आईतवार, १४ असार, २०८३

पढाइ मेलाबाट शैक्षिक रूपान्तरणको सन्देश : शिक्षा, सिर्जना र प्रतिस्पर्धाको नयाँ अध्याय

पढाइ मेला आयोजना गरि हिमा गाउँपालिकाले शिक्षा कक्षाकोठामा सीमित नराखि सिर्जना, विज्ञान, संस्कृति, प्रतिस्पर्धा, नेतृत्व र सामाजिक उत्तरदायित्वसँग जोडेर नयाँ पुस्तालाई भविष्यका लागि तयार पार्ने अभियान अघि बढाइरहेको सन्देश दिन सकेको छ।

हिमा गाउँपालिकाको ऐतिहासिक तथा शैक्षिक धरोहरका रूपमा परिचित कालिका माध्यमिक विद्यालय, तलिकुडुको प्राङ्गण शुक्रबार बिहान ११ बजेदेखि उत्सवमय बनेको थियो। बाजागाजा, फूलमाला र अविरसहित अतिथिहरूको भव्य स्वागतसँगै सुरु भएको चौथो पढाइ मेला औपचारिक कार्यक्रममा सीमित रहेन।

पढाइ मेला हिमाको समग्र शैक्षिक रूपान्तरणको साझा अभियानका रूपमा स्थापित भयो। दुई दिनसम्म सञ्चालन हुने मेलाको पहिलो दिन हिमा गाउँपालिकाभित्रका १९ वटै सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रह्यो।

विद्यालय प्राङ्गण विद्यार्थीका सिर्जनात्मक गतिविधि, विज्ञान प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, देउडा, गीत, हाजिरीजवाफ प्रतियोगिता तथा शैक्षिक प्रदर्शनीले भरिभराउ बने। मेलाको उद्घाटन गर्दै समाजसेवी तथा नेपाली कांग्रेसका नेता दिप बहादुर शाहीले यो मेला हिमाको शैक्षिक इतिहासमा एउटा नयाँ इँटा थप्ने अभियान भएको बताए।

उनले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै हिमा गाउँपालिकाले सञ्चालन गरिरहेको पढाइ मेलाले विद्यार्थीमा आत्मविश्वास, प्रतिस्पर्धा र सिर्जनशीलता विकास गर्ने विश्वास व्यक्त गरे।

‘स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य अझ बलियो भए हिमाले शिक्षा क्षेत्रमा कर्णालीकै नमुना बन्न सक्छ,’ उनले भने।

हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले वर्षभरिका शैक्षिक गतिविधिको समीक्षा, आत्ममूल्याङ्कन र आगामी कार्यदिशा तय गर्ने साझा मञ्चका रूपमा पनि पढाइ मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले भने, ‘यो पढाइ मेलाले हिमाको समग्र शैक्षिक रूपान्तरणमा एउटा इँटा थप्नेछ। विद्यालय, विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, विद्यार्थीमा सिर्जनशीलता र उत्कृष्ट बन्ने प्रेरणा जगाउने उद्देश्यले हामीले पढाइ मेलालाई निरन्तरता दिएका छौँ।’

उद्घाटन समारोहमा अध्यक्ष शाहीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक डिल्ली प्रसाद आचार्य, अध्यक्ष केवलबहादुर शाही, शिक्षक, अभिभावक, विद्यार्थी तथा व्यवस्थापनमा खटिएका सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै हिमा गाउँपालिकाले शिक्षालाई विकासको पहिलो प्राथमिकतामा राखेको बताए।

उनले स्थानीय सरकार पूर्वाधार निर्माण गर्ने निकाय नभई नागरिकका वास्तविक समस्याको समाधान गर्ने जिम्मेवार सरकार भएको उल्लेख गर्दै आफूबाट बोली, व्यवहार वा कार्यसम्पादनका क्रममा कुनै कमजोरी भएको भए सार्वजनिक रूपमा क्षमायाचना पनि गरे।

उनले भने, ‘हामी जनताको घरदैलोको सरकार हौँ। हामीबाट गल्ती भएको छ भने म स्थानीय सरकारको प्रमुखका हैसियतले क्षमा माग्न चाहन्छु। आगामी दिनमा अझ परिष्कृत भएर जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

अध्यक्ष शाहीले आफ्नो निर्वाचन घोषणापत्रअनुसार शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै हिमा गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे।

उनका अनुसार गाउँपालिकाले कुल विकास बजेटको ४३.३७ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरेको छ, विद्यालयबाहिर रहेका शतप्रतिशत बालबालिकालाई विद्यालयमा भर्ना गरिसकेको छ।

साविक कर्णाली अञ्चलकै पहिलो साक्षर गाउँपालिका बनेको छ, नेपालकै दोस्रो बालविवाहमुक्त गाउँपालिकाको पहिचान बनाएको छ तथा पहाडी र हिमाली जिल्लामध्ये एक घर–एक धारा कार्यक्रममार्फत १६६८ घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने पहिलो गाउँपालिका बनेको छ।

उनले हाजिरीजवाफ, राष्ट्रपति रनिङशिल्ड, एसईई नतिजा, कक्षा ८ को परीक्षा लगायत विभिन्न क्षेत्रमा हिमाका विद्यालयहरूले प्राप्त गरेका सफलताले शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल देखिएको बताए।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अमरजंग शाहीले पढाइ मेलालाई केवल प्रतियोगिता नभई सामाजिक जागरणको अभियानका रूपमा लिनुपर्ने बताए।

उनका अनुसार शिक्षा, संस्कार, संस्कृति र विज्ञानलाई एउटै मञ्चमा जोड्ने यस्तो कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञानतर्फ उन्मुख गराउनेछ।

गाउँपालिकाका उपाध्यक्ष सुर्पुना शाहीले गुणस्तरीय शिक्षा बिना समृद्ध हिमाको परिकल्पना सम्भव नरहेको बताउँदै स्थानीय सरकारले आगामी दिनमा पनि विद्यार्थीमैत्री कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन्।

प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुसालले शिक्षामा गरिएको लगानीलाई नतिजामुखी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाले गुणस्तर वृद्धि हुने उल्लेख गर्दै पढाइ मेला त्यसैको अभ्यास भएको बताए।

गाउँपालिकाका शिक्षा विभाग प्रमुख तथा वडा नम्बर ४ का अध्यक्ष जग्ग रोकायाले पहिलो पढाइ मेलादेखि चौथोसम्म आइपुग्दा कार्यक्रमले व्यापक विस्तार पाएको बताए।

उनका अनुसार पढाइ मेला केवल पुरस्कार जित्ने प्रतियोगिता नभई शिक्षक, विद्यार्थी र अभिभावकबीच सिकाइ अनुभव आदानप्रदान गर्ने साझा थलो बनेको छ।

कार्यक्रमस्थल कालिका माध्यमिक विद्यालय, तलिकुडुका प्रधानाध्यापक डिल्ली प्रसाद आचार्यले चौथो पढाइ मेला आयोजना गर्ने अवसर पाउनु विद्यालयका लागि गौरवको विषय भएको बताए।

उनले विद्यालय परिवारले रातदिन खटेर कार्यक्रमको व्यवस्थापन गरेको उल्लेख गर्दै यस्तो अवसरले विद्यालयको पहिचान थप उचो बनाएको बताए।

गाउँपालिकाका कर्मचारी लोकप्रसाद उपाध्यायले पढाइ मेलाले विद्यार्थीको प्रतिभा पहिचान र सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका कर्मचारी नर्सिङ थापाका अनुसार पहिलो दिन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा विद्यालयहरूबीच उत्साहजनक प्रतिस्पर्धा देखिएको उनले जानकारी दिए।

मेलामा विद्यार्थीहरूले आकर्षक विज्ञान प्रदर्शनीमार्फत स्थानीय स्रोतसाधन प्रयोग गरेर तयार गरिएका वैज्ञानिक सामग्री प्रस्तुत गरेका थिए। कतै सौर्य ऊर्जाका नमुना, कतै कृषि तथा वातावरणसँग सम्बन्धित सामग्री, कतै जल संरक्षणका अवधारणा र कतै प्रविधिमा आधारित सिर्जनात्मक नमुनाले दर्शकको ध्यान खिचेका थिए।

सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले गीत, देउडा, नृत्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत हिमाको मौलिक पहिचान झल्काएका थिए। विद्यालय विद्यालयबाट आएका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दा कार्यक्रमस्थल बारम्बार तालीले गुञ्जिएको थियो।

नेत्रज्योति प्राविधिक माध्यमिक विद्यालय, ओदीका कक्षा १० का विद्यार्थी अकेश रोकायाले पढाइ मेलाले आफूहरूलाई किताबको ज्ञानसँगै व्यवहारिक सिकाइको अवसर दिएको बताए।

उनले भने, ‘हामीले अन्य विद्यालयका साथीहरूसँग सिक्ने, प्रतिस्पर्धा गर्ने र आफ्ना प्रतिभा देखाउने अवसर पाएका छौँ। यस्तो कार्यक्रमले पढाइप्रति अझ उत्साह बढाएको छ।’

उद्घाटन समारोहमा अध्यक्ष शाहीले आफ्नो कार्यकालमा गाउँपालिकाभित्रका अधिकांश विद्यालयमा भवन, शौचालय, खानेपानी, घेराबारा, खेलमैदान, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, फर्निचर, सडक, कोचिङ कक्षा लगायतका पूर्वाधार तथा शैक्षिक कार्यक्रम सञ्चालन गरिएको विस्तृत विवरण प्रस्तुत गरे।

उनले कालिका माविदेखि अन्नपूर्ण मावि, भानु मावि, नेत्रज्योति प्राविधिक मावि, कैलाश आवि, महादेव आधारभूत विद्यालय, लक्ष्मी देवल आवि, कालिका आवि देवारगाउँ, राहदेव मावि मोफ्ला, बाँजागाड, जोगिबाडा, ओदी, कोइरेली लगायतका विद्यालयमा सम्पन्न भएका विकास निर्माणका कामहरू सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा समान विकास गर्ने नीति अपनाइएको स्पष्ट पारे।

उनले अभिभावकलाई पनि आफ्ना बालबालिकाको पढाइप्रति जिम्मेवार बन्न आग्रह गर्दै शिक्षक, विद्यालय व्यवस्थापन समिति, समुदाय र स्थानीय सरकारबीचको सहकार्यबाट मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने बताए।

कार्यक्रमभरि विद्यालयका स्टलहरू अवलोकन गर्न आउने अभिभावक, विद्यार्थी तथा अतिथिको भीड देखिन्थ्यो। विज्ञानदेखि संस्कृति र खेलकुदसम्मका विविध गतिविधिले कार्यक्रमलाई जीवन्त बनाएको थियो।

चौथो पढाइ मेलाको पहिलो दिन उद्घाटन, शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, हाजिरीजवाफ प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, देउडा तथा सिर्जनात्मक गतिविधिसँगै सम्पन्न भएको छ।

दोस्रो दिन असार १४ गते विभिन्न विधाका अन्तिम प्रतिस्पर्धा, पुरस्कार वितरण तथा समापन समारोह आयोजना गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए।

पहिलो दिनका गतिविधिबाट हिमाले शिक्षा कक्षाकोठामा सीमित नराखि सिर्जना, विज्ञान, संस्कृति, प्रतिस्पर्धा, नेतृत्व र सामाजिक उत्तरदायित्वसँग जोडेर नयाँ पुस्तालाई भविष्यका लागि तयार पार्ने अभियान अघि बढाइरहेको सन्देश दिन सकेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार