कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी महाविद्यालयले पहिलोपटक आयोजना गरेको ‘कुशल फार्मेसी अभ्यास’ विषयक एकदिने कार्यशाला जुम्लामा उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
फार्मेसी क्षेत्रको व्यावसायिक विकास र गुणस्तरीय सेवामा जोड दिने उद्देश्यले आयोजित यो कार्यशालामा ७५ जना सहभागी थिए।
कार्यक्रममा प्रतिष्ठानको फार्मेसी संकायका तेस्रो, चौथो र पाँचौं सेमेस्टरका विद्यार्थीहरू, कर्णाली प्राविधिक शिक्षालयका दोस्रो र तेस्रो वर्षका १० जना विद्यार्थी र ६ जना प्राध्यापकले सक्रिय सहभागिता जनाए।
मुख्य वक्ताका रूपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फार्मेसी विभाग प्रमुख डा. राजकुमार थापाले चार दशक लामो अनुभव बाँड्दै नेपालमा फार्मेसी अभ्यासको इतिहास, चुनौती र सम्भावनाहरूबारे प्रेरक प्रस्तुति दिए।
यस्तै, काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक तथा फार्मेसी अभ्यासमा विद्यावारिधि गरिरहेका बद्री केसीले गुणस्तरीय सेवा, आचारसंहिता र जिम्मेवार अभ्यासको महत्त्वमाथि प्रकाश पारे।
कार्यशालामा काठमाडौँ विश्वविद्यालय फार्मेसी संकायका पूर्व प्रमुख प्राध्यापक उत्तम ढुंगाना र प्राध्यापक दुर्गा बिष्ट विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष डा. डबल बहादुर धामीले यस्तो नवीन कार्यशालाको आयोजनाप्रति फार्मेसी संकायलाई बधाई दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रोत्साहन गरे।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राज्ञिक प्लेटफर्म रहेकोले आफ्नो विज्ञता सबैले आदान प्रदान गरी एकेडेमी र अनुसन्धानको वातावरण सृजना गर्नु पर्ने कुरामा जोड दिए। उनले भने, “विद्यार्थीको गुणस्तरीय सिकाइमा प्रतिष्ठानले कुनै सम्झौता गर्ने छैन।”
कार्यक्रम संयोजक तथा फार्मेसी संकायका उपप्राध्यापक डा. दीर्घराज जोशीले सहभागी विद्यार्थी, वक्ता, अतिथि र सहयोगी संस्थाहरू चन्दननाथ उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लालगायतप्रति कृतज्ञता व्यक्त गरे।
कार्यशालालाई व्यवस्थित बनाउन आयोजकले प्रातःकालीन नास्ता, मध्याह्न भोजन, सन्ध्याकालीन चिया–नास्ता र समापनमा जुसको व्यवस्था गरेर आतिथ्यताको उत्कृष्ट नमूना प्रस्तुत गरे।
समापन सत्रमा पाँच जना विद्यार्थीले कार्यशालाबाट प्राप्त ज्ञान र अनुभव साझना गर्दै फार्मेसी अभ्यासमा नयाँ दृष्टिकोण र प्रेरणा प्राप्त भएको बताए।
यो कार्यशालाले कर्णालीमा फार्मेसी शिक्षाको गुणस्तर र व्यावसायिक अभ्यासलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।