पशु अस्पताल तथा पशु विकास कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाले किसान उत्साहित गराउनु पुरस्कारको मुख्य उदेश्य रहेको जानकारी दिए।
जुम्लामा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ। तीनजना किसान पुरस्कृत भएका छन्। कार्यक्रम पशु अस्पताल तथा पशु सेवा कार्यालयले आयोजना गरेको हो।
पुरस्कारका लागि ९ जना किसान चयन गरिएको गरिएको थियो। जसमध्ये तीनजना उत्कृष्ट किसान घोषित गरिएको पशु विकास अधिकृत पदम केसीले बताए। पुरस्कार रकम सिधै किसानको खातामा पठाइएको छ।
उनका अनुसार बस्नेत कृषि तथा पशुपालन उद्योगका सन्तोष बस्नेत प्रथम भए। उनले बाख्रा पालनमा उत्कृष्टता हासिल गरेका उनलाई ३० हजार नगद पुरस्कार दिइयो।

उनले ४०० भेडा–बाख्रा पालेका छन्। “यो पुरस्कारले मेरो मेहनतको कदर भयो,” उनले भने, “यसले मेरो थप हौसला बढाएको छ।”
त्यस्तै पाण्डे पशुपालन उद्योगकी रिता देवी पाण्डे द्वितीय भइन्। उनले १२ वटा भैंसी पालेर उदाहरण प्रस्तुत गरिन्। उनलाई २५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो।
“यो सम्मानले मेरो आत्मविश्वास बढ्यो,” रिताले भनिन्, “भैंसी पालनबाट राम्रो आम्दानी भएको छ।” उनले व्यवसाय विस्तार गर्ने योजना बनाएकी छन्।
असल कृषि तथा पशुपन्छी पालन उद्योगकी सन्तकली भण्डारी तृतीय भइन्। उनले २०० भेडा पालेकी छन्। उनलाई पनि नगद र प्रमाणपत्र दिइयो।

“भेडा पालनबाट मेरो गुजारा चलेको छ,” सन्तकलीले भनिन्, “यो पुरस्कारले गाउँका अन्य किसानलाई पनि प्रेरणा दिनेछ।”
पशु विकास अधिकृत केसीले सबै किसान उत्कृष्ट भएको बताए। “हामीले मापदण्डका आधारमा तीनजना छनोट गर्यौं,” उनले भने।
पुरस्कारले किसानको मेहनतको सम्मान गरेको उनको भनाइ छ। यसले उत्पादन वृद्धिमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे।
जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द्र आचार्यले किसानको ठूलो महत्व रहेको बताए। “किसानले उत्पादन नगरे भोकमरी हुन्छ,” उनले भने।

उनले पशु विकास कार्यालयको पहल प्रशंसनीय काम भएको बताए। किसानको मेहनतले समाज जीवित रहेको उनको भनाइ छ।
पशु अस्पताल तथा पशु विकास कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाले किसान उत्साहित गराउनु पुरस्कारको मुख्य उदेश्य रहेको जानकारी दिए।
“जुम्लामा भेडा पालनप्रति किसानको उत्साह बढेको छ,” उनले भने, “यसले बजारमा बढ्दो मासुको मागलाई सहज रुपमा पूर्ति गर्न सक्ने सम्भावना छ।”
भेडाको संख्या उल्लेख्य वृद्धि भएको उनको भनाइ छ। यसले स्थानीय अर्थतन्त्र बलियो बनेको छ।
उनका अनुसार जुम्लामा पशुपालन व्यवसाय फस्टाउँदै छ। मुख्यमन्त्री पुरस्कारले किसानको मनोबल उच्च भएको छ।
