मंगलवार, १३ माघ, २०८२

हिंसामा परेकी बालिकाको उद्दार

सुस्मिताको बालमनमाथि हरेक दिन अन्टीको क्रूरताको दाग थपिन्थ्यो। रातमा मुख थुनेर पिट्ने, शरीरभरि निलडाम पार्ने अनि चिसो पानीमा डुबाउने जस्ता बर्बरताले सुस्मिता शारीरिक र मानसिक रूपमा थला परेकी थिइन्।

हिमा गाउँपालिकाकी सुस्मिता रावत (नाम परिवर्तन) ले बिताएको केही महिना निकै त्रासदीपूर्ण रह्यो। आमाबुबाले दशैपछि उनलाई आफन्तको हेरचाहमा छोड्नुपरेको थियो, तर त्यो निर्णय सुस्मिताको जीवनमा कहिल्यै नबिर्सने चोट बन्न पुग्यो।

चार वर्षको उमेरमा सुस्मिताले आफ्नो अन्टीबाट दैनिक हिंसा सहनुपरेको थियो। आफ्नी छोरीलाई आफन्तसँग छोडेर पैसा कमाउने भन्दै इन्डिया गएका उनका बुबा-आमाले अन्टीको भरोसा गरेका थिए। तर उनीहरूको विश्वासले सुस्मितालाई सुरक्षाको साटो पीडाको खाल्डोमा धकेलिदियो।

अन्टीले आफ्नी भतिजीलाई शारीरिक यातना दिइन। सुस्मिताको बालमनमाथि हरेक दिन अन्टीको पिटाई बढिरहेको थियो। रातमा मुख थुनेर पिट्ने, शरीरभरि निलडाम पार्ने अनि चिसो पानीमा डुबाउने जस्ता बर्बरताले सुस्मिता शारीरिक रूपमा थला परेकी थिइन्।

खलंगा बजारको एक घरमा डेरा गरेर बसिरहेकी अन्टीको कोठामा सुरक्षित रहन बसेकी बालिकाको यो पीडादायी अवस्था कसैले चाल पाउने अवस्था थिएन। यसै क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण चौलागाईं र उनकी बहिनी प्रमिला शाहीले सुस्मिताको अवस्था थाहा पाएपछि तत्कालै उद्दारको पहल गरे।

चौलागाईं र प्रमिलाले अन्टीलाई कानूनी रूपमा जिम्मेवारीबारे सचेत गराए। अन्टी पनि नाबालिक नै थिइन्। बालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएकोले उनीहरू तत्कालै उनलाई अस्पताल पुर्‍याए। सुस्मिताको शरीरभरि देखिएका निलडाम मात्र यातनाको प्रमाण थिएन, उनको कमजोर स्वास्थ्यले पनि अघिल्लो महिनाहरूको पीडाको गवाही दिइरहेको थियो।

अस्पतालमा उपचार पछि पनि सुस्मिताको स्वास्थ्यलाई पुनर्स्थापना गर्न समय लाग्यो। उनको कमजोर शरीरले चाँडै कुनै पनि समस्यालाई झेल्न सकेन। उद्दारपछि दोस्रो रात पेट दुख्यो भनेपछि चौलागाईंले पुनः उनलाई अस्पताल पुर्‍याए। थप उपचारपछि सुस्मिताको स्वास्थ्यमा सुधार आयो, तर उनको मनमाथि परेका चोटहरू हट्न समय लाग्ने निश्चित थियो।

सुस्मितालाई चौलागाईं परिवारले आफ्नो संरक्षणमा राखे। जीवनका प्रारम्भिक वर्षहरूमा यस्तो हिंसा सहनु बालिकाका लागि ठूलो अभिशाप थियो।

सुस्मिताको उद्दारपछि उनको बुबा र आमासँग गरिएको भिडियो कलले घटनाको गाम्भीर्यतालाई थप उजागर गर्‍यो। चौलागाईंले बालिकाको अवस्था बुबा-आमालाई बताएपछि उनीहरू आफ्नो बच्चा सुरक्षित राख्नको लागि भावुक अपिल गर्न थालिन्।

इन्डियामा जीवन निर्वाहका लागि संघर्ष गरिरहेका उनीहरूले आफ्नी छोरीको भविष्यको चिन्ता गर्दै उनलाई सुरक्षित ठाउँमा राख्न चौलागाईं परिवारलाई जिम्मेवारी दिए।

यसबीचमा, चौलागाईं परिवारले सुस्मिताको सुरक्षाका लागि आफ्नो तर्फबाट कुनै कमी राखेन। “बालिकाको जीवनमा स्थायीत्व र सुरक्षा अत्यावश्यक थियो। तर यो मामिला हामीमा मात्र सीमित रहेन,” उनले थपे, “सुस्मिताका अन्य आफन्तहरूले चौलागाईं परिवारमाथि बालिकाको व्यवस्थापनबारे प्रश्न उठाउँदै झगडा गरे। घरभित्रको कुरा बाहिर ल्याएको भन्दै झगडाको कोसिस भयो। हामी विचलित भएनौं।”

उनका अनुसार कानूनी प्रक्रियाले सुस्मिताको पक्षमा काम गर्‍यो। बालिकाकी अन्टीले प्रहरीसमक्ष आफ्ना क्रियाकलाप स्वीकार गरेपछि घटनामा नयाँ मोड आयो। उनले आफूले सुस्मितामाथि गरेको हिंसाको जिम्मेवारी लिइन्। जसले बालिकाको अवस्थाप्रति आफन्तलाई थप सचेत बनायो।

“यसपछि, बालिकाका बुबासँग पुनः भिडियो कल गरियो। परामर्श र सुझावपछि सुस्मितालाई उनको फूपुको जिम्मा लगाइयो,” उनल थपे, “जसले बालिकाको हेरचाह गर्न सहमति जनाएका थिए। फूपुले सुरक्षाको जिम्मेवारी लिएपछि बालिका जिम्मा लगाएका हौं।”

“नानी अहिले आफ्नो फूपुको घरमा छिन्,” चौलागाईंले थपे, “हामीले फूपुलाई आवश्यक निर्देशन र समर्थन दिएको छौं। अहिले उनी सुरक्षित र खुसी रहेको खबर आएको छ, जसले हामीलाई ठूलो राहत दिएको छ।”

सुस्मिताको जीवनमा शान्ति र स्थायीत्व पुनःस्थापित भएको यो मोडले बालिका हिंसाबारे समुदायलाई गम्भीर बन्नुपर्ने सन्देश दिएको छ। बाल अधिकारको सुरक्षामा यो एउटा उदाहरणीय कामा नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्षबाट भएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार