सोमबार, ९ भाद्र, २०८२

कविता – मेरो सुन्दर कर्णाली

नेपाली खस भाषाको,बीजारोपण थलो
कला संस्कृतिको,विशाल राजधानी
बहुमुल्य जडिबुटीको भण्डार क्षेत्र
हिमालको सेतो पगरी टाउकोमा गुथेर
जङ्गलका हरिया फरिया धोती पहिरेर
विहेको वरवधु जस्तै सजिएको छ
मेरो सुन्दर कर्णाली

ढोरपाटन र सिस्ने हिमालले
पखेटा फिजाई वहने चिसो हावाको
शीतल छत्रछायामा लुकामारी खेल्दै
हिमालले सेता दन्तेलहर टल्काउँदै
पुर्णिमाको जुन जस्तै
झलमल्ल उज्यालो छर्दै
धानको बाला झुलेका खेतका गरासँग
मित्रताको साइनो गाँस्दै आफ्नो
गौरव गाथाको कहानी पस्किदै
सुख दु:खको भलाकुसारी गर्ने
मेरो सुन्दर कर्णाली ।

माथि अग्लिएर विश्वलाई
चिहाएर हेर्ने त्यो छार्का भोट
ताराप बस्ती, सिमीकोट
हिउँ र तुसारोसँग पौँठेजोरी
खेल्दै आफ्नो वीरताको
बखान गर्दै गुम्बा,मस्जिद, मन्दिरको
एक भाकलले जिन्दगीको सबै
मनोकामना पुरा हुने विश्वास राख्दै
मनमा सुनौला सपना सजाएको
मेरो सुन्दर कर्णाली ।

संसारको लामो नदी नाइल जस्तै
लम्बिएर अटुट बग्ने सप्तकर्णाली
अमेजन जस्तै कलकल बग्ने भेरी
वैकाल जस्तै गहिरिएको अटल
सुरम्य त्यो फोक्सुण्डो ताल
स्नो ट्राउटको नृत्य कलामा लिप्त हुँदै
सुपेरिएर जस्तै स्वच्छताको बयान गर्ने
मुगु रारा ताल एन्जेला जस्तै झर्ने
पचाल झरनाले आफ्नो शान
बढाउने प्रत्येकको प्राण जस्तै
मेरो सुन्दर कर्णाली ।

विश्वकै उच्च स्थानमा फल्ने
जुम्ली कालो मार्सी धान
चिनो,कागुनो,उवा, लट्टे, कोदो
फापर,जौ जस्ता अन्न बालीले
गराहरू इन्द्रेणी जस्तै रंगले सिगार्दै
खोले सिस्नु र आटो ढिडोको
मिठो स्वाद भर्ने उच्च स्वाभिमान बोकेको
मेरो सुन्दर कर्णाली ।

उकाली, ओराली, भञ्ज्याङ, चौतारीमा
वर पिपलको छहारीमुनि
दु:खका पसिना सुकाउदै
सुसली हाली दौँतरीलाई बोलाउने
झ्याउरे, टप्पा, ख्याली, पैसेरु, खुडो
र मयुर नाचको स्वर्गीय आनन्द लिदै
हात र पैतालको ताल मिलाउदै
कोहिली र जुरेलीको गीतको लयमा
नाच्दै रमाएको
मेरो सुन्दर कर्णाली ।

बाइसे चौबीसे राज्यदेखिको
पुरानो इतिहास बोकेको
जाजरकोट ऐतिहासिक दरबार
कर्णाली खस मष्टो
चन्दननाथ, देउती बज्यै
डिग्रे साहिकुमारी
खैरावाङ भगवती जस्ता अनेकौं
चर्चित धार्मिक स्थलको अपार
शक्तिको भरोसा राख्दै

कहिल्यै आगो ननिभ्ने
अनौठो र अद्भुत कला भएको
श्रीस्थान र नाभिस्थानको चम्किलो प्रकाश
धर्तीमा छर्दै विश्वलाई चकित पार्ने
जादुमय कला देखाउने
मेरो सुन्दर कर्णाली ।

धातु र बहुमुल्य पत्थर
अनेकौं जडिबुटीले भरिपूर्ण
आफ्नो मौलिक संस्कृति ,परम्परा
रितिरिवाज झल्काउदै मृग कस्तुरीको
सुगन्धमा मन्त्रमुग्ध हुँदै,

डाँफे मुनालको नाँचको तालमा
प्रकृतिसँग मित्रताको साइनो जोड्दै
लेकबेसी उकाली ओराली गर्दा
गोठालाहरू सँग मिठो स्वरमा गीत
गुनगुनाहट गर्दै स्वर्गीय आनन्द तुल्याउने
मेरो सुन्दर कर्णाली !!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार