हृदयन्द्रको आवाज अंग्रेजी भए पनि भाव भने नेपाली नै हो। साधारण मानिसको कथा बुझ्ने, सम्मान गर्ने, अनि उनीहरूबाट सिक्ने। उनी राजपरिवारको सदस्य होलान्, तर यो यात्रामा उनी पहिले पर्यटक हुन्, अनि सधैंभरि एक सिक्ने व्यक्ति।
जन्मदिन भनेको प्रायः पार्टी, केक, र फुर्सदिलो क्षणहरूको सम्झना हो। तर, पूर्वयुवराज हृदयन्द्र शाहले आफ्नो २३ औं जन्मदिनलाई खास बनाउने तरिका भने बिल्कुलै फरक रोजे। उनले कर्णालीको नीलो आकाशमुनि, जुम्लाको हरियाली र संस्कृतिसँग हातेमालो गर्दै आफ्नो जन्मदिन मनाए।
उनले ‘माई ट्रिप टु जुम्ला’ शीर्षकको भ्लग सार्वजनिक गर्दै गर्दा सादगीमै सुन्दरता लुकेको हुन्छ भान हुन्छ। सामाजिक सञ्जालमा छोटो समयमा व्यापक चर्चा कमाएको भिडियोमा हृदयन्द्रको सरलता, विनम्रता र नेपालप्रतिको माया देखिन्छ।
क्यामेराभन्दा अघि नत्र वरिपरिका मानिससँग उनको आत्मीयता, आँखाभरि जिज्ञासा र शब्दमा सहजता, यी सबैले उनलाई राजपरिवारको औपचारिकताभन्दा बाहिरको एउटा संवेदनशील र चिन्तनशील युवाको रूपमा देखाउँछ।
भ्लगको सुरुका दृश्यहरूमा उनी जुम्ला बजारको एउटा सामान्य कफी पसल, ‘ब्ल्याक स्टोन बेकरी’ मा छिर्छन्। त्यहाँको चिसो हावामा तातो कफी मात्र होइन, आत्मीय संवाद पनि स्फुटिन्छ। बेकरी चलाइरहेका युवासँगको कुराकानीमा हृदयन्द्र प्रभावित हुन्छन्। ती युवा ८ वर्षअघि काठमाडौं छाडेर जुम्ला फर्किएको खुलाउँछन्।
हृदयन्द्र त्यहाँको लोकल कफिको स्वाद लिँदै हाँस्दै भन्छन्, “It’s really fresh, I like it.”
हृदयन्द्रको अर्को गन्तव्य हो, कर्णाली प्राविधिक शिक्षालय। फार्मेसीदेखि कृषि, सिभिल इन्जिनियरिङदेखि स्वास्थ्य सहायकसम्मका विषय पढाइ हुने यो शिक्षालयबारे विद्यार्थी ममन उपाध्यायसँग कुरा गर्दा उनी उत्साहित देखिन्छन्। उनी भन्छन्, “Skills create opportunities. This is how we uplift communities.”
डुडुल चैत्य (गुम्बा) मा उनले जुम्लाकी पञ्चकली बुढासँग भेट गर्छन्। उनी उनलाई जुम्ली लोकगीत सुनाउँछिन्, “जुम्ला फल्छ धान धान, संसारकै अग्लो ठाउँमा…”
त्यसपछिका दृश्यहरू अझै मन छुने छन्। परम्परागत पहिरनमा सिँगेका महिला समूहले गीत गाएर उनलाई स्वागत गर्छन्। त्यो क्षण, क्यामेरा छेउ उभिएर पनि, हृदयन्द्र संस्कृतिको उज्यालोमा भिजेका जस्ता लाग्छन्।
मार्सी धानको हरियाली, स्याउको बगैँचाको सम्भावना, कर्णाली राजमार्गको अवस्था, सिञ्जा उपत्यकाको ऐतिहासिक गन्ध—भ्लग हरेक दृश्यले केवल देखाउँदैन, महसुस गराउँछ। उनले भन्छन्, “Nepal is beautiful beyond imagination. Places like Jumla are treasures yet to be explored.”
हृदयन्द्रको आवाज अंग्रेजी भए पनि भाव भने नेपाली नै हो। साधारण मानिसको कथा बुझ्ने, सम्मान गर्ने, अनि उनीहरूबाट सिक्ने। उनी राजपरिवारको सदस्य होलान्, तर यो यात्रामा उनी पहिले पर्यटक हुन्, अनि सधैंभरि एक सिक्ने व्यक्ति।
सञ्चारको माध्यम चाहे भ्लग होस् या संवाद, अन्ततः मानिसको आत्मा प्रष्ट देखिन्छ। हृदयन्द्रको यो यात्रामा देखिएको भाव, सादगी, जिज्ञासा र सम्मान छ।
उनले कुनै ठूलो मन्तव्य दिएनन्, भाषण गरेनन्। तर एउटा स्पष्ट सन्देश भने छोडे, “Nepal is more than Kathmandu. The soul of the country lives in its people, in its villages, in places like Jumla.”
हृदयन्द्र जुम्लाबाट फर्किए होलान्, तर जुम्ला भने उनका शब्द र दृष्टिमा रहिरहनेछ। यो भ्लग कुनै महँगो प्रोडक्सन होइन, तर नेपाली माटो, मान्छे र सम्भावनाको मिठो सम्झना हो।
‘माई ट्रिप टु जुम्ला’ एउटा यात्रा मात्रै नभई त्यो हृदयसम्म पुग्ने आत्मीय दस्तावेज हो। हृदयन्द्रले भ्लगमार्फत देखाएको विनम्रता, युवाहरूको उद्यम, कर्णालीको सौन्दर्य र संस्कृतिप्रतिको सम्मान, यी सबैले हामीलाई पनि भित्रै कतै छोएर जान्छ।
कहिलेकाहीँ, कुनै समारोह नगरी, केवल यात्रामार्फत मन जितिन्छ। हृदयन्द्रले यही कुरा फेरि एकपटक प्रमाणित गरेका छन्।