सरकारले यही बेला शिक्षा ऐन बनाउन सकेन भने हामी अझै पछि धकेलिने निश्चित छ। तसर्थ, सरकार यो विषयमा लाचार नबनेर पूर्ण समर्थन गर्नुको विकल्प अरू हुन सक्दैन।
यतिबेला देशमा शिक्षकहरूले देशव्यापी रूपमा आफ्नो हकहितका लागि राजधानीकेन्द्रित आन्दोलन गरिरहेका छन्। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको यो आन्दोलनले ठूलो रूप लिइरहेको छ।
विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई दबाब दिँदै गत वर्षको चैत महिनादेखि शिक्षकहरू आन्दोलनरत छन्। शिक्षकहरूले आफ्ना विभिन्न समस्यालाई मध्यनजर गर्दै थुप्रै माग राख्दै आन्दोलन गरिरहेका छन्।
शिक्षा विधेयकमा झन्डै १६३ वटा संशोधन प्रस्तावहरू दर्ता भएका छन्। जसले गर्दा विधेयक पास हुने प्रक्रिया भने अन्योलमा परेको छ। शिक्षकहरूले पेसागत सुरक्षाको सुनिश्चितता, विभिन्न सेवा–सुविधा तथा राहत कोटा शिक्षकहरूका मागहरू विधेयकमा समावेश नहुनुले पनि शिक्षक आन्दोलनले ठूलो रूप लिएको हो।
मानिसहरू आन्दोलन भन्नेबित्तिकै तहसनहस वा भयावह अवस्था सिर्जना हुनुलाई सम्झन्छन्। तर, यतिबेला शिक्षकहरूको आन्दोलनले ठूलो सन्देश प्रवाह गरिरहेको छ, जसले समाजलाई र राष्ट्रलाई ध्यानाकर्षित गर्न बाध्य तुल्याइरहेको छ।
शिक्षक आन्दोलनको स्वरूपले व्यापक रूपमा आन्दोलन कसरी गर्दा पनि हुने रहेछ भन्ने कुराको पाठ मज्जाले सिकाएको छ। विभिन्न राजनीतिक भ्रातृसङ्गठनहरूले गर्ने आन्दोलनलाई शिक्षक आन्दोलनले नमज्जाले गिज्याइरहेको छ।
मानिसलाई, समाजलाई, राष्ट्रलाई र समग्र विश्वलाई सुशिक्षित गराउन भूमिका खेल्छ भने त्यो शिक्षाले खेल्छ। शिक्षा प्रवाह गर्ने थुप्रै माध्यमहरू छन्। प्रकृतिमा भएका सबै चीजवस्तुबाट हामी शिक्षा लिन सक्छौँ।
तर, हामीले शिक्षकबाट लिने शिक्षा अति महत्त्वपूर्ण हुन्छ। शिक्षण पेसा मूलतः सम्मानित पेसा हो। तर, राज्यले शिक्षकप्रति गरेको व्यवहार र शिक्षकलाई राज्यले दिने सेवा–सुविधाको दृष्टिकोणले आपत्तिजनक अपमान गरेको छ।
शिक्षा ऐनलाई थप परिमार्जन गरेर हालसम्म अघि बढ्न नसकेको देखिन्छ। यो सरकारको लज्जास्पद विषय हो। राजधानीकेन्द्रित आन्दोलनमा शिक्षकहरूले आन्दोलन मात्र गरेका छैनन्।
उनीहरूले सरकारको ध्यानाकर्षण फरक शैलीमा गरिरहेका छन्। शिक्षकहरूको आन्दोलन मागका लागि त छँदै छ, तर आन्दोलनलाई कलात्मक प्रतिबिम्ब मार्फत आफ्ना समस्या समाधानको माग गर्दै गहन रूपमा आन्दोलन गरिरहेका छन्।
कस्तो शैलीमा आन्दोलन गरिरहेका छन् शिक्षकहरू ?
शिक्षकहरूले आफ्नो माग राख्दै विशेषतः साङ्केतिक रूपमा ठूलो आन्दोलन राजधानीकेन्द्रित गरिरहेका छन्। शिक्षकहरूले कहिले सुतेर आन्दोलन गर्छन्, कहिले सिटी बजाएर आन्दोलन गर्छन्।
कहिले गीत गाएर त कहिले नारा लगाएर। कहिले विभिन्न रोचक तरिकामा विभिन्न उपाय लगाएर जादु गरेर आन्दोलन गर्छन्। कहिले जुम्लाको देउडाको माध्यमबाट गर्छन् त कहिले जाजरकोटको सिङ्गारु नाचबाट प्रस्तुत गर्छन्।
कहिले लोकगीत दोहोरीबाट सरकारलाई व्यङ्ग्य प्रहार गर्दै गर्छन् त कहिले गजल, कविताको माध्यमबाट शिक्षकहरूले आफ्ना समस्यालाई कलात्मक रूपमा प्रतिबिम्बित गरिरहेका छन्।
सरकारले शिक्षकहरूलाई यो बीचमा थुप्रै आश्वासनहरू भने नबाँडेको होइन, तर शिक्षकहरूले तुरुन्तै शिक्षा ऐन जारी गर्न ठूलो बल प्रयोग गरिरहेका बेला सरकार भने अन्योलको साथै ठोस निर्णय लिन सकिरहेको छैन। यो सरकारको लज्जास्पद र गैरजिम्मेवारपूर्ण व्यवहार हो।
सरकारले शिक्षा सम्बन्धी बलियो नीति बनाउन नसक्दा यो समस्या भित्रिएको र यसको घाटा राष्ट्रले व्यहोर्नुपरेको छ। यो बन्न नसक्नुको प्रमुख कारण भनेको सरकारको अस्थिरता हो।
विभिन्न राजनीतिक स्वार्थ मिसिएकै कारण ठूलो घाटा भएको सहजै आकलन गर्न सकिन्छ। शिक्षक आन्दोलनको आज १८ औँ दिन बितिसक्दा पनि सरकार भने अझै मौन र अर्धचेत अवस्थामा छ।
एकातर्फ विद्यार्थीहरू अन्योलमा छन् भने अर्कोतर्फ यो वर्षको शैक्षिक सत्र सुरु हुन सकिरहेको छैन। यसले आम विद्यार्थीको भविष्यमा असर गर्ने देखिएको छ र यसको कारक तत्त्व भनेको सरकार हो।
शिक्षकहरू हजारौँको सङ्ख्यामा राजधानीमा गएर विभिन्न साङ्केतिक शैलीमार्फत सरकारको विरुद्धमा बृहत् विद्रोह गरिरहेका बेला सरकार भने यसलाई सामान्य रूपमा भन्दै लज्जास्पद खित्का छाडिरहेको छ। शिक्षकको यो आन्दोलनले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न र ध्यानाकर्षण साथै सरकारलाई रचनात्मक कार्य गर्न पनि अभिप्रेरित गरिरहेको छ।
यो शिक्षक आन्दोलन मात्र होइन, यो शिक्षा सम्बन्धी एक क्रान्ति र विद्रोह समेत हो। यसको समयमै सरकारले शिक्षकको माग पूरा गर्दै शिक्षा सम्बन्धी ठूलो प्रगति र राष्ट्रको शैक्षिक अवस्थामा परिवर्तन ल्याउने मौका समेत हो।
सरकारले यही बेला शिक्षा ऐन बनाउन सकेन भने हामी अझै पछि धकेलिने निश्चित छ। तसर्थ, सरकार यो विषयमा लाचार नबनेर पूर्ण समर्थन गर्नुको विकल्प अरू हुन सक्दैन। यो विषयमा सरकार गम्भीर र ध्यानाकर्षित भएन भने राज्यको शैक्षिक अवस्था कमजोर हुने देखिन्छ।