पाकिस्तानले नेपालको केही बिगारेको छैन। न त पाकिस्तान हाम्रो सीमासँग जोडिएको नजिकको छिमेकी हो। भारत हाम्रो छिमेकी भए पनि हामीलाई कहिल्यै राम्रो नजरले हेरेन, राम्रो व्यवहार गरेन। भारतलाई रिस उठ्नेबित्तिकै हामीमाथि नाकाबन्दी लगाइदिन्छ।
सुनौलो भविष्यको सपना बोकेर नेपालीहरू विभिन्न मुलुक पुगेका छन्। सम्पन्न परिवारका नेपाली शिक्षाका लागि विकसित मुलुक गएका छन् भने निम्न आर्थिक अवस्था भएकाहरू खाडी मुलुकमा रोजगारीका लागि पुगेका छन्। तर, बारम्बार हुने युद्धका कारण नेपालमा रहेका परिवारहरू निकै चिन्तित छन्। इजरायल र प्यालेस्टाइनबीचको युद्धमा धेरै नेपालीको ज्यान गयो।
केही परिवार अझै पनि आफ्ना सन्तानको पर्खाइमा छन्। हाल दुई छिमेकी मुलुक भारत र पाकिस्तान युद्धमा होमिएका छन्। दुवै मुलुक एकअर्कालाई परास्त गर्न लागिपरेका छन्। दुई मुलुकबीच तनाव बढिरहँदा नेपालले भारतको पक्ष लिएको छ। राजनीतिक पार्टीहरूले पनि भारतको समर्थनमा आवाज उठाइरहेका छन्।
नेपाल एउटा तटस्थ देश हो। युद्धका सन्दर्भमा सधैं मौन रहने नेपालले यसपटक मुख खोलेको छ। नेपालले भारतको पक्ष लिनेबित्तिकै विभिन्न मुलुकमा रहेका नेपालीहरू तनावमा परेका छन्। बुढापाकाहरू भन्छन्, ‘हुलमुलमा ज्यान जोगाउनू, अनिकालमा बीउ।’ प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यति सामान्य कुरा पनि बुझेनन्।
पाकिस्तानमा सयौंको संख्यामा नेपाली छन्। पाकिस्तानमाथिको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूले आफूलाई फर्काइदिन आग्रह गरिरहेका छन्। तर, तत्काल उनीहरूलाई फर्काउने अवस्था छैन। आफ्ना नागरिक त्यहाँ रहेको थाहा हुँदाहुँदै सरकारले यस्तो कदम चाल्नुहुन्छ? आफ्नो कदमले नेपाली नागरिक खतरामा पर्न सक्छन् भन्ने नसोच्नुहुन्छ?
पाकिस्तान मात्र होइन, इस्लाम धर्म मान्ने मुलुकहरूमा समेत नेपालीहरूलाई खतरा बढेको छ। साउदी अरब, कुवेत, कतार, मलेसिया, दुबईजस्ता इस्लामिक देशहरूमा ठूलो संख्यामा नेपाली काम गर्न पुगेका छन्। सरकार र राजनीतिक दलहरूले आफ्नो फाइदाका लागि जनतालाई प्रयोग गरेको प्रष्ट देखिएको छ।
भोलि यदि ती देशहरूमा नेपालीमाथि हमला भए कसले जिम्मा लिन्छ? त्यतिबेला सरकार र राजनीतिक दलहरूले त्यसको जिम्मेवारी लिनुपर्छ। कतिपय विषयमा मौन बस्नु नै राम्रो हुन्छ। तर, सरकारलाई घोषणा गर्न हतार भयो। इस्लामिक देशहरूमा ठूलो संख्यामा नेपाली रहेको जान्दाजान्दै सरकारले चालेको कदमको फल अब जनताले भोग्नुपर्ने भएको छ।
मुसलमानहरू पनि रोजगारी र शिक्षाका लागि विभिन्न मुलुक गएका छन्। मुसलमानलाई इस्लाम र आफ्नो देश सबैभन्दा प्यारो छ। नेपालले भारतलाई समर्थन गरेपछि के उनीहरूले नेपालीलाई छोड्छन्? इस्लामिक देशमा मात्र होइन, अन्य देशमा रहेका नेपाली पनि जोखिममा छन्।
पाकिस्तानले नेपालको केही बिगारेको छैन। न त पाकिस्तान हाम्रो सीमासँग जोडिएको नजिकको छिमेकी हो। भारत हाम्रो छिमेकी भए पनि हामीलाई कहिल्यै राम्रो नजरले हेरेन, राम्रो व्यवहार गरेन। भारतलाई रिस उठ्नेबित्तिकै हामीमाथि नाकाबन्दी लगाइदिन्छ।
२०४५ सालमा भारतले नेपालमा नाकाबन्दी गरेपछि जनताले धेरै दुख पाए। तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले ‘म भारतसँग झुक्दिन्’ भन्दै चीनबाट सामान आयात गरेर नेपालीलाई खुवाए। तर, एक सुको पनि मूल्य बढाएनन्। २०७२ सालमा भएको नाकाबन्दी त अझै पनि हाम्रो मस्तिष्कमा ताजै छ।
असोज ३ गते संविधान बनेपछि चित्त दुखाएको भारतले हामीमाथि नाकाबन्दी लगायो। त्यतिबेला नेपालीले सहेको दुख-पीडाको वर्णन गर्न सकिँदैन। संविधान बनाउनु हाम्रो अधिकार हो। हामीले संविधान बनाउँदा भारतलाई के को टाउको दुखाइ? त्यतिबेला भारतको विरोध गरेर केपी शर्मा ओली चर्चामा आए।
अहिले उनैको सरकारले भारतको समर्थन गरिरहेको छ। आफ्नो फाइदाका लागि नेताहरूले केसम्म गर्छन्? यो एउटा उदाहरण नै प्रष्ट पार्न काफी छ। भारतको कब्जामा नेपालको धेरै भूभाग छ। लिपुलेक, लिम्पियाधुरा, कालापानी, टनकपुर, सिक्किम, दार्जिलिङ भारतको कब्जामा छन्।
त्यहाँ अझै पनि नेपाली भाषा बोलिन्छ। भारतले धमाधम नेपालको सीमाना कब्जा गरिरहेको छ। खोलानाला भारतकै कब्जामा छन्। भारतीय सेना, प्रहरीहरू अनुमतिबिना नेपाल प्रवेश गर्छन्। छिटिक्क केही भए भारतले नेपाललाई धम्क्याउन थालिहाल्छ। अनि अझै पनि नेपालका राजनीतिक दलहरूले भारतको समर्थन गर्छन्?
फेरि पनि सरकारमा जान पाइन्छ कि भन्ठानेर माओवादीले भारतलाई समर्थन गरेको विषयमा दुई मत छैन। अन्य राजनीतिक पार्टीहरू पनि भारतबाटै सञ्चालित छन्। उनीहरूले आफ्नो मातृभूमिभन्दा माथि भारतलाई राखेका छन्। सरकारले आफ्नो भूभाग फिर्ता माग्ने कि हामी पनि भारतको पक्षमा छौं भन्ने?
वास्तवमा भन्ने हो भने कांग्रेस, एमाले, माओवादीले कहिल्यै पनि देश र जनताको बारेमा सोचेका छैनन्। यिनीहरूकै कारण त नेपाल भारतको दास बनेको छ। भारतलाई खुशी बनाउन नेपालको भूभाग भारतलाई दिए। अनि सरकारमा जान्छन्, नेपालको कारखाना बन्द गरेर भारतलाई व्यापारको बाटो खोलिदिन्छन्।
नेता नामका यस्ता ‘दलाल’हरूका कारण मुलुक तहसनहस भएको छ। उनीहरूलाई आफ्नो जनताभन्दा पद प्यारो छ। भोलि दुई मुलुकबीचको हमलामा नेपालीको ज्यान गयो भने जनताले यिनीहरूलाई छोड्दैनन्। शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, केपी शर्मा ओली, बाबुराम भट्टराईलगायत कसैलाई पनि जनताले देशमा बस्न दिँदैनन्।
यिनीहरू भारतका कार्यकर्ता रहेछन् भन्ने घामजस्तै छर्लङ्ग भएको छ। भनिन्छ नि, ‘झूट जति ढाकछोप गरे पनि एक दिन निस्किन्छ।’ यत्रो वर्ष भारतको विरोध गरेर पदमा पुगिरहेका नेताहरूको असली रूप देखिएको छ। जनताले यिनीहरू नाम मात्रका नेपाली नेता रहेछन् भन्ने बुझेका छन्।
हुन त विगतको साइनो अझै पनि बिर्सिएका छैनन् होला। हिजो भूमिगतकालमा भारतमै लुकेकाहरूले यति छिटो कसरी त्यो सम्बन्ध बिर्सिन्थे? नेपालको राजनीतिमा भारतको अत्यधिक हस्तक्षेप छ। नेपाललाई भारतले आफ्नो देशको टुक्राजस्तै ठान्छ। अहिलेसम्म जनता चुप लागे, अब लाग्दैनन्।
हामीले हाम्रो देश र जनताको विषयमा आफैं निर्णय गर्न नपाउने? भारतको स्वीकृतिबिना यहाँ एउटा निर्णय हुँदैन। यस्तो पाराले देश चल्छ? अंग्रेजहरूले समेत शासन गर्न नसकेको देशमाथि भारतले अदृश्य शासन चलाएको छ। नेपालीलाई नेपाल स्वतन्त्र चाहियो।
बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा भनेका थिए, ‘प्रधानमन्त्री म छु तर सरकार चलाउने अर्कै छन्।’ यसको अर्थ टिभी नेपालमा छ, रिमोटचाहिँ भारतको हातमा छ भन्ने हो। छिमेकी भएर के गर्ने, भारतले कहिल्यै नेपाललाई उभो लागेको देख्न चाहेन। भारतकै कारण नेपाल आत्मनिर्भर बनेको होइन।
भारतले जे-जे भन्यो, नेताहरूले त्यसै गर्दै गए। अहिले भारतले नेपाललाई आफ्नो बजार बनाएको छ। भारतले नाकाबन्दी गरिदियो भने नेपालीहरू भोकभोकै मर्नुपर्ने स्थिति छ। जनताले भारतको विरोध गर्न थालिसके। किनभने जनताले भारतको आनीबानी बुझिसकेका छन्।
आफू अप्ठ्यारोमा परेका बेला साथ खोज्ने अनि अन्य बेला फर्किएर पनि नहेर्ने भारतबाट सरकारले आफ्नो जमिन फिर्ता ल्याउनुपर्छ। भारतको विरोध गरेर कांग्रेस र एमालेले पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याए। व्यवस्था परिवर्तनका कारण धेरै नेपालीले ज्यान गुमाए। माओवादीले पनि त्यही गर्यो।
भारतको विरोधमा २०५२ फागुन १ गते हतियार उठायो। १० वर्षे जनयुद्धमा १७ हजार नेपाली मरे। कांग्रेस-एमाले होस् वा माओवादीका नेताहरूले भारतबाटै हतियार ल्याए, उनीहरू भने त्यतै लुके। त्यसैले त भारतकै साथ दिन्छन्। पहिले भारतले हाम्रो भूमि कब्जा गर्यो, नेपाललाई व्यापार गर्ने थलो बनायो, अहिले नेपालीको ज्यान खतरामा पार्दैछ।
जनताले तिरेको कर, रेमिट्यान्स, २७ खर्ब वैदेशिक ऋण खाने यी तीन प्रमुख दल हुन्। देशको भूभाग छिमेकीलाई बेच्ने पनि यिनीहरू नै हुन्। अब जनताले आफ्नो आँखामा बाँधिएको पट्टी खोल्नुपर्छ। यिनीहरूको विरोध गर्नुपर्छ।