सिंजा जुम्लाको सम्पत्ति मात्र नभई सिङ्गो नेपाल र नेपाली भाषी समुदायको साझा गौरव हो। नेपाली भाषाको मुहान, खस सभ्यताको केन्द्र र राष्ट्रिय पहिचानको आधारभूमिका रूपमा रहेको यस क्षेत्रलाई संरक्षण गर्नु आजको आवश्यकता मात्र होइन, भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो।
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा रहेको ऐतिहासिक सिंजा उपत्यका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक गौरवले भरिएको क्षेत्र हो। हरियाली डाँडाकाँडा, बीचबाट बग्ने हिमा नदी, सुन्दर खेतका गराहरू र पुरातात्त्विक सम्पदाले सजिएको यो उपत्यका नेपालकै पहिचान बोकेको धरोहर हो।
तर यसको वास्तविक महत्व केवल प्राकृतिक सुन्दरतामा सीमित छैन। यही भूमि खस राज्यको राजधानी थियो र यहीँबाट नेपाली भाषाको प्रारम्भिक रूप ‘खस भाषा’को विकास भएको मानिन्छ। यसैको संरक्षण र प्रचारप्रसारका निम्ति वृत्तचित्र निर्माण गरिएको छ।
इतिहासकारहरूका अनुसार ११औँदेखि १४औँ शताब्दीसम्म सिंजा उपत्यका शक्तिशाली खस साम्राज्यको केन्द्र थियो। त्यतिबेलाको शासन, संस्कृति, कला र सभ्यताको प्रमाण आज पनि यहाँका ढुङ्गे देवल, शिलालेख, मन्दिरका भग्नावशेष, पुराना धारा, ओखल र ढुङ्गामा कुँदिएका कलाकृतिहरूले दिइरहेका छन्। वृत्तचित्रले खस सभ्यताको उन्नत इतिहासको कथा सुनाइरहेको छ।
समयसँगै ती अमूल्य सम्पदाहरू भने संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। कतिपय भग्नावशेष झाडीले ढाकिएका छन् भने कतिपय शिलालेख प्राकृतिक क्षयका कारण मेटिने अवस्थामा पुगेका छन्। इतिहास बोकेका यी सम्पदालाई समयमै संरक्षण गर्न नसके भविष्यमा नेपाली सभ्यताको महत्वपूर्ण प्रमाण हराउने चिन्ता बढेको अनुसन्धानकर्ता संगिता हमाल ठकुरीले बताइन्।
उनका अनुसार सिंजा उपत्यकाको अर्को ठूलो परिचय नेपाली भाषाको उद्गमस्थल हुनु हो। अहिले संसारभर करोडौँ मानिसले बोल्ने नेपाली भाषाको प्रारम्भिक स्वरूप यही क्षेत्रमा विकसित भएको विश्वास गरिन्छ। यहाँ बोलिने जुम्ली लोकभाका, देउडा गीत र खस संस्कृतिका अनेक पक्षहरूले आधुनिक नेपाली भाषाको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। त्यसैले सिंजालाई केवल एउटा ऐतिहासिक स्थल नभई नेपाली भाषा र राष्ट्रिय पहिचानको मुहानका रूपमा हेरिन्छ।
‘आज पनि सिंजाका गाउँहरूमा परम्परागत संस्कृति जीवित छ। स्थानीय महिलाहरू मौलिक पहिरन र गरगहनामा सजिएर देउडा गीत तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दा पुरानो खस सभ्यताको झल्को पाइन्छ,’ उनले भनिन्, ‘स्थानीय समुदायले आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन निरन्तर प्रयास गरिरहेका छन्।’
यही उद्देश्यलाई अगाडि बढाउन स्थानीय स्तरमा खस सभ्यता विकास प्रतिष्ठान गठन गरिएको छ। प्रतिष्ठानले खस सभ्यताको खोज, अनुसन्धान, संरक्षण र प्रचारप्रसारलाई प्राथमिकता दिएको छ। प्रतिष्ठानका संयोजक गौरीलाल न्यौपानेसहित विभिन्न क्षेत्रका बुद्धिजीवी, संस्कृतिविद् र स्थानीय प्रतिनिधिहरू यस अभियानमा सक्रिय छन्। उनीहरूले सिंजाको ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरिरहेका छन्।
स्थानीय सरकार पनि यस अभियानमा जोडिएको छ। कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्य, उपाध्यक्ष प्रेमकली बुढा, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारी, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले सिंजाको संरक्षण र विकासलाई प्राथमिकतामा राख्दै आएका छन्। प्रदेश सरकारका तर्फबाट प्रदेशसभा सदस्य टेकराज पछाईंले पनि संरक्षण अभियानमा सहयोग गर्दै आएको स्थानीयको भनाइ छ।
सिंजाको ऐतिहासिक महत्वलाई अझ व्यापक रूपमा चिनाउन सञ्चार क्षेत्रले पनि भूमिका निर्वाह गर्न थालेको छ। फ्लाइङ फिदर फिल्म्स प्रोडक्सनले निर्माण गरेको वृत्तचित्रले सिंजाको इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यलाई आकर्षक ढङ्गले प्रस्तुत गरेको छ। निर्देशक तथा लेखक शैलेश हमाल, अनुसन्धानकर्ता हमाल, ड्रोन पाइलट उबजन युके र सम्पादक सुमन कुमार शाहीको टोलीले तयार पारेको उक्त वृत्तचित्रले देश–विदेशका दर्शकमाझ सिंजाको परिचय विस्तार गर्न सहयोग पुर्याएको छ।
यति धेरै सम्भावना हुँदाहुँदै पनि सिंजा अझै पर्याप्त पूर्वाधार र संरक्षणबाट वञ्चित छ। ऐतिहासिक सम्पदाको वैज्ञानिक संरक्षण, पुरातात्त्विक उत्खनन, शिलालेखको अभिलेखीकरण र पर्यटकीय पूर्वाधार निर्माणमा सरकारी लगानी आवश्यक देखिन्छ। साथै, खस भाषा, संस्कृति र इतिहासको अध्ययनका लागि विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग सहकार्य गरी अध्ययन केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता पनि बढ्दै गएको सिंजा गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए।
सिंजा जुम्लाको सम्पत्ति मात्र नभई सिङ्गो नेपाल र नेपाली भाषी समुदायको साझा गौरव हो। नेपाली भाषाको मुहान, खस सभ्यताको केन्द्र र राष्ट्रिय पहिचानको आधारभूमिका रूपमा रहेको यस क्षेत्रलाई संरक्षण गर्नु आजको आवश्यकता मात्र होइन, भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो। यदि सिंजाको इतिहास, भाषा र सभ्यतालाई जोगाउन सकेनौँ भने भविष्यले हाम्रो पहिचानको एउटा महत्वपूर्ण अध्याय गुमाउनेछ। त्यसैले सिंजाको संरक्षण अब विकल्प होइन, राष्ट्रिय दायित्व बनेको छ।















