बर्थिङ सेन्टरको स्थापना गर्न जुम्ला पुगेकी हिमानीले जुम्लाको विकासमा चासो देखाएकी छन्। उनको यो प्रयासले स्थानीयको मन जितेको गुठिचौर गाउँपालिकाका अध्यक्ष बुढाले बताए।
पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टरको शिलान्यास गरेकी छन्। शुक्रबार सुपुत्र हृदयेन्द्रसहित जुम्ला पुगेकी उनले गुठिचौर गाउँपालिका–१, मणिसागुमा यो परियोजना सुरु गरिन्।
हिमानी ट्रष्टको लगानीमा निर्माण हुने उक्त बर्थिङ सेन्टरले स्थानीय स्वास्थ्य सेवालाई सशक्त बनाउने अपेक्षा छ।
शिलान्यास समारोहमा राप्रपाका प्रवक्ता, प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले हिमानी र हृदयेन्द्रको कार्य उदाहरणीय भएको बताए।
“जुम्लाको विकासमा राजपरिवारको योगदान प्रशंसनीय छ,” उनले भने, “आगामी दिनमा पनि सरकारबाट यस्ता नमुना काम हुने जुम्ली जनताको अपेक्षा छ।”
कार्यक्रममा गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले राजपरिवारलाई धन्यवाद दिए। उनले यो परियोजनाले गाउँको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
उनले भने, “यो प्रशंसनीय कदमबाट विशेष गरी महिलाहरू लाभान्वित हुनेछन्। जसले विकटताको परिभाषा बदल्नेछ।”
गुठीचौर गाउँपालिका वडा नं. १ का अध्यक्ष अर्जुन महताराले बर्थिङ सेन्टरको स्थापना हुँदा अस्पतालको मुख नदेखेका महिलाहरुले स्तरीय सेवा पाउने बताए।
“अब गर्भवती महिला र बालबालिकालाई सहज हुनेछ,” उनले भने, “अब अकालमा ज्यान गुमाउने अवस्था कम हुनेछ।”
हिमानी ट्रष्टले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा जोड दिएको छ। यो बर्थिङ सेन्टरले प्रसूति सेवालाई सहज बनाउने अपेक्षा रहेको हिमानी ट्रष्ट जुम्लाका प्रतिनिधि गोकर्ण कठायतले बताए।
कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता थियो। उनीहरूले हिमानी ट्रष्टको पहललाई सराहना गरे। गाउँमा स्वास्थ्य सुविधा थपिनु ठूलो उपलब्धि भएको उनीहरूको भनाइ छ।
बर्थिङ सेन्टरको स्थापना गर्न जुम्ला पुगेकी हिमानीले जुम्लाको विकासमा चासो देखाएकी छन्। उनको यो प्रयासले स्थानीयको मन जितेको गुठिचौर गाउँपालिकाका अध्यक्ष बुढाले बताए।
उनका अनुसार परियोजनाले जुम्लाको स्वास्थ्य सेवालाई बलियो बनाउनेछ। गर्भवती महिलाहरूको सुरक्षित प्रसूति सुनिश्चित हुनेछ।
स्थानीयले यो बर्थिङ सेन्टरलाई दीर्घकालीन समृद्धिको आधार मानेको सांसद शाहीले बताए। उनका अनुसार हिमानी शाहको सामाजिक कार्यले जुम्लामा नयाँ उत्साह थपिएको छ।
बर्थिङ सेेन्टर निर्माण गर्ने जग्गा गुठिचौर गाउँपालिका -१ का लेखक महताराले नि:शुल्क उपलब्ध गराएका हुन। उनलाई हिमानी शाहले दोसल्ला ओडाई कदर पत्र समेत दिएकी थिइन्।