मंगलवार, ३ असार, २०८२

प्रतिष्ठानको ऐतिहासिक यात्रामा डा. मंगल रावलको कार्यकाललाई फर्केर हेर्दा

प्रतिष्ठान प्रति आशावादी रहने थुप्रै ठाउँछन्। आन्तरिक आम्दानी ४.६ करोडबाट बढेर ३७ करोड पुगेको छ। उपचार गराउन आउने बिरामीको संख्या ४८ हजारबाट बढेर ९९ हजार पुगेको छ। विद्यार्थी संख्या ११ गुणाले बढेको छ। चार वर्ष अगाडि ३८ जना विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गरिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल ४ सय ५१ जना विद्यार्थी अध्ययन गरिरहेका छन्। चार वर्षअघि ६१ जना शिक्षक रहेकोमा अहिले संख्या ९४ पुगेको छ र थप ५० स्थायी शिक्षक नियुक्तिको प्रक्रिया अघि बढेको छ।

डा. मंगल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रूपमा चार वर्षे कार्यकालमा हासिल गरेका उपलब्धिहरूले संस्थालाई उचाइ अझ बढेको छ। आफ्नो नेतृत्वमा प्रतिष्ठानले शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानमा उल्लेखनीय उपलब्ध हासिल गरेको उनको दाबी छ। जसले कर्णाली क्षेत्रका नागरिकहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ।

एक समय जहाँ कर्णालीमा औषत आयु ४० वर्षभन्दा कम थियो र विशेषज्ञ सेवाको पहुँच नगन्य थियो अनि सिटामोल अभावका समाचार बन्थे, “त्यही कर्णालीको जुम्ला जिल्लामा आज एमबिबिएस, एमडी, एम एस र अन्य चिकित्सा सम्बन्धी विषयमा अध्यापन सुचारु छ,” डा. रावलले भने, “यो सफलताको पछाडि निकै ठूलो त्याग, तपस्या र बलिदानी जोडिएको छ।”

मुगुमा विशेषज्ञ सेवा विस्तारको क्रममा।

प्रतिष्ठान स्थापना भएको १३ वर्षमा यसले कर्णाली अञ्चल अस्पतालबाट मानित विश्वविद्यालयको स्वरूप धारणा गरिसकेको छ। डा. रावलले थपे, “म तेस्रो कार्यकालको उपकुलपतिका रूपमा नियुक्ति लिनु पूर्व दुई जना उपकुलपतिले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गर्नु भएको थियो र शुरुवातको प्रथम चार वर्षमा ३०० बेडको अस्पताल निर्माण र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा ७–९ जना विशेषज्ञ चिकित्सक उत्पादन गर्ने कार्य अघि बढाइएको थियो।”

दोस्रो चार वर्षे कार्यकालमा स्नातकोत्तर तहका विभिन्न विषयहरू सुरु भए र उनको कार्यकालमा यी प्रयासहरू वृहत्तर रूपमा विस्तारित भए। शैक्षिक क्षेत्रमा भएको प्रगतिलाई उजागर गर्दै डा. रावल भन्छन्, “विगत चार वर्षमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चारवटा स्कूलअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयको पाठ्यक्रम तर्जुमा गरी अध्यापन सञ्चालन गर्दै आएको छ र यी उपलब्धिहरू गर्व गर्न लायक छन्।”

एमबिबिएस कार्यक्रमको पाँचौं ब्याच भर्ना गर्नु र चिकित्सा शिक्षा आयोगबाट ५० सीटसम्म विस्तार गर्नु महत्वपूर्ण उपलब्धि हो। “प्रथमपटक सम्बन्धन दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तत्कालीन चिकित्सा शिक्षा आयोगका अध्यक्ष वर्तमान प्रधानमन्त्री के. पी. शर्मा ओली लगायत सम्पूर्ण व्यक्तितब प्रतिष्ठानको भलो चाहनु हुन्छ,” उनी भावुक हुँदै भन्छन्।

विकट हिमाली जिल्ला हुम्लामा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर संचालन गर्न हुम्ला पुगेको टोली।

स्नातकोत्तर र स्नातक तहमा विविध विषयहरू थपिनुले प्रतिष्ठानको शैक्षिक गुणस्तरलाई अझ बलियो बनाएको छ। “स्कूल अफ मेडिसिन, स्कूल अफ फार्मेसी, स्कूल अफ पब्लिक हेल्थ र स्कूल अफ नर्सिङमा स्नातकोत्तर कार्यक्रम सुरु भएका छन्, ५ सीटबाट २६ सीटसम्म वृद्धि भएको छ,” डा. रावलले थपे।

उनका अनुसार हाल प्रतिष्ठानको विद्यार्थी संख्या ११ गुणाले बढेको छ। चार वर्ष अगाडि ३८ जना विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गरिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल ४ सय ५१ जना विद्यार्थी अध्ययन गरिरहेका छन्।

विद्यार्थीहरूले काउन्सिलको लाइसेन्स परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्नु प्रतिष्ठानको शैक्षिक गुणस्तर उच्च कोटीको रहेको प्रमाण हो। “यसले हाम्रो शैक्षिक गुणस्तरको उत्कृष्टतालाई प्रमाणित गरेको छ,” उनी जोड दिन्छन्।

प्रथम दिक्षान्त समारोह दिक्षित हुन उपस्थित विद्यार्थी।

जनशक्ति व्यवस्थापनमा पनि ठूलो सुधार भएको छ। चार वर्षअघि ६१ जना शिक्षक रहेकोमा अहिले संख्या ९४ पुगेको छ र थप ५० स्थायी शिक्षक नियुक्तिको प्रक्रिया अघि बढेको छ। “कठिन परिस्थितिमा पनि १६ वटा विभिन्न कार्यक्रम सञ्चालनार्थ सम्पूर्ण शिक्षकको व्यवस्था गर्न कम्ति चुनौतिपूर्ण थिएन,” डा. रावल स्वीकार्छन्।

नेपाल सरकारको छात्रवृत्तिमा पढेका १० जना विशेषज्ञ चिकित्सक र अन्य स्थायी विशेषज्ञहरू प्रतिष्ठानमा पोष्टिङ भएका छन्, जसले सेवाको गुणस्तरमा सुधार ल्याएको छ। “दुई वर्षे कबुलियतनामा गरेर मन्त्रालयबाट पोष्टिङ हुने व्यवस्था मिलाइएको छ, जसले जनशक्ति अभावलाई कम गर्न मद्दत गरेको छ,” उनी थप्छन्।

अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूसँगको सहकार्यले जनशक्ति आदानप्रदानको नयाँ आयाम स्थापना गरेको छ, जस्तै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँगको सहमति।

अमेरिकाको हावर्ड विश्वविद्यालयसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्य गर्नेबेला प्रधानमन्त्री ओली सहित उपकुलपति रावल।

भौतिक पूर्वाधार विकासमा पनि महत्वपूर्ण कदम चालिएका छन्। “करिब १४ वटा घर भाडामा लिएर सञ्चालित शैक्षिक कार्यक्रमहरूलाई ३९ कोठा सहितको सात तलाको नव निर्मित आधुनिक शैक्षिक भवनमा स्थानान्तरित गरिएको छ,” डा. रावलले भने।

प्रयोगशाला, अक्सिजन प्लान्ट र इमर्जेन्सी ल्याबको स्थापना, साथै अस्पताल सेवामा नाक, कान, घाँटी, छालारोग र नेत्ररोग जस्ता विशेषज्ञ सेवाहरू विस्तार गरिएका छन्। “तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानसँगको समन्वयमा नि:शुल्क मोतियाबिन्दु अपरेशनको व्यवस्था र डिजिटल स्वास्थ्य रेकर्ड सिस्टम जडानले सेवालाई अझ प्रभावकारी बनाएको छ,” उनी जोड दिन्छन्।

अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमा पनि प्रतिष्ठानले जोड दिएको छ। “प्रतिष्ठानको आफ्नै वैज्ञानिक जर्नल प्रत्येक चौमासिकमा नियमित प्रकाशिन भइरहेको छ,” डा. रावलले भने। उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, कार्यशाला र हावर्ड, ब्राउन, जोन हप्किन्स जस्ता विश्वप्रसिद्ध विश्वविद्यालयहरूसँगको साझेदारीले ज्ञान आदानप्रदानलाई प्रवद्धन प्रवद्धन गरेको छ।

लण्डनमा नेपालीज् डाक्टर एसोसिएसनको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागिता जनाएपछि चार जना विशेषज्ञ चिकित्सक डाक्टर फर नेपालको लगानीमा प्रतिष्ठानसँग बोण्ड गरिएको।

“पहिलो दीक्षान्त समारोह २०८१ कार्तिक २८ गते आयोजना गरियो, जसमा ५८ जना विद्यार्थी दीक्षित भए र यो ऐतिहासिक क्षण थियो,” उनले भावुक हुँदै सुनाए।

कर्णाली क्षेत्रका १३ जिल्लामा विशेषज्ञ सेवा पुर्‍याउने, नि:शुल्क उपचार र सामाजिक सेवा इकाईको सक्रियताले गरिब तथा विपन्न वर्गलाई राहत पुर्‍याएको छ। “विगत चार वर्षमा करिब १.५ करोडसम्मको नि:शुल्क उपचार गरिएको छ र आठ दीर्घ रोगको नि:शुल्क उपचार सुरु भएको छ,” उनले थपे।

राकम कर्णाली अस्पतालको विकास र स्याटेलाइट अस्पतालको रूपरेखाले प्रतिष्ठानलाई आत्मनिर्भर बनाउने लक्ष्यमा थप बल पुगेको छ। “यो अस्पताल पूर्ण रुपमा सञ्चालन हुन सकेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आत्मनिर्भर हुने विश्वास छ,” उनी आशावादी छन्।

प्रतिष्ठानको राकम सेटलाइट अस्पताल।

प्रतिष्ठान प्रति आशावादी रहने थुप्रै ठाउँछन्। आन्तरिक आम्दानी ४.६ करोडबाट बढेर ३७ करोड पुगेको छ। उपचार गराउन आउने बिरामीको संख्या ४८ हजारबाट बढेर ९९ हजार पुगेको छ।

यद्यपि, चुनौतीहरू पनि छन्। “प्रतिष्ठानको केन्द्रीय कार्यालयमा आवश्यक विशेषज्ञ चिकित्सकहरू उपलब्ध हुन नसक्नु मुख्य चुनौती हो,” उनी स्वीकार्छन्। भौतिक पूर्वाधारको अभाव, यातायात समस्या र राजनीतिक अस्थिरताले पनि प्रगतिलाई बाधा पुर्‍याएको छ।

“विगत चार वर्षमा ११ जना स्वास्थ्यमन्त्री परिवर्तन भएका कारण आवश्यक सहकार्य र सहयोगको लागि कठिनाइ महसुस भएको छ,” उनले भने। जुम्ला र दैलेखमा उपलब्ध नि:शुल्क जग्गामा संरचना निर्माणका लागि बजेट अभाव अर्को ठूलो चुनौती हो।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट एमबीबीएस लगायत कार्यक्रम शुभारम्भ समारोह।

भावी योजनाहरूमा राकम कर्णाली अस्पताल र जुम्लाको चेरेचौरमा संरचना निर्माण, अस्पताल स्तरउन्नति, सुर्खेत प्रादेशिक अस्पतालसँग प्राज्ञिक कार्यक्रम सञ्चालन र विश्वविद्यालयहरूसँग सहकार्यले ग्रामीण स्वास्थ्यमा अनुसन्धान केन्द्र स्थापना गर्नु पर्दछ।

“प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन र कर्णाली क्षेत्र मार्फत सिंगो देशको स्वास्थ्यस्तर माथि उठाउने अभिप्रायले हामी निरन्तर कडा परिश्रम र संघर्ष गरिरहेका छौं,” डा. रावलले भने।

कर्णालीमा विस्तार भएको स्वास्थ्य सेवाले समग्र नेपालको मानव विकास सूचकांकमा योगदान पुर्‍याउने आधार तयार गरेको छ। “नेपालको संविधान २०७२ ले ग्यारेन्टी गरेको स्वास्थ्य सेवामा समान पहुँच र इमर्जेन्सी सेवा निःशुल्क हुने कुराको सुनिश्चितता जस्ता संस्थाहरु बलियो र प्रभावकारी रुपमा सञ्चालन भएमा मात्र सम्भव छ,” डा. रावलको जोड छ।

यो प्रगतिको निरन्तरता र सरकारको थप सहयोगले प्रतिष्ठानलाई विश्वस्तरको संस्था बनाउन सघाउनेछ। “सरकार र सरोकारवाला निकायहरूलाई कर्णालीको भावी योजना अनुरुप सहयोग गरिदिन अनुरोध गर्न चाहन्छु,” उनी अन्त्यमा भन्छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार