यतिबेला सामाजिक सञ्जालमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको माग गर्दै अरेस्ट केपी ओली ह्यासट्याग अभियान सुरू भएको छ।
ओलीलाई जेन-जी आन्दोलनपछि सत्ताबाट हटाइएको थियो। जेन-जी अगुवाहरुले सामाजिक सञ्जालमा पोस्टरहरू बनाएका छन्। त्यसमा ओली र लेखकलाई “हत्यारा”को संज्ञा दिँदै तत्काल गिरफ्तारीको माग गरिएको छ। सामाजिक सञ्जालमा प्रचारित पोस्टरहरूमा भनिएको छ, “हत्याराहरूलाई गिरफ्तार गर, नत्र हामी कारबाही गर्न बाध्य हुनेछौं।”
हामी नेपालका संयोजक सुदन गुरुङले पनि यही पोस्टर सामाजिक सञ्जालमा साझा गर्दै ओली र लेखकलाई गिरफ्तारी गर्न सरकारलाई आग्रह गरेका छन्। उनले गिरफ्तारीको दबाबका लागि ट्रेन्डिङ अभियान चलाउन आह्वान गरेका छन्। जेन–जी आन्दोलनको दमनको जिम्मेवारी ओली लगायतका व्यक्तिहरूको भएको दाबी उनले गरेका छन्। जेन–जी आन्दोलनका क्रममा नेपालभर ७५ जनाले ज्यान गुमाएका थिए।
२३ भदौको प्रहरी दमनमा १९ जना मारिए पछि पनि तत्कालीन प्रधानमन्त्री ओलीले सत्ता छोड्न आनाकानी गरेका थिए। भोलिपल्ट ओलीलाई सेनाको हेलिकप्टरमा सुरक्षित स्थान लगिएको थियो। त्यसको केहीबेरअघि उनलाई राजीनामा दिन बाध्य पारिएको थियो।
जेन-जी प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास, राष्ट्रपति भवन र विभिन्न नेताहरूको घरमा व्यापक तोडफोड र आगजनी भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई प्रदर्शनकारीले कुटपिट गरेका थिए।














