शनिबार, ६ बैशाख, २०८२

चन्दननाथमा नगरपालिकामा दुई दिने बाल भेला

कार्यक्रममा बाल अधिकार, स्थानीय तहका चुनौतीहरू, र बालबालिकाको नेतृत्व विकास तथा व्यक्तिगत क्षमता अभिवृद्धि जस्ता विषयमा गहन छलफल हुने बताइएको छ।

चन्दननाथ नगरपालिकामा बाल भेला कार्यक्रम सम्पन्न भएको छ, जसले बालबालिकासँग सम्बन्धित कानूनी, नीतिगत र विकासात्मक विषयहरूलाई प्राथमिकतामा राखेर व्यापक छलफल गरेको छ। वल्र्डभिजन, किर्डाक नेपाल र सोकेक नेपालको सहकार्यमा चन्दननाथ नगरपालिकाले आयोजना गरेको यो दुई दिने कार्यक्रम चैत २९ गतेसम्म संचालन हुनेछ।

कार्यक्रममा बाल अधिकार, स्थानीय तहका चुनौतीहरू, र बालबालिकाको नेतृत्व विकास तथा व्यक्तिगत क्षमता अभिवृद्धि जस्ता विषयमा गहन छलफल हुने बताइएको छ। खुला र प्रयोगात्मक छलफलको माध्यमबाट बालबालिकाहरूले आफ्ना विचार, सुझाव र समस्याहरू राख्ने अवसर पाएका थिए, जसले उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहित गरेको छ।

बिहीबार भएको कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता अनिल रेग्मी, चन्दननाथ नगरपालिका बालकल्याण अधिकृत पुस्पा थापा, किर्डाकका बाल संरक्षण अधिकृत श्रीराम थापा र सोसेक नेपालका संयोजक माया अधिकारीले महत्वपूर्ण भूमिका निभाएका थिए। उनीहरूले बाल संरक्षण, अधिकार र विकासका क्षेत्रमा आवश्यक जानकारी र दिशानिर्देश प्रदान गरेका थिए।

कार्यक्रममा चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बाल भेलाको महत्वलाई जोड दिँदै भने, “बालबालिका हाम्रो समाजको भविष्य हुन्। उनीहरूको नेतृत्व विकास र अधिकार सुनिश्चित गर्न हामी हरेक कदम चाल्न तयार छौं। यो भेलाले स्थानीय तहमा बालमैत्री वातावरण निर्माण गर्न प्रेरणा दिन्छ।”

उनले नगरपालिकाले बालबालिकाको क्षेत्रमा थप बजेट वृद्धि र कार्यक्रमहरू ल्याउने योजना बनाइरहेको पनि जानकारी दिए।

चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले भेलाबाट प्राप्त सुझाव र सल्लाहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले बालबालिकाको आवाज सुन्नु र उनीहरूको हकहित सुनिश्चित गर्नु नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताइन्, “हामी बालबालिकाको भविष्य निर्माणमा प्रतिबद्ध छौं, र यस्ता कार्यक्रमले हामीलाई उनीहरूका आवश्यकता बुझ्न ठूलो मद्दत गर्छ।”

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले भेलाबाट निस्कने नतिजालाई कार्यान्वयनमा लैजान नगरपालिकाले आवश्यक संरचना र स्रोत व्यवस्थापन गर्ने बताए। “हामीले बालबालिकाको सुझावलाई गम्भीर रूपमा लिनेछौं र त्यसलाई नीतिगत रूपमा परिवर्तनमा रूपान्तरण गर्नेछौं,” उनले भने।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार