मंगलवार, ३ असार, २०८२

कविता : छोडिदिन्छु भो

मैले गुलाब दिँदा त्यसमा,
काँडा थियो नभन न
मैले त्यही गुलाब टिप्न,
कलिलो कोपिला निमोठेको छु
खुसीक रसमा पनि,
अमिलोपन थियो न नभन न,
मैले त्यही खुसि तिमीलाई दिन,
आफूलाई निचोरेको छु

अन्धकारमा छन् तिम्रा मनका,
भावनाहरु नभन न,
मैले मेरा दुःख लुकाउन,
मेरो मनको टुकी निभाएको छु

मैले जे पठाएँ यहाँबाट त्यहाँ तिमीले
त्यही पाउनु पर्छ भन्ने पनि त छैन,
मैले यहाँबाट सम्झना पठाउँदा त्यहाँ तिमीले
बाडुल्की मात्र पाएका छौ !
मैले यहाँ जे पाएको छु
त्यहाँ तिमीले
त्यही देख्नु पर्छ भन्ने पनि त छैन,
म यहाँ आफ्नैहरुबाट जलिरहँदा
त्यहाँ तिमीले म डढेको मात्र त देख्यौं !

सबै कुरा सबैलाई देखाउन कहाँ सकिन्छ र?
वैशाख सँगै बाढी आए जसरी
रात सँगै पिरहरु आएको,
देखाउन कहाँ सक्छु र !
सबैबाट पाएको कुरा सबैलाई फिर्ता
गर्न कहाँ सकिन्छ र?
मलाई ढुंगा हान्नेहरुलाई,
म फूल टिपी दिन
कहाँ सक्छु र!

सबै कुराको हिसाब किताब,
चुक्ता गर्न कहाँ सकिन्छ र?
मेरो मलामी आएका हरूको मलामी जान
म कहाँ सक्छु र!

समय न हो फेरि त हाल्ने रहेछ
सत्य न हो देखि त हाल्ने रहेछ

म सही की गलत को,
परिभाषा दिन जान्दैन
समय सँगै देखिएला नि,
सत्य समयले त ढाँट्दैन

समयले ठक्कर दियो त के भयो ?
घाउ निको हुन पनि त,
त्यही समय चाहिन्छ !
समस्याले सकस दियो त के भयो ?
समाधान खोज्न पनि त,
त्यही समस्या चाहिन्छ !

भो छोडिदिन्छु गुनासोका कुरा
आखिर हिँड्नु नै छ
भो छोडीदिन्छु गुमनामका कुरा
आखिर जिउनु नै छ
भो छोडिदिन्छु गुहारका कुरा,
आखिर लड्नु नै छ
भो छोडिदिन्छु गुम्सिएका कुरा,
आखिर बढ्नु नै छ !!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार