गर्दै बिन्ध्याबासिनी मन्दिरलाई बाटोबाटै ढोगेर चाँदिझै टल्केको माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्दै लुम्लेतर्फ लागेका थियौँ।

पोखरा महानगरपालिका आफैमा समृद्ध शहर देखिन्थ्यो। काठमाडौं उपत्यका पछिको कास्कीको पोखरालाई संसारमा चिनाउने फेवाताल, यसको बीचमा रहेकी वाराही मन्दिर र माछापुच्छ्रेको हात रहेको छ। हामी पोखराको फेदी हुँदै लुम्लेको दृश्यावलोकन गर्न पनि भ्यायौँ। लुम्ले पहाडमा पर्ने एक सामान्य वस्ती हो। पर्वत र कुस्मा बजार अनि लामो झोलुङ्गे पुल हेर्दै बाग्लुङ स्थित कालिका मन्दिरलाई गाडीबाटै ढोगेर बाग्लुङ बजार हुँदै म्याग्दीको बेनी बजारमा पुग्यौँ।

कालीगण्डकी किनारमा रहेको बेनी बजारको शोभा वास्ता कालीगण्डकी नदी र सो किनार रहेको शिवको मूर्तिले बेनी बजारको शोभा बढाइरहेका थिए। सफा सुन्दर बेनी बजारलाई थप चिनाउन राजु परियारको स्वर रहेको बेनीको बजार जतामाया उतैछ नजर किरेमिरे जाली रुमाल भन्ने गीतको भाकाले थप रमाइलो बनाईरहेको थियो। सुनेको कुरा प्रत्यक्ष देख्दा बिछ्ट्टै आनन्द आउँदो रहेछ।

हामीले एक भण्डारी होटलमा दही सहितको सादा खाना खायौँ। थकाली स्टाइलको खानाको परिकार दिन्छौँ सेवा हाम्रो सन्तुष्टि हजुरको भन्दै शिष्ट नरम व्यवहारमा हामीलाई खाना खुवाउनु भयो।

खाना पछि हामीलाई एक डेढघण्टा भने तनाव भयो। गाडीको चालकले मलाई मात्र भनेका थिए गाडीको इन्जिन भाग खराव भएर साइन दिइरहेकोछ। अर्थात इन्जिन कतै गडबड भयो। रातो बत्ती बलिरहेको छ गाडी बनाउनु पर्ने भयो भने। अनि मलाई पनि गाडीको इन्जिन लगायत विविध विषयमा सामान्य ज्ञान भएकोले ग्यारेजमा गयौँ।

ग्यारेजमा प्राविधिक भाइ रहेनन्। हामी महिन्द्रा गाडीको सोरुम ग्यारेजमा गयौँ। त्यहाँ व्यवस्थित ग्यारेज रहेछ। नयाँ प्रविधिबाट इन्जिनको खरावी पत्ता लगाइने रहेछ। अफसोच ल्यापटप या टेक्निसियनको कमजोरीको कारण समस्या पत्ता लागेन।

बरु मेकानिकलले फिल्टर फोहोर रहेछ भनेर नयाँ फिल्टर राखिदिए। तरपनि रातो बत्ती बल्न छोडेन। झन्डै रू १८००/- जति खर्च भयो। फेरि अर्को ग्यारेजमा गएर प्राविधिकलाई देखायौँ। इन्जिन भागमा समस्या रहेको बताए। तर तत्काल समस्या नहुने, गाडी चल्नमा समस्या देखिए गाडी फिर्ता ल्याउनु भन्दै गाडी हेरेको मात्रै ३५००/- भने। अनुरोध र कमिन्स गर्दा २०००/- ले माने। म्याग्दी पुल क्रस गरेर खराव बाटो अर्थात काभ्रे भिरसाइडतर्फ आएपछि रोकिएको बत्तिको साइन फेरीबल्यो। भिरमा अलपत्र परिन्छ कि भनेर अर्कोतर्फ मन चिसो भैरहेको थियो। फेरि इन्जिनको ज्याक तानेपछि बत्ती बलेको साइन हट्यो अलि हल्का भयो।

हामी मुस्ताङको लेतेखोला र छ्योगाउँ नजिकै आयौँ। मुस्ताङको छेउमा पुगेको अनुभूति भयो। कालीगण्डकी फिँजिएर वारिदेखि पारीसम्म नदी एक डेढ कि.मी फैलिएको देख्यौँ। बाढी बढेको बेला कालीगण्डकी विशाल देखिने रहेछ। हामी रातारात स्याउका ठुलठुला बगैँचा हेर्दै साँझको ६ः०० बजेतिर जोम सोम बजार पुग्यौँ।

रविन्द्र अधिकारीको गीतको झल्को आयो, जोमसोमै बजारमा १२ बजे हावा सरर। साँच्चिकै असोजको पहिलो हप्ताको साँझमा पनि हावा सरर चलिरहेको थियो कालीगण्डकीको कर्णप्रिय सुसावटले यात्रु सबैको मन लोभ्याइरहेको थियो।

सप्तरी जिल्लाको राजविराजबाट हाइवे नजिकै रहेको ब्रमजियाको बाजेको पेड़ा पसल जस्तै लागे यहाँका होटलका नामहरू। बाटोमा होस् या जोमसोम बजार जहाँसुकै प्रायः होटलको नाम थकाली भान्साघर र थकाली पाहुनाघर भन्ने थिए।

हामी बजारपारी रहेको होटल डिजर्टमा बस्यौँ। खानाको परिकार थकालीनै थियो। हामीले आलु उसनेर खायौँ। ५ गते कागबेनीमा पिण्डप्रदान सकि मुक्तिनाथ बाबाको दर्शन गरेर मात्र खाना खाने निर्णय गर्यौँ।

पूर्वमा मनाङ, पश्चिमतर्फ डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्ने मुस्ताङका बाटाभरि र म्याग्दीको बाटाभरि पोखरा लैजाने गरी अधिकांश डोल्पाका भोटेभाइहरूले बथानका बथान चाइनिज च्याङ्ग्रा भेडा र खसी ल्याइरहेका थिए। यी खसी भेडाले बाटोभरि जाम गराएका थिए। केही पोखराका भाइहरूले पनि खसीभेडा लिइरहेका थिए।

मुस्ताङ जोमसोममा बसेपछि जोमसोम बारे बुझ्न यस पङ्तिकारलाई जिज्ञासा लागिरह्यो। नलेखेर पनि सकिएन। मुस्ताङको उत्तर-दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढिमा ४५ किलोमिटर छ। अन्नपूर्ण हिमश्रृङ्खलाको उत्तरमा पर्ने यो जिल्लामा एकदमै कम पानी पर्दछ। मुस्ताङको करिब बिच भाग भएर कालीगण्डकी नदी बग्ने रहेछ। यस नदीलाई यहाँका मानिसहरूले स्थानीय भाषामा थाक खोला पनि भन्दछन्। यही भएर पनि यहाँका मानिसहरू थकाली भएको हुनुपर्छ भन्ने यस पङ्तिकारको ठम्याइ रह्यो। मुस्ताङीको धेरैजसो बस्ती यही कालीगण्डकी नदीको किनारमा अवस्थित रहेको पाइयो।लोमान्थाङ यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्र रहेछ जो लोमान्थाङले चर्चित छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले वेबसाइटमा २०७५/९/१० मा सार्वजनिक गरेको जानकारी अनुसार मुस्ताङ गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित हिमालपारीको जिल्ला हो। धवलागिरी र निलगिरी दुबै अग्ला हिमशिखरको बीचमा अवस्थित यो जिल्ला हिन्दू र बौद्ध तीर्थयात्रीहरूको पावन भूमि, पवित्र कृष्ण गण्डकी प्रवाहित हुने, प्रायः जिल्लाको प्रकृतिको अनुपम दृश्य भएको, पर्यटकको लागि मनमोहक सुन्दर ठाउँ रहेको छ।

मुख्य गरी गुरुङ र थकाली समुदायको वसोवास रहेको यस जिल्लाका अधिकांश मानिसहरू बौद्ध धर्मप्रति आस्थावान छन्। प्राचीन कालमा नेपाल र तिब्बत बीचको व्यापारिक मुख्य नाका रहेको यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खननबाट समेत ३००० वर्षभन्दा अगाडिको रहेको हाल पुष्टि हुन आएको छ। तिब्बती संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेक, पर्यटकहरू र अनुसन्धानकर्ताहरुको लागि अतिनै महत्वपूर्ण तथा आकर्षणको केन्द्र रहेको छ।

यसैगरी यस जिल्लाको भौगोलिक अवस्थिति हेर्दा अक्षांश: २८ डिग्री २० मिनेट उत्तरदेखि २९ डिग्री ५ मिनेट उत्तरसम्म र देशान्तर: ८३ डिग्री ३० मिनेट पूर्वदेखि ८४ डिग्री १५ मिनेट पूर्वसम्म फैलिएको देखिन्छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले वेबसाइटमा प्रकाशित गरेको थप जानकारी अनुसार यस जिल्लाको हावापानी शितोष्ण खालको भएको हुनाले तल्लो भेगतिर मिश्रित कोणधारी वनस्पती धुपी सल्लो पाइन्छ भने माथिल्लो भेगतिर १०,००० फिट भन्दा माथि भोटेपिपल, वैंस काँडेदार बुट्यान र घाँस मुख्य रूपमा रहेको छ। यहाँ पाइने मुख्य वनस्पतीमा सल्लो, धुपी, वैंस, भोजपत्र, लालीगुराँस, काँडेदार बुट्यान, घाँस, भोटे पिपल रहेका छन्।

यसैगरी यस जिल्लामा मुख्यगरि बन्य जन्तुहरूमा हिउँचिटुवा, कस्तुरी, खरायो, घोरल, बनभेडा, भालु, नाउर, बाघ आदि र बन्य पक्षीहरूमा: डाँफे, मुनाल, च्याखुरा, कालीज आदि जस्ता पक्षी पाइने रहेछन्।

जडीबुटीमा यहाँको बनमा यार्चागुम्बा, पाँचऔले, निरमसी, सतुवा, चिची, तोरा, चुत्रो, कुट्की, कुठ, भोजा, जमाने, कुकुर्को बीख, हारा, सोमलता, चुल्थे अमिलो, कुरिलो, घोराङमार्चा आदि पाइने रहेछन् भने पाल्तु पशुपंक्षीतर्फ याक, झोपा, चौरी, घोडा, लुलु, खच्चड, गधा, भेडा, च्याङ्ग्रा, भैसी, गाई, वंगुर आदि हुन्। पक्षीमा कुखुरा र हाँस पनि पालिने रहेछन्।

वेबसाइटमा प्रकाशित जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार यहाँको सामाजिक जनजीवन हेर्दा यो उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाँको जनजीवन भिन्न प्रकारको रहेछ। सदरमुकामदेखि उत्तरतिर भोटे गुरुङ, विष्ट र ठकुरी जातिहरूको बाहुल्यता रहेछ भने दक्षिणतिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातिहरूको वसोवास रहेछ। यसरी यहाँका गुरुङ तथा थकाली जातिहरूले बौद्ध धर्म र दलित तथा अन्य जातिहरू हिन्दू धर्मप्रति आस्थावान रहेको पाइयो।

५ गते बिहान मिर्मिरेमा पानी पर्दै थियो। जोमसोम बजारको बीचबाट बग्ने कालीगण्डकीको फूर्ति कम थिएन। बानी नपरेका मानिसका लागि कालीगण्डकीको सुसाहटमा राति निद्रा पर्न कठिन हुन्छ कि भन्ने कताकता लाग्यो। बानी परेकाहरूका लागि कालीगण्डकीको सुसावट मुस्ताङको कर्णप्रिय संगीतझैँ लाग्दथ्यो।

बिहान ७ः०० बजेतिर जोमसोमबाट उत्तरतर्फको बादलको घुम्टो खुलेपछि सेतो चाँदीझैँ देखिने धौलागिरी हिमाल छ्याङ्ग खुलेर दर्शन गर्न पाउँदा अत्यन्तै हर्षविभोर भयौँ। गुरुजीले स्कार्पियो गाडीबाट हर्न दिएपछि हामी झट्टपट्ट गाडीमा बसेर १०/१५ मिनेटमै कालीगण्डकी किनारै किनार जोमसोमबाट कागवेनी धाममा पुग्यौँ। जहाँ सफा कञ्जन मौसम थियो। श्राद्धको लागि उपयुक्त दिन औँशी परेकोले पनि हुन सक्छ, पिण्ड प्रदानको लागि हजारौँ मानिसहरू देखिन्थे। गाडी पार्किङ्गको अवस्था हेर्दा राजधानीको रिङ्गरोडमा देखिने गाडीको भिडझैं लाग्यो।

ब्राह्मणको लागि बाग्लुङका साथी तनहुँका जिल्ला न्यायाधिवक्ता खेमराज पाठकजीले एक जना आचार्य गुरुको व्यवस्था मिलाई दिएकाले कठिन भएन। सहजै कार्य सम्पन्न भयो। कागवेनीमा श्राद्ध कार्य सकेर करिब ११ः०० बजेतिर मुक्तिनाथतर्फ लाग्यौँ।

जति जति उचाइमा चढ्दै गयो उति उति नजिकबाट मुस्ताङ्ग र मुस्ताङ्ग जिल्लासँग जोडिएका हिमालहरू देखिन्थ्यो। गण्डकी र धौलागिरीका शिर या आँखा भन्नुनै माछापुच्छ्रे र धौलागिरी थिए। जो कोहीको धौलागिरी हिमालले मुक्तिनाथ दर्शन गर्न जाने यात्रुलाई मन्त्रमुग्ध पारिरहेको देखिन्थ्यो।

मुक्तिनाथ क्षेत्रको भूगोल फरक किसिमको पाइन्छ। मुक्तिनाथ क्षेत्र वरिपरि जे जति वृक्ष, बनस्पति, रुख बिरुवा फलफूलहरू लगाइएको छ त्यति ठाउँ वर्षामा हरियाली देखिन्छ। अन्य ठाउँ वर्षामा पनि सुख्खा देखिन्छ। हिउँद यामको त कुरै नगरौँ।

मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण तीर्थस्थल लाग्यो। समुद्र सतहदेखि यो तीर्थस्थल ३,७१० मिटरको उचाइमा रहेको छ भने यो जिल्ला नेपालको हिमालपारी जिल्ला पनि हो। यस मन्दिरलाई हिन्दूहरूले मुक्तिक्षेत्रका रूपमा ग्रहण गर्ने रहेछन्। जहाँ पुगेपछि मानवले मुक्ति र मोक्ष दुवै प्राप्त गरेको विश्वास मानिन्छ।

साविकमा मुक्तिनाथ गाभिसमा पर्ने मुक्तिनाथ मन्दिर हाल वारावाङ गाउँपालिका-१ मा पर्ने रहेछ। मुक्तिनाथ क्षेत्रमा रहेका स्थानीय मानिसका अनुसार मुक्तिनाथलाई बौद्धधर्मावलम्बीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा भन्दछन्, जसको अर्थ सय पानी भन्ने हुँदोरहेछ। सायद यसैले भनिएको हुनसक्छ। मुक्तिनाथमा रहेका १०८ धारा निरन्तर प्रकृतिको गर्भबाट बगिरहेका रहेछन्। हिउँ पग्लेर आएको सफा कञ्जन पानीमा सुरुमा अत्यन्तै चिसो ठहिर्याउने लागेपनि मोक्ष र पुण्यका लागि करिब पञ्चानव्बे प्रतिशत मानिसहरूले नुहाएर मात्र फर्कने रहेछन्।

मानबहादुर सिँगार तामाङका अनुसार तिब्बती बौद्ध मार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो। मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिर मध्य एक हो। यो तीर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ। शालिग्राम वास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पूजनीय मानिन्छ। यो मुख्य रूपमा कालीगण्डकी नदीमा पाइन्छ। यो क्षेत्रमा मुक्तिनाथ मन्दिर अवस्थित छ, जुन ठाउँ मुक्तिक्षेत्रको नामले चिनिन्छ।

हामी कागवेनीबाट मुक्तिनाथतर्फ जाँदै थियौँ। मुक्तिनाथको मन्दिर पुग्नु अघि नजिकै पातलो मानिसहरूको बस्ती देख्न पायौं। त्यहाँ लेकाली पिपलका रुखहरू थिए। लेकाली फलफूलहरू पनि थिए। एकजना महिलाले पाकेका आरु वखडा बेच्दै हुनुन्थ्यो। सबै खान नसकिने भएपनि बिकट ठाउँमा पाइने दुर्लभ फलफूल भन्ने लागेर स्थानीय मानिसलाई हौसला दिनको लागि भएपनि त्यो रसिलो आरुवखडा किनेर मैले खाएँ।

मैले किनेर खाएको देखेपछि ती महिलाले बेच्दै गरेको फलफूल अन्य मानिसहरूले पनि किनेर एकछिनमै डोको रित्याए। ती महिला भन्दैथिइन्, ‘अघिसम्म नबिकेको आरबखडा दाइले किनेपछि एकछिनमै डोको रित्तियो। दाइलाई मुक्तिनाथले सदैव रक्षा गरून्।’

हामी जति जति उचाइतर्फ जान्थ्यौँ उतिउति लेकाली पिपलहरूले मुक्तिक्षेत्रलाई एकातिर शोभा दिइरहेका थिए भने अर्कोतिर अनेक कौतुहलता पनि जगाइरहेका थिए। मुक्तिनाथमा रहेका ठूला पार्किङ व्यवस्था, आधुनिक सुविधायुक्त ठूला होटल, स्वच्छ सफा मुक्तिनाथको बजारले थुप्रै पर्यटकलाई फेरिफेरी फर्केर आउन ललायित बनाइरहेका थिए।

हिन्दू धार्मिक मान्यताका आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ। मुक्तिनाथको यात्रा जटिल भएतापनि हजारौँ सङ्ख्यामा हिन्दू धर्मावलम्बी यहाँ तीर्थ गर्न आउने गरेको पाइन्छ। जति सङ्ख्या यहाँ मानिसहरू आउँछन् उनीहरूले मोक्ष प्राप्ति गरेको अनुभव गर्दा रहेछन्। मलाई लाग्यो यो मुक्तिनाथ धाम हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लागि अत्यन्त दुर्गम तीर्थस्थलमा पर्ने महत्त्वपूर्ण मन्दिर हो।

श्री मुक्तिनाथ मन्दिरको अद्भुत वास्तविक कथा:
मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध बीचको धार्मिक सहजीवनको प्रतीक मानिन्छ। यस मन्दिरको उत्पत्ति १९औं शताब्दी सँग सम्बन्धित छ र यो विश्वास गरिन्छ कि यो विष्णु मन्दिर हिन्दूहरूले अभिषेक गरेको हो। यस मन्दिरको इतिहासले बताउँछ कि शबकर जो एक धेरै प्रसिद्ध तिब्बती योगी थिए १८१८ मा मुक्तिनाथ गए र त्यहाँ धेरै दिन आराम गरे ताकि उनी यो ठाउँसँग राम्रोसँग जोडिन सकून्। यो मन्दिर निर्माणको पहल नेपाली रानी सवर्ण प्रभाले गरेको बताइएको छ।

यस मुक्तिनाथ मन्दिर नजिकै रहेको दामोदर कुण्ड, शालिग्राम र गण्डकी नदीको मुख्य स्रोत हो। यो ताललाई मुक्ति क्षेत्रको प्रारम्भिक बिन्दु पनि भनिन्छ र यो गुरु रिन्पोछेको जीवनसँग सम्बन्धित छ। तिब्बती भाषामा ताललाई “मेन-चु” भनिन्छ।

मुक्तिनाथ मन्दिरमा दर्शनको महत्त्व:
हिन्दू पौराणिक कथामा भनिएको छ—सारा संसार जन्म र मृत्युको जीवन चक्रको भ्रम हो। सबैजना यो जन्म र मृत्युको चक्रबाट मुक्त हुन चाहन्छन् र मुक्ति प्राप्त गर्न चाहन्छन्। मुक्तिनाथको दर्शनले मोक्ष प्राप्ति हुने भएकाले विभिन्न ठाउँबाट यहाँ भक्तजन आउने जनविश्वास रहेको छ।

वास्तवमा मुक्तिनाथ मन्दिरको परिसरमा रहेका २ वटा पवित्र जलकुण्ड र १०८ वटा जलस्रोतले अर्थात धारामा स्नान गर्दा विगतमा जानीनजानी गरेको पाप पखालिएर शुद्धिकरण भएको मानिन्छ। त्यसैले यस मन्दिरमा आउने जो जति छन् ती सबै भक्तजनहरूले आफ्नो पापबाट शुद्ध हुनको लागि ती जलस्रोत, धारा र कुण्डमा स्नान गर्ने गर्दछन् भने यी धाराहरूको पवित्र जल भरेर मानिसहरूले घरमा ल्याएर भक्तजनलाई जलको रूपमा चाख्न लगाउँछन् भने मन्दिर लगायत कुल देवताको थान खोपा गभिरमा चढाउने गर्दछन्। यसरी धारामा उभिनु र पखाल्नुको अर्थ मानिसहरूले गरेका पाप नष्ट हुने भनेर विश्वास गर्ने गरिएको छ।

मुक्तिनाथ मन्दिरको दर्शन, १०८ धारा र मन्दिर परिसरमा रहेका कुण्डमा नुहाउने कार्य सम्पन्न भएपछि हामी मुस्ताङबाट देखिने मुस्ताङका हिमाल लगायत नीलगिरी र धौलागिरी हिमाललाई पनि धित मारञ्जेल हेरेर आँखाका नानीभित्र लुकाउँदै हामी साँझ ७ः०० बजे बेनी बजार आयौँ। सबै मुक्तिनाथ गएका भक्तजनहरू बेनीसम्म बास बस्न आएका थिए। यसैले बेनी बजार र होटलहरू यात्रुहरूको खचाखचले गुलजारमय बनेका थिए। व्यापारी र होटल साहुहरूले पनि आफ्नो व्यापार बढेकाले अत्यन्तै प्रफुल्ल देखिएका थिए। खुसी पनि किन नहुन्, मौसमी व्यापार यी होटलका प्रमुख आयस्रोत हुन्।

भोलिपल्ट बिहान फेरि उनै मुक्तिनाथबाट फर्केका यात्रुहरू बाग्लुङ कालिका मन्दिर दर्शन गर्न हतारमा थिए। हामी पनि कतिखेर उज्यालो होला र कालीगण्डकीलाई दायाँ राखेर बाँयापट्टिको सडक भएर कालीगण्डकीतिर हुँदै कालिका मन्दिर दर्शन गर्न जाउँला भनेर उत्सुकताले कुत्कुत भैरहेकाथियौँ। बिहानै नुहाएर बेनी बजारलाई वाई गर्दै कालिका मन्दिरतर्फ लाग्यौँ।

बाग्लुङ कालिका मन्दिर हाईवेबाट भित्र करिब पाँच मिनेटजति हिँडेर पुग्न सकिन्छ। सफा, चट्ट, एकान्त, सुन्दर ठाउँमा बाग्लुङ कालिका मन्दिरको दर्शन गर्यौँ। नरिवल फुटाएर दक्षिणा भेटी जे थियो श्रद्धापूर्वक चढाइ एकछिन कालिका भगवती मन्दिरमा नाचगान भजन गर्यौँ।

फोटोग्राफर भाइहरू त्यहाँ पनि रहेछन्। बाग्लुङ कालिका मन्दिरसँगै फोटो खिचेर बाग्लुङ कालिका मातासँग सुखशान्ति समृद्धिको वर माग्दै लुम्ले हुँदै पोखरातर्फ लाग्यौँ। करिब बिहान १०ः०० बजेतिर। हामी मौसम सफा भएकोले बाग्लुङ बेनी म्याग्दीका सुन्दर डाँडाकाँडा हेर्दै लुम्लेमा खाना खान आइपुग्यौँ। हाम्रो बुटवलसम्मको टारगेट भएकोले लुम्लेमा नपर्खी पोखरा बिन्ध्याबासिनी मन्दिर दर्शन गरी पोखरा स्थित फेवाताल बिच रहेकी तालबाराही मन्दिरमा डुङ्गा लिएर दर्शन गर्न गयौँ।

डुङ्गामा घुमाइदिने भाइ राम्रा रहेछन्, आरामले परै डुङ्गामा मन्दिर वरिपरि घुमाएर तालघुमाइको बिछ्ट्टै आनन्द दिलाए। फेवातालमा माछापुच्छ्रेको तस्बिर हेर्दै प्रत्यक्ष माछापुच्छ्रे हिमाललाई हेर्यौं। वास्तवमा हामी नेपाली प्राकृतिक स्रोत साधन र सम्पदाका धनी रहेछौँ भन्ने अनुभूति भयो। फेवाताल घुम्न र पोखरा फेवाताल किनारमा उभिएर चारैतिर फर्केका हेर्दा वास्तवमा पोखरा स्वर्गको एक टुक्रा जस्तै लाग्यो।

हामी फेवाताल घुमघामपछि स्याङ्जा पुतली बजारतर्फ लाग्यौँ। स्याङ्जा बजारमा बाटोमा पर्ने पौराणिक कथामा आधारित श्रवणकुमारले आफ्ना आमाबाबुलाई घुमाउन लैजाँदाको तस्बिर राखिएका थिए। श्रवणकुमारको फोटो हेरेपछि हरेक सन्तानले आफ्ना आमाबाबुलाई कति धेरै श्रद्धासाथ सेवाभाव गर्नु पर्दोरहेछ भन्ने नैतिक शिक्षा दिइरहेको पाएँ।

हामी स्याङ्जा बजार हुँदै कालीगण्डकी नदी र त्यहाँ किनारमा रहेको राम्दी बजार हेर्दै पाल्मा हुँदै साँझ ७ः०० बजे तीनहुँ नदी किनारै किनार हुँदै बुटवल बजार बास बस्न आइपुग्यौँ।

वि.सं. २०४७ सालमा परिचय भएका मेरा पुराना साथी अधिवक्ता पदमबहादुर कार्की जो बिरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतमा आईएल पढ्दा ताका साथीले बुटवलमा बस्ने होटल खोजिदिनु भएकाले त्यहीं गएर बास बसेँ। भोलिपल्ट बिहान भालुवाङसम्म सँगै गई हामी यात्रु मध्येका अरु कोहलपुरतर्फ लागे भने म प्युठान खलङ्गातर्फ लागे। यात्रा आरामदायी र भरपुर मनोरञ्जनपूर्ण भयो।

समग्रमा मुक्तिनाथधाम नेपालका महत्त्वपूर्ण धाममध्ये प्रमुख धाम भित्र पर्दछ। यस मन्दिरमा जान बैशाख, जेष्ठ र असोज, कार्तिक महिना उपयुक्त मानिन्छन्। वर्षमा अन्य महिना असार, साउन, भाद्र र चैत्र सामान्य महिना मानिन्छ भने मङ्सिरदेखि फागुनसम्म अत्यन्तै जाडो र हिमपात हुने भएकोले यात्रा गर्न सकिँदैन।

मुक्तिनाथ यात्रासँगसँगै काठमाडौं र पूर्वतर्फ फर्किदा बाटोमा पर्ने म्याग्दीको तातोपानी कुण्ड, गलेश्वर महादेव, बाग्लुङको कालिका भगवती मन्दिर, पोखरास्थित बिन्ध्याबासिनी मन्दिर, फेवाताल ताल, बाराही मन्दिर, माछापुच्छ्रेको टाढैबाट दृश्यावलोकन गर्न सकिन्छ।

यस बाहेक गोरखा मनकामना मन्दिर समेत दर्शन गरेर फिर्ता हुन सकिन्छ भने मध्यपश्चिम र सुदूर पश्चिमबाट आउने दर्शक यात्रुले माथिका स्थानहरु बाहेक स्याङ्जा, पाल्पा, दरवार, सिद्धनाथ बाबा बुटवल, लुम्बिनी घुमेर फर्किन सकिन्छ।

सकेसम्म यात्रा गर्दा चाहे पूर्वबाट होस् या काठमाडौंबाट होस्, चाहे पश्चिमबाट होस् सकेसम्म आफ्नो रिजर्भ गाडी लिएर बढीमा ४/५ जना, भएमा ७/८ सम्म मिलेर यात्रा गर्न सकिन्छ। ५/६ दिनमा नजिक नजिकका महत्त्वपूर्ण स्थानहरू रमाइलोसाथ घुमेर फिर्ता हुन सकिन्छ।

हामी पनि ५ गते मुक्तिनाथ दर्शन गरी म्याग्दीमा आइपुगेका थियौँ। भोलिपल्ट ६ गते बिहान बाग्लुङ कालिका मन्दिर दर्शन गरी पोखरास्थित बिन्ध्याबासिनी मन्दिर, फेवाताल र बाराही मन्दिर दर्शन गरी स्याङ्जा हुँदै बुटवल आरामसाथ आइपुगेका थियौँ।

जोमसोम हुँदै मुक्तिनाथ मन्दिर यात्राको अत्यन्त रमाइलो अनुभूति गर्दै भोलिपल्ट ७ गते बिहान केही कोहलपुर तर्फ लागे। म भने प्युठानतर्फ लागेँ। मुस्ताङ नयाँ ठाउँ भएकाले फर्कँदै गर्दा बाटोभरी झलझली मुस्ताङ र मुक्तिनाथ, धौलागिरी र माछापुच्छ्रे हिमाल आँखामा नाचिरहेका थिए।

नरेन्द्र देवकोटा “प्रशान्त”
२०८२/६/७
हाल प्युठान

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार