सोमबार, ९ भाद्र, २०८२

निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने सरकारको निर्णय विरुद्ध डा. केसी

चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीले मेडिकल शिक्षा आयोगले निजी मेडिकल तथा डेन्टल कलेजमा भर्ना सिट वृद्धि गर्ने हालैको निर्णयको विरोध जनाएका छन्। उनले सो कदमले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष असर गर्ने भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले मेडिकल शिक्षा जस्तो संवेदनशील क्षेत्रमा नाफामुखी उद्देश्यले गरिएको निर्णय आम नेपालीको स्वास्थ्यसँग खेलबाड भएको टिप्पणी गरे।

“त्रिवि शिक्षण अस्पतालले समेत पूर्वाधार अभावमा १०० जना विद्यार्थी पढाउन हिच्किचाइरहेको बेला कमजोर पूर्वाधार भएका निजी कलेजलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण हो,” विज्ञप्तिमा उल्लेख छ।

उनले सुदूरपश्चिममा सरकारले स्थापना गरेको मेडिकल कलेज पाँच वर्षपछि पनि सञ्चालनमा ल्याउन नसकेको र बजेट रोकेर निजी मेडिकल कलेजलाई प्राथमिकता दिइएको आरोप समेत लगाए। त्यस क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डजस्ता शीर्ष नेताले माफियाको स्वार्थमा काम गरेको आरोप लगाएका छन्।

डा. केसीले आयोगका पदाधिकारीहरू माफियाको स्वार्थ पूर्तिमा लागिपरेको भन्दै सेवामूलक हुनुपर्ने क्षेत्रमा नग्न मुनाफाखोरी प्रोत्साहित गरेको टिप्पणी गरे। साथै आवासीय चिकित्सकको श्रम शोषण रोक्न र भत्ता सरकारले दिने बराबर गर्नुपर्ने माग राखे।

उनले सरकार र आयोगलाई एक साताभित्र सिट वृद्धि र शुल्क वृद्धिसम्बन्धी निर्णय खारेज गर्न चेतावनी दिँदै माग सम्बोधन नभए सत्याग्रहसहित आन्दोलनमा जाने घोषणा गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार