स्थानीय यात्रुहरूले बाटोमा कहिलेकाहीँ होटलमा चामल, पीठो नहुन सक्छ वा होटलै बन्द हुन सक्छ भनेर चामल र पीठो बोकेरै हिँड्थे। हामीले पनि जुम्ली कालीमार्सी र रातो मार्सी चामल मुगु जाँदा प्रायः बोकेरै हिँड्थ्यौँ।
करिब २०६० साल मंसिर महिनातिरको कुरा हो। मुगु र जुम्लाको सिमानामा पर्ने घुच्चि लेक देउरालीदेखि जुम्लाको उत्तरतर्फ पर्ने डाँफे लेकसम्मको बाटोमा हिउँ नजमे पनि बाक्लो तुसारो जमेको देखिन्थ्यो। बाटोमा अत्यन्तै चिसो हुनुका साथै पैदल यात्रा कष्टकर पनि थियो। नेपालगन्ज, सुर्खेतदेखि जुम्ला सदरमुकाम खलङ्गासम्म त मोटरबाटो पुगेको थिएन, भने जुम्ला-मुगु मोटरबाटो सञ्चालन हुने कुरा त्यतिबेला कल्पनासमेत गर्न सकिँदैनथ्यो। त्यो समयदेखि अर्को १५ वर्षसम्म त यो कुरा कल्पनामै सीमित थियो।
जुम्ला, साविक चन्दननाथ गाविस (हाल चन्दननाथ नगरपालिका) स्थित बुढ्थापा गाउँका ज्ञानेन्द्र बहादुर बुढ्थापा (ज्ञानु) जी मलाई पटक-पटक भेट हुँदा प्रेरणा (Motivational ऊर्जा) जगाउने आत्मीय साथीहरूमध्ये एक हुनुहुन्छ।
उहाँसँग बाटोमा भेट भयो। उहाँसहित ७/८ जना साथीहरू तुसारो परेको बाटो छिचोल्दै हामी भुलभुले, चौथा, भाड, काभ्रा ओढार, न्याउरीगाड खोलाको सानो बजार हुँदै जुम्लाको साविक पट्मारा गाउँ विकास समितिको क्षेत्रमा पर्ने खालीमुनिको थारमारे होटलमा करिब दिउँसो २:०० बजेतिर पुगेका थियौँ। उहाँ जुम्ला पशुसेवा कार्यालयमा प्राविधिक सहायक (प्रा.स.) पदमा कार्यरत हुनुहुन्थ्यो।
यतिबेला पशुसेवा कार्यालय जुम्लामा जागिर भएकाले उहाँ कुनै फिल्ड कार्यालयमा पुगेर केही साथीहरूसहित जुम्ला सदरमुकाम घरतर्फ फर्किंदै हुनुहुन्थ्यो। म भने जिल्ला सरकारी वकिल कार्यालय मुगुमा नायब सुब्बाको पदमा करिब १० महिनाअघिदेखि कार्यरत थिएँ। यतिबेला म बिदामा थिएँ र केही साथीहरूसहित आफ्नो घर जुम्ला, चन्दननाथ नगरपालिका-१, तलिचौर जान मुगुको गमगढीबाट आउँदै थिएँ। समय अत्यन्तै चिसो थियो। तर, उकालोमा हिँडिरहेकाले ज्यान भने तातिरहेको थियो।
हामी एकछिनमा थारमारेस्थित होटलमा पुग्यौँ। त्यो ठाउँलाई डाब पनि भनिन्छ। डाब भनेको घरको ठूलो खेत वा पाटन र लेकमा रहेका ठूला चौरलाई बुझिन्छ। यो ठाउँमा साविक बुम्र माडीचौर गाविसका ३/४ जना मानिसले होटल सञ्चालन गरेका थिए। परिस्थितिवश मैले जिल्ला सरकारी वकिल कार्यालय मुगुमा खरिदार पदमा नियुक्ति पाएदेखि (२०५३ साल भदौदेखि) खालीमुनिको डाब, थारमारे भनिने ठाउँमा कुनै कठायतले होटल सञ्चालन गरिरहेका थिए।
कहिलेकाहीँ उनलाई जरुरी काम पर्दा वा अन्य मानिस नहुँदा मात्र होटल बन्द हुन्थ्यो, नत्र सधैँ खुला रहन्थ्यो। त्यस्तो अग्लो हिउँ पर्ने लेकमा एक्लै वा दुई जनाले होटल खोलेर बाटोमा हिँड्ने मानिसहरूलाई खाने-बस्ने व्यवस्था गर्नु सानो कुरा थिएन।
घरबाट बोकेर ल्याइएको चामल, कोदो, फापरको पीठो, जौँ, गहुँको पीठो, सिमीको दाल, नुन, खुर्सानी, आलु, चोतो/गान्टे (स्थानीय मूला), सिजनअनुसार फापर र रायोको साग, फूलकोभी, बन्दागोभी, लेकाली तिहुन, ढोकायो र ढाँडे बाख्राको सिन्की, भाङ्गोको अचार-चटनीसहित दाल-भात र मागेमा रोटीको परिकार खुवाउने गर्थे। कहिलेकाहीँ यो ठाउँ जंगलको बीचमा भएकाले जंगली सिकार पनि हुने गर्थ्यो। जंगलको बीचमा होटल सञ्चालन गर्नु आश्चर्यजनक र असान्दर्भिक थिएन।
मुगु गमगढी सदरमुकामका सरकारी कार्यालय, विभिन्न इलाका, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी, प्रहरी पोष्ट, हुलाक कार्यालयमा आधाजसो कर्मचारी जुम्लाकै हुन्थे। हुम्लामा जागिर खाने अधिकांश कर्मचारी पनि जुम्लाकै हुन्थे। यसको कारण जुम्लामा लोकसेवा आयोगको अञ्चल कार्यालय हुनु र भौगोलिक विकटताका कारण अन्य जिल्लाका उम्मेदवार कमै आउनु थियो। अन्य जिल्लाको तुलनामा जुम्लामा शैक्षिक जनशक्ति बढी भएकाले पनि जुम्लाका युवाले यस्ता अवसर प्राप्त गरेका थिए।
स्थानीय यात्रुहरूले बाटोमा कहिलेकाहीँ होटलमा चामल, पीठो नहुन सक्छ वा होटलै बन्द हुन सक्छ भनेर चामल र पीठो बोकेरै हिँड्थे। हामीले पनि जुम्ली कालीमार्सी र रातो मार्सी चामल मुगु जाँदा प्रायः बोकेरै हिँड्थ्यौँ। मार्सी चामलको भातमा सिमीको दाल, आलु र चोतोको ग्रेभी तरकारी, घिउ, भाङ्गोको चटनी र पहाडी माटोमा हुर्किएको साग खाँदा अहिले पनि मुखमा रस आउँछ।
म भावनामा बहकिँदै र त्यो लेक र होटलको कुरा गर्दागर्दै अलि टाढा पुगेँ, अस्वाभाविक नठान्नुहोला। यी कुराहरू प्रसङ्गवश जोडिएका हुन्।जब हामी त्यो हिउँदको समयमा ज्ञानेन्द्र बुढ्थापाजी सहित खाली भनिने ठाउँदेखि मुनिको डाब अर्थात् थारमारे भनिने ठाउँमा कठायतजीको होटलमा थकाइ मार्न र चिया-खाजा खान पुग्यौँ, होटल खुला देखेपछि भित्र पस्यौँ।
वास्तवमा यी ठाउँका होटल सामान्य र झुपडीजस्ता लागे पनि, ती समय र परिस्थितिअनुसार अत्यन्तै महत्त्वपूर्ण र मूल्यवान थिए। त्यतिबेला आजजस्तो यातायात थिएन, न त सिमेन्ट, सरिया आउँथ्यो, न त ठूला होटल बनाउने व्यापारीहरूले योजनाबद्ध रूपमा होटल बनाउँथे, न त बाटो र जंगलको बीचमा कुनै सम्भावना देखिएको थियो। तर, एक जिल्लाबाट अर्को जिल्ला जागिर खान नगए पनि सुख थिएन, न त रोजगारीको विकल्प नै थियो। यस्तै गरी स्थानीय गाउँ-ठाउँका मानिसहरूलाई ती दुर्गम बाटोमा नहिँडी सुख थिएन।हामीले उमेर र व्यवसायअनुसार साहुजी भन्दै अभिवादन गर्यौँ। साहुजीले पनि “नमस्कार सर, चुलो नजिकै बस्नुहोस्” भन्दै सबैलाई आग्रह गर्नुभयो। चिसो समयमा ठूलाठूला मुढा बालेर रन्किएको तातो चुलोको मज्जा बेग्लै थियो। हामी निकै खुसी भयौँ। आगो ताप्दै साहुजीलाई खाजा-नास्ता तयार गर्न लगायौँ। साहुजीले केही उसिनेको र केही पोलेको आलु खान दिनुभयो। आलुसँगै पकाएको सिमीको ग्रेभी ठूलो कटौराभरि खान दिनुभयो। हामीले धित मारेर सिमीको ग्रेभी खायौँ।
मलाई चिसो लागिरहेको थियो, घाँटी खसखस भइरहेको थियो, शरीर जुरजुर भइरहेको थियो, नाक-मुख रातो भएको थियो। समय र दिन पनि चिसो भएकाले होटलमा पुग्दा हामीले साहुजीलाई तातो पानी पिउन दिन आग्रह गरेका थियौँ। साहुजीले हाम्रो आग्रह स्वीकार गरी उम्लिएको तातो पानी गिलासमा राखिदिनुभयो।
हामीले मुगुबाट आउँदा ठूलाठूला रसिला कागतीका दाना बोकेर ल्याएका थियौँ। त्यही कागतीको रस निचोरेर तातो पानीमा मिसाएर पिएपछि शरीर केही हलुका र सहज भएको थियो। अरू साथीहरूले मेरो रुघाखोकीप्रति त्यति वास्ता गरेनन्, तर ज्ञानेन्द्रजीले तातो पानीमा कागती मिसाएर र तातो सिमीको झोल पिउन जोड दिनुभयो।
बाटोमा पनि घर नपुग्दासम्म “रुघाखोकी कस्तो भइरहेको छ?” भनेर सोधिरहनुभयो। जुम्लाजस्तो हिमाली जिल्लाको कठ्याङ्ग्रिने जाडोमा मेरो रुघाखोकी देखेर उहाँ निकै चिन्तित हुनुहुन्थ्यो। नाकबाट सिंगान बगिरहेको थियो, बेलाबेला हाछ्युँ पनि आइरहन्थ्यो। ज्ञानेन्द्रजी जिल्ला पशुसेवा कार्यालय (भेटनरी) जुम्लामा प्राविधिक सहायक (पाँचौँ तह) मा कार्यरत हुनुहुन्थ्यो।
हामीले त्यो होटलमा खाजा-नास्ता खाएर साहुजीले गन्नाइनो भनिने जडीबुटी राखेर बनाएको स्वादिलो चिया खायौँ। त्यसपछि हामी ३:०० बजेतिर हिँडेर अपराह्न ४:०० बजेतिर डाँफे लेक पुग्यौँ। त्यहाँबाट जुम्ला सदरमुकाम खलङ्गा बजार, तिलानदी, फूलपातीचौर (एयरपोर्ट), चन्दननाथ भैरवनाथ मन्दिर, खोलीकोट, सिमखाडा गाउँ, विभिन्न सरकारी भवन, जुगाढ खोला, बिजयनगर, गराली र देवली डाँडा देखिन्थे।
साविक कर्णाली अञ्चल अस्पताल र वरपरको वातावरण, छिनासिम लेक, र पर क्षितिजमा रहेको जाजरकोटको सिमालाई पनि स्पष्ट देख्यौँ। एयरपोर्टमुनि तलिचौर गाउँको जिउलोको फाँट, तिलानदीपारिको बोहोरा गाउँ पनि लोभलाग्दा दृश्यमा देखिन्थे।
निःशुल्क हेर्न पाइने डाँडाकाँडा, हिमाल, पहाड, पर्वत, थुम्का, बेंसी, टार, पाटन, ताल, झरना, छहराले स्वर्गको अनुभूति गराउँथ्यो। हिउँदको चिसो समय भए पनि यति प्यारो, सुन्दर, पवित्र जन्मभूमि हेर्दै साँझसम्म घर पुग्ने आशाले मन न्यानो र उल्लासमय थियो।
आजभोलि हामी कृत्रिम रूपमा बनाइएका सिमेन्ट, बालु, फलामे सरियाका टावर, अग्ला घर, माटो थुपारेर बनाइएका साना थुम्का, पार्क हेर्न महँगो प्लेन भाडा, होटल खर्च र विदेश जान्छौँ। तर, आफ्नै देशका सुन्दर हिमाल, पहाड, झरना, लेक, ताल, नदी, खोला, वन्यजन्तु, पशुपन्छी, जडीबुटी हेर्न सडक सुधार, समयानुकूल होटल निर्माण, पर्यटन र पर्यटकीय क्षेत्रलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम ल्याउन सके जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालिकोट समृद्ध बन्ने र रोजगारी वृद्धि भई राष्ट्रिय अर्थतन्त्र मजबुत हुने कुरामा कुनै शङ्का छैन।
यतिन्जेल साँझ पर्न लागिसकेको थियो। डाँडाको घाम जानेबित्तिकै अँध्यारो हुने कुरामा दुई मत थिएन। हामी बिस्तारै चेरेँचौर, कर्णाली प्राविधिक शिक्षालय-घुघुत्ति हुँदै जुम्ला क्याम्पस पुग्दा गोधुली साँझ पार भइसकेको थियो। करिब साँझ ७:०० बजिसकेको थियो। त्यहाँबाट उहाँ आफ्नो घर खोलीकोट, बुढ्थापा गाउँतर्फ लाग्नुभयो। भोलिपल्ट भेट्ने भन्दै हात मिलाएर छुट्टियौँ। दिनभरि सँगै गफ गर्दै, हाँस्दै, खेल्दै आएका साथीहरू बिछोडिँदा मन नमज्जा भएको थियो। म अरू साथीहरूसँग जुम्ला बजार, एयरपोर्ट हुँदै तलिचौर गाउँतिर लागेँ।
बजारमा असहजता थियो। प्रहरी, सेना र माओवादीले भेटाए केरकार गर्ने सम्भावना थियो। के थाहा, कस्तो लफडा पर्ने हो, त्यसले मन चिसो बनाएको थियो। घर नजिकै भएकाले होटलमा बस्न मन लागेन। अँध्यारो भइसकेपछि होटलवालाले आनाकानी गर्ने सम्भावना पनि उत्तिकै थियो।
माओवादी द्वन्द्वको प्रभाव बढ्दै गएको थियो। मैले जिल्ला सरकारी वकिल कार्यालय मुगुको कर्मचारी परिचयपत्र बोकेको थिएँ। बाक्लो बस्ती भएकाले शाहसका साथ घरतर्फ जाँदै थिएँ। त्यतिबेला २०६० सालमा भर्खर नायब सुब्बा भएको एक वर्ष हुँदै थियो। रातको करिब ८:०० बजेको थियो। घरमा ढोका बन्द भइसकेको थियो।
ढोकाको झ्यालबाट चियाउँदा भित्र मधुरो उज्यालो देखेँ। हल्ला गर्ने समय थिएन, द्वन्द्वकालमा लामो सास फेर्दा पनि डर लाग्थ्यो। हामीलाई सिआइडीको आरोप लाग्ने आशङ्का रहिरहन्थ्यो। नडराई “आमा, ढोका खोल्नुहोस्, म आइपुगेँ, म नरेन्द्र, जेठो छोरा, मुगुबाट आएँ” भन्दै परिचय दिएँ। “ए बसन्तीकी आमा, पूर्णिमा” भनेर बोलाएँ। सायद निदाइसकेको हो कि भन्ने लाग्यो। केही समयपछि आमाले बिस्तारै चियाउँदै ढोका खोल्नुभयो। अपरिचित वा चिनेकै भए पनि जरुरी कामबिना ढोका खोल्ने समय थिएन।
“मेरो प्यारो छोरा, बाटोमा कसैले केही गर्यो कि?” भन्दै आमाले अङ्गालोमा बेर्नुभयो। त्यतिबेला माओवादी दशवर्षे जनयुद्ध मुलुकमा भुसको आगोजस्तै फैलिरहेको थियो। आमाले मूलढोका बन्द गर्नुभयो। सानी छोरी दीपशिखा, कान्छी छोरी भावना र श्रीमती पूर्णिमा भान्सामै मलाई आउँछ कि भनेर पर्खिरहेका रहेछन्। जेठी छोरी बसन्ती भने कोहलपुर मावली घरमा पढ्न बसेकी थिइन्।
म अझै विभिन्न कुरामा बहकिँदैछु। किनभने हरेक घटनासँग उपघटना र हरेक कथासँग उपकथा जोडिन्छन्। नत्र कथा अपूरो बन्ने रहेछ। यात्रामा भेटिएका ज्ञानेन्द्रजी भोलिपल्ट बजारमा जहाँ भेटे पनि “रुघाखोकी कस्तो भयो?” भनेर सोधिरहनुभयो।
त्यो बेलादेखि आजसम्म ज्ञानेन्द्र बुढ्थापा, जो हुम्ला हुँदै पशु (भेटनरी) विकास कार्यालय जुम्लामा जागिर खाइरहनुभएको छ, मलाई प्रत्यक्ष भेट्दा होस् वा फोन, मोबाइल, भिडियोमा कुरा गर्दा पनि शुरुमै “तपाईंलाई सर्दी र रुघाखोकी कस्तो छ हँ?” भनेर सोधिरहनुहुन्छ।















