मंगलवार, ३ असार, २०८२

बिरामी भएर अस्पताल बस्दा

भान्सामा काम गर्ने सहयोगी भाइ निकै डराए। “उसो भए औषधि गर्नुपर्छ,” भनेर सल्लाह दिए। मैले पनि कुनै समस्या भएको हुन सक्छ भन्ने सोचेँ। राम्ररी पानी नपिएको पनि एक हप्ता भइसकेको थियो। मनमनै पानी नपिएको कारणले यस्तो भएको हो कि भन्ने सोचिरहेको थिएँ।

बढिरहोस् जाँगर सँधै आईनै रहोस् जोस्
मेरा जस्ता बिराम् पीडा शत्रुलाई नि नहोस्।

मैले कल्पनै गरेको थिइनँ कि एक्कासि म बिरामी भएर अस्पताल जानुपर्ला भनेर। यसपटक साँच्चिकै यस्तै भयो, नपत्याउने खोलाले बगायो। एक हप्तादेखि धेरै कामको चाप परेपछि समयमा खाना खाएको पनि थिइनँ। समयमा आराम गर्न पनि पाएको थिइनँ। यति मात्र होइन, तीन रात राम्ररी सुत्न पनि पाएको थिइनँ।

“काउनो भूलिस् मधुकर पियाँला लगट” भन्ने जुम्ली उखानजस्तै भयो। धेरै ठूलो आकाश-पाताल हुने काम गरेको थिइनँ, न त कुनै उलटपुलट हुने काम नै गरेको थिएँ। तर पनि साना-साना काम थुप्रिँदै जाँदा अफिसका कामको चाङ लागेको थियो। थुप्रिएका काम समयमै सिध्याइहाल्छु भनेर एक हप्ता जोडतोडले काम गरेको थिएँ।

बुधवार बिहानैदेखि मेरो शरीर एक्कासि थकित भएजस्तो भयो। जागर नलाग्ने, खाना खान मन नलाग्ने, कुनै पनि फलफूल मीठो नलाग्ने, जुनसुकै काम गर्दा अल्छी लाग्ने, जबर्जस्ती थोरै खाँदा पनि वाकवाकी हुने भएपछि अफिसका एकजना भान्से भाइलाई यो कुरा राखेँ।

भान्सामा काम गर्ने सहयोगी भाइ निकै डराए। “उसो भए औषधि गर्नुपर्छ,” भनेर सल्लाह दिए। मैले पनि कुनै समस्या भएको हुन सक्छ भन्ने सोचेँ। राम्ररी पानी नपिएको पनि एक हप्ता भइसकेको थियो। मनमनै पानी नपिएको कारणले यस्तो भएको हो कि भन्ने सोचिरहेको थिएँ।

मैले गुरुजीलाई “गाडी तयार पार, अस्पताल हिँडिहालौँ” भनेँ। अस्पताल त जाने, तर पैसा कति लाग्ने हो थाहा थिएन। अस्पष्ट भएको रोग नपत्याउने खोलाजस्तै हुन्छ, म पनि करिब त्यस्तै भएँ। हतारमा गुरुजीले बिहान साढे आठ बजेनै अस्पताल पुर्‍याए।

“लाटीको बिहे अठारवटा खाँचा” भनेजस्तै प्यूठान जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट काठमाडौँ जानुभएको रहेछ। उहाँ परिचित भएकोले उपचारमा सहज होला भन्ने सोचेको थिएँ। एकातिर उठ्न, बस्न, खानपिन गर्न गाह्रो भएको थियो, अर्कोतिर डाक्टर नहुँदाको तनाव थपियो। म इमर्जेन्सी इनडोरतर्फ गएँ।

इमर्जेन्सी वार्ड जानुअघि भित्तामा लेखिएका सूचनाहरू थिए: “चुरोट, रक्सी र सुर्तीजन्य पदार्थ सेवन नगरौँ, नियमित व्यायाम गरौँ, स्वस्थ र पोषिलो खाना खाऔँ।” मैले सोचेँ, अरू त मैले खाँदिनँ, कतै नियमित व्यायाम नगरेर वा पोषिलो खाना र खाजा नखाएर बिरामी भएको त होइन? यस्तो सोचले झनै डर बढ्यो।

जिल्ला अस्पतालमा मेरा प्यूठान खलंगाका परिचित साथी डाक्टर निरञ्जन श्रेष्ठ थिए। उहाँलाई मोबाइलबाट फोन गरेँ। म अस्पताल आएको छु भन्नेबित्तिकै म बसेको ठाउँतर्फ कुदेर आउनुभयो। उहाँ आएपछि नाम दर्ता, बिरामी भर्नादेखि उपचारको चाँजोपाँजो सबै मिलाउनुभयो।

उहाँलाई पनि विगत दुई-तीन हप्तादेखि बैंक खातामा कसैले ह्याक गरेर पैसा चोरेको कारण निकै तनाव थियो। पैसा हराएपछि पत्ता लगाउन उहाँले सबभन्दा पहिला मलाई आफ्नो समस्या सुनाउनुभएको थियो। मैले तुरुन्तै निवेदन लेखेर प्रहरीमा जान सुझाएको थिएँ। त्यो उपायले उहाँलाई सहज भएको थियो।

आज म आफैँ बिरामी भएर अस्पताल आउँदा के गरौँ, कसो गरौँ भइरहेको थियो। राम्रोसँग उपचार गर्ने र सहयोग गर्ने को पाइएला भन्ने चिन्ता थियो। घरका परिवार टाढा थिए।

म बिरामी भएर अस्पताल आएको कुरा घर-परिवार कसैलाई थाहा थिएन र छैन पनि। यदि सानोतिनो बिराम रहेछ भने उनीहरू डराएर आत्तिन सक्थे, जसले थप तनाव हुन सक्थ्यो। यदि कठिन अवस्था आयो भने खबर गरौँला भनेर खबर गरिनँ।

डाक्टर निरञ्जन श्रेष्ठ भेटिएपछि “के खोज्छस् काना आँखा” भनेजस्तै भयो। सोचेको र भनेजस्तै डाक्टर साथी भेटिएपछि मलाई २५% रोग त त्यसै सञ्चो भएको अनुभूति भयो। कर्णाली अञ्चलमा एउटा प्रचलित उखान छ: “गाडको इष्टले गाड कटाउने र लेखको इष्टले लेख कटाउने।”

खोला-नदी तर्न नसक्ने आफ्नो टाढाको इष्टमित्रलाई पौडिएर, हात समाएर वा डुङ्गामा राखेर खोला तारिदिने र हिउँ भएको वा ठाडो चुचुरोमा कुनै इष्टमित्रले हिँड्न नसकेमा, बिरामी परेमा वा खानपिनको अभाव भएमा इष्टमित्रले गर्ने सहयोग नै ठूलो हुन्छ।

यहाँ अस्पतालमा मलाई यस्तै भयो। उहाँले नै बिरामी दर्ता, भर्ना र अन्य काम गरिदिनुभयो। रक्तचाप जाँच गर्न लगाउनुभयो। भाग्य वा संयोग भनौँ, रक्तचापको प्रेसरको समस्या देखिएन। रक्तचाप जाँचपछि मलाई रगतको सुगर, लिभर फङ्सन टेस्टलगायत रोग जाँच गर्न ल्याबमा रगत दिन लगाउनुभयो।

सुगर रोग जाँचका लागि रगत जाँच गर्दा डाक्टर साबलाई निकै दौडधुप भयो। रगत दुई किसिमबाट दुई पटक जाँच गर्नुपर्ने रहेछ। खाना खानुअघि र खाना खाएको दुई घण्टापछि फेरि रगत निकालेर ल्याबमा बस्ने प्राविधिकलाई दिनुपर्ने रहेछ।

मलाई त्यो समय यति धेरै लामो लाग्यो कि बयान गर्न सकिँदैन। बिरामी भएर अस्पतालमा गएर कुरेको पीडा त्यहाँ पुगेपछि मात्र थाहा हुने रहेछ। एकातिर बेडमा शान्तसँग पल्टिन सकिने अवस्था थिएन।

अर्कोतिर रेखदेख गर्ने, अह्राउने मानिस पनि थिएनन्। अरू बिरामीका आफन्तहरू आएर कहिले फलफूल, कहिले पानी, कहिले जुस ल्याएर खुवाइरहेका थिए। म भने पानीमात्र पिइरहेको थिएँ।

मलाई खानेपिउने कुराको कुनै चिन्ता थिएन। केवल चिन्ता यो थियो कि मेरो जाँचपछि सामान्य रोग देखिए त ठीकै हुन्थ्यो। महँगो उपचार गर्नुपर्ने बिराम लाग्यो भने दुख पनि पाइने, खर्चिलो पनि हुने कुराले तनाव बढिरहेको थियो।

खाना खाने व्यवस्था पनि डाक्टर साबले नै मिलाइदिनुभयो। होटलकै खाना खाएँ। खाना खाएको दुई घण्टापछि मात्र दोस्रो पटक रगत निकालेर दिनुपर्ने रहेछ। जाँच प्रक्रिया कडा रहेछ। बल्लबल्ल दुई घण्टा बित्यो। ल्याबवाला भाइले रगत निकाले। अब एक घण्टा लाग्छ अन्तिम रिपोर्ट बन्न, त्यतिबेलासम्म दिउँसो २:०० बज्ने भयो।

मलाई छटपटी भएको थियो। न बोल्ने साथी थियो, न मोबाइल हेर्न मिल्थ्यो। हेर्न मिल्ने भए पनि मोबाइलको चार्ज सकिएर बन्द भइसकेको थियो। कसरी समय बिताउने भन्ने चिन्ता थियो।

मेरा आँखा एक्कासि भित्ताका सूचनातर्फ गए। “दिशा, पिसाब र कफ यहाँ राखिन्छ” लेखिएको थियो। बिचरा एकजना सोझा भाइ आएर सोधे, “मलाई दिसापिसाब लागिरहेको छ, यतातिर ठाउँ कता होला?”

उनको सोधाइ देखेर मानिसहरू मुखामुख गर्न थाले। मैले भने, “शौचालय बाहिर छ, यहाँ रगत, दिशा, पिसाब र कफको जाँच गरिन्छ। त्यसैले यहाँ जाँच गर्ने वस्तु राख्ने ठाउँ हो।” उनले अरूको व्यवहार देखेर रातोपिरो भएका थिए। मैले सम्झाएपछि खुसी हुँदै धन्यवाद दिएर बाहिर गए।

बल्लबल्ल बिहान र दिउँसो दुवै पटक दिएको रगतको प्रतिवेदन आयो। त्यो प्रतिवेदन हेर्न मेरो शरीर काँपिरहेको थियो। मन आत्तिरहेको थियो। सुगर नै देखिने हो कि, कोलेस्ट्रोल देखिने हो कि, लिभरमा खराबी देखिने हो कि, वा अरू कुनै समस्या देखिने हो कि भन्ने डर थियो।

त्यो प्रतिवेदन आफैँले नहेरेर ल्याबवाला भाइलाई “कस्तो लेखिएको छ, हेरिदेऊ” भनेर सोधेँ। ल्याबवाला भाइ राम्रा रहेछन्। उनले भने, “चिन्ता नलिनुहोस्, तपाईंको प्रतिवेदन एकदम राम्रो छ। तर पानी कम पिएको देखाएको छ, पानीको मात्रा बढाउनुस्।”

पुनः विश्वास नलागेर डाक्टरलाई देखाएँ। उहाँले पनि “स्वास्थ्य ठीक छ, बढी पानी पिउनमा जोड दिनुहोला” भन्नुभयो। त्यसपछि मन हलुङ्गो भयो। तनावमा रहेको मन शान्त भयो।

शरीरमा स्वतः स्फूर्ति आउन थाल्यो। मैले अस्पतालका अरू बेड र लाइनमा भएका मानिसहरूलाई नियालेँ। उनीहरूको पनि यस्तै स्वस्थ प्रतिवेदन आइदिए हुन्थ्यो भन्ने सोचेँ। डाक्टर साब भन्दै हुनुहुन्थ्यो, “उहाँहरूको चुरोट र रक्सी सेवनले समस्या देखिएको छ।”

डाक्टर साबको कुरा सुनेपछि मैले उपचार गर्न आउँदा भित्तामा लेखिएका “धूम्रपान, सुर्तीजन्य पदार्थ र चुरोट सेवन नगर्नुहोला” भन्ने सूचनालाई सम्झेँ।

डाक्टर साब भन्दै हुनुहुन्थ्यो, “चुरोट, सुर्तीजन्य पदार्थ र अत्यधिक मदिरा सेवन छोड्नुभयो भने रोग निको हुने सम्भावना छ, नत्र समस्या बल्झिन सक्छ।” म डाक्टर साबका कुरा ध्यानपूर्वक सुनिरहेको थिएँ। उहाँका कुरा र अस्पतालमा आएका बिरामीको अवस्था हेर्दा मान्छेको कमजोरी हो कि समाज कारक हो भन्ने जिज्ञासाले घोचिरह्यो।

यदि बजारमा मदिरा, चुरोट र सुर्तीजन्य पदार्थको व्यापार नहुने हो भने पक्कै मानिसले सेवन गर्दैनथे होला। गाउँमा लोकल रक्सी बनाउनेलाई आयमूलक रोजगारीमा लगाउन सके सबैखाले मदिराको सेवन र व्यापारमा कमी भई स्वास्थ्य र आयमा राम्रो सूचकाङ्क आउँथ्यो होला।

एकातिर यस्ता सुर्तीजन्य पदार्थ, चुरोट र मदिराको व्यापार, अर्कोतिर उपचार। रोगको मूल र मार्गलाई छेक्न नसकेसम्म सर्वसाधारणको हितमा प्रतिकूल नै देखिन्छ। जेनतेन मैले अस्पतालमा तीन दिन बिताएँ। यस कुराको जवाफ को-कसबाट आउला? यसमा जिम्मेवारी को-कसको छ? अझै पनि रोग र रोगीलाई न्यूनीकरण गर्न समाज र व्यक्ति चिन्तित हुने कि नहुने?

नरेन्द्र देवकोटा “प्रशान्त” चन्दननाथ-१, तलिचौर, जुम्ला हाल: खलङ्गा, प्यूठान

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार