मंगलवार, ३ असार, २०८२

होटेल पौवाको जुम्ला शाखामा ‘स्वादउत्सव’ भव्य रूपमा सम्पन्न, ५ दिनमा १८ सय ५५ जनाको सहभागिता

पाँच दिनसम्म चलेको यो उत्सवमा १८ सय ५५ जनाले सहभागिता जनाएर जुम्लाको मौलिक स्वाद र सांस्कृतिक सम्पदालाई नजिकबाट अनुभव गरेका छन्।

होटेल पौवाले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘स्वादउत्सव’ जुम्ला शाखामा भव्य रूपमा सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको यो उत्सवमा १८ सय ५५ जनाले सहभागिता जनाएर जुम्लाको मौलिक स्वाद र सांस्कृतिक सम्पदालाई नजिकबाट अनुभव गरेका छन्।

होटेल पौवाको जुम्ला शाखाले चैत २५ देखि २९ गतेसम्म आयोजना गरेको स्वादउत्सवमा स्थानीय तथा बाह्य पाहुनाहरूको उल्लेख्य सहभागिता रहेको शाखा प्रबन्धक थानेश्वर भण्डारीले जानकारी दिए। “नेपाली सत्कार, हस्पिटालिटी र जुम्लाको मौलिक स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो लक्ष्य यसपटकको उत्सवले पूरा गरेको छ,” उनले भने।

उत्सवको पहिलो दिनदेखि नै जुम्लाका परम्परागत खानाका परिकारहरू जस्तै सिस्नोको अचार, टमाटरको चटनी र स्थानीय अर्गानिक उत्पादनबाट बनेका स्वादिष्ट परिकारहरूले पाहुनाहरूलाई आकर्षित गरे। कार्यक्रममा २५ सयदेखि ३ हजारसम्म निमन्त्रणा गरिएको थियो र पहिलो दिनको उत्साहजनक सहभागिताले जुम्लाबासी र पर्यटकहरूबीचको चासो र उत्साहलाई प्रष्ट पारेको थियो।

शाखा प्रबन्धक भण्डारीका अनुसार, यो उत्सवले जुम्लाको प्राकृतिक सम्पदा, सांस्कृतिक पहिचान र मौलिक स्वादलाई विश्वसामु चिनाउने मौका दिएको छ। साथै, स्थानीय किसानहरूको उत्पादनलाई प्रोत्साहन गरी क्षेत्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सफल भएको उनको दाबी छ।

होटेल पौवाले नौ वर्षअघि लुम्बिनीबाट सुरु गरेको आफ्नो यात्रालाई अहिले १८ वटा शाखासम्म विस्तार गरिसकेको छ, जसमा जुम्ला शाखा एक महत्वपूर्ण हिस्सा हो। यो संस्थाले सात सयभन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याइरहेको छ।

स्वादउत्सवमा सहभागी पाहुनाहरूले जुम्लाको मौलिक स्वाद र आतिथ्यको अनुभव गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। स्थानीय र बाह्य पाहुनाहरूबीचको यो भेटघाटले जुम्लाको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थपेको छ।

जुम्लाका प्रसिद्ध व्यापारी गणेश रोकायाले भने, “होटेल पौवाको यो पहलले जुम्लावासीको गौरव र बाह्य पर्यटकको आकर्षण दुवैलाई एकसाथ समेटेको छ। चैत २९ गतेसम्म चलेको यो उत्सव जुम्लाको सांस्कृतिक र खान्किलाई उजागर गर्न सफल भएको छ।”

होटेल पौवाको यो पहलले जुम्लाको पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ अघि बढेको होटेल पौवाले जुम्ला शाखामार्फत स्थानीय खानाका परिकार र संस्कृतिको जादू प्रस्तुत गर्दै नेपाली हस्पिटालिटीको ब्रान्डिङलाई अझ सशक्त बनाउने लक्ष्य राखेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार