सोमबार, २ असार, २०८२

कर्णाली अञ्चलका प्रमुख धार्मिक र सांस्कृतिक स्थलहरू एक संक्षिप्त कृति समीक्षा

शेरागुठीका खेतमा रोपाइँ नगरी हाल फुजी स्याउ लगाउन भाडामा दिइएको छ भने शेराकुला र गुठी आसपासका जग्गामा हाल घरटहरा बनाई कुलोको अस्तित्वनै मेटिसकेको छ। यसैगरी चन्दननाथ मन्दिरमा आजभन्दा ५/७ वर्ष पहिले बहुमूल्य सुन तथा चाँदी जडित धातुजन्य मूर्ति समेत चोरी भए। चोरी भएका मुर्ति फेला परे भनिएपनि मुर्ति सक्कली हुन् या होइनन् यसै भन्न सकिने अवस्था भने छैन। केही चोर पत्ता लागि अदालतबाट सजाय समेत पाएको भने देखिन्छ।

चन्दननाथका चारै लिङ्गा, पूर्वतिर ढल्या ( फर्क्या )
अगीका अँध्यारा कुना, ऐले बत्ती बल्या।

चार मान्याका चौध पाथी चन्दननाथका शेरा
कि साइले जन्मन्या होइन जन्म्या पछि मेरा।

यी लोकगीतले कर्णाली अञ्चलको छोटो धार्मिक तथा सांस्कृतिक रुपको वर्णन गर्ने भएकाले यहाँ राख्न सान्दर्भिक भएकोले राखिएको हो। चन्दननाथका निश्चित शेरा खेतमा चार माना जाने पाथीका चौधपाथी बीउ लाग्न जाने गर्दछ, कुनै एक प्रेमीकाले आफ्नो प्रेमीलाई कि तिमी जन्मने होइन जन्मेपछि मेरी हुने भनी भाव व्यक्त गरेको पाइन्छ।

यी लोकगीत यसै कृतिभित्रैबाट साभार गरिएका हुन्। पहिलो गीतले चन्दननाथका मन्दिरमा चारवटा लिङ्गा गाडिने लिङ्गाको टुप्पोमा ध्वजा बाँध्ने गरिने र यी ध्वजा हावा चल्दा पूर्वतिर फरफर गर्दै फरफराउँछन्। जब लिङ्गाका ध्वजा फरफर हुन्छन् त्यतिबेला घर बस्ति नै उज्यालो भएको आभाष हुने भनी उल्लेख गरिएको पाइन्छ।

अर्कातिर एक प्रेमीले प्रेमीलाई इङ्गीत गर्दै चन्दननाथका ध्वजा फरफर भएर परिवेष उज्यालो भएजस्तै प्रेमी या प्रेमिकाले आफ्नो मायालु प्राप्ति गरेपछि यसरी नै उज्यालो हुने कुरालाई लक्षणार्थ उल्लेख गरेको पाइन्छ।

प्राज्ञ रत्नाकर देवकोटाद्वारा लिखित “कर्णाली अञ्चलका प्रमुख धार्मिक र सांस्कृतिक स्थलहरू” पुस्तकको प्रकाशन २०५१ सालमा भएको थियो। प्रकाशक साविक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौ, नेपालले लुष प्रेस, बानेश्वर, काठमाडौबाट प्रकाशन गरेको हो। लेख रचना र सन्दर्भ सामग्री समेत १०४ पृष्ठ रहेको पुस्तकको बाहिरी आवरण रंगीनमा कर्णाली अञ्चलको नक्सा रहेको, भित्री पृष्ठमा पुस्तक र लेखकको नाम, प्रकाशकको नाम संस्करण साल, प्रेशको नाम प्रकाशकीय, बिषयसूची अन्तिम कभर पेज अघि शुद्वि-पत्र २ पेज र पुस्तकको मूल्य रू ४०/- रहेको छ।

यस पुस्तकमा जुम्ला जिल्लाको खलंगा बजारमा अवस्थित भगवान दत्तात्रेय र जुम्लाको प्रशिद्व चन्दननाथ मन्दिर, डोल्पाकी -बाला- त्रिपुरा- शुन्दरी भगवती, कर्णाली अञ्चलमा स्थापित भैरव र हनुमानका मन्दिरहरू, तथा जुम्लाको धार्मिक स्थल दानसाँघु र यहाँको रत्नचुडेश्वर शिव मन्दिर समेत बिषयमा केन्द्रीत भई चारवटा मुल शिर्षकमा लेखिएको छ।

प्रज्ञा प्रतिष्ठानले राजधानीदेखि पर गएर ऐतिहासिक, साँस्कृतिक विषयमा अभावमा रहेका विषयलाई पूर्तिगर्न सकिने भन्ने सोची देवकोटाद्वारा लिखित प्रस्तुत आख्यान मूलक पुस्तकलाई प्रकाशन गरेको देखिन्छ। यस पुस्तकभित्र आख्यान र उपआख्यानका विषय समेत समेटिएका छन्।

तत्वानुवेषक रत्नाकर देवकोटा आफै स्थानीय व्यक्ति भएको र लेखिएका विषयमा परिचित पनि हुनुहुन्छ। स्थानीय मानिसको सहयोगबाट लेखिएको, लोप हुन लागेका कुरा यिँ तत्वानुवेषकले ऐतिहासिक र संस्कृतिको पक्षमा प्रशस्त ज्ञान दिन खोजेका छन् भनी पुस्तकको प्रकाशकीयमा समेत उल्लेख गरेको पाइन्छ।

आख्यानको प्रमुख विषय मध्ये भगवान दत्तात्रेय र जुम्लाको प्रशिद्व चन्दननाथ मन्दिर भित्र तत्वानुवेषकले जुम्लाको किवदन्तीगत पृष्ठभूमिबाट शुरुवात गर्दै नेपाली भाषाको उद्गम स्थल, नेपाली संस्कृतिको मूल थलो, खस जाती र खस भाषाको मूल रुप, नेपाली पहिरन, नेपाली सभ्यताको सक्कली र वास्तविक रुपको सिंहालोकन गर्न लेखकले जुम्लातिर फर्किनुपर्छ भन्दै पाठकको ध्यान जुम्लातिर फर्काएका छन्।

प्रस्तुत लेखमा जुम्लाका प्राचीन दाना दह, याला दह र मालादहबारे, जुम्ला पाँचसय दरा लाछुज्यूलाको बुदे बुढा र लछाल कृति पैकेलो, साधु (चन्दननाथ बाबा) बाट बालकलाई आशीर्वाद, लछाल कृति पैकेलोको प्रहारद्वारा दहहरूको छेदन, लछाल कृति पैकेलाले गरेर देखाएका साहसी काम र निजको मृत्यू, सिद्व बाबाबाट भगवान दत्तात्रेयको चरणपादुकाको उद्घाटन र मन्दिरको रुप, चरणपादुका सम्बन्धी अर्को किंवदन्ती, वास्तमा दत्तात्रय को हुन्?

भगवान दत्तात्रयको बारेमा जुम्लाका गाउँगाउँमा प्राप्त अन्य केही जानकारी, भगवान दत्तात्रयको मन्दिरलाई चन्दननाथ बाबाको मन्दिर भन्नू किन? चन्दननाथ र भैरवनाथ मन्दिरमा गाडिने लिङ्गाहरू, चन्दननाथ राजगुठी र यसको शेराखेत, चन्दननाथ मन्दिर सम्वन्धी पुराना लालमोहर र अरु विभिन्न कागजपत्रहरू, चन्दननाथ मन्दिरका पाटी पौवा तथा धर्मशालाहरूको निर्माण, चन्दननाथ मन्दिरको नित्यपूजा सम्वन्धी केही प्रकृयाहरू, चन्दननाथ मन्दिर र यस मन्दिरकै हाराहारीमा गणना गरिने हुम्ला-जुम्ला (हालको कर्णाली अञ्चल) का केही देवी देवताका मठ मन्दिर तथा गुठीहरू, दशनाम सन्यासी सम्प्रदाय र बाह्रपन्थीनाथ सम्प्रदायहरू, भगवान दत्तात्रयको चरणपादुकाको वास्तविक र बनावटी रुप, चन्दननाथ मन्दिरमा गरिनु पर्ने वार्षिक पर्वपुजाहरू, चन्दननाथ मन्दिरका पुजारीहरू, चन्दननाथ मन्दिरमा विभिन्न वस्तु प्रदान गर्ने केही श्रद्धालु दाताहरू, चन्दननाथ मन्दिरको तर्फबाट हुने गरेका बार्षिक खर्च भित्रका प्रमुख अवसरहरू, चन्दनननाथ र भैरवनाथ मन्दिरको क्षेत्रफल, यी मन्दिरका अपहरित जग्गा र लैनपाटीहरू, तायजातीको अध्ययन गर्दा पाईएका केही पुराना कुराहरू, श्री चन्दननाथ मन्दिरको हालको अवस्था, चन्दननाथ मन्दिरको उचित संरक्षणका लागि तत्काल चालिनुपर्ने काम कुराहरू, जुम्लामा चन्दननाथ नाम राखिएका विभिन्न स्थान र संघसंस्थाहरू, चन्दननाथ मन्दिर र कर्णाली अञ्चलको भौगोलिक परिचयात्मक लोकगीतहरु।

१५ वटा प्रचलित लोकगीत लेखिसके पश्चात् यस लेखको समाप्ती भएको छ। लेखक तत्वानुवेषकको २०६५/पौष १४ गते स्वर्गवास भएपछि तत्पश्चात यस चन्दननाथ मन्दिरमा २०४८ सालमा रहेका पुजारी रणनाथ योगी पछिको कुन पुजारी रहे वास्तविक अभिलेख पाइँदैन। मन्दिरका काम करवाही र प्रगति बारे थप लेखिन बाँकी नै छ।

२०५१ पछि साठीको दशक सम्म शेरा ज्यूलामा शेराकुलाबाट रोपाइँ हुँदै आएकोमा हाल कालेखोलीमा नयाँनयाँ ठुलठुला घर र सडक बनेपछि शेराकुलो आउनै छोडेको र माथी राजीकोट मुहान भएको शेराकुलाबाट सिँचित हुने शेरा खेतहरू रोपाइँनै हुन छोडेका छन्।

शेरागुठीका खेतमा रोपाइँ नगरी हाल फुजी स्याउ लगाउन भाडामा दिइएको छ भने शेराकुला र गुठी आसपासका जग्गामा हाल घरटहरा बनाई कुलोको अस्तित्वनै मेटिसकेको छ। यसैगरी चन्दननाथ मन्दिरमा आजभन्दा ५/७ वर्ष पहिले बहुमूल्य सुन तथा चाँदी जडित धातुजन्य मूर्ति समेत चोरी भए। चोरी भएका मुर्ति फेला परे भनिएपनि मुर्ति सक्कली हुन् या होइनन् यसै भन्न सकिने अवस्था भने छैन। केही चोर पत्ता लागि अदालतबाट सजाय समेत पाएको भने देखिन्छ।

पुस्तकको दोस्रो आख्यानको विषय रहेको डोल्पाकी बाला- त्रिपुरा- सुन्दरी भगवतीको विषय प्रवेशबाट तत्वानुवेषकले प्रवेश गरि प्रशिद्व ऐतिहासिक, धार्मिक, सांस्कृतिक भौगोलिक र पर्यटनको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिएका डोल्पा जिल्लाका विभिन्न स्थल मध्ये बाला- त्रिपुरा- सुन्दरी भगवती मन्दिर बारे विवेचना गरिएको छ।

साविक डोल्पा जिल्लाको त्रिपुराकोट गाउँ विकास समिति-२ कोटगाउँ स्थित पर्ने बाला- त्रिपुरा- सुन्दरी भगवती मन्दिर त्रीपुरा कोटको भौगोलिक बनोट, बाला- त्रिपुरा-सुन्दरी भगवतीको उत्पत्ति र बिस्तार, बाला-त्रिपुरा-सुन्दरी भगवतीका पुजारीहरूको नियूक्ति र यसको वंशक्रम उल्लेख गर्दै साविकमा जुम्ला जिल्ला गर्ज्याङ्गकोट गाविस वडा नं. ५ बाहुलीगाउँ खल्लालबाडाबाट गएका उदयराम न्यापाने र नन्दराम न्यौपानेले पुजारीले पुजा गर्न शुरु गरेको बताइएको छ। यिनका पिता शुकदेव न्यौपाने रहेका र यिनैका सन्तान र पुर्खाले पुजा गर्दै आएको भनाई रहेको छ।

यसैगरी पाठ पुजाको लागि गरिएका केही ऐतिहासिक क्रम, धार्मिक ग्रन्थमा त्रिपुरा-शुन्दरीको स्थान, मन्दिर निर्माण, पुजाविधी, गुठी र अन्य व्यवस्था, गोर्खालीको बिजय र राजा विक्रम शाहीको निधन, ऐतिहासिक कथनमा देखा परेका केही विवादपूर्ण कुरा उल्लेख गरि प्रस्तुत लेखको समाप्ति भएको छ।

तेस्रो विषयमा कर्णाली अञ्चलमा स्थापित भैरव र हनुमान्का मन्दिरहरू बारे आख्यानको शुरुवात गरिएको छ। प्रस्तुत लेखमा जुम्ला जिल्लामा अवस्थित बटुक भैरव, नील/नीला भैरव, ढोका भैरव, नराकोटभैरव, महतगाउँभैरव, रावलवाडाभैरव, जोगीवाडा भैरव, पाँचसयदरा, जोगीवाडाभैरव सिँजा, छीना- बटुक भैरव, जुम्ला रहेका छन् भने नाथर्पु भैरव हुम्ला, बटुकभैरव डोल्पा, कालैभैरव, मुगु, कोली भैरव, थिर्पु भैरव कालीकोट, छाँपुभैरव बाजुरा, सात बाडा भैरव बाजुरा समेत १६ वटा भैरव उल्लेख गरिएका छन्।

भैवास्तमा स्थानीय जनताको रक्षाको खातिर टोलका दक्षिण सिमामा यस्ता भैरवको स्थापना हुने कुरा सुनिन आएको कुरालाई लेखकले उल्लेख गर्दै ढोका भैरवबारे बिवेचना गरेको पाइन्छ। पुस्तकको अन्तिम लेखमा लेखकले जुम्लाको धार्मिक स्थल दानसाँघु र यहाँको रत्नचुडेश्वर शिवमन्दिरबारेमा लेख्नभएको छ।

साविकको चन्दननाथ गाविस हालको चन्दननाथ नगरपालिका -१ तलिचौर दानसाँघु र डुँडाखोच गाउँ बिच चौधविस दराको दक्षिण पूर्विबाट बगी आउने तिला नदी र यसै दराको उत्तर पूर्वी भेकबाट बगी आउने जवानदी यसै दानसाँघुमा मिल्दछन्। जवानदी र तिलानदीको संगम भएकोले यस ठाउँलाई दोभान भनिन्छ भन्दै वि. सं.१४६१ मा जुम्लाका राजा बलिराजले जाजरकोटे राजाबाट तिलानदी देखि दक्षिण तिरको राज्य पाएर दोभानमा आएपछि जुम्लाका बिभिन्न बाह्रमणद्वारा आफ्नो अभिशेष गराएका थिए।

अभिशेष गराउँदा बलिराजले यसै ठाउँमा ठूलो यज्ञ गरि पञ्चदान गराएका थिए तथा यसैबेला यी दुई नदीमाथी साँघु बनाइएका थिए भन्ने कहावत नरहरीनाथ योगीबाट सुनिन्छ भनी उल्लेख गरेको पाइन्छ।

यसैगरी दानसाँघुको ऐतिहासिक कुटी, जग्गा दानसाँघुमा गुरुङहरूको अतिक्रमण, सो रत्नचुडेश्वर मन्दिरको फूलवारी एवं जग्गा आवाद गरेकोमा मु.रामशंकर उपाध्याय देवकोटा र आरके विश्वामित्रदारा कानूनी कार्यवाही द्वारा प्रतिवाद गर्दापनि स्थानीय जिल्ला प्रशासन कार्यालय र सो अड्डाका प्रशासकले दशकौं वर्षसम्म पनि कुनै कारवाही गरि उठाउन नसक्नुले आरके विश्वामित्रले आपत्ति समेत जनाएको पाइन्छ। दानसाँघुमा कोटी होम लगाएको र त्यहाँको सामाजिक अवस्था समेतलाई लेखकले आख्यानको माध्यामबाट बिवेचना गरेको पाइन्छ।

यस पुण्य स्थलमा इतिहासकार एवं योगी नरहरीनाथको आयोजनामा कर्णाली अञ्चलका सम्पूर्ण जनताको आर्थिक, मानसिक, शारीरिक र बौद्धिक सहयोगबाट वि. सं. २०४१ साल श्रावण पुर्णिमा देखि ऐ. भाद्र पुर्णिमा अर्थात् श्रावण २७ गतेदेखि भाद्र २५ गतेसम्म एक महिने कोटिहोम जुम्लाको प्रशिद्व धार्मिक स्थल दानसाँघुमा सम्पन्न भएको र सो कोटिहोमको अध्यक्षता चन्दनननाथ मन्दिरका पुजारी ब्रम्हचारी मदनमोहन गौतमले गरेको कुरा पनि उल्लेख गरिएको छ।

कोटीहोमबाट उठेको पैसाले साविक रत्नचुँडेश्वर शिव मन्दिर, साविक गणेश मन्दिर, तिला र जवानदी किनारमा तटबन्ध, दानसाँघुस्थल बिस्तार समेत गरिएको कुरा लेखकले उल्लेख गरेको पाइन्छ।

समग्रमा प्रस्तुत पुस्तक अत्यन्तै मिहिनेत गरि तत्वानुवेषक एवं प्राज्ञ रत्नाकर देवकोटाले तयार गरेको देखि यस्ता ऐतिहासिक पुरातात्त्विक, धार्मिक साँस्कृतिक स्थल, मठ मन्दिरको संरक्षण एवं सम्वर्द्वनमा टेवा मिल्ने देखेर प्रस्तुत पुस्तक प्रकाशन गरिदिनु ले साविक नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान हाल नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटालाई भारी गुण लगाएको छ।

यो पुस्तक प्रकाशन हुँदा कति कपि छापिए भन्ने तथ्यांक नलेखिनुले प्रज्ञा प्रतिष्ठान लेखक, पाठक लगायत व्यवस्थापन समेत अनुसन्धान दाताहरूलाई गुमराहमा पारेको देखिन्छ।

यसैगरी कृतिबारे इतिहासकार संस्कृतिविद् लगायत लेखकका मन्तव्य समेत नराख्नुले सो तर्फ प्रतिष्ठानले केही हदसम्म लेखकप्रति अन्याय गरेको देखिन्छ। आगामी दिनमा यस्ता वषयमा विप्रज्ञा प्रतिष्ठानले सहयोग सँगसँगै विविध विषयमा ध्यान दिनु पर्ने देखिन्छ।

(हाल प्युठान खलंगामा बस्दै आउनु भएका लेखक चन्दननाथ- १ जुम्लाका हुनुहुन्छ। उहाँले यो लेख २०८१/११/२६ लेख्नुभएको हो।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार