मंगलवार, १३ माघ, २०८२

जुम्लामा भालुको आक्रमण बढ्दा सतर्कता अपनाउन वन कार्यालयको अनुरोध

हालै जुम्ला जिल्लामा हिमाली कालो भालुको आक्रमणका घटनाहरू बढ्दै गएपछि डिभिजन वन कार्यालय जुम्लाले नागरिकहरूलाई सचेत रहन अनुरोध गरेको छ।

कार्यालयका अनुसार भालुको प्रजनन ऋतु सामान्यतया असार र श्रावण महिनामा सुरु हुन्छ। तर जुम्लामा भदौ र असोज महिनामा आहारा प्रशस्त पाइने भएकाले यही समयमा भालु बढी सक्रिय हुने गरेको बताइएको छ।

यो समयमा किसानहरूले अन्नबाली भित्र्याउने र घाँस काट्ने काम गर्ने भएकाले मान्छे र भालुबीच जम्काभेट हुने सम्भावना बढी हुने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढथापाले बताए।

उनका अनुसार मानव–भालु द्वन्द्व रोक्न वन कार्यालयले जंगल, खेतबारी वा गोठालो जाँदा सधैं समूहमा जान आग्रह गरेको छ। बिहान र साँझ अँध्यारोमा अत्यावश्यक काम बाहेक जंगल नजान सुझाव दिएको छ।

“भालुसँग भेट भएमा नभाग्ने शान्त रहने र बिस्तारै टाढा हट्ने गर्नुपर्छ,” उनले भने, “आक्रमणको संकेत देखिएमा ठूलो आवाज गर्ने वा आफूलाई ठूलो देखाउने प्रयास गर्ने गर्नुपर्छ।”

कार्यालयका अनुसार आक्रमण हुन थालेमा झाडी वा ढुंगाको पछाडि लुक्न र भालु नजिक आएमा पेटतर्फ पल्टेर टाउको र घाँटी जोगाउन सिफारिस गरिएको छ।

वनमा जाँदा लठ्ठी, टर्चलाइट, सिठ्ठी वा प्राथमिक उपचार सामग्री साथमा राख्नुपर्ने वन अधिकृत तजेन्द्र रावलको भनाइ छ। उनका अनुसार सकेसम्म भालु प्रतिरोधक स्प्रे साथमा राख्ने र यसको प्रयोग विधि सिक्न पनि आवश्यक छ।

घाइते भएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि जान र प्रहरी वा वन कार्यालयलाई जानकारी गराउन कार्यालयले आग्रह गरेको छ।

भालुको आक्रमणबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै डिभिजन वन कार्यालयले कानुनअनुसार राहतका लागि समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार