आईतवार, १२ आश्विन, २०८२

घोराही बनाउने हुटहुटीसहित अघि बढेका सामाजिक अभियन्ता ‘सविन प्रियासन’

सानैदेखि साहित्य, कला, नेतृत्व र समाजप्रतिको जिम्मेवारीप्रति आकर्षण देखाउने प्रियासनले आफ्नो यात्राको सुरुवात सामाजिक क्लब मिलनचोक युवा क्लबबाट गरे। २०५२ देखि २०६० सालसम्म मिलनचोक युवा क्लबको युवा परिचालन समितिको संयोजकका रुपमा सक्रिय रहँदै उनले सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरे।

नेपालको समसामयिक साहित्यिक, सामाजिक र पत्रकारिताको क्षेत्रमा एउटा विशिष्ट र प्रेरणादायी नाम हो—सविन प्रियासन। उनले पत्रकारिता, साहित्य, समाजसेवा, खेल, भाषा, संस्कृति र शिक्षा सबै क्षेत्रमा उस्तै गतिशीलता देखाएका छन्। समर्पण, निष्ठा र निरन्तर साधनाको प्रतीकका रूपमा चिनिने प्रियासन दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १०, मिलनचोकमा २०३६ साल वैशाख १ गते जन्मिनुभएको हो। बुबा जीतबहादुर चौधरी र आमा कृष्णकुमारी श्रेष्ठ चौधरीको कान्छा छोराका रूपमा जन्मिएका प्रियासन बाल्यकालदेखि नै सिर्जनशील चिन्तन र सामाजिक भावनाले भरिएका थिए।

प्रारम्भिक जीवन र सामाजिक चेतनाको विकास
सानैदेखि साहित्य, कला, नेतृत्व र समाजप्रतिको जिम्मेवारीप्रति आकर्षण देखाउने प्रियासनले आफ्नो यात्राको सुरुवात सामाजिक क्लब मिलनचोक युवा क्लबबाट गरे। २०५२ देखि २०६० सालसम्म मिलनचोक युवा क्लबको युवा परिचालन समितिको संयोजकका रूपमा सक्रिय रहँदै उनले सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरे। मिलनचोक युवा क्लबबाट घोराहीमा पहिलो पटक २०५५ सालमा ‘घोराही उज्यालो अभियान’ नाम राखेर पोलहरूमा ट्युबलाइट जडान गरिएको थियो। त्यतिबेला क्लबका अध्यक्ष दिलिपकुमार डिसी हुनुहुन्थ्यो। यसबाहेक क्लबले सडक सरसफाइ, चोकहरूमा चौबिसै घण्टा पानी आउने व्यवस्था, मिलनचोकमा ठूलो साइनबोर्डमा पत्रपत्रिका टाँसेर सर्वसाधारणलाई पत्रिका पढ्ने व्यवस्था मिलाउनेदेखि विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरणलगायतका थुप्रै कामहरू प्रियासन अनि मिलनचोक युवा क्लबमार्फत भएको थियो।

त्यतिबेला क्लबले फुटबल, क्रिकेट प्रतियोगिताको आयोजना गर्ने र अन्य प्रतियोगितामा सहभागी भएर पहिलो हुने गर्दथ्यो। क्लबमा विमलमान श्रेष्ठ, रमेश थापा, सञ्जिव श्रेष्ठ, महेश थापा, पुष्पराज बज्राचार्य, राजेश डिसी, हेमन्त थापा, दिनेश थापा, मनु शाह, दीपक श्रेष्ठ, संगम खड्गा, राजेश रुचाल, मुकेश डिसी, राहुल जिएम, सागर श्रेष्ठ, शिव पौडेल, ओमभक्त डाँगी, भक्त पुन, डिल रोका, नरेन्द्र नेपाली, सुरेश नेपाली, नारायणसिंह ठकुरी, विवेकसिंह ठकुरी, तिलक ठकुरीलगायतका युवाहरूको सक्रियतामा क्लबले सबैजसो कार्यमा घोराहीमै अगुवाई गरेको थियो।

उनको सोच घोराहीलाई परिवर्तन गर्ने मात्र थिएन, त्यो परिवर्तनलाई समाजका प्रत्येक तहमा पुर्‍याउने थियो। यही सोचले उनलाई ‘घोराही बनाऔं अभियान’को संयोजक बनायो। यो अभियान लुज फोरमको रूपमा सञ्चालनमा आएको छ, जसले घोराहीलाई स्मार्ट, हरित, समावेशी र समृद्ध बनाउन बहस चलाएको छ। प्रियासनले लेख, छलफल र क्रियाशीलता मार्फत यी विषयहरूलाई केन्द्रमा राखेर आफ्ना गतिविधिहरू अगाडि बढाएका छन्।

पत्रकारिता क्षेत्रको नेतृत्व
सविन प्रियासनको अर्को ठूलो पहिचान हो—पत्रकारिता। उनी हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव पदमा छन्। यसअघि उनी दुईपटक महासंघ दाङ शाखाको सचिव र एकपटक अध्यक्ष भइसकेका छन्। उनको कार्यकालमा पत्रकार सुरक्षा, क्षमता विकास, अधिकार, पेशागत आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा दृढ कदम चालिएका थिए। उनको पहलमा पत्रकार महासंघ दाङ कार्यालयको भौतिक पूर्वाधार सुधार, सदस्यहरूको पेशागत बीमा, तालिम, गोष्ठी तथा पत्रकार र समाजबीचको सम्बन्ध सुदृढ पार्ने कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भए।

पत्रकारिताको माध्यमबाट समाजको आवाज उठाउने कार्यमा गणतन्त्र राष्ट्रिय दैनिकमार्फत अग्रणी भूमिका प्रियासनले निर्वाह गर्दै आएका छन्। यस राष्ट्रिय दैनिकका उनी प्रकाशक तथा प्रधान सम्पादक हुन्। स्थानीय मुद्दालाई राष्ट्रिय बहसमा बदल्न उनले अखबारको प्रयोग गर्दै आएका छन्। दाङको भौगोलिक, सामाजिक, राजनीतिक, शैक्षिक, साहित्यिक र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बनाइएका सामग्रीहरूले अखबारलाई लोकप्रिय बनाएको छ।

साहित्यिक सशक्तता
सिर्जनात्मक साहित्यमा पनि सविन प्रियासनको योगदान अत्यन्तै महत्वपूर्ण छ। उनी हालसम्म नेपालकै दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकारका रूपमा स्थापित छन्। उनका उपन्यासहरूले नेपाली समाजको यथार्थ, राजनीतिक द्वन्द्व, प्रेम, विछोड, वर्गीय संघर्ष, संस्कार–संस्कृति, ग्रामीण जीवनको कठोरता र शहरीकरणका द्वन्द्वहरूलाई चित्रण गर्छन्।

उनका उपन्यासहरू जनजीवनसँग नजिक छन्। पाठकलाई मन छुने शैलीमा लेख्ने प्रियासनका उपन्यासहरूले धेरैलाई रुवाएका छन्, परिवर्तनको सपना देखाएका छन्, देशप्रेम जगाएका छन्। पाठकले उनका रचनामा आफूलाई देख्न सक्छन्। साहित्यमार्फत उनले हजारौं युवालाई सिर्जनामा होमिन प्रेरित गरेका छन्।

सामाजिक उत्तरदायित्व र सेवामूलक कार्य
सविन प्रियासन केवल कलममै सीमित छैनन्। उनी सडकमा भोकै हिँडिरहेका बटुवालाई खाना खुवाउने सामाजिक कार्यमा देखिन्छन्। विद्यालयमा शैक्षिक सामग्री वितरण, विपन्न समुदायको आवास निर्माणमा श्रमदान, र असहाय बालबालिकाको पालनपोषणमा सहयोग गर्ने काम उनले व्यक्तिगत रूपमा पनि गरिरहेका छन्।

उदाहरणका लागि, गुमराहचोकमा जय महाकाल युवा समूह घोराहीले असहायलाई खाना खुवाउने अभियानमा उनको उपस्थितिले यो अभियानलाई नै उदाहरणीय बनाएको छ। व्यक्तिगत योगदानले समाजमा कस्तो फरक पार्न सक्छ भन्ने कुराको वास्तविक उदाहरण सविन प्रियासन नै हुन्। सरल र सहज स्वभावका प्रियासन घोराहीमा अगाडि बढाइएका विभिन्न सकारात्मक कार्यमा पनि जोडिँदै आएका छन्। धारपानी धामलाई अहिलेको अवस्थामा ल्याउनका लागि सुरुदेखि नै नेपाल पत्रकार महासंघको तर्फबाट सकारात्मक साथसहयोग दिने काम प्रियासनले गरे।

क्रिकेट संघ दाङमा किशोरचन्द्र गौतम अध्यक्ष भएदेखि हाल प्रदीप मजगैया अध्यक्षलाई सल्लाहकार भएर क्रिकेटको विकासका लागि प्रियासनले सक्दो साथसहयोग गरिरहेका छन्। यसबाहेक बयल डाँडा चौतारी क्लब, नमस्ने स्वास्थ्य अभियानलगायतका मान्छेलाई स्वस्थ बनाउने अनि त्यही फोरमबाट सामाजिक कार्य गर्ने अभियानमा पनि उनको सहभागिता देखिँदै आएको छ। घोराहीमा धार्मिक, पर्यटकीय सम्भावनाबारे प्रियासनले गहन लेख लेख्दै आएका छन्।

‘घोराही बनाऔं अभियान’को तर्फबाट पिउने पानी समस्या रहेको क्षेत्रमा पनि उनी बेलामौकामा पुग्ने गरेका छन्। लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजना भनेको दामोदर मार्ग, शहीद नेत्रलाल अभागी रंगशाला निर्माण हुनुपर्छ भनेर प्रियासनले भन्दै आएका छन्।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अगुवाईमा हाल सम्पन्न हुने अवस्थामा रहेको बबई लिफ्टिङ सहलगानी आयोजना स्वीकृत गर्ने क्रममा प्रियासन, संस्थाका अध्यक्ष देवीबहादुर डिसी, सुमन शर्मा, ध्रुव केसी, विवेक श्रेष्ठसहितको टोली धादिङको गल्छीमा त्रिशूलीको छेउमा दुर्घटनामा परेको थियो। जुन घटनालाई प्रियासनले आज पनि सम्झिरहन्छन्।

खेल क्षेत्रमा योगदान
२०६९ सालसम्म आउँदा दाङमा खेल क्षेत्र सुस्ताएको थियो। झैझगडाका कारण ठूला प्रतियोगिता हुन छाडेका थिए। त्यही बेलामा प्रियासनले दाङ युवा मञ्च गठन गरे। उक्त मञ्चमार्फत फुटबल लगायतका खेलहरूमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरियो। त्यसले युवामा खेलप्रतिको आकर्षण बढायो। खेलकुदको माध्यमबाट युवामा आत्मविश्वास, राष्ट्रिय भावना, अनुशासन र समर्पण बढाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरे।

दाङ युवा मञ्चलाई अगाडि बढाउन महासचिवको रूपमा नरेन्द्र पुन, सचिव केशरमान बिसी, रूपक थापा, दीपेन्द्र पुनले स्थापनाकालमा ठूलो भूमिका निर्वाह गरेको प्रियासनको भनाइ छ। मञ्चले ठूला प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न थालेपछि आजकाल सिंगो दाङमा सहजरूपमा प्रतियोगिताहरू हुन थालेका छन्।

संस्था र अभियान नेतृत्व
सिर्जनात्मक, जनसरोकारका विषयमा सक्रिय रहेका प्रियासनले थुप्रै सरोकार समिति तथा संस्थाहरूको नेतृत्व गरेका छन्। त्यसमा प्रमुख रूपमा निम्न संस्था र अभियान उल्लेखनीय छन्—

दाङ प्रादेशिक राजधानी सरोकार समिति सदस्य सचिवको भूमिकामा रही ‘प्रदेश राजधानी दाङमै हुनुपर्छ’ भन्ने मागसहित आन्दोलन र अभियानको अग्रपंक्तिमा सधैं प्रियासन उभिरहे। नेपाल पत्रकार महासंघको तर्फबाट उक्त अभियानमा प्रियासन सहभागी भएका थिए। नेतृत्व दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षले लिने परिपाटी थियो, तर प्रियासन सुरु देखि अन्त्यसम्म सदस्य सचिवको रूपमा रहे।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समिति प्रतिष्ठानमा सुशासन, सेवा पहुँच र पूर्वाधार विस्तारको मागमा निरन्तर आवाज उठाउन प्रियासन समितिको सदस्य सचिव भएर विभिन्न गतिविधिमा सहभागी बने। हाल प्रतिष्ठानको सेवा उल्लेखनीय प्रभावकारी भइसकेको छ। एमबिबिएस पढाइसमेत हुँदै आएको छ।

राप्ती साहित्य परिषद् केन्द्रीय महासचिव तथा सदस्यका रूपमा उनले साहित्यिक गतिविधिहरू चलायमान बनाउने काम गरे। स्थानीय लेखकहरूलाई राष्ट्रिय मञ्चमा पुर्‍याउने पुलका रूपमा प्रियासनले परिषद्बाट काम गरे। २०६२/०६३ को आन्दोलनमा परिषद्ले सडकमा सिर्जनशील कार्यक्रमहरू उहाँको सहभागितामा गरेको थियो।

विचार, लेखन र सञ्चार
सविन प्रियासन हरेक दिन कुनै न कुनै माध्यमबाट बोलिरहन्छन्—कहिले सम्पादकीयमार्फत, कहिले सामाजिक सञ्जालमा विचार व्यक्त गर्दै। उनका विचार स्पष्ट, तथ्यपरक, जिम्मेवार र राष्ट्रिय मर्म बुझ्ने खालका हुन्छन्। उनको लेखन सामाजिक रूपान्तरणको पक्षमा उभिएको देखिन्छ।

उनको लेखनमा निम्न विषयवस्तुहरू प्रमुख छन्—
– समावेशी विकास र सुशासन
– युवाको भूमिका र सिर्जनात्मकता
– स्थानीय सरकारको जिम्मेवारी
– भाषा, संस्कृति र मौलिकता संरक्षण
– शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार

समृद्ध घोराहीको सपना
प्रियासनले “घोराही बनाऔं अभियान”मार्फत घोराही उपमहानगरलाई समावेशी, हरित, स्मार्ट, सुशासनयुक्त र समृद्ध बनाउने सपना देखेका छन्। यो अभियानभित्र शहरी योजना, हरियाली विस्तार, बालमैत्री शहर, भाषा र कला संरक्षण, विपन्नका लागि सामाजिक सुरक्षा, व्यवसाय प्रवर्धनजस्ता विषयवस्तु समेटिएका छन्। यस अभियानमा उनले गैरराजनीतिक, स्वतन्त्र मञ्चमार्फत सबैलाई जोड्ने प्रयास गरेका छन्।

सम्मान र पुरस्कार
सविन प्रियासनले हालसम्म दर्जनौं राष्ट्रिय तथा जिल्लास्तरीय पुरस्कार र सम्मान पाइसकेका छन्। लेखेकै आधारमा उनलाई २०७७ सालमा नेपाल सरकारले सम्माननीय राष्ट्रपतिबाट विभूषित गरेको हो। यसैगरी त्रिभुवन नगर जेसीजले दाङमा वितरण गरिरहेको उत्कृष्ट युवा पुरस्कारको पनि उनी पहिलो विजेता हुन्। प्रेस काउन्सिललगायतका थुप्रै जिम्मेवार निकायबाट उनले विभिन्न पुरस्कार पाइसकेका छन्।

तर, प्रियासनले आजसम्म कुनै पनि पुरस्कारका लागि फर्म भरेका छैनन्। उनले गरेको कामको स्वतः मूल्यांकनबाट उनलाई सम्मान गरिएको हो। पुरस्कार वा सम्मानका लागि कुनै पनि निकायमा फर्म नभरिने निर्णयमा उनी आज पनि अडिग छन्।

निष्कर्षः प्रेरणादायी व्यक्तित्व
सविन प्रियासन केवल नाम होइन, एउटा सोच हो—जसले समाज परिवर्तनको सपना देख्छ र त्यसलाई व्यवहारमा ल्याउन क्रियाशील रहन्छ। कलम चलाउँदा जिम्मेवारीसाथ चलाउनु पर्छ भन्ने दृष्टिकोण बोकेका प्रियासन पत्रकार, साहित्यकार, समाजसेवी, अभियानकर्ता र नेतृत्वकर्ता सबैरूपमा सफल देखिन्छन्।

दाङका युवाका लागि प्रियासन प्रेरणाको स्रोत हुन्। उनले देखाएको मार्गदर्शनले नयाँ पुस्तालाई राष्ट्र, समाज र समुदायका लागि केही गर्नुपर्छ भन्ने भावना दिएको छ। उनीजस्तो निष्ठावान, प्रतिबद्ध र जनसरोकारमुखी व्यक्तित्व नेपाली समाजका लागि दुर्लभ र अमूल्य छन्।

(यो आलेख प्रियासनको अनुभव सुनेर तयार गरिएको हो।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार