मंगलवार, १९ फाल्गुन, २०८२

आठबीस नगरपालिकामा स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

आठबीस नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य महाविद्यालय बीपीएच तेस्रो वर्षका विद्यार्थीहरूद्वारा आयोजित नगरपालिका स्वास्थ्य प्रणाली व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख तर्कबहादुर बडुवाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत निशा ज्ञवाली, जनस्वास्थ्य अधिकृतहरू प्रकाशराज भट्ट र देवराज तिमिल्सेना, अमिन दीपेन्द्र केसी, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र नगरपालिकाका सबै शाखाका अधिकृतहरूको उपस्थिति रहेको थियो।

यो कार्यक्रमको उद्देश्य नगरपालिकाको स्वास्थ्य प्रणालीको संरचना र कार्यप्रणालीको मूल्याङ्कन गर्नुका साथै उपलब्ध स्रोतसाधनको उपयोग गरी स्वास्थ्य समस्याहरू र तिनको समाधानका लागि सम्भावित हस्तक्षेपहरू पहिचान गर्नु रहेको जनस्वास्थ्यका विद्यार्थी दिलिप प्रसाद हरिजनले बताए।

४५ दिने यो व्यापक क्षेत्रीय अभ्यासले नगरपालिकालाई स्वास्थ्य सूचकहरू सुधार गर्न, स्वास्थ्य सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन र बजेट व्यवस्थापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, यसले नगरपालिकाको स्वास्थ्य प्रणालीको पूर्ण प्रोफाइल तयार गर्नेछ।

नगर प्रमुख तर्कबहादुर बडुवालले सबै सरकारी र सामुदायिक कार्यक्रममा समावेशीकरणको महत्वमाथि जोड दिए। उनले सीमान्तकृत समूह र गरिब वर्गलाई हरेक पहलमा सक्रिय रूपमा संलग्न गराउनुपर्ने बताए।

जनस्वास्थ्य अधिकृत देवराज तिमिल्सेनाले ग्रामीण समुदायले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्न सामना गर्नुपर्ने चुनौतीहरूबारे चर्चा गरे। प्रशिक्षित स्वास्थ्यकर्मीको अभाव, अपर्याप्त पूर्वाधार र सीमित स्वास्थ्य शिक्षाका कारण ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित भएको उनले बताए।

जनस्वास्थ्य पेशेवरहरूलाई यस्ता क्षेत्रमा परिचालन र सशक्तीकरण गरेर मातृ तथा बाल स्वास्थ्य, सरसफाइ, सरुवा रोग र कुपोषण जस्ता समस्यालाई सम्बोधन गर्न सकिने उनको भनाइ थियो। साथै, जनस्वास्थ्य पेशेवरहरूले जागरूकता अभिवृद्धि, निवारक हेरचाह प्रदान र सांस्कृतिक रूपमा उपयुक्त, दिगो र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरू सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे।

यो अभिमुखीकरण कार्यक्रमले आठबीस नगरपालिकाको स्वास्थ्य प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको विद्यार्थी हरिजनले थपे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल