हिमानी ट्रष्टको पहलमा जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर १, मनिसाँघु निर्माण हुन लागेको बर्थिङ सेन्टरको शिलान्यास समारोहमा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा ह्रदयेन्द्र शाह जुम्ला आउने भएका छन्।
हिमानी ट्रष्ट जुम्लाका प्रतिनिधि गोकर्ण कठायतका अनुसार उनीहरू जेठ २४ गते जुम्ला सदरमुकाम खलंगामा आइपुग्नेछन्।
जेठ २४ गते साँझ ४ बजे होटेल कान्जिरोवामा भेटघाट कार्यक्रम आयोजना गरिएको छ। जेठ २५ गते दिउसो १ बजे मनिसाँघुमा पुगेर बर्थिङ सेन्टरको शिलान्यास समारोह सम्पन्न हुनेछ।
“यो बर्थिङ सेन्टरले स्थानीय महिलाहरूलाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौं,” कठायतले भने।
उनका अनुसार ट्रष्टले ग्रामीण क्षेत्रमा स्वास्थ्य र शिक्षालगायतका सामाजिक कार्यमा योगदान पुर्याउँदै आएको छ। बर्थिङ सेन्टर निर्माणले जुम्लाको स्वास्थ्य सेवामा थप सुधार हुने स्थानीयको विश्वास छ।
















