सोमबार, २ असार, २०८२

विद्यालयमा पढाइ शुरू हुनुअघि सभामा सबै साथीहरू जम्मा भएर पीटी खेल्नुको अर्कै मज्जा हुन्छ भने राष्ट्रिय गान गाएर कक्षामा जाँदाको अर्कै गौरव महसुस हुन्छ। मेरो प्रायः कक्षाको अगाडिको सिटमा बस्ने बानी भएकोले अन्य साथीहरूले पनि त्यो सिटलाई माया गरेर छुट्याइदिएका हुन्छन्।

मैले सत्यवादी निम्न माध्यमिक विद्यालय, दशौदी जुम्लामा कक्षा सातसम्मको पढाइ सकेर कक्षा आठमा पढ्नका लागि चन्दननाथ माध्यमिक विद्यालय, खलंगा जुम्लामा भर्ना भएको थिएँ। यो वर्ष म कक्षा दशको विद्यार्थी भइसकेको छु।

यो वर्ष मेरो सामुन्ने एसईई परीक्षा दिने समय दिनप्रतिदिन नजिकिँदै छ। समय धेरै बाँकी जस्तो लागे पनि जम्मा नौ महिना मात्र बाँकी छ। यसमध्ये केही समय गर्मीले, केही समय वर्षातले, केही समय दसैँ र तिहारले, केही समय जाडो र बिदाले बित्ने गर्छ। यसैले समय बलवान् छ, कसैलाई पर्खँदैन।

विद्यालयले यो वर्ष एसईई परीक्षा दिने प्रत्येक विद्यार्थीका लागि फलामे ढोका भएकोले हरेक दिनको पढाइ र हरेक कक्षा अत्यन्तै महत्त्वपूर्ण हुन्छन्, कसैले पनि कक्षा छुटाउन नहुने भनेर कक्षा दशको पढाइ शुरू हुनुअघि नै प्रत्येक विषयका शिक्षकहरूले भनिरहनु भएको थियो। प्रत्येक हप्ताको अन्त्यमा पनि सम्झाइरहनु भएको हुन्छ।

विद्यालयमा पढाइ शुरू हुनुअघि सभामा सबै साथीहरू जम्मा भएर पीटी खेल्नुको अर्कै मज्जा हुन्छ भने राष्ट्रिय गान गाएर कक्षामा जाँदाको अर्कै गौरव महसुस हुन्छ। मेरो प्रायः कक्षाको अगाडिको सिटमा बस्ने बानी भएकोले अन्य साथीहरूले पनि त्यो सिटलाई माया गरेर छुट्याइदिएका हुन्छन्।

पहिलो अवधिमा अंग्रेजी विषय हुन्छ। अंग्रेजी विषय एकातिर सबै विषयको साँचो जस्तो लाग्छ भने अर्कोतिर मुटु जस्तै लाग्छ। कमजोर विद्यार्थीका लागि त झन् छुटाउन नहुने जस्तो लाग्छ। मलाई अत्यन्तै मनपर्ने विषयहरू अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर हुन्। म विद्यालय नछुटाई नियमित जाने विद्यार्थी भए पनि हिजो म पनि अछुतो रहन सकिनँ।

एकातिर आफ्नै छिमेकी ठूलो बुवाको छोराको बिहे भएकोले नगई पनि भएन। बिहे भनेको जीवनमा एक दिन मात्र आउने अवसर हो, जुन दिनमा नगए पछुतो मात्र हुन्छ। अर्कोतिर उहाँले मलाई अत्यन्तै माया गर्नुहुन्थ्यो र मैले पनि उहाँलाई आदर गर्छु।

उहाँको बिहेको हिजो भोज थियो, अस्ति बिहे सम्पन्न भयो। आफन्त र छिमेकीमा बिहे र भोजमा उपस्थित भएर सघाउन नसके एकातिर पीर मानिन्छ र अर्कोतिर यस्ता महत्त्वपूर्ण दिन सबैलाई आइपर्छन्। आफूलाई पर्दा पनि छिमेकी र साथीभाइको जरूरत पर्छ। समाज र समुदायमा चाहिएको बेला साथ दिन सकिएन भने समाजमा बस्नुको सार्थकता जस्तो पनि लाग्दैन। अर्कोतिर समुदाय र आफन्तमा मर्दाको मलामी र बिहेको जन्ती नबने त्यसको अर्थ पनि हुँदैन।

बिहेमा मैले निकै सघाउनुपरेको थियो। टाढाबाट भोजमा आउनुभएका पाहुनालाई स्वागत गर्न र खानपानमा विशेष रेखदेख गर्नुपरेको थियो। भोजमा नपुग भएका सामान र मालसामानको व्यवस्था गर्नुपरेको थियो। हावाहुरी र वर्षातले झण्डै दुख दिन खोजिरहेको थियो। बेलैमा टेन्ट र पालको व्यवस्था गरिएकोले दुख पाइएन।

भोजमा सबै आफन्त भेला भएर रमाइलो भए पनि हामी विद्यार्थीका लागि विद्यालयको यादले सताउने नै रहेछ। मैले छिमेकी दाजुको बिहेको भोजमा जानुपरेकोले उपस्थित हुन नसक्ने कुरा विद्यालयमा खबर गर्नुपर्थ्यो, त्यो भन्न पनि सकिनँ। व्यस्तताले गर्दा भुसुक्कै बिर्सें।

विद्यालयमा शिक्षकहरूले मलाई नदेखेपछि खोजी गर्नुभयो होला, मेरा साथीभाइले सोधे होलान्— किन आएन, उसलाई सञ्चो भएन कि, उसको घरमा कुनै अति जरूरी काम पर्‍यो कि, वा घरका कुनै सदस्यलाई सञ्चो भएन कि? आदि आदि सोचेर कौतुहलहरूले सताए होलान्। मलाई पनि मनमा अनेक जिज्ञासाहरू लागिरहेका थिए। कौतुहलहरू बढिरहेका थिए, मनमा अनेक प्रश्नहरूले लखेटिरहेका थिए।

अर्कोतिर हिजो कक्षामा के-के पढाइयो? पक्कै नयाँ ज्ञानका कुरा सिकाइयो होला, नबुझेका कुरा साथीहरूले सोधपुछ गरे होलान्। फेरि एउटै विषयको पढाइ छुटेको थिएन, सातवटै विषयका कक्षा छुटेका थिए। कम्प्युटर विषय त झन् हप्तामा दुई दिन मात्र पढाइ हुन्छ, त्यो पनि प्रयोगात्मक अनिवार्य।

घरमा कम्प्युटर नभएकोले विद्यालयमा छुटाउन नहुने थियो। झन् त्यही कक्षा छुट्न गयो। साथी र शिक्षकले छुटेको कक्षा सम्झाइदिनुभएन भने झन् पिर पर्छ। गणित विषय पनि त्यस्तै महत्त्वपूर्ण लाग्छ। छुट्यो भने कसरी समेट्ने? यसैले मलाई हिजोको भोजमा भन्दा विद्यालयमा जान नपाउँदा अत्यन्तै ग्लानि भइरहेको छ।

शिक्षकहरूसँग अब आउने दिनमा सकेसम्म कक्षा नछोड्ने भनेको पनि थिएँ, समय फर्केर नआउने भएकोले कक्षा छुटेकोमा धेरै पश्चाताप भइरहेको छ। एकातिर ज्ञान प्राप्त गर्न नपाउँदा आफूलाई नै घाटा भएको छ। अर्कोतिर परीक्षामा हिजो पढाइएको कुरा सोधियो भने त्योभन्दा ठूलो घाटा जीवनमा के नै होला र?

यसैले शिक्षकज्यूहरू, म हिजो विद्यालय आउन नसकेकोमा र आउन नसक्ने कुराको जानकारी समेत नगरेकोमा ग्लानि भइरहेको छ। अब जानकारी नदिई कक्षामा अनुपस्थित हुने छैन भन्ने कुरा स्मरण गराउँदै अब गल्ती नदोहोर्‍याउने कुरामा क्षमा प्रार्थी पनि छु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार