अब म बुझ्न थालेकी छु, सायद भाइ नभएकोले म अधूरी छैन। म आफ्नै बाटोमा बलियो छु। म आफ्नै परिवारको सहारा बन्न सक्छु। म आफ्नै जीवनकी नायिका बन्न सक्छु।
म २१औँ शताब्दीकी छोरी हुँ। समानताको आवाज मेरो हृदयमा गुञ्जन्छ, छोरा र छोरी बराबर। सानैदेखि यो कुरा मैले आमा, बुबा, शिक्षक, अनि समाजका सचेत वर्गहरूबाट सिकेकी छु। म आत्मनिर्भर छु, सक्षम छु, अनि गर्वका साथ भन्छु, मलाई कसैको भर छैन। म आफ्नो बाटो आफै बनाउँछु, आफ्ना सपना आफै बुन्छु र मलाई थाहा छ, छोरी भएर पनि संसार जित्न सकिन्छ।
तर पनि कहिलेकाहीँ मनले आफ्नै बाटो खोज्छ। कहिलेकाहीँ आधुनिकताको आवरणमुनि लुकेको एउटा पुरानो चाहना फेरि जाग्छ र त्यो बेला मन हौसिएर भन्छ, एउटा भाइ चाहिँ हुनु पर्दोरहेछ।
तिहार नजिकिँदैछ। बजारमा रङ्गीन फूल, दियोका थुप्रा, मिठाइको गन्ध, घरमा सरसफाइ, बत्ती टाँस्ने हतारो र उत्सवको तयारी भइरहेको छ। तर त्यो रौनकताकाबीच पनि मन कताकता खाली रहन्छ।
भाइटीकाको बिहान सबै घरमा रमाइलो, टीका, माला, हाँसोमा म पनि हाँस्ने प्रयास गर्छु तर मनभित्र कुनै ठाउँ चस्स हुन्छ। सामाजिक सञ्जाल खोल्छु। दिदी–भाइका फोटोहरू, भिडियोहरू, माला र मिठाइका दृश्यहरू अगाडि देखिन्छन्।
मुस्कुराउने कोसिस गर्छु तर मन र यथार्थलाई ढाट्न कसरी सक्छु? मनभित्र एक प्रश्न उब्जन्छ, मेरो भाइ किन छैन?
उत्तरमा रिस उठ्दैन तर मन चस्स हुन्छ किनभने भावनाले तर्क बुझ्दैन। विधाताले जे दिएको छैन, त्यो मागेर पनि त पाइँदैन। नपाएको कुराको कमी त महसुस हुन्छ नै, जुन मलाई महसुस भइरहेको छ। सायद यही कारणले दीपको उज्यालोमा मेरो आँखा रसाउँछन्।
भाइ हुनु केवल नाताको नाम होइन। त्यो सुरक्षा हो, त्यो भरोसा हो, त्यो आत्मीयता हो। दिदीका आँखामा भाइ भविष्यको सहारा हो, भाइका आँखामा दिदी प्रेरणा र माया हो। भाइ नभए पनि म बुझ्छु, जीवनमा त्यस्ता मानिसहरू पनि हुन्छन्।
जसले विभिन्न नाताको स्थान लिन सक्छन्; साथी, काका, बुबा वा आमाजस्तै आत्मीय स्थानहरू। तर त्यो सम्बन्धलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सजिलो हुँदैन। एउटी दिदीको नजरबाट भाइ हुनुको अनुभूति नै छुट्टै हुन्छ।
एकै घरमा हुर्किएको, सँगै खेलेको, सँगै झगडा गरेको र हाँसो बाँडिएको त्यो सम्बन्धले एउटा न्यानो अपनत्व दिन्छ, जसको विकल्प अरू कुनै सम्बन्धले दिन सक्दैन।
कहिलेकाहीँ म कल्पना गर्छु, यदि मेरो भाइ हुन्थ्यो भने कस्तो हुन्थ्यो होला? सायद म उसको गृहकार्य गरिदिँन्थें, उसलाई हरेक गल्तीमा सम्हाल्थें, उसको सफलतामा गर्व गर्थें। र तिहारको दिन उसको निधारमा टीका लगाएर भन्थें, दीर्घायु होस् तेरो जीवन।
त्यो क्षणको न्यानोपन केवल कल्पनामा मात्र सिमित छ। त्यो कल्पनाले पनि मनमा मिठो अनुभूति ल्याउँछ। त्यो नपाएको सम्बन्धको आभास कहिल्यै हराउँदैन। बरु हरेक वर्ष तिहारको उज्यालोमा अझ स्पष्ट हुन्छ।
मान्छेहरू भन्छन्, भावनामा धेरै नअड्किनू, व्यवहारिक बन्नू। तर के भावना दबाउन सकिन्छ र? के सबै कुरा तर्कले चल्छ? के भावना तर्कभन्दा बलियो हुँदैन र? व्यवहारिकताका परिभाषा व्यक्ति अनुसार फरक–फरक हुन्छन्। यहाँ कुनै नियम छैन।
२१औँ शताब्दीकी छोरी भएर पनि म आखिर भावना र मायाले बनेकी मान्छे नै त हुँ। मैले देखेकी छु, भाइटीकाको दिनमा दिदीहरूले भाइको दीर्घायुको कामना गर्छन्। भाइहरूले दिदीको मायालाई गर्वका साथ अँगाल्छन्। त्यो दिन केवल दियो र मिठाइको उत्सव होइन, त्यो भावनाको उत्सव हो, त्यो सम्झनाको उत्सव हो। हामी परिवारका सदस्यहरू केवल रगतले होइन, मायाले पनि जोडिएका हुन्छौं।
म बुझ्छु भाइ हुनु भाग्यको कुरा हो। तर नहुनुमा अपराधबोध राख्नु पर्दैन। जीवनमा भएका सम्बन्धको कदर गर्नु नै साँचो तिहारको आत्मा हो। तर मन त हो नि, कहिलेकाहीँ त्यसले कारण खोज्दैन। भावनाको महासागरमा डुबेर बस्छ र त्यो बेला एउटा वाक्य मेरो मानसपटलमा आउँछ। एउटा भाइ चाहिँ हुनु पर्दोरहेछ।
तर अब म बुझ्न थालेकी छु, सायद भाइ नभएकोले म अधूरी छैन। म आफ्नै बाटोमा बलियो छु। म आफ्नै परिवारको सहारा बन्न सक्छु। म आफ्नै जीवनकी नायिका बन्न सक्छु। तर त्यो चाहना, त्यो मानवीय संवेदना, त्यो त मेरो अस्तित्वकै एक भाग हो। म आधुनिक युगकी छोरी हुँ। म भावनाविहीन मेसिन होइन। ममा पनि सम्झना, इच्छा र अपूर्णता छन्। त्यसले नै त मलाई मानव बनाउँछ।
अब तिहार आउँदा म रुन छोडेकी छु। दीपको उज्यालोमा कहिलेकाहीँ मन भारी भएर सोच्न थाल्छ, यदि भाइ हुन्थ्यो भने म कस्तो दिदी हुन्थें होला? सायद धेरै सम्झाउँथें, झगडा पनि गर्थें, अन्त्यमा उसको हात समाएर गर्वका साथ भन्थें, मेरो एउटा भाइ छ।
त्यसैले आज म भन्छु, हो, म आधुनिक युगकी छोरी हुँ। बराबरीमा विश्वास राख्छु, आत्मनिर्भर छु। भावना भने मानवीय सम्पदा हो, त्यो सधैं रहिरहन्छ। जब तिहार आउँछ, दीपको उज्यालोमा मन फेरि भन्छ, एउटा भाइ चाहिँ हुनु पर्दोरहेछ।
अब यो वाक्यमा पीडा छैन। यो सम्झना पनि हो र स्वीकार पनि, किनकि अब म बुझ्छु भाइ नभए पनि म अधूरी होइन। मेरो प्रेम, मेरो मायालु हृदय र मेरो आत्मबलका कारण म पूर्ण छु। यो चाहना, यो न्यानो सपना, यो सायद सधैं मेरो मनको कुनामा उज्यालो बनेर रहिरहनेछ।















