जुम्लामा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रमसम्पन्न भएको छ। सामाजिक विकास कार्यालय जुम्लाको आयोजनामा भएको कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन र प्रतिभालाई प्रोत्साहन गर्दै विज्ञान र प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।
कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयहरूबाट तीनवटा टोलीले सहभागिता जनाएका थिए। मूल्यांकन समितिका संयोजक कृष्ण बहादुर रोकायाका अनुसार सामग्री बनावट, उपयोगिता, स्थानीय र प्रयोगविहीन सामग्रीको प्रयोग, नवीनता, र प्रस्तुति शैलीजस्ता पाँचवटा सूचकका आधारमा परियोजनाहरूको मूल्यांकन गरिएको थियो।
यी मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णाली माध्यमिक विद्यालय, अनामनगरले प्रथम स्थान हासिल गर्यो। उक्त विद्यालयले प्रस्तुत गरेको परियोजना दैनिक जीवनमा प्रयोग गर्न सकिने, स्थानीय स्रोतसाधनमा आधारित, र वातावरणमैत्री रहेको मूल्यांकन समितिले जनाएको छ।
दोस्रो स्थान मालिका मावि, धाँपा र भैरव मावि, नराकोटले संयुक्त रूपमा प्राप्त गरे भने तेस्रो स्थान कनकासुन्दरी गाउँपालिकास्थित पाण्डवगुफा मावि, कोटघरले हासिल गर्यो।
सहभागी विद्यार्थीहरूले ग्रामीण क्षेत्रमा सजिलै प्रयोग गर्न सकिने प्रविधि र व्यावहारिक समाधानहरू प्रस्तुत गरेका थिए, जसले जुम्लाजस्ता दुर्गम क्षेत्रमा समेत प्राविधिक सम्भावनालाई उजागर गरेको छ।
कार्यक्रमका सभाध्यक्ष तथा सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोप बहादुर बुढाले विज्ञान र प्रविधिको माध्यमबाट सामाजिक रूपान्तरण सम्भव रहेको बताए।
उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अनुसन्धान र नवप्रवर्तनतर्फ प्रेरित गर्ने उल्लेख गरे। प्रमुख अतिथि जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले जुम्लाजस्ता दुर्गम जिल्लाहरूमा विज्ञान र प्रविधिमार्फत विकास र सहज जीवनशैलीको सम्भावना रहेको बताउँदै विद्यार्थीहरूको प्रयासको प्रशंसा गरे।
यो प्रदर्शनीले स्थानीय स्रोतसाधनको उपयोगमार्फत व्यावहारिक र उपयोगी समाधानहरू प्रस्तुत गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा निरन्तरता दिइनेछ, जसले जुम्लाको शिक्षा क्षेत्रमा नवीन प्रयासहरूलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
कर्णाली माविको यो सफलताले अन्य विद्यालयहरूलाई समेत विज्ञान र प्रविधिमा आधारित सिर्जनशील कार्यमा प्रेरित गर्ने अपेक्षा गरिएको छ।