सोमबार, ९ भाद्र, २०८२

सहकारी भाग्दा कर्मचारीलाई तनाव, आफ्नै पैसा डुब्यो, आफन्त र साथीभाइको कचकच !

अहिले सहकारीको अवस्था छर्लङ्ग छ। सञ्चालक र अध्यक्षहरू भागाभागको अवस्थामा छन्। बचतकर्ताहरूको रुवाबासी भइरहेको छ भने कर्मचारीहरू धर्मसङ्कटमा परेका छन्। कर्मचारीहरू सबैभन्दा बढी तनावमा देखिन्छन्।

आफूसँग भएको थोरै रकम भए पनि ब्याजको प्रलोभनमा मानिसहरूले सहकारीमा पैसा जम्मा गरे। कतिपयले सोही सहकारीमा जागिर पनि गरे। आफ्नो तलब पनि सहकारीकै खातामा जम्मा गर्थे। आफन्त र साथीभाइलाई पनि ब्याजको प्रलोभन देखाएर लाखौंदेखि करोडौं रकम जम्मा गर्न लगाए।

नयाँ बचतकर्ता नभेटिए तलब र जागिर नै गुम्ने अवस्था आएपछि मानिसहरूले सुरुमा आफूसँग भएको लाखौं रकम सहकारीमा जम्मा गरेर जागिर लिए। जागिर पाएपछि आफन्त र साथीभाइलाई पनि पैसा जम्मा गर्न लगाए। सहकारीहरूबीच ब्याजको होडबाजी नै चल्थ्यो। कसले कति वा बढी ब्याज दिने भन्नेमा सहकारीहरूबीच प्रतिस्पर्धा हुन्थ्यो।

बचतकर्ताहरू पनि एक प्रतिशत मात्र बढी ब्याज दिने सहकारीमा पैसा राख्थे। अहिले सहकारीको अवस्था छर्लङ्ग छ। सञ्चालक र अध्यक्षहरू भागाभागको अवस्थामा छन्। बचतकर्ताहरूको रुवाबासी भइरहेको छ भने कर्मचारीहरू धर्मसङ्कटमा परेका छन्। कर्मचारीहरू सबैभन्दा बढी तनावमा देखिन्छन्।

किनभने, उनीहरूले आफूसँग भएको रकम र तलब सहकारीमा जम्मा गरेकै थिए, साथै आफन्त र साथीभाइको पनि लाखौंदेखि करोडौं रकम आफ्नो सहकारीमा जम्मा गर्न लगाएका थिए। सहकारीका हाकिम नै भागेपछि कर्मचारीहरू यता न उताका भएका छन्। आफन्त र साथीभाइले निरन्तर पैसा मागिरहेका छन्।

आफ्नो पैसा पनि डुबेको छ। यसले कर्मचारीहरू तनावमै छन्। कतिपयले त तनाव सहन नसकेर आत्महत्या गरेका छन् भने अधिकांश सम्पर्कविहीन भएर बसेका छन्। हुन त, सहकारीका सञ्चालक र अध्यक्षहरू पनि धेरै पढे-लेखेका हुँदैनथे। मानिसलाई फकाउन सक्ने वा धेरै पैसा भएका, अर्थात् आफन्त, साथीभाइ र बजारबाट धेरै पैसा ल्याउन सक्ने व्यक्तिलाई जागिर दिइन्थ्यो। पढे-लेखेकाहरूले सहकारीमा अवसर पाएनन्।

उनीहरू विदेश पलायन भए। नपढे-लेखेकाहरूले सहकारीमा ठाउँ पाए। उनीहरूले आफन्त, साथीभाइ वा सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर लाखौंदेखि करोडौं रकम जम्मा गर्न लगाए। यसबापत सहकारीले कमिसन पनि दिन्थ्यो। साथै, तलब पनि बढी र सवारीसाधन पनि संस्थाबाटै उपलब्ध गराइन्थ्यो।

तलब, कमिसन र गाडी पाउने भएपछि कर्मचारीहरूले आफ्ना परिवारदेखि चिनजान भएका सबैलाई प्रलोभनमा पारेर रकम जम्मा गर्न लगाए। आफन्त र साथीभाइले पनि विश्वासमा परेर ब्याजको लोभमा घर-खेत बेचेर, विदेशमा कमाएको वा व्यापार-व्यवसाय, जागिरबाट आएको रकम सहकारीमा जम्मा गरे। सहकारीले विभिन्न गतिविधि गरेर उनीहरूलाई लोभ्याउँथ्यो।

करोडौं खर्च गरेर सहकारीको साधारण सभा गरिन्थ्यो। साधारण सभामा बचतकर्ता र सेयरधनीलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म दिइन्थ्यो। बचतकर्ताको जन्मदिनमा सहकारीका प्रतिनिधिहरू घरमै पुगेर केक काटिदिन्थे। वृद्धवृद्धालाई लौरा, उपहार र तीर्थयात्रामा समेत लगिन्थ्यो भने वर्षमा एक दिन सबै बचतकर्तालाई पिकनिकमा लैजान्थ्यो।

सहकारीले यस्ता गतिविधि गरेको देखेपछि बचतकर्ताहरू मख्ख हुन्थे। पैसा राख्दा यति सुविधा पाएको भन्दै सहकारीको गुणगान गाउँथे। आफ्ना आफन्त र चिनजान भएकालाई सुनाउँथे र उनीहरूलाई पनि बचत गर्न लगाउँथे। “मैले यो सहकारीमा पैसा राखेको छु, यति धेरै ब्याज दिन्छ, यस्ता सुविधा छन्,” भन्दै बजारमा प्रचार-प्रसार गर्थे।

यता, सहकारीका कर्मचारीको पनि तामझाम कम थिएन। सरकारी कर्मचारीभन्दा चिटिक्क परेर हिँड्थे उनीहरू। कोट-प्यान्ट लगाएर, मानौं कुनै विवाह, व्रतबन्ध वा पार्टीमा जान लागेका हुन्। कोही गाडीमा हिँड्थे, कोही स्कूटरमा। कतिपय पैदल हिँडेर पैसा उठाउँथे। एउटै बजार प्रतिनिधिले दिनमा तीन लाखदेखि करोडौं रकम उठाएर कार्यालय लैजान्थे।

एउटा सहकारीमा बजार प्रतिनिधि कम्तीमा दशदेखि सय जनासम्म हुन्थे। कार्यालयभित्र कर्मचारीहरू अलग्गै। काउन्टर र हिसाबकिताब मिलाउन मात्र २०–२५ जना कर्मचारी राखिन्थ्यो भने ढोकामा दुई जना गार्ड। प्रत्येक सहकारीको कोठामा एसी हुन्थ्यो। सहकारीका सञ्चालक, अध्यक्ष, कर्जा अधिकृतहरू दिउँसो १२ बजेदेखि ३ बजेसम्म कार्यालय आउँथे।

उनीहरू कार्यालय प्रवेश गर्नासाथ सुरक्षागार्डले उफ्रिँदै सलाम ठोक्थे, मानौं कोही राष्ट्रपति वा प्रधानमन्त्री आएका हुन्। सञ्चालक, अध्यक्ष, कर्जा अधिकृतहरू जतिबेला आए पनि तलब ५० हजारदेखि डेढ लाखसम्म बुझ्थे। करोडौं पर्ने गाडी संस्थाबाटै दिइन्थ्यो। खाजा, पत्रपत्रिका, टेलिफोनलगायत विभिन्न सुविधा पनि उनीहरूलाई प्राप्त हुन्थे।

तलबबाहेक महिनामै लाखौंको सेवा-सुविधा बुझ्थे। तैपनि, कर्जा दिँदा घूस अनिवार्य थियो। एक करोड मूल्य बराबरको धितो राखेर ६०–७० लाख कर्जा दिइन्थ्यो। त्यसबापत दश लाख रुपैयाँ अध्यक्ष, सञ्चालक, र कर्जा अधिकृतहरूले मिलेर घूस खान्थे। त्यस्तै, सेवा शुल्क तीन प्रतिशत, ब्याज १६ प्रतिशत भनिन्थ्यो, तर ऋणीले तीन किस्ता नतिर्नासाथ धितो लिलामी प्रक्रिया अघि बढाइन्थ्यो।

सहकारीका सञ्चालक र अध्यक्षहरू सरकारी कर्मचारीभन्दा बढी भ्रष्टाचारी थिए। कार्यालयको हरेक काममा उनीहरूले भ्रष्टाचार गर्थे। साधारण सभादेखि भवन निर्माण, जग्गा तथा आवश्यक सामग्री खरिदमा समेत ठूला पदाधिकारीहरूले कमिसन खान्थे। यतिमात्र होइन, मृतकको श्रद्धाञ्जलि पत्रपत्रिकामा छाप्दासमेत भ्रष्टाचार गर्थे।

दश हजार खर्च भएकोमा एक लाखको बिल बनाएर पचाइन्थ्यो। अर्कोतर्फ, सहकारीको नाममा घरजग्गा किनेको भन्दै सञ्चालक र अध्यक्षहरूले आफ्नै नाममा राख्थे। कसैले यसबारे चालै पाउँदैनथे। सेयरधनी र बचतकर्ताहरूलाई भने “हाम्रो संस्थाको यति ठाउँमा घरजग्गा छ” भन्दै भ्रममा पारिन्थ्यो। सहकारीका सञ्चालक, अध्यक्ष, र कर्जा अधिकृतहरू दलालहरूसँग मिलेका थिए।

दलालको लहैलहैमा लागेर जता लगानी गर्न भन्यो, सञ्चालक र अध्यक्षहरूले घूस खाँदै त्यसमा लगानी गर्थे। दलालले सोझासाझा जनतालाई जग्गा बेच्थ्यो। जग्गा किन्नेलाई पैसा पुग्दैनथ्यो। अनि दलालले घूस दिएर सहकारीबाट कर्जा मिलाइदिन्थ्यो। त्यो कर्जा दलाल आफैंले लिन्थ्यो र जग्गा किन्नेको नाममा पास गराइदिन्थ्यो।

जग्गा किन्नेले सोच्थे, “सहकारीको ऋण विस्तारै कमाएर तिर्छु।” तर, सुरुमा १६ प्रतिशत ब्याज भनिएकोमा सहकारीले पछि बढाउँदै ८० प्रतिशतसम्म पुर्‍यायो। यति चर्को ब्याज ऋणीले तिर्न सक्थेन। अनि सहकारीले उसको धितो कब्जा गर्‍यो। त्यतिमात्र होइन, उसको तीन पुस्तालाई कालोसूचीमा राखिदियो।

अब ऋणीसँग न धितो रह्यो, न एक रुपैयाँ पैसा। उल्टै उसका छोराछोरी, नातिनातिनाको भविष्य पनि बर्बाद भयो। कुनै बाटो नदेखेपछि ऋणीले आत्महत्याको बाटो रोज्यो। दलाल र सहकारीको जालमा परेर तहसनहस हुने धेरै छन्। तर, भनिन्छ, “पाल धुरीबाट कराउँछ।” त्यस्तै भयो सहकारी र दलालहरूलाई पनि। अहिले घरजग्गा, गाडी, र सेयर कारोबार ठप्प छ।

जसका कारण दलालहरू भाग्नुपरेको छ भने सहकारीहरू टाट पल्टिएका छन्। सहकारीले धमाधम धितो लिलाम गर्‍यो, तर बेच्न सकिएन। जसका कारण सहकारीले बचतकर्तालाई ब्याज र कर्मचारीलाई तलब दिन सकेन। ब्याज नपाएपछि बचतकर्ताहरू आफ्नो रकम माग्न गए। तर, सहकारीले फिर्ता दिन सकेन। “दिन्छु-दिन्छु” भन्दाभन्दै रातारात सहकारीका सञ्चालक र अध्यक्षहरू फरार भए। कतिपय पक्राउ परेर जेल सजाय काटिरहेका छन्।

अहिले बैंकहरूमा पनि समस्या देखिएको छ। किनभने, बैंकको लगानी पनि सहकारीजस्तै घरजग्गा, गाडी, र सेयरमै छ। अर्कोतर्फ, बैंकमा जागिर खानेहरूले पनि आफ्नोसहित परिवार, आफन्त, र साथीभाइको करोडौं रकम जम्मा गरेका छन्। त्यसैले, बैंकका सञ्चालक र अध्यक्ष भाग्नेबित्तिकै उनीहरूको पनि कन्तविजोग हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार