सुपादेवीको महिमा नेपालभर र भारतसम्म फैलिएको छ। हामी सुपा देउरालीमा बिहान ९ बजे बाहिर निस्किसकेका थियौँ। मन्दिरभित्र बोका लिएर बलि दिनेहरूको लर्को थियो। मन्दिरबाहिर फोटो र भिडियो बनाउनेहरूको पनि उत्तिकै भिड थियो।
सफा मौसम, हरियाली, सडक किनारमा रहेका विभिन्न प्रजातिका हरिया रूख-वृक्ष, विभिन्न चराहरूको चिरबिर सङ्गीतले डाँडाकाँडा र खोला-खाल्सीको सुन्दरताले हामीलाई स्वागत गरेको अनुभूति भइरहेको थियो।
नेपालका प्रसिद्ध शक्तिपीठहरू मध्ये सुपादेवी भगवती पनि एक हुन्। यो देवीको मन्दिर नेपालको लुम्बिनी प्रदेशमा पर्ने पहाडी जिल्ला अर्घाखाँचीमा अवस्थित छ। अर्घाखाँचीलाई देवीस्थलको रूपमा पनि लिइन्छ। यो स्थान ऐतिहासिक वीरगाथा बोकेको धार्मिक स्थलको रूपमा समेत मानिन्छ।
यसै देवीस्थानमा धेरै पहिलेदेखि दर्शन गर्न जाने मनमा तीव्र इच्छा थियो। न समय मिलेको थियो, न त साइत जुरेको थियो। प्यूठानमा सरुवा भएर आएको पनि दश महिना बितिसकेको थियो। २०८२ वैशाखमा मौका मिलाएर एकपटक पुगेको थिएँ। त्यति धेरै बुझ्न पाएको थिइनँ। यसपाली कान्छो छोरा रोशनले अध्ययन गर्ने गोरखा युनाइटेड पब्लिक स्कूल, कोहलपुरले गर्मी याम भन्दै जेठ २५ गतेदेखि दुई हप्ताको बिदा दिएको थियो।
यो समयलाई उपयोग गर्दै छोरा रोशन र जीवनसाथी पूर्णिमालाई लिएर सुपादेवी माताको दर्शन गर्ने तीव्र अभिलाषा जाग्यो। यही सोचसहित उनीहरू बाँकेको कोहलपुर नगरपालिकादेखि प्यूठानको खलङ्गा, मल्लरानी गाउँपालिकासम्म आइपुगेका थिए। बर्खायामको झरी र वर्षातको समय भएकाले सफा मौसमतर्फ पनि उत्तिकै ध्यान दिनुपर्थ्यो।
मौसम त्यति विश्वसनीय थिएन। घरीघरी बादलका गुच्छाहरूसँग अग्ला पहाड र नीलो आकाशले लुकामारी गरिरहेका थिए। कपिलवस्तुको तौलिहवाबाट पनि आउन सकिने वैकल्पिक मार्ग भए तापनि प्यूठान र अर्घाखाँची जिल्लाको पाणिनी नगरपालिकाको दृश्यावलोकन पनि हुने भएकाले प्यूठानबाटै भ्रमण गर्न रोजाइमा परेको थियो।
सुपादेवी भगवतीको दर्शन गर्न जानुपर्छ भन्ने अघिल्लो दिन बुधबारदेखि नै मनस्थिति बनाएका थियौँ। यही मनस्थितिले नै हाम्रो साइत जुरायो। हामीले २९ गते बिहीबार बिहान सबेरै हिँड्ने योजना बनाए पनि केही ढिला भइसकेको थियो। जिल्ला सरकारी वकिल कार्यालय, खलङ्गा, प्यूठानदेखि गुरु सुनिल थारूले गाडी स्टार्ट गरे। कुलदेवतासहित गाडीलाई ढोगेर यात्रा शुरू गर्यौँ।
छोरा रोशन र पूर्णिमा सुपादेवी माताको दर्शनका साथै बाटोमा पर्ने नयाँ ठाउँहरूको दृश्यावलोकन गर्न पाउने भएकाले खुशीले गदगद थिए। पूर्णिमा साँच्चिकै खुशीले जूनझैँ चम्केकी थिइन्। उनको मुहारमा बिहानको सूर्यको झुल्को किरणझैँ चमक थियो। छोरा रोशन, दश वर्षको सुन्दर बालक, आमा-बुबाको काखमा बसेर गाडीमा घुम्न पाएपछि खुशीले भुइँमा खुट्टा थिएन।
रोशनको माथिल्लो शरीरमा चम्किलो टी-शर्ट, तल कटनको जिन्स पाइन्ट, स्पोर्ट्स जुत्ता, गहुँगोरो अनुहार, स्याउजस्ता राता गाला, उमेरअनुसारको अग्लो र स्लिम ज्यान, अनुहारमा मुस्कान, काला गोलाकार आँखा, कपालमा मिलेको सजावट र हामीसँग मिठा-मिठा कुरा गर्ने उनको बानीले उनी कम्ती आकर्षक थिएनन्।
पूर्णिमाले सुपादेवीको दर्शन गर्न जाने भनेपछि सुन्दर चिटिक्क परेको रातो र सेतो रङको नरम रङ्गीन सारी, रातो ब्लाउज, खुट्टामा काला स्यान्डल, कालो कपाल, टाउकोमा चस्मा, काला आँखा, गहुँगोरो अनुहार, पुष्ट शरीर, मध्यम उचाइ र मुस्कानले सजिएको मुहारले उनलाई कम्ती सुन्दर बनाएको थिएन। यसैले पनि यात्रा आफैँमा रमणीय बनिरहेको थियो।
गुरु सुनिल एकै ठाउँमा बसेर दिक्क भएको बेला घुम्न पाएपछि खुशी थिए। म आफैँ पनि श्रीमती र छोराको साथमा जेठ-असारको हरियाली समयमा घुम्न पाउँदा मनमा छुट्टै आनन्दको अनुभूति भइरहेको थियो।
सफा मौसम, हरियाली, सडक किनारमा रहेका विभिन्न प्रजातिका हरिया रूख-वृक्ष, विभिन्न चराहरूको चिरबिर सङ्गीतले डाँडाकाँडा र खोला-खाल्सीको सुन्दरताले हामीलाई स्वागत गरेको अनुभूति भइरहेको थियो।
सुपादेवीको दर्शन गर्न मल्लरानी गाउँपालिकाको कसेरा, माथिल्लो बन्चरे, तल्लो बन्चरे, धरमपानी, चुँजिठाँटा, पाणिनी नगरपालिका, सन्धिखर्क, नरपानी हुँदै बिहान सुपा देउराली पुगेका थियौँ। बाटोभरि सडक किनारका रूख-वृक्षले हामीलाई बस्ती र सडकबारे जानकारी दिएझैँ लाग्यो।
हामी गफ गर्दै अगाडि बढिरह्यौँ। बाटो कटेको पत्तै भएन। यो सुपादेवी मन्दिर सन्धिखर्क-गोरुसिङ्गे राजमार्गस्थित सुपा खोलाको पश्चिमतर्फ अवस्थित छ। दुई अग्ला नरपानी र फलामे लेक, जो महाभारत शृङ्खलाको बीचमा उच्च भञ्ज्याङमा अवस्थित छन्, त्यसको साँघुरो भीमकाय खोँचमा सुपा मन्दिर छ। तर, जति खोँचमा पुगिन्छ, त्यति नै आकर्षक र लोभलाग्दो दृश्यले नयाँ आगन्तुकलाई मोहित बनाउँछ।
यस जिल्लामा सुपा देउराली मन्दिरबाहेक आलमदेवी मन्दिर, दुर्वाशेश्वर गुफा, पाणिनी तपोभूमि, मालिका मन्दिर, खिदीम, सुपादेवी देउराली, सिद्धेश्वर शिवालय, नर्तनाचल पर्वत, परशुरामेश्वर, छत्र मन्दिर, ऐतिहासिक पौवा, अर्घाकोट दरबार, पाली, पन्थीटोलको लाकुरी रूखमा अवस्थित देवीस्थान मन्दिर आदि प्रमुख पर्यटकीय स्थलहरू छन् भनी स्थानीयले बताए।
सुपादेवी मन्दिर नरपानीबाट जाँदा बायाँतर्फ र कपिलवस्तुबाट जाँदा दायाँतर्फ पर्छ। सुपादेवी भगवतीको एकचित्तले शुद्ध मन र आस्थासहित दर्शन गर्ने दर्शनार्थीको इच्छा पूरा हुने भएकाले उनी यस क्षेत्रको आस्थाको प्रतीक मानिन्छिन्।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कदेखि पूर्वतर्फ नरपानीको नजिक सुपा देउराली मन्दिर पर्छ। अर्घाखाँचीको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्यूठान र दाङ, दक्षिणमा कपिलवस्तु र रूपन्देहीसँग जोडिएको छ। यहाँको भौगोलिक अवस्थितिले सबै नगरपालिका र गाउँपालिकाहरूमा सडक सुविधा पुगेको र धेरै दुर्गम नरहेको स्थानीयले बताए।
बाह्रै महिना दर्शनार्थीको भिड लाग्ने यो मन्दिरमा भाकल गर्नेहरूले मनोकामना पूरा भएमा बोका चढाएर देवीलाई खुशी पार्छन्। साना घण्टीदेखि ठूला घण्टी, नरिवल, कोसेली, फलफूल, जल चढाएर सुपा भगवतीलाई खुशी पार्ने चलन छ।
मन्दिरमा दर्शन गर्दा फूल, अक्षता, जल, अविर, केशरी, त्रिशूल, धूप-दीप, नैवेद्य चढाइन्छ। सुपादेवीलाई खुशी पार्न कसैले जोडी परेवा वा भेटी चढाउँछन्। मन्दिरमा द्रव्य, धातु, गहना चढाउनुका साथै आवश्यक संरचना बनाउन पनि सकिन्छ।
सुपादेवी मन्दिरको धार (छेँडो) भएर निरन्तर सिरसिर हावा बहने भएकाले यो मन्दिर बाह्रै महिना उच्च शिखरको समीपमा अवस्थित मानिन्छ। यहाँ दुई फूल र ढुङ्गा चढाएर सुपादेवीप्रति सनातन परम्पराअनुसार भक्ति दर्शाउने चलन छ।
करिब १,५०० मिटर (४,५०० फिट) उचाइमा अवस्थित सुपादेवी मन्दिर अर्घाखाँचीको मध्यभागमा रहेको देवीस्थल हो। मन्दिर नजिकैको पहाडबाट मन्दिरको पूर्वमा खस्ने सुपादेवी खोलाको आकर्षक छाँगाले जोसुकै यात्रुको मन लोभ्याउँछ। मध्य पहाडको सिरसिर हावाको छुट्टै विशेषता र रौनक छ।
मन्दिरभित्र सुपादेवीको ठूलो मूर्ति छ भने पश्चिमतर्फ शिव र गणेशको मूर्तिसहितको मन्दिर छ। दुई मन्दिरको बीचमा ठूलो ढोका छ, जुन राति बन्द हुन्छ र बिहान खुल्छ।
मन्दिर परिसर जमिनबाट माथि उठाएर बनाइएको छ र पर्खाल तथा फलामे ग्रिलले घेरिएको छ। सुपा मन्दिरभित्र पहाडी ब्राह्मण छन् भने शिव मन्दिरबाहिर छुट्टै ब्राह्मण छन्। मन्दिरबाहिर टीका लगाइदिने अर्का ब्राह्मण पनि छन्। मन्दिर अगाडि जोडी परेवा उडाउन रसिद काटिन्छ।
मन्दिरको पृष्ठभागमा नरिवल फुटाउने, धूप गाड्ने, घण्टी झुन्ड्याउने, ध्वजा-पताका राख्ने गरिन्छ। बारको पूर्वमा दर्शनार्थीलाई हेर्न ठूलो ऐना राखिएको छ। यहाँबाट भञ्ज्याङ र फलामे पहाडको दृश्यावलोकन गर्दै फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने चलन छ।
मन्दिर अगाडि सडकको छेउमा हातमुख र खुट्टा पखाल्न पित्तलको गौमुखी टुटी भएको धारा छ। मन्दिरको डिलमा पूजा सामग्री पाइने पसलबाट खाना खुवाउने होटलसम्म छन्। सेलरोटीदेखि पुरी-तरकारी खुवाउने होटलहरू पनि छन्।
दर्शन गर्न आउनेलाई मनोरञ्जन दिन क्यामेराम्यानहरूले क्यामरा बोकेर बसेका हुन्छन्। इच्छाअनुसार युवा-युवतीलाई राम्रा फोटो खिचिदिन्छौँ भन्दै तानातान गर्छन्। फोटोहरूलाई फ्रेममा राखेर दर्शनार्थीलाई खुशी बनाउँछन्।
सुपादेवीको महिमा नेपालभर र भारतसम्म फैलिएको छ। हामी सुपा देउरालीमा बिहान ९ बजे बाहिर निस्किसकेका थियौँ। मन्दिरभित्र बोका लिएर बलि दिनेहरूको लर्को थियो। मन्दिरबाहिर फोटो र भिडियो बनाउनेहरूको पनि उत्तिकै भिड थियो।
सुपा देउराली मन्दिरबाहिर सडकको भित्तामा फोटो खिच्ने ठाउँ बनाइएको छ। त्यहाँ युवा-युवतीहरू टिकटक बनाउन तल्लीन थिए। सुपा देउराली नजिकै माथि झुलुङ्गे पुल पनि बनाइएको छ। त्यहाँ फोटो खिच्ने र टिकटक बनाउनेको भीड उत्तिकै थियो।
मलाई लाग्यो, मानिसहरू सुपा देउराली मन्दिरमा आस्थासहित केही माग्न, दृश्यावलोकन गर्न, भ्यूज जम्मा गर्न वा भाइरल हुन आउँछन्। म द्विविधामा परेँ।
हामीलाई सुपा देउरालीमै भेटेर अर्घाखाँचीका सरकारी वकिलद्वय, जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिञ्जाली र सहायक जिल्ला न्यायाधिवक्ता विष्णु प्रसाद मरासिनीले अफिसमा आएर बिहानको खाना खाएर जानुपर्छ भनी निम्तो दिए। हामीले सोही निम्तो स्वीकार गरी सुपा देउरालीबाट सन्धिखर्कतर्फ फर्कियौँ।
नरपानीमा रिसोर्ट रहेछ। रिसोर्ट पनि हेर्न भ्यायौँ। एकान्तमा रहेको, शीतल र छुट्टै आनन्दको अनुभूति दिने सुन्दर रिसोर्ट थियो।
केही समयपछि हामी सन्धिखर्क हुँदै अफिस पुग्यौँ। लगभग ११:३० बजिसकेको थियो। उहाँहरूको आत्मीयता र स्वागतले हामीलाई गर्वको अनुभूति भयो। राखेपछि अवश्य पाइन्छ भन्थे बूढापाका। मलाई लाग्यो, मैले साथीहरूको मन जितेको रहेछु।
समयले गति लिँदै थियो। हाम्रो सुपा देउराली दर्शन र भ्रमण सकिएपछि उहाँहरूको सत्कारप्रति धन्यवाद दिँदै सन्धिखर्कप्रतिको माया मुटुमा अङ्गाल्दै, अर्घाखाँचीलाई आँखाको नानीमा सजाउँदै सन्धिखर्क बजारलाई बाई-बाई गर्दै बिदा भयौँ।
२०८२/३/४
चन्दननाथ न.पा.-१, खलङ्गा, जुम्ला
हाल: खलङ्गा, प्यूठान















