अभावको वितृष्णाले गुज्रिएको मेरो देश
यतिबेला एक शोकमा छ
खुसीका बाछिटाले नछोएको मेरो देश
मेरो देशलाई त यतिबेला, रगतले छोएको छ।
पीडाले, रोदनले र
अशान्तिले मज्जाले छोएको छ।
शान्तिको प्रतिकले परिचित मेरो देश
अशान्तिको ठूलो भुमरीमा खसेको छ
मेरो देशले दशैंमा उमंगले छरिने रङ्ग
निर्दोष कोपिलाको रगतको रङ्गले
रंगिएको छ।
मेरो देश यतिबेला शोकमा छ।
आमाले छोरालाई पर्खिदा पर्खिदै
आमाको मुहारमा चाउरी परिसक्यो
आँगनीमा दशैंको लहर आउँदा
काँधमा जिम्मेवारीको कहरले छोरा
फर्केन यो पाली पनि
फेरि दशैं कसलाई आयो?
देश परिवर्तन गर्न हुमिएको छोराले
छातीमा गोली खायो
न बा, न आमा भन्न पायो
के उनका बाआमाको आँसुले न्याय पाउला र?
के उनका बाआमाले दशैं मनाउलान्?
म आस गरिरहेछु
म भरोसामा बाँचिरहेछु
एकदिन यो देशले पनि
हर्ष उल्लासको दशैं मनाउनेछ।
म पर्खिरहनेछु।
के मनाउने र दशैं?















