विद्यालय र सामाजिक जिम्मेवारीलाई जीवनको भन्दा उच्च प्राथमिकतामा राख्दै मैले त्यो यात्राको आँट गरेँ। गोठिजिउलाबाट मोटरसाइकल स्टार्ट गरेँ, मनभित्र अनेक द्वन्द्व, कहीँ खोलामा बाइक नफसला? बाटोमा कुनै दुर्घटना नहोला? अनि घरमा सबै चिन्तामा होलान् भन्ने सोच।
२०७९ सालको पुष महिनाको सुरुवातसँगै एउटा विशिष्ट जिम्मेवारी हातमा पर्यो, कनकासुन्दरी गाउँपालिकाबाट “नमुना माध्यमिक विद्यालय” छनोटका लागि आवश्यक कागजातहरू संकलन, परीक्षण र मूल्यांकन। यो कार्य सामान्य जस्तो देखिए पनि व्यवहारमा भने अपार धैर्यता, निष्ठा र साहसको परीक्षा बन्न गयो मेरा लागि।
कागजात संकलन र तयारीको चरण
पुसको कठ्याङ्ग्रिदो जाडोमा कनकासुन्दरी गाउँपालिका अन्तर्गतका विद्यालयहरूबाट आवश्यक प्रमाणहरू सङ्कलन गर्नु थियो। कार्यतालिका अनुसार दुई दिनसम्म विद्यालयहरूबाट प्रतिवेदन, नीतिगत कागजात, शैक्षिक तथ्याङ्क, भौतिक पूर्वाधारका विवरणहरू, जनशक्ति विवरण, शिक्षकको सेवा विवरण, विद्यार्थी सङ्ख्या, स्थानीय समुदायको सहभागिता जस्ता विविध पक्ष समेटिएका कागजातहरू जम्मा गरियो।
सूचना प्रकाशन भएका मितिदेखि दुई महिना सम्मको मेरो मेहनतको भीष्म परीक्षा थियो मेरा लागि। कनकासुन्दरी गाउँपालिका जुम्ला पालिका भरीका फिडर विद्यालय पुग्दै, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूसँग समन्वय गर्दै, बीचबीचमा अभिभावक र विद्यार्थीसँग समेत छोटो छलफल गर्दै मैले खटिएको जिम्मेवारी पूरा गर्ने प्रयास गरें। समयको सीमितता र मौसमको कठोरताबीच काम सजिलो थिएन।
तत् समयमा सहयोग गर्ने अहोरात्र खटिने कनकासुन्दरी गाउँपालिका अध्यक्षज्यू, सबै वडा अध्यक्षलगायत कार्यपालिका सदस्यज्यू, सबै फिडर विद्यालयका प्रधानाध्यापक तथा केही शिक्षकज्यूहरू, कनकासुन्दरी मा.वि. व्यवस्थापन समितिका सदस्य र कनकासुन्दरी मा.वि. लुड्कुका केही खुला मनका सहयोगी शिक्षक, कर्मचारीहरू, सामाजिक विकास कार्यालय जुम्ला, शिक्षा विकास निर्देशनालय सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, माननीय टेकराज पछाई, सिँजा गाउँपालिका अध्यक्षज्यू, नेपाली काँग्रेसका नेता ललिजङ्ग शाहीज्यू, तत्कालीन कनकासुन्दरी गाउँपालिकाका शिक्षा प्रमुख जीवनबहादुर रोकाया र विज्ञ शिक्षक जनकबहादुर कार्की लगायतको सहयोगको त के मूल्य तिर्न सकिएला र !!
बाइक यात्राको चुनौती
दोस्रो दिन अन्तिम स्कुलबाट फर्किँदा साँझको ५ बजिसकेको थियो। चिसो बढ्दो थियो, हिउँदको सिरेटो सडकमा ओर्लिँदै थियो। कनकासुन्दरीबाट खलंगा बजारसम्मको यात्रा एक सामान्य मोटरसाइकल यात्राजस्तो लाग्न सक्छ, तर त्यो दिन त्यो यात्रा साधारण थिएन।
मैले चाहना राखेँ—यात्रामा कसैले साथ दिओस्। तर जब मैले साथीहरूलाई साथको लागि प्रस्ताव गरें, धेरैले अस्वीकार गरे। कारण स्पष्ट थियो—रात, चिसो, खोलाको बाटो, सडकमै एक्लो मोटरसाइकल र जोखिम। तर मसँग विकल्प थिएन।
विद्यालय र सामाजिक जिम्मेवारीलाई जीवनको भन्दा उच्च प्राथमिकतामा राख्दै मैले त्यो यात्राको आँट गरेँ। गोठिजिउलाबाट मोटरसाइकल स्टार्ट गरेँ, मनभित्र अनेक द्वन्द्व, कहीँ खोलामा बाइक नफसला? बाटोमा कुनै दुर्घटना नहोला? अनि घरमा सबै चिन्तामा होलान् भन्ने सोच।
मन र मसानको युद्ध
जुन बेला म गोठिजिउला छाड्दै थिएँ, पुषको महिना त्यो साँझको ५ बजेको समय थियो, मसान जस्तै सुनसान, अँध्यारो, हावाले हिर्काइरहेको। त्यही हावा, चिसो, कुहिरो र कहिलेकाहीँ खोलामा परेको मोटरसाइकलको चक्काले गर्दा मन डरले काँपिरहेको थियो।
सडक कतै घुम्ती, कतै उकालो, कतै खोलाको आवाजसँगै गडगडावटसँगै तिरैतिरको यात्रा कठिन थियो। सडकका छेउमा भएका ढुंगा तथा ढिस्काले मलाई हरेक मोडमा आफैंलाई आत्माको भूत बनेर सम्झाइरहेथेँ, “यो जिम्मेवारी केवल एउटा काम होइन, यो भविष्य निर्माणको एउटा प्रयास हो।”
मेरो मनमा भएको डर भगाउनका लागि मेरो साथमा मोबाइल भए पनि सिग्नल समेत थिएन, कसैसँग सम्पर्क हुन सक्दैनथ्यो। मनमा डर थियो तर आँट पनि त्यत्तिकै मजबुत। चिसो हावासँगै जिउ झन् कठोर हुँदै गइरहेको थियो, मन भने त्यसभन्दा बढी कठोर बनाउन प्रयासरत थियो।
१० बजे खलंगा पुग्दा…
अन्ततः जब म पुषको त्यो अँध्यारो रातमा १० बजे खलंगा बजार पुगेँ, त्यो क्षण एक विजयको महसुस थियो। जब प्रेमबहादुर शाहीसँग भेट भयो र भन्नुभयो, “भान्जा, चिसो भयो होला है” भन्दै सिसाको गिलासमा ततापानीले दिएको आत्मियताले मलाई मृत्युवरणका बेला दिएको अमृतझैँ भयो। थकान, चिसो र डर सबै पग्लिए जस्तै लाग्यो। त्यो क्षण लाग्यो, साँचै, जिम्मेवारीप्रति इमानदारी भए जीवनका कठिन घडीहरू पनि पार गर्न सकिन्छ।
१० बजिसकेको थियो, हिउँदको बेला बजार मस्त थियो। बजार पुगेपछि भोजन गर्न पनि ढिलो भयो, बासको व्यवस्था पनि गाह्रो थियो। धन्न होटल दौतरीका सञ्चालकले बासको आशा पूरा गरिदिनुभयो। तर शरीरभन्दा मनमा शान्ति थियो, मैले एउटा महत्त्वपूर्ण कर्तव्य पूरा गरेको थिएँ।
छनोटका चुनौती र अनुभूति
नमुना विद्यालय छनोट केवल कागजको मूल्याङ्कन मात्र थिएन। यसमा विद्यालयको शिक्षण–शिक्षण पद्धति, शिक्षकको समर्पण, विद्यार्थीको संलग्नता, भौतिक संरचना, आईसीटी प्रयोग, विद्यालयको वातावरण, स्थानीय सरकारको भूमिका, अभिभावकको सहभागिता जस्ता पक्षको सघन अध्ययन र विश्लेषण गर्नुपर्थ्यो।
जब पाण्डवगुफा मा.वि.ले पनि प्रस्ताव पेश गरेको भए हामीलाई एकदम धर्मसंकट हुने थियो तर खुला मनले कनकासुन्दरी मा.वि. लुड्कुलाई शैक्षिक विकासको पैचो लगाएकोमा फनि गौरवान्वित भएका थियौँ। त्यो निर्णय केवल एक शैक्षिक कार्यक्रम मात्र होइन, हाम्रो गाउँपालिका विद्यालयको उज्ज्वल भविष्यतर्फको माइलस्टोन थियो। यसले विद्यार्थीहरूको सपनालाई उज्यालो बनाउने, शिक्षालाई जीवनपरक बनाउने र सम्पूर्ण समुदायलाई गौरवान्वित गर्ने आधारशिलाको रूपमा काम गरेको थियो।
सबै पक्ष मूल्याङ्कन गर्दै गर्दा कुनै पनि निर्णयलाई पक्षपाती नबनाउने, तथ्य र प्रमाणमा आधारित मूल्याङ्कन गर्ने जिम्मेवारी थियो। कतै एक विद्यालयले आफूलाई नमुना बनाउने प्रयत्नमा लागेमा जिल्लाका अन्य पालिकाजस्तै अनिर्णयको बन्दीत हुने थिएन कनकासुन्दरी मा.वि. लुड्कु? यस्ता प्रश्नहरू मनमा घुमिरहन्थे।
तर निष्पक्ष र पारदर्शी मूल्याङ्कनका आधारमा अन्ततः एक विद्यालयलाई “नमुना विद्यालय” घोषणा गरियो।
यी सम्पूर्ण स्मरणहरूबाट मैले के सिकेँभने, जिम्मेवारी लिनु सजिलो छैन, तर जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्नु सधैं सन्तोषदायी हुन्छ। साहस बिना परिवर्तन सम्भव छैन। जब अरू डराउँछन्, त्यही बेला अघि बढ्न सक्ने आँट गर्नुपर्छ।
समान अवसर र निष्पक्ष मूल्याङ्कन नै विद्यालयको भविष्य निर्माणको प्रमुख आधार हो। सामाजिक कार्यकर्ताको यात्रामा सम्मान कम र संघर्ष धेरै हुन्छ, तर अन्ततः त्यो समाजले महसुस गर्छ। समयमै काम पूरा गर्नुको मूल्य अतुलनीय हुन्छ, विशेषगरी शिक्षा जस्तो संवेदनशील क्षेत्रमा।
अन्त्यमा, २०७९ सालको पुष महिनामा भएको त्यो यात्रा, त्यो जिम्मेवारी, त्यो रात, त्यो संघर्ष—यी सबै अहिले स्मरण गर्दा एउटा प्रेरणादायी इतिहास लाग्छ। नमुना विद्यालय छनोटको त्यो अभियान जीवनको एउटा अध्याय बन्यो जसले शिक्षा, सामाजिक कार्य र जिम्मेवारीप्रतिको मेरो दृष्टिकोण झन् गहिरो बनायो। तत्कालीन समयमा व्यक्ति, संस्था वा कार्यालयबाट जुन सहयोग पाए, सहयोगी हातहरूलाई सादुभाव।
यी सम्झनाहरू केवल आत्मसन्तोषको विषय मात्र होइनन्, भविष्यमा झन् बढी निष्ठा र समर्पणका साथ कार्य गर्ने मेरा प्रेरणा पनि हुन्। गरे सबै सामान्य हुन्छ नगरे कठिन। राम्रो गरे सबैलाई फाइदा, नसके समाजलाई घाटा। मेहनत बिना सफलता सम्भव हुँदैन।
(लेखक कनका सुन्दरी माध्यामिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ)