सोमबार, ९ भाद्र, २०८२

सबै क्षेत्रमा मन्दी, बैंकको नाफामा कसरी भयो अर्बौंको बढोत्तरी ?

बजार डामाडोल छ । व्यापारीहरू ‘रुनु न हाँस्नु’ को अवस्थामा छन् । सबै क्षेत्र घाटामा गइरहँदा बैंक एक्लै नाफामा जान्छ ? सरकारले सस्तो ब्याजमा २९ खर्ब ४२ अर्ब ऋण लियो । अहिले सबै मुलुकले नेपाललाई दिएको ऋणको ब्याज बढाएको छ । जनताबाट उठेको राजश्व ऋणको किस्ता तिर्नमै ठिक्क हुन्छ ।

बैंकहरूले हालै आफ्नो नाफाको विवरण सार्वजनिक गरेका छन् । सरकारी र निजी बैंकले अर्बौं रुपैयाँ नाफा कमाएको विवरणमा उल्लेख छ । प्रश्न उठ्छः यत्रो नाफा कमाएको भए, बचतकर्ताको व्याजदर किन बढाइएन ? बचतकर्ताले जम्मा दुईदेखि चार प्रतिशत व्याज पाइरहेका छन् ।

अर्कोतिर, बैंकहरूले शेयर होल्डरहरूलाई बोनस पनि दिएको छैन, किन ? एकातिर नाफा छ भन्ने, अर्कोतिर कर्मचारीलाई तलब नै नदिने प्रवृत्ति मौलाएको छ । बैंकले कुन क्षेत्रमा कर्जा लगानी गरेर यत्रो नाफा कमायो ? यो अर्को महत्वपूर्ण प्रश्न हो । घरजग्गाको मूल्य स्वाट्टै घटेको छ ।

गाडीको किनबेच पानी बराबर छ । शेयरको मूल्य निरन्तर घटिरहेको छ । सुन पसलमा मन्दी छाएको छ । व्यापारीहरूले पसल खोल्नु मात्र भएको गुनासो पोख्छन् । अनि कुन क्षेत्रमा बैंकले लगानी गर्यो र अर्बौं नाफा कमायो ? बैंकको नाफा शंकास्पद देखिन्छ । अर्कोतर्फ, बैंकको लिलामीका सूचनाहरू पत्रिकामा छ्याप्छ्याप्ती आइरहेका छन् ।

प्रायःजसो पत्रिकामा पेजको पेज धितो लिलामका सूचनाहरू देख्न सकिन्छ । यो पछिल्लो समय झन् बढेको हो । ‘भैंसी किन्दा पाँडो सित्तैमा’ को अवस्था हुँदापनि बजार लयमा फर्किन सकेको छैन । पाँच वर्षअघि जग्गा नआउने रकममा अहिले जग्गासहित घर पनि आउँछ ।

तर, किन्ने मान्छे छैनन् । शेयरमा लगानी गर्नेहरूले पानीसमेत भन्न पाएका छैनन् । शेयरको मूल्य लगातार ओरालो लाग्दा शेयर लगानीकर्ताहरू समस्यामा परेका छन् । निजी प्लेटको सवारीको त झन् कुरै नगरौं । ऋण लिएर गाडी किनेकाहरूलाई त्यो गाडी ‘निल्नु न ओकाल्नु’ भएको छ ।

बाटोमा हिँड्दा जतासुकै देखिन्छ–घरजग्गा बिक्रीमा । कोठा–सटर पनि त्यत्तिकै खाली छ । गाडी बेच्नका लागि रिकण्डिसन धाउनेहरू अत्यधिक छन् । पछिल्लो मौद्रिक नीति आउनुअघि शेयरको मूल्य २५ सय थियो । मौद्रिक नीतिपछि केही समय शेयरको मूल्य बढ्यो ।

तर, शेयर लगानीकर्ताहरूको खुशी धेरै बेर टिक्न पाएन । किनकि, तीन हजार पुगेको शेयर अहिले पुनः २५ सयमै झरेको छ । ४२ सय पुग्छ भन्नेहरू अहिले निच्च परेर बसेका छन् । २०८८ सालभित्र इन्धनबाट सञ्चालित गाडीहरू देशभरबाट विस्थापित गर्ने कानुन सरकारले २०७८ सालमै बनाएको हो । जुन राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

आगामी ६ वर्षपछि इन्धनबाट चल्ने गाडी विस्थापित हुनैपर्छ । अब इन्धनबाट चल्ने गाडी गुन्द्रुकको भाउमा आउने निश्चित छ । २०८१ मंसिर २८ गतेको क्याबिनेटको बैठकले घरको नक्सा पासको पुरानो मापदण्ड खारेज गरेर नयाँ जारी गरेको छ । २०६४ खारेज गरेर २०८१ कार्यान्वयनमा ल्याइएको छ ।

यस मापदण्डअनुसार अब तीनपट्टी जोडेर घर बनाउन नपाउने, विद्युतीय हाइटेन्सन लाइनबाट १४ मीटर छोडेर मात्र घर बनाउनुपर्ने, बाटोका लागि १४ मीटर जग्गा छोड्नुपर्ने छ । उपत्यकाभित्र होस् या बाहिर, एकदेखि तीन आनामा घर बनेको छ । ती घर भत्किसकेपछि त्यहाँ अर्को घर बनाउन पाइँदैन ।

किनकि त्यहाँ नक्सा पास नै हुँदैन । घरधनीसँग दुईटै विकल्प बाँकी रहन्छ–कि जग्गा माया मार्ने कि थप्ने । सरकारले जग्गाको वर्गीकरण गर्न कदम चालिसकेको छ । अब खेतीयोग्य जमिनमा कुनै पनि भौतिक संरचना बनाउन पाइँदैन । विवादास्पद भूमि विधेयक अहिले कृषि समितिमा छ ।

समितिका सदस्यहरूले तालपोखरी, सार्वजनिक, सरकारी, ऐलानी, हदबन्दीभन्दा बढीलगायतका जग्गा सरकारकै नाममा फिर्ता ल्याउनुपर्ने भनी आवाज उठाइरहेका छन् । नाइमाले साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा अटो प्रदर्शनी राखेको थियो । जुन ‘फ्लप’ खाइसकेको छ ।

नाडाले भदौ ३ देखि ८ गतेसम्म प्रदर्शनी राखेका छन् । सर्वसाधारण हेर्न पुगेका छन् तर किन्ने छैनन् । बिहान–बेलुका छाक टार्ने पैसा छैन, गाडी कसले किन्ने ? छिमेकी देशमा दुई लाखमा आउने गाडी यहाँ ल्याएर लाखौंमा बेचिन्छ । त्यो गाडी यातायात कार्यालयमा दर्ता हुनेबित्तिकै सेकेन्ड ह्याण्ड हुन्छ ।

किनेको भन्दा आधा मूल्यमा आउँछ । गाडीमा लगानी जोखिमपूर्ण छ भन्ने धेरैले बुझिसकेका छन् । नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष चन्द्र ढकालले ताप्लेजुङको फुङलिङ नगरपालिकामा सात लाखमा खरिद गरेको जग्गा बैंकमा धितो राखेर २८ करोड निकालेका छन् ।

भाटभटेनी साहु मिनबहादुर गुरुङले ३१ वटा भाटभटेनी धितो राखेर अर्बौं रुपैयाँ निकालेका छन् । ऊर्जामन्त्री दीपक खड्काले केही घरजग्गा धितो राखेर बैंकबाट १४ अर्ब रुपैयाँ कर्जा लिएका छन् । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घरजग्गा धितो राखेर ११ अर्ब ऋण लिएका छन् ।

निवर्तमान सांसद महेश बस्नेतले पनि घरजग्गा नै धितो राखेर सात अर्ब ऋण लिएको बताइन्छ । बैंकले लालीगुराँस, गौतम, शिवशिखर, देउराली, कान्तिपुरलगायत दर्जनौं सहकारी र लघुवित्तलाई अर्बौं रुपैयाँ लगानी गरेको पाइएको छ । अहिले यी सहकारी डुबेर सञ्चालकहरू जेल पुगेका छन् ।

सहकारी बन्द भइसकेको छ । सहकारी र लघुवित्तमाथिको लगानी उठाउन बैंकले कुनै हालतमा उठाउन सक्दैन । कोबाट उठाउने ? सञ्चालक नै जेलमा छन् । बजारको पछिल्लो अवस्थाले बैंकको पूँजी डुबिसकेको देखिन्छ । धितो बेच्दा लाख रुपैयाँ आउँछ, ऋणीसँग करोडदेखि अर्ब रुपैयाँ लिन बाँकी छ ।

अब भनौं–बैंकको नाफा विवरणमा सत्यता छ ? कि त जनतालाई मुर्गा बनाउने खेल हो ? किनकि, सहकारीले हामी डुब्दैनौं भन्दाभन्दै करोडौं जनताको बिल्लीबाठ बनायो । घरबास नै खोसिदियो । त्यहीँ अवस्था कहीं बैंकले पनि बनाउने होइन ? बचतकर्ता अब सचेत हुन आवश्यक छ ।

सहकारीबाट बचतकर्ताले पाठ सिकेर कदम चाल्नुपर्छ । बाहिर एउटा भनेपनि भित्री रहस्य अर्कै हुन सक्छ । बजार नउक्सिकन बैंक उक्सिँदैन । त्यसैले ‘दालमा केही कालो’ भन्ने प्रष्टै छ । बचतकर्ताहरू बैंकका कर्मचारीको मिठो बोलीवचनमा आउने होइन, बजारको अवस्था हेरेर निर्णय लिने हो ।

बजार डामाडोल छ । व्यापारीहरू ‘रुनु न हाँस्नु’ को अवस्थामा छन् । सबै क्षेत्र घाटामा गइरहँदा बैंक एक्लै नाफामा जान्छ ? सरकारले सस्तो ब्याजमा २९ खर्ब ४२ अर्ब ऋण लियो । अहिले सबै मुलुकले नेपाललाई दिएको ऋणको ब्याज बढाएको छ । जनताबाट उठेको राजश्व ऋणको किस्ता तिर्नमै ठिक्क हुन्छ ।

त्यसपछि सरकारी खर्च धान्न गाह्रो छ । त्यतिबेला सरकारसँग एउटै विकल्प मात्र बाँकी रहन्छ–बैंकमा भएको जनताको बचत चलाउने । अहिले नेपाल राष्ट्र बैंकले धमाधम बैंकबाट तरलता तानिरहेको छ । राजश्व छलेर, भ्रष्टाचार गरेर राखेको सम्पत्तिबाट व्यक्तिहरूले सुन किनिरहेका छन् ।

कोसँग कति सुन छ ? सरकारसँग डाटा छैन । सबै क्षेत्र घाटामा हुँदा दलालीले शेयरको मूल्य बढ्छ भनेर झुक्याइरहेका छन् । यता, बैंकले पनि नाफाको विवरण सार्वजनिक गरिरहेको छ । दलालीको काम नै अरूलाई फसाएर आफू उम्किने हो । त्यसैले सचेत बनाऔं । आफ्नो मेहेनतको कमाइ नडुबाऔं ।

बैंकमा ऋण लिने कोही छैनन् । बैंकलाई पुरानै ऋण उठाउन पनि हम्मेहम्मे परेको छ । लाखौं मान्छे ऋण तिर्न नसकेर कालोसूचीमा परेका छन् । अनि बैंकको नाफा कसरी बढ्यो ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार