खासगरी पछिल्लो समय भालुलाई आहाराको समस्या परिरहेको छ। पहिलापहिला लेकका खेतबारी बाँझा थिएनन्। आहारा जंगल छेउछाउमै थियोे। अहिले खेतबारी बाँजा छन्। आहाराको खोजीमा भालु गाउँघरमै र बजारमा समेत पुगिरहेको छ।
पछिल्लो एक दशकयता जुम्लाका गाउँघरमा र शहर बजारमा समेत भालुले आतंक मच्चाएकाे खबर सञ्चार माध्यममा सम्प्रेषण भइरहेका छन्। उसाे त भालुकाे आक्रमणमा परि घाइते भएका मान्छेहरुका प्रशस्तै कहानी अहिले पनि गाउँघरमा सुन्न पाइन्छन्।
तीनैमध्येकाे एक प्रतिनिधि कहानी हाे, आज भन्दा ४१ वर्ष अगाडि तातोपानी गाउँपालिकाकाे गिडीखाेलामा घटेकाे घटना। कार्तिक महिनामा गिडीखाेलाका लक्षिराम सार्की बन्दुक लिएर सिकार खेल्न जंगल गएका थिए। त्यहीँ अचानक भेटिएको भालुले उनकाे टाउकाेमा आक्रमण गर्याे। एउटा आँखा गुम्याे भने टाउकाेमा गहिराे चाेट लाग्याे।
त्यतिबेला जुम्ला अस्पतालमा एकजना विदेशी डाक्टर भाेलेन्टियर भएर आएका थिए। उनैकाे सहयाेगमा उनकाे उपचार भएपछि बाँच्न सफल भए। उनकी छाेरी जुनकली सार्कीले सुनाए अनुसार उनले त्यसपछि मात्र नागरिकता बनाएका थिए। उनले भनिन्, “नागरिकतामा चस्मा लाउन नमिल्ने हुनाले फाेटाेमा बुबाकाे एउटा आँखामा पट्टी बाँधेकाे देखिन्छ। बुबा भालुले आक्रमण गरेकाे १२ वर्षसम्म बाँच्नुभयाे।”
१९ असोज शनिबारको दिन जुम्लाको गुठीचौर गाउँपालिका–३ गडकोटमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट आमा र छोरी घाइते भए। आमा बुमची कामी (उमेर करिब ३८ वर्ष) र उनकी छोरी सर्जिना कामी (उमेर १७ वर्ष) जंगलमा घाँस काट्ने क्रममा अचानक जंगली भालुको आक्रमणमा परेका हुन्।
सोमबार बिहान जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ गिडीरिखोलामा भालुको आक्रमणबाट एक युवक घाइते भए। सोमबार बिहान १८ वर्षीय दिपेन्द्र न्यौपाने आफ्नो स्याउ फार्ममा भएको बेला भालुको आक्रमणमा परेको वडाअध्यक्ष अमर बहादुर रोकायाले बताए।
सोमबार दिउँसो करिब साडे १ बजेतिर धिता निवासी ५५ वर्षीय झापु धिताललाई घाँस काट्ने क्रममा नजिकैको धिता जंगलमा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।
यसरी दुई दिनको अवधिमा चारजना मान्छेलाई भालुले फरक फरक ठाउँमा आक्रमण गरेपछि मान्छे स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने स्थिति बनेको छैन। यी दुबै घटना मानव वस्ती नजिकै भएको डिभिजन वन कार्यालयका अधिकृत तेजेन्द्र रावल बताउँछन्।
आखिर मानव बस्ति नजिकै भालु किन पस्छ?
पछिल्लो समय जुम्ला बजारकाे मुटुमै र आसपासमै समेत भालुले आक्रमण गरिरहेका घटनाहरु बढिरहेका छन्। आजको एक दशक अगाडि कमै सुनिने गरेको वन अधिकृत रावल बताउँछन्।
“खासगरी पछिल्लो समय भालुलाई आहाराको समस्या परिरहेको छ। पहिलापहिला लेकका खेतबारी बाँझा थिएनन्। आहारा जंगल छेउछाउमै थियोे,” उनी भन्छन्, “अहिले खेतबारी बाँजा छन्। आहाराको खोजीमा भालु गाउँघरमै र बजारमा समेत पुगिरहेको छ।”
भालु गाउँ पस्दा नागरिक त्रसित भएपनि यस्ता घटना संयाेगले मात्र घट्ने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुथापाले बताए। उनका अनुसार शारीरिक सम्पर्क र बच्चा हुर्काउने समय बाहेक अन्य समयमा भालु एकान्तप्रिय मानिन्छ।
“यसका साथै भालु राति आहारा खोजेर फर्किने बेला र असोजको समयमा मान्छे बिहानै काममा निस्किने बेला उही हुने हुनाले जम्का भेट हुन्छ,” उनले थपे, “भालु पनि मान्छेले प्रयोग गरेको सजिलो बाटो प्रयोग गर्न खोज्छ।”
उनका अनुसार यसरी केहिलेकाहीँ भालुको मान्छेसँग जम्काभेट हुन्छ र आक्रमण गर्छ। तर उ मान्छेलाई नै आक्रमण गर्छु भनी आएकाे हुँदैन। अहिले त्यही भइरहेको छ। त्यसैले सचेत रहनुको विकल्प छैन।
भालु सिजनल माइग्रेसन गरिरहने स्वभावकाे जंगली जनावर भएकाे भालु सम्बन्धि अन्तर्राष्ट्रिय संस्था आईयुसीएनकाे लागि नेपाका तर्फबाट प्रतिनिधित्व गर्ने विज्ञ भुपेन्द्र यादवले बताए। “भालु बाली पाक्ने बेला आज एक गाउँकाे बाली र भाेली अर्काे गाउँकाे बाली खान पुग्छ,” उनले भने, “यस्ताे बेला झुक्किएर गाउँ शहरमा पुग्न सक्छ।”
पछिल्लो समय मानव बस्तीसँग जंगली जनावरहरुको सम्पर्क बढ्दो छ। आहारा प्रजाति हुने जनावरका लागि ठुलो जंगल चाहिन्छ। विभिन्न कारणले जंगल खण्डीकरण हुँदा उनीहरुले बच्चा जन्माउने, हुर्काउने र चर्ने ठाउँ कम भइरहेको छ भने आहारा पनि घटिरहेको छ। जंगलमा आहारा नपाएपछि भालु मानिसको बस्तीसम्म पस्न सक्छ।
जुम्लामा कृषि विकास कार्यालयले ‘एक घर एक बगैंचा’ अभियान चलाइरहेकाे छ। तर अधिकांश बगैंचा जंगल फडानी गरेर बनाइएकाले वन्यजन्तुकाे चरण क्षेत्र घट्दा पनि मानव वन्यजन्तु द्वन्द्व हुने खतरा बढेकाे प्रमुख बुढथापाले थपे।
पानीका मुहान र स-साना खोलानाला जोगाउन पनि जंगल जोगाउनुपर्छ। जंगल जोगाउनु भनेको शाकाहारी प्रजातिका जन्तु बढ्नु हो। तिनले त्यहाँको पारिस्थितिक प्रणाली सन्तुलित राख्न भूमिका खेल्छन्। तर तिनको संख्या बढ्यो भने जंगल मासिँदै जान्छ। मांसाहारी जीवले तिनको संख्या सन्तुलन राख्छन्।
हिमाली भालु सामान्यतया शहर नपस्ने भएपनि जंगलमा शिकार गर्न नसक्ने अवस्था हुँदा फलफूल, मकै पाइने सिजनमा भालु गाउँ शहर पस्न सक्ने भएपनि मानव बस्ती जंगल नजिक सर्दा समस्या बढी आउने जीव वैज्ञानिक नारायण काेजुले बताए।
“पछिल्लो समय भालु शहर पसेको भन्दा पनि शहर जंगल नजिक सर्दै गएकाे छ। जंगली जनावर बस्ने ठाउँकाे नजिकै शहर जाँदा जनावर र मान्छे बीच द्वन्द्व बढेकाे छ,” उनले भने, “जंगलमा डिस्टर्भ हुँदा वा अर्काे बलियाे भए जंगली जनावर शहर पस्न सक्छ। वन्यजन्तुकाे आहार क्षेत्र कम भएको हुनाले मानव वन्यजन्तुकाे द्वन्द्व बढिरहेकाे छ।”
भालुले आक्रमण गरिहाले के गर्ने?
ज्यानकाे सुरक्षा गर्नुपर्ने, स्थिति कन्ट्रोल भन्दा बाहिर गयाे भने प्रजिअकाे आदेशले जंगली जनावर मार्न सकिने विज्ञ यादवको भनाइ छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० (ख) बमोजिम भालु मार्न पाइन्छ। ऐनको दफा १० (ख)मा ‘कुनै पनि जंगली जनावरले वनक्षेत्र बाहिर आई, मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नुपर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन र लखेट्न सकिनेछ’ भन्ने प्रावधान छ र सोही अनुसार भालु मारियो।
“भेटेरेनरीकाे, मान्छे, डाक्टर, इक्युप्मेन्टहरु, डार्ट गन (बीस हालेकाे गाेली हानेर बेहाेस बनाउने बन्दुक) भएकाे खण्डमा रेस्क्यु गर्न सकिन्छ। सकेसम्म नमार्ने भन्ने नै हाे। किनभने हरेक प्राणीकाे मान्छेकाे जस्तै बाँच्न पाउने अधिकार हुन्छ।”
विज्ञ यादवले थपे, “एकपटक साेलखुम्बुमा युवा भालु घाइते भएर फसेपछि उद्दार गरि चिडियाखानामा ल्याएर राखिएको थियाे। तर, अहिले चितवन बाहेक अन्य ठाउँमा त्यस्ताे बन्दाेवस्त नभएकोले अन्य ठाउँमा मार्नुपर्ने स्थिति आउन सक्छ।”
वन्यजन्तुकाे उद्दार गर्ने सम्बन्धि सुविधा, सुविधासम्पन्न ठाउँमा भएपनि घटना कुनै टाढाकाे ठाउँमा हुँदा संरक्षणकर्मीले समेत वन्यजन्तु मार्नुपर्ने अवस्था आउँदा चुप लाग्नुपर्ने स्थिति रहेकाे आइलाग्ने उनको भनाई छ।
उनले थपे, “नीति बनाएर सबै प्रदेशमा रेस्क्यु सेन्टर स्थापना गरिएकाे भए मानव वन्यजन्तु द्वन्द्व कम गर्न सकिन्छ। अहिले त स्थानीय तहले समेत वन र वन्यजन्तु संरक्षणबारे बजेट छुट्याएर काम गर्न सक्छन्।”
मानव वन्यजन्तु द्वन्द्व कसरी कम गर्ने?
जुम्लाकाे यथार्थ अवस्था थाहा नपाए पनि लामटाङमा आफूले भालु सम्बन्धि अध्ययन गरेकाे आधारमा जुम्लाका गाउँघर र सहर बजारमा भालु पस्नुले भालु मान्छेसँग अभ्यस्त भएकाे हुनसक्ने विज्ञ यादवले बताए।
“पहिलाे पटक मात्र मान्छे देखेकाे भालु एकदम डराउँछ। तर दुई तीनपटक देखिसकेकाे छ भने डराउन छाेड्छ। यस्ताे अवस्थामा उ आक्रमण गर्न पनि सक्छ,” उनले भने, “समस्याकाे समाधान एकजनाकाे प्रयासबाट सम्भव हुँदैन। त्यसका लागि परिपक्व नीति र त्यसकाे प्रभावकारी कार्यान्वयन जरुरी छ।”
उनका अनुसार तत्काललाई सात वाट प्रदेशमा एक एक वटा रेस्क्यु सेन्टर राख्दा पनि मानव वन्यजन्तु द्वन्द्व काम गर्न सकिनेछ। कहाँ, कसरी रेस्क्यु युनिटहरु राख्ने विषयमा साेच्याे भने वन्यजन्तु मार्ने स्थिति आउँदैन। तर अहिलेकाे जस्ताे स्थितिमा किन मार्ने भनेर मात्र हुँदैन।
भालुकाे सुघ्न सक्ने क्षमता बढी भएपनि कान एकदम कम सुन्ने भएकाले ठूलाे आवाजदेखि डराउने गरेकाे वन डिभिजन प्रमुख बुढथाले थपे। उनले भने, “ठुलाे ठुलाे आवाजले कराउँदा आउँदा डराएर भाग्न थाल्छ। पानीमा जाने रुखमा चड्ने मुर्खता गर्नु हुँदैन किनभने उ यी दुबै कार्यमा सिपालु छ।”
संख्या एकिन छैन
जुम्लाको जंगलमा कति वटा भालु छन्? यसकाे कुनै आँकडा छैन। तर, वन डिभिजन कार्यालय भने भालुको संख्या तिव्र रूपमा वृद्धि भएको हुनाले आहारा नपाएर गाउँ पसेको तर्क राख्छ।
आईयुसीएन लाेपउन्मुख सुचीमा राखेकाे अवस्थामा संख्या नै एकिन नगरी अनुमानको आधारमा आएको वन कार्यलयको तर्कमा बलियो आधार छैन। तरपनि फरक फरक ठाउँमा भालुले आक्रमण गर्दा संख्या बढेको हुनसक्ने प्रमुख बुढाथापा बताउँछन्।
भालुकाे प्रकृति र स्वभाव
साधारणतया भालु लामो थुतुनो, लामा रौंले ढाकेका खुट्टाहरु, लामा र बलीया नङ्ग्रा भएका पन्जा र छोटो खालको पुच्छर भएको जनावर हो भने हिँस्रक तथा खतरनाक वन्यजन्तु मानिन्छ। आधुनिक भालुको शरीर ठूलो र लामा रौंले ढाकेको हुन्छ।
ध्रुबीय भालु पूर्ण रूपमा मांसहारी हुन्छ भने यसकै अर्को प्रजाती ठूलो पाण्डा बाँसमात्र खाएर बाँच्छ। यी दुई प्रजाती बाहेकका अन्य ६ प्रजातिका भालुहरु सर्वहारी हुन्छन्। जसले वनस्पति तथा जनावर दुबैलाई आफ्नो आहार बनाउने गर्छन्। हिमाली भालु पनि यी छ प्रजातिभित्र पर्छ।
भालुले मानिसको टाउको र अनुहारमाथि आक्रमण गर्छ र मानिस भुइँमा लडेपछि मात्र टोक्ने गरेको बताइन्छ। तर रातको समयमा चर्न निस्कने हुनाले सितिमिति मान्छे र भालुको भेट भैहाल्दैन। मान्छे जति भालुदेखि डराउँछ उति नै भालु पनि मान्छेदेखि डराउँछ भन्ने मान्यता गाउँघरमा पाइन्छ।
वन डिभिजन कार्यालयका अनुसार जुम्लामा रातो र कालो भालु पाइन्छ। तर, पछिल्लो समयमा रातो भालु देखिएको छैन्। कालो भालुको विगविगी बढिरहेको छ।
भालुकाे पित्त उपयोगी
आईयुसीएनका अनुसार कालो कण्ठे भालु लोपोन्मुख समूहमा सूचीकृत छ। बासस्थान विनाश र चोरी सिकारीका कारण यो भालुको प्रजाति विश्वभर लोपोन्मुख अवस्थामा पुगेको छ।
यसको पित्त र छालाको अवैध व्यापार हुँदै आएको छ। विशेषतः यो वन्यजन्तुको पित्त पूर्वी एसियामा हजारौं वर्षदेखि परम्परागत औषधिका निम्ति उपयोग हुने गरेको पाइन्छ।
यसको प्रयोगबारे लेखिएको एक अभिलेख ईसापूर्व ६ सय ५९ वर्षअघि प्रकाशन भएको पाइन्छ। ज्वरो कम गर्न र कलेजो सुन्निएको निको पार्न यसको प्रयोग हुने गरेको बताइन्छ। यसको प्रयोगले आँखाको ज्योति बढ्ने र पत्थरी निको हुने जनविश्वास छ।
यसको पित्तमा महत्त्वपूर्ण जैविक रसायनहरु पाइन्छन्। यस्ता रसायनहरु मानव कलेजो उपचारमा उपयोगी हुन्छन्। पित्तमा पाइने रसायनले मधुमेह लगायत मस्तिष्क सम्बन्धी खतरनाक समस्या उपचारमा उपयोगी हुने जानकारी आईयुसीएनले दिएको छ।
यो प्रजातिको भालु इरान, अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत, भूटान, चीन, कोरिया, ताइवान, जापान, कम्बोडिया, म्यान्मार, रूस, थाइल्यान्ड, भियतनाममा पाइन्छ।
नेपालमा पहाडी तथा हिमाली भेगमा पाइए पनि नेपालमा यसको संख्या कमै भएकाले यसलाई संकटापन्न (इन्डेन्जर्ड) समूहमा सूचीकृत गरिएको छ।















